बागीहरूलाई उम्मेदवारी फिर्ता गराउने कसरतमा कांग्रेस

कांग्रेसको विधानअनुसार पार्टी निर्णयविपरीत कुनै पनि निर्वाचनमा बागी उम्मेदवार भए पार्टीले साधारणसदस्य समेत नरहने गरी कारबाही गर्नेछ। कांग्रेस सहमहामन्त्री पाण्डेका अनुसार पार्टीको आग्रह नमानेर उम्मेदवारी फिर्ता नलिए मात्रै कारबाहीबारे सोच्ने बताए।

बागीहरूलाई उम्मेदवारी फिर्ता गराउने कसरतमा कांग्रेस

काठमाडौं। सत्तागठबन्धनको चुनावी तालमेलका कारण देशभर पार्टीको बागी उम्मेदवार देखिएपछि नेपाली कांग्रेस त्यसबारेमा आन्तरिक छलफल शुरु गरेको छ।

पोखरा, भरतपुर, वीरगञ्जसहित प्रायः ठूला तथा साना शहरहरूमा कांग्रेसबाट बागी उम्मेदवारी पर्न थालेको छ।

आइतबार र सोमबार उमेदवारी दर्ता गराएका उम्मेदवारहरूले १६ गते आफनो उम्मेदवारी फिर्ता लिन सक्छन्। कांग्रेस सहमहामन्त्री बद्री पाण्डे भन्छन्, “हामीले सबै विवरण संकलन गरिरहेका छौं, त्यसपछि औपचारिक रुपमै उममेदवारी फिर्ता लिन १५ साँझ आग्रह गर्छौं।”

१५ गते अर्थात् बिहीबार कांग्रेसले निर्वाचन परिचालन समितिको बैठक गरेर यसबारे औपचारिक निर्णय गर्ने तयारी कांग्रेसको छ। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको कांग्रेसको निर्वाचन परिचालन समितिले यस सम्बन्धमा काम बढाएको कांग्रेस पार्टी कार्यलयले जनाएको छ।

कांग्रेसको विधानअनुसार पार्टी निर्णयविपरीत कुनै पनि निर्वाचनमा बागी उम्मेदवार भए पार्टीले साधारणसदस्य समेत नरहने गरी कारबाही गर्नेछ। कांग्रेस सहमहामन्त्री पाण्डेका अनुसार पार्टीको आग्रह नमानेर उम्मेदवारी फिर्ता नलिए मात्रै कारबाहीबारे सोच्ने बताए।

“पहिला हामीले धेरैजसो ठाउँमा सम्पर्क नै गरेर उम्मेदवारी फिर्ता गरेर पार्टीको निर्णयअनुसार सहयोग गर्न आग्रह गरिरहेका छौं,” उनले भने, “र सार्वजनिक रूपमा पनि आग्रह एउटा आग्रहसहित अपिल जारी गर्छौं, त्यसपछि पनि फिर्ता नभएको खण्डमा मात्रै कारबाही हुनेछ।”

कांग्रेस नेतृत्वको वर्तमान सरकारमा सामेल गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल र राष्ट्रिय जनमोर्चासँग कांग्रेसले चुनावी तालमेल गरेको छ। कांग्रेसको स्थानीय तहहरूले पार्टी नेतृत्वलाइ चुनावी तालमेल गर्ने व्यापक रुपमा दबाब नै दिएको थियो। तर पार्टीले गठबन्धन कायम राख्ने रणनीतिअन्तर्गत चुनावी तालमेल गर्ने भएपछि कांग्रेसबाट बागी उम्मेदवारी दिनेको संख्या बढेको छ।

तालमेल मिलाउँदै गठबन्धन

माओवादी प्रमुख सचेतक देव गुरुङले गठबन्धनबाट उम्मेदवारी दर्ताको क्रममा भएको वेमेलहरू मिलाउन प्रयास थालिएको बताए।

गठबन्धनकै निर्णयअनुसार दर्ता भएको उम्मेदवारीहरूलाई मात्रै अधिकारिक बनाउने र त्यसबाहेकलाई फिर्ता गराउने पनि उनले बताए। “सबै पार्टीबाट भएको बागी उम्मेदवारहरू सम्बन्धति पार्टीहरूले पनि प्रयास गर्छन्”, गुरुङले भने, “साथै गठबन्धनको कार्यदलले नै त्यसमा समीक्षा गरेर कदम चाल्छौं।”

सत्ता गठबन्धनले गरेको चुनावी तालमेल स्थानीय तहमा फितलो भएपछि गठबन्धन आबद्ध दलहरू त्यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा लागेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved