भरतपुरमा कांग्रेसको स्वतन्त्र उम्मेदवारसँग एमाले मिल्नसक्ने ठाउँ रहन्छ : देवी ज्ञवाली

मैले चाहेको खण्डमा मेयरको टिकट पार्टीले मलाई नै दिने थियो तर मेरै प्रस्तावमा विजय सुवेदीजीले मेयरको टिकट पाउनुभएको हो।

भरतपुरमा कांग्रेसको स्वतन्त्र उम्मेदवारसँग एमाले मिल्नसक्ने ठाउँ रहन्छ : देवी ज्ञवाली

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा भरतपुर महानगरपालिकाको चर्चाको केन्द्रमा छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला भएकाले सो पार्टीले आफ्नो प्रतिष्ठाको विषय बनाएको छ– भरतपुर । 

भरतपुरको मेयर माओवादीको पोल्टामा पर्दा कांग्रेसबाट जगन्नाथ पौडेलले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले कुनै पनि हालतमा फिर्ता नगर्ने अडान राख्दै आएका छन् ।

नेकपा एमाले भने कांग्रेसका असन्तुष्ट नेता–कार्यकर्ता फकाउने दाउमा लागेको छ। यतिसम्म कि कांग्रेसका स्वतन्त्र उम्मेदवारसँग एमालेले भरतपुरमा चुनावी तालमेल गर्नसक्नेसम्मको प्रसंग आएका छन्।

पाँच वर्षअघिको स्थानीय निर्वाचनमा देवी ज्ञवाली मेयर पदमा झिनो मतले पराजित भएका थिए– माओवादीकी रेणु दाहालसँग । यसैपटक भने उनी उम्मेद्वार छैनन् तर भरतपुर महानगरपालिकाको एमालेको निर्वाचन मोर्चाको कमाण्ड भने उनले सम्हालेका छन् । यसै सन्दर्भमा देवी ज्ञवालीसँग नेपालभ्यूजका पुरुषोत्तम पौडेलले गरेको कुराकानी  :

कांग्रेसका बागी उम्मेदवारसँग भरतपुरमा एमालेले तालमेल गर्नसक्छ भन्ने तपाईंको भनाइ सार्वजनिक भएको छ। खास कुरा के हो?

बाहिरबाट देख्दा हाम्रो अनुमान के हो भने भरतपुरका कांग्रेस नेताहरूले आफ्नो संगठन ध्वस्त भएको महशुस गरेका छन्। कांग्रेसले अघिल्लो पटकको निर्वाचन पनि एउटा पार्टीलाई समर्थन गरेको थियो । अहिलेको स्थानीय निर्वाचनमा पनि आफ्नो पार्टीको उम्मेदवार खडा गर्नुको सट्टा अर्कै पार्टीलाई समर्थन गर्दैछ।

यस हिसाबले भरतपुरमा कांग्रेसले १० वर्ष आफ्नो पार्टीका उम्मेदवारलाई मतदान गर्न नपाउने अवस्था देखिन्छ। यसले सिंगो एउटा पुस्ताले नै कांग्रेसलाई मतदान गर्न नपाएको अवस्था छ। कांग्रेसका पुराना नेताहरू कृष्णलाल सापकोटा, भीमबहादुर श्रेष्ठ लगायतका नेताको पनि यही बुझाइ रहेको मैले पाएको छु।

भरतपुरमा कांग्रेसका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल र नेकपा एमालेबीच ‘लुज गठबन्धन’ को चर्चा पनि यस बीचमा भएको छ। ‘लुज गठबन्धन’ शब्द हामीले प्रयोग गरेका त होइनौँ तर उहाँहरू आफ्नो ढंगले अगाडि बढ्दा र हामी आफ्नो हिसाबले अगाडि बढ्दा हाम्रो लक्ष्य एउटै हो। लक्ष्य एउटै भएपछि मिल्नसक्ने ठाउँ रहन्छ भन्ने हाम्रो आशय हो।

केन्द्रमा तपाईंको पार्टीका अध्यक्ष केपी ओलीले कांग्रेसको घोषणापत्रलाई ‘पागलहरूको प्रलाप’ भनेका छन्। केन्द्रबाट कांग्रेसलाई बिच्काउने प्रयास हुँदै गर्दा चितवनका कांग्रेसले एमाले उम्मेदवारलाई सहयोग गर्छन् भन्ने आधार के ?

अध्यक्ष ओलीले कुन सन्र्दभमा कसरी भन्नुभयो, त्यो मैले थाहा पाएको छैन। उहाँसँग मेरो भेट भएको पनि छैन । त्यसैले यस विषयमा मलाई जानकारी भएन। प्रसंगलाई नबुझी शब्दलाई मात्रै टिप्यै भने त्यसले गलत अर्थ लाग्छ। त्यसैले यस विषयमा म केही टिप्पणी गर्न चाहन्न।

अघिल्लो स्थानीयको निर्वाचनमा एमालेका तर्फबाट भरतपुरको मेयरको उम्मेद्वार तपाईं हुनुहुन्थ्यो। यो पटक पनि तपाईंलाई प्रत्यासीको रुपमा अनुमान गरिएको थियो तर टिकट पाउनु भएन। तपाईंले नै इच्छा नदेखाउनु भएको वा पार्टीले नपत्याएको?

मैले एक पटक निर्वाचन जितिसकेको हो। कति पटक जित्ने? मैले जितेको पदलाई अरूले लुटेर लगेको हो। त्यसैले मैले दोहोर्‍याएर मेयर बन्ने इच्छा नदेखाएको र अर्को साथीलाई अगाडी बढ्ने अवसर दिएको हो।
मैले चाहेको खण्डमा मेयरको टिकट पार्टीले मलाई नै दिने थियो तर मेरै प्रस्तावमा विजय सुवेदीजीले मेयरको टिकट पाउनुभएको हो।

भरतपुर महानगरपालिकामा एमालेको मेयर निर्वाचित भएमा यसअघिको मेयरबाट हुन नसकेको थप के अपेक्षा गर्न सक्छन्?

कुनै पनि विकासका काम योजनाबद्ध हिसाबमा हुनुपर्‍यो। भरतपुरको विकासको आधार के हो भन्ने तय गर्नुपर्ने हुन्छ। भरतपुरको विकासलाई अगामी वर्षहरूमा कहाँ पुर्‍याउने भन्ने गुरुयोजनासहित हामी अगाडि बढ्नुपर्ने आवश्यकता छ। चितवनले राष्ट्रियस्तरमा राख्ने महत्त्वलाई ध्यानमा राख्दै हाम्रा योजना बन्नुपर्छ।

राष्ट्रिय राजनीतिमा चितवनको महत्त्व बढ्नुको पछाडि माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ को निर्वाचन क्षेत्र भएकाले हो भनिन्छ। भरतपुर महानगरपालिकाले राष्ट्रिय स्तरमा महत्त्व पाउनुका पछाडि प्रचण्डकै छोरी भरतपुरको मेयरको आकांक्षी हुनुले हो पनि भन्छन् नि?

हामी राजनीतिक आन्दोलनमा लाग्दै गर्दा ‘प्रचण्ड’ आरुघाटमा पढाउँदै हुनुहुन्थ्यो। माओवादी अध्यक्ष ‘प्रचण्ड’भन्दा अगाडि राजनीतिक आन्दोलनमा लागेका व्यक्ति हौँ हामी। त्यसैले ‘प्रचण्ड’ कै कारण भरतपुरको महत्त्व राष्ट्रिय राजनीतिमा बढेको तर्क सुहाउँदो तर्क होइन।

माओवादी भनेको स्खलित हुँदै गएको पार्टी हो। उसको संगठन स्खलित छ। त्यसैले माओवादीले चितवनको नेतृत्व गर्ने सम्भावना अब कमजोर भएको छ।

भरतपुरको विकासमा ‘प्रचण्ड’ को राष्ट्रिय राजनीतिमा रहेको प्रभाव प्रमुख कारण हो भन्ने धारणामा तपाईं सहमत हुनुहुन्न ?

भरतपुरमा ‘सिटी हल’ को निर्माण हुँदैछ। त्यो हल निर्माणका लागि केपी ओली नेतृत्वको सरकारले बजेट विनियोजन गरेको हो। भरतपुरमा अहिले ६ लेनको बाटो निर्माण हुँदैछ। त्यो बाटो निर्माणका लागि ओली सरकारले ६ अर्ब बजेट छुट्टाएको थियो।

शहरी क्षेत्रको सडक निर्माणका लागि ओली सरकारले नै बजेट छुट्टाएको हो। दाहाल प्रधानमन्त्री हुँदा भरतपुरका लागि कुन योजना परेको थियो? उहाँ दुईपटक प्रधानमन्त्री हुनुभयो, खोइ ! चितवनले के पायो?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved