अल्मुताइरीको ‘तानाशाही प्रवृत्ति’ले विष्फोट भए खेलाडी

यसै विषयमा भगौडा र विद्रोहीको आरोप लागेपछि खेलाडीहरूले आफूहरू विद्रोही नभई पीडित भएको स्पष्टीकरण दिन पत्रकार सम्मलेन आयोजना गरेका थिए। पत्रकार सम्मलेनमा खेलाडीहरूले हाल मात्र होइन धेरै अगाडिदेखि अलमुताइरीको पोल खोले।

अल्मुताइरीको ‘तानाशाही प्रवृत्ति’ले विष्फोट भए खेलाडी
फाइल तस्वीर

काठमाडौं। एक वर्षदेखि कुवेती प्रशिक्षक अब्दुल्ला अलमुताइरीको तानाशाही शासनमा बाँचिरहेको खुलासा नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरूले गरेका छन्। बिहीबार पत्रकार सम्मलेनमा अलमुताइरीको धम्की र डरको शासनबारे फुटबल खेलाडीहरूले तीती पोखे।

एशियन कप छनोट तयारीमा राष्ट्रिय टिमको बन्द प्रशिक्षण दौरान बस्नको लागि होस्टलको साटो होटलको सुविधा माग्दा हालका कप्तान रोहित चन्दसँगै १० खेलाडीलाई अलमुताइरीले टिमबाट निकालेका थिए।

यसै विषयमा भगौडा र विद्रोहीको आरोप लागेपछि खेलाडीहरूले आफूहरू विद्रोही नभई पीडित भएको स्पष्टीकरण दिन पत्रकार सम्मलेन आयोजना गरेका थिए। पत्रकार सम्मलेनमा खेलाडीहरूले हाल मात्र होइन धेरै अगाडिदेखि अलमुताइरीको पोल खोले।

“समस्या पहिलेदेखि नै थियो। मैदानभित्र मात्र होइन मैदानबाहिर पनि व्यक्तिगत जीवनमा पनि प्रशिक्षकले हस्तक्षेप गर्थे। कपाल लामो पालेको, ट्याटु हानेकोदेखि सामाजिक सञ्जालमा खेलाडीसँग कुरा गर्नलगायत सबै कुरामा अलमुताइरीको स्विकृति लिनुपर्थ्यो,” नेपाली टिमका डिफेण्डर अनन्त तामाङले भने।

“कोचले हामीलाई सधै डरमा राखेका थिए। तलाई राष्ट्रिय टिमबाट निकालिदिन्छु भनेर बारम्बार धम्की दिइरहन्थे। फेसबुकमा हालेको फोटोबारे पनि स्पष्टीकरण माग्थे। हामी मानसिक दबाबमा थियौं। त्यो अहिले विष्फोट भयो,” उनले थपे।

खेलाडीहरूका अनुसार यो पटक उनीहरूको एउटा मात्र माग थियो- सबै खेलाडीले होस्टलमा बस्न गाह्रो हुन्छ, होटलमा बस्न पाए हुन्थ्यो। तर अवस्था अर्कै भयो।

प्रशिक्षक अलमुताइरीले हामीलाई सधैँ थर्काएर राख्थे : खेलाडी (पूर्ण पाठ)

के भएको थियो?

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमका खेलाडीहरूलाई एन्फा कमप्लेक्स सातदोबाटोस्थित एन्फा एकेडेमीको होस्टलमा राख्दै आएको छ। जेठमा हुने एशियन कप छनोट तयारीमा रहेको टिमका सदस्यले भने यो पटक होस्टलमा सेवा सुविधा राम्रो नभएको कारण होटलमा बस्न चाहे।

एन्फा होस्टलमा सेवा सुविधा राम्रो नभएको खेलाडीको पुरानै गुनासो हो। जसको सम्बोधन एन्फाले गरेको थिएन। होस्टलमा खानापानीजस्ता आधारभूत सुविधासमेत राम्रो नभएको खेलाडीहरूको आरोप छ।

होस्टलमा नै बस्न सेवा सुविधा चुस्त दुरुस्त हुनुपर्ने उनीहरूको माग थियो। उपत्यका बाहिरबाट आएका केही खेलाडीलाई भने एन्फाले पाँचतारे स्तरको होटल भिभान्तामा नै राखेको थियो। हाल व्यवासायिक फुटबलका लागि नियमित कप्तान किरण चेम्जोङ माल्दिभ्समा छन्। त्यसैले नेपाली टिमको नेतृत्व डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले गरिरहेका छन्। उनले गत आइतबार खेलाडीहरूको होटलमा बस्ने माग प्रशिक्षक अल्मुताइरीसमक्ष राखे।

यस विषयमा प्रशिक्षण दौरान नै अल्मुताइरीले होटलमा बस्ने को-को र होस्टलमा बस्ने को-को भनेर भोटिङ नै गर्न लगाए। तर होटलमा बस्नेमा ऐक्यबद्धता रहे पनि चन्दबाहेक अन्य खेलाडीले डरका कारण हात उठाएनन्।

प्रशिक्षक अल्मुताइरीले होस्टलमा बस्न नचाहने कोही छ भने एशियन कपको क्याम्प छोड्न भने। उनले रोहितलाई टिममा एकता भाड्न खोजको आरोप लगाउदै ‘तिमी घर जाउ’ भन्दै टिमबाट निष्कासित गरे।

यसपछि भोलिपल्ट नौ खेलाडीले प्रशिक्षक अल्मुताइरीसँग यो विषयमा कुरा गर्न चाहे। तर अल्मुताइरीले उल्टै यो विषयमा कुरा नगर्ने भन्दै यी खेलाडीहरूलाई पनि चित्त नबुझे घर जानू भनेर पठाए। अल्मुताइरीले आफ्नो टिममा बस्ने कि रोहितको टिममा बस्ने भनेर अन्य खेलाडीलाई पनि सोधेका थिए।

अल्मुताइरीसँग कुरा गर्न जानेमा नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, अञ्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी र अनन्त तामाङ थिए।

सामान्य माग राख्दा पनि टिमबाट निक्लेर जा भनेपछि खेलाडीहरूले मंगलबार बेलुका होटल छाडेका थिए। अल्मुताइरीले आफू रहुन्जेल तिमीहरू कोही पनि अब राष्ट्रिय टोलीमा नपर्ने भन्दै धम्काएका पनि थिए। उनले भनेका थिए, ‘यो युद्धको शुरुआत तिमीहरूले गरेका थियौ, अब अन्त्य म गर्छु।’

उनले यो विषयमा आफू पनि मिडियामा नजाने र खेलाडीलाई पनि मिडियामा नजान निर्देशनसमेत दिएका थिए।

आफ्नो सेवा सुविधाबारे जायज माग राख्दा पनि प्रशिक्षक अल्मुताइरीले यो व्यवहार गरेपछि खेलाडीहरू आक्रोशित बनेका हुन्। अब राष्ट्रिय टिममा फर्कन र अल्मुताइरीको अण्डरमा खेल्न निकै गाह्रो हुने उनीहरूको धारणा छ।

माल्दिभ्समा रहेका कप्तान किरण चेम्जोङ सामाजिक सञ्जलमार्फत बताउँछन्, ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन। टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु।’

कप्तान किरण मात्र होइन अन्य खेलाडीले पनि अल्मुताइरीको यो प्रवृत्तिको विरोध क्रमलाई बढाएर सामाजिक सञ्जालमा ट्रेण्ड नै चलाएका छन्।

बिहीबार प्रशिक्षणमा रहेका ४ खेलाडी दीप कार्की, पुजन उपरकोटी, एरिक विष्ट, दर्शक गुरुङ ले ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा जायज विषय उठाउँदा खेलाडीप्रति गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ’ भनेर चारै खेलाडीले एकै प्रकारको फेसबुस स्टाटस लेखेका छन्।

यो विषयमा खेलाडीहरूले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग पनि कुरा गरेका थिए। तर खेलाडीहरूका अनुसार उनले भने, ‘चुनाव आउँदैछ, म कोचसँग केही गर्न सक्दिनँ।’ एन्फाको निर्वाचन आगामी जेठमा हुँदैछ।

यो विरोधमा खेलाडीलाई एन्फा चुनावमा हतियारको रुपमा प्रयोग गरिएको पो हो कि भन्ने प्रश्नमा रोहित चन्द भन्छन्, “हामी सोझो हिसाबले यो विषयमा लागेको हो। यसमा चुनावलाई जोड्न मात्र खोजिएको हो। राजनीतिसँग हाम्रो कुनै सम्बन्ध छैन।”

अल्मुताइरीको रबैया र शासनबाट खेलाडीहरू धेरै पीडित रहेको पुष्टि भएको छ। यो विषयमा न त अल्मुताइरीको आधिकारिक धारणा आएको छ न त एन्फाको। एन्फासमक्ष खेलाडीहरूले यो विषयमा निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही माग राखेका छन्। जस्तो अवस्थामा पनि देशका लागि खेल्ने भने नछाड्ने उनीहरूले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved