यसरी स्थापना भएको थियो नेपाल कम्युनिष्ट पार्टी

किसानलाई आफ्नो भोक हटाउन,आफ्नो बालीनाली (फसल) को मात्रा बढाउन,ज्याला बढाउन, अधियाँमा उचित भाग पाउन र जमिनका निम्ति लड्न पर्दछ। यसकारण कि किसान नागरिक स्वतन्त्रता चाहन्छ। विद्यार्थीहरूलाई विनाफिस अथवा कमफिसमा उच्च दर्जाको शिक्षा पाउन संघर्ष गर्नु पर्दछ। यसकारण कि ऊ नागरिक स्वतन्त्रता चाहन्छ। नारी (महिला) हरूलाई आफ्नो दोहोरो दासत्वका विरोधमा लड्न पर्दछ।

यसरी स्थापना भएको थियो नेपाल कम्युनिष्ट पार्टी

नपेन्द्र चकवर्तीसँग मेरो जुन भेटघाट भयो- त्यो नेपाल कम्युनिष्ट पार्टीको गठनका निम्ति अति नै महत्त्वपूर्ण घटना भयो।
नेपाली राष्ट्रिय कांग्रेसबाट अलग भएपछि नेपाल तरुण मोर्चा खोल्ने वा नेपाल कम्युनिष्ट पार्टीको गठन गर्ने भन्ने करामा म केही समयसम्म दोधारमा थिएँ।

अन्त्यमा मैले नेपाल कम्युनिष्ट पार्टी नै गठन गर्ने निधो गरिसकेको थिएँ। त्यसको एउटा मुख्य कारण हो- कम्युनिष्ट पार्टी खोल्ने बित्तिकै अन्तर्राष्ट्रिय सर्वहारावर्गको समर्थन नेपालको जनवादी आन्दोलनलाई तरुन्त प्राप्त भैहाल्दछ।

यसको मतलब थियो, विश्वको उदाउँदो समाजवादी शक्तिको सहयोग समर्थन भने पुरानो अस्ताउँदो शक्तिको विरोध। नपेन्द्र चक्रवर्तीसँग भेट भएपछि मेरो धारणाले झन् बल प्राप्त गर्यो।

नपेन्द्र चक्रवर्तीसँग समय-समयमा भेट हुन लाग्यो र उनीसँग व्यापक रूपमा नेपालको राजनीतिमा वाद-विवाद हुन थाल्यो, त्यसैगरी अन्तर्राष्ट्रिय राजनीतिमा पनि। त्यसैताक हाम्रो उत्तरी महान् छिमेकी राष्ट्र चीनमा माओको नेतृत्वमा संचालित महान चीनी कम्युनिष्ट पार्टीको नेतृत्वमा महान् मुक्ति संग्राम चालू भैरहेको थियो।

यसले गर्दा एकातिर हामी नेपाली क्रान्तिकारीहरूलाई उत्साहित गरिरहेको थियो भने अर्कोतिर सम्झौतावादी नेतामण्डली तथा अंग्रेज-अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पूँजीवादलाई चिन्तित तुल्याई रहेको थियो।

यस्तो अवस्थामा अझै मार्क्सवादी साहित्यहरू नेपालीमा प्रकाशन गरी बढी मात्रामा नेपाली क्रान्तिकारीहरूलाई मार्क्सवादतिर आकर्षित गर्ने र जेल परेका जिम्मेवार साथीहरूसँग पनि सम्पर्क गरी सबैको राय, सल्लाह र सहयोग लिएपछि नेपाल कम्युनिष्ट पार्टीको विधिवत् गठन गर्ने पक्षमा थिएँ।

मेरा सबै कुरा सुनिसकेपछि तत्कालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थितिको व्याख्या गर्दै उनले भने- “मार्क्सवादी साहित्यको प्रचार र प्रसार गर्ने काम हाम्रो जीवनमा कहिल्यै पनि समाप्त हुँदैन, त्यो नित्य गरी नै रहने कुरा हो।

फेरि मार्क्सवादी साहित्यले भन्दा मार्क्सवादी दृष्टिकोणबाट नेपालको विश्लेषण गरेको राजनीति तथा आर्थिक कार्यक्रमले नेपाली कान्तिकारीहरूको ध्यान छिटै र सजिलैसँग कम्युनिष्ट आन्दोलनप्रति आकर्षित गर्न सकिने छ।

अतः तपाईले अहिलेसम्म सम्पर्कमा आएका नेपाली क्रान्तिकारीहरूलाई जति भए तापनि भेला गरी दस्तावेज तयार गरी विधिवत् पार्टीको संगठनको घोषणा गर्न भएमा आजको ऐतिहासिक माग पूरा हुनेछ। हामी कम्युनिष्टहरूले यो करा बुझ्न पर्दछ कि व्यक्तिको जमघटभन्दा सही राजनीति पत्ता लगाउन पर्दछ।

मार्क्सवादी साहित्यले भन्दा सही नीतिले क्रान्तिकारीहरूको ध्यान पार्टीप्रति आकर्षित गर्ने छ। अत: तपाईले पार्टीको नाममा एक दस्तावेज तयार गर्नहोस् र पार्टी गठन गर्ने तरखरमा लाग्नुहोस्।” मलाई उनको कुरा सही लाग्यो।।

त्यसपछि एकातिर मैले पार्टीको नाममा दस्तावेज तयार गर्न थाले भनें अर्कातिर साथीहरूसँग भेटघाट बढाउन थालें।  यत्तिकैमा मलाई भेट्न भनी दोस्रोपटक गंगालाल पनि आइपुगे। उनी काठमाडौं जेलमा कुटपिट मुद्दामा पर्दा अमर शहीद शुक्रराजको संगतमा परी राजनीतिप्रति झुक्दै गएका थिए।

तर उनको स्वभाव उग्रवादी र व्यक्तिवादी थियो। उनी मसँग भेट्न आएपछि स्वभावत: अरूसँग पनि भेट हुने नै भैहाल्यो। सुवर्णका गुमस्ता सुन्दरराज चालिसेसँग पनि उनको भेट भएछ। प्रसंगवश यहाँ एक कुरा उल्लेख गर्न पनि आवश्यक छ। सुन्दरराज चालिसेसँग मेरो पनि राम्रो चिनजान र दोस्ती थियो।

सुवर्ण र मेरो बीचमा उनी माध्यम थिए। उनले मलाई पनि धेरै पटक विभिन्न प्रकारका भारतीय समाजवादी तथा मार्क्सवादीहरूसँग भेटाई सोभियत रुस र स्टालिनका विरुद्ध भड्काउने कोशिस गरेका थिए। उनीहरू लेनिनको तारिफ गर्दथे तर स्टालिनको घोर विरोध गर्दथे। स्टालिनलाई एक तानाशाहको रूपमा पेश गर्दथे तर उनीहरूको तर्कले मलाई विचलित गर्न सकेन।

सुन्दरराज चालिसेसँग उनको भेटघाट भएपछि उनले नेपालमा कम्युनिष्ट पार्टीको गठनको साटो मजदुर-किसान या श्रमिक पार्टी गठन गर्ने कुरामा जोड दिनथाले। यो कुरा दार्जेलिङ्गमा उनको र मेरो सल्लाह भएको विपरीत कुरा थियो। उनले आफ्नो अडानमा जिद्धि गर्दै भनें कि कोरिया तथा पूर्वी युरोपका कैयौं देशहरूमा पनि कम्युनिष्ट पार्टी नभई त्यस्तै पार्टीहरू छन्।

मैले उनलाई प्रष्ट रूपमा भने कि- यो कुरा ठीक हो तर उनीहरूको इतिहासक्रमले आवश्यकता अनुसार त्यस्ता पार्टीहरू गठन भए तापनि यीनलाई सबैले कम्युनिष्ट पार्टी नै भन्दछन्। यदि हामीले आज नेपालमा कम्युनिष्ट पार्टी नखोली अर्को कुनै नामले पार्टी खोल्ने हो भने देश र दुनियाँलाई हाम्रो परिचय दिन नै धेरै समय लाग्ने छ। तर पनि हामीले कम्युनिष्ट पार्टी गठन गरेको खण्डमा आधा संसारले तुरुन्तै हामीलाई समर्थन गर्ने र आधाले विरोध गर्नेछ।

यसै विरोधले पनि हाम्रो चिनारी देश दुनियामा गर्न सुगम हुनेछ। मलाई माननको यो उक्ति कण्ठै थियो कि हाम्रो प्रचारको आधा काम त हाम्रा विरोधीहरूले नै गरिदिन्छन्। अत: उनको र मेरो कुरा मिल्न सकेन र उनी हामीहरूको जमातबाट अलग भए।

यो घटना र मेरो जीवनमा घटेका यस्ता कैयौं घटनाबाट मैले यो शिक्षा लिएँ कि राजनीतिक आन्दोलन तल्लो तहमा पुगेपछि सामन्ती शासकबर्ग या पूँजीपतिवर्गहरूका निम्ति जनप्रिय नेताहरूको आवश्यकता हुँदो रहेछ।

त्यस्ता कान्तिकारी व्यक्तिहरूलाई मान-सम्मान दशाई या त आफ्नो पक्षमा तान्ने कोशिस गर्दा रहेछन् या उनीहरूलाई क्रान्ति र क्रान्तिकारी नाममा अन्तर्राष्ट्रिय सर्वहारावर्गको पंक्तिबाट अलग गरी कुमार्गतिर धकेल्ने कोशिस गर्दा रहेछन्। आजका कान्तिकारीहरूले पनि यस सत्य कुराप्रति उत्तिकै ध्यान दिनु पर्ने आवश्यकता छ।

दार्जेलिङ्गमा गणेशलाल सव्वासँग भेट भएपछि उनको र मेरो बीचमा पनि नेपालको राजनीतिलाई लिएर धेरै नै छलफल भयो। नेपालमा कम्युनिष्ट पार्टीको गठनका सम्बन्धमा उनको र मेरो तीव्र र कटु विवाद भयो। यो विवाद यस्तो कटु भयो कि उनको र मेरो वोलचाल नै बन्द भयो। धेरै बर्षपछि सन् १९६२ मा शाही हस्तान्तरणपछि म दार्जेलिङ्ग जाँदा हामीहरूको वोलचाल खुल्यो।

नेपालमा कम्युनिष्ट पार्टीको गठनका सम्वन्धमा उनको त्यसवखत यो भनाइ थियो कि नेपाली कम्युनिष्टहरूले छुट्टै कम्युनिष्ट पार्टी गठन नगरी नेपाली काँग्रेसभित्रै बामपन्थी दलको रूपमा काम गर्दै लाने र पछि उपयुक्त समयमा कम्युनिष्ट पार्टीको गठन गर्ने।

आफ्नो यस तर्कको समर्थनमा उनले मोरक्कोका कम्युनिष्टहरूलाई सन् १९२५ मा स्टालिनले सल्लाह दिए, कि त्यहाँ मजदुरवर्ग नभएको हुँदा मोरक्कोका कम्युनिष्टहरूले त्यहाँको राष्ट्रिय पार्टीअन्तर्गत वामपन्थी दलका रूपमा काम गर्ने सल्लाह दिएका थिए।

उनको तर्कको खण्डनमा मैले भने कि त्यो २५ बर्ष पहिलेको कुरा हो। हाम्रो देशमा एकातिर उत्तरी सिमानामा कम्युनिष्ट पार्टीको विजय हुँदै छ भने अर्कोतिर जनता राणाशाहीका विरुद्ध संघर्ष गर्दैछन् अनि नेताहरू चाहिं सम्झौताको बाटोमा लागेका छन्। अत: हाम्रो निम्ति पार्टी गठन गरी जानु नै आवश्यक छ।

फेरि सानै मात्रामा भएपनि नेपालमा मजदुरबर्गको जन्म भैसकेको छ र यो संघर्षको मैदानमा पनि उत्रिसकेको छ। अत: आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थिति दुबै नेपालमा कम्युनिष्ट पार्टीको गठनको अनुकूल छ।

त्यसपछि निर्धारित समयमा साथीहरू आउन थाले। यसबेला हामीलाई आर्थिक संकट पनि थियो। सवै साथीहरूको राय-सल्लाहमा मैले नपेन्द्र चकवर्तीसँग केही पैसा सापट मागें उनले हाँस्दै मलाई भने
“Look here Puspa ! The question of few thousand is nothing for us. If we give you we do not take it back. But one thing you remeber, if the people of Nepal is unable to maintain your party, it is useless to have Communist Party in Nepal”

(हेर पुष्प। केही हजारको प्रश्न हाम्रो निम्ति केही ठूलो कुरा होइन हामीहरूले दियौं भने फिर्ता लिदैनौं तर एउटा कुरा याद गर, यदि नेपाली जनता तिम्रो पार्टीलाई हुर्काउन र बढाउँन असक्षम छन् भने कम्युनिष्ट पार्टीको गठन नै निरर्थक छ। )

उनको यो कुरा मलाई ज्यादै नै घत लाग्यो। यो अत्यन्त सही कुरा हो। उनले भने ‘कि तुई राग कोर्छिस्” (के तिमी रिसायौ) ? “मैले भनें, तपाईको कुरा अति नै मलाई घत लाग्यो र यसले मेरो जीवनपर्यन्त निर्देशन दिनेछ” त्यसपछि मैले मासिक भा.रू. ३६/- जुन ज्यालाको रूपमा लिन्थें सो पछि लिन बन्द गरें।

वास्तवमा प्रत्येक देशको क्रान्तिकारीका निमित्त सल्लाह अति नै महत्त्वपूर्ण सल्लाह यस मानेमा थियो र छ कि प्रत्येक देशका क्रान्तिकारीहरू प्रथमत: राष्ट्रमुखी हुन् पर्दछ। त्यसै भएको खण्डमा मात्र पार्टीले आफ्नो राष्ट्रिय कर्तव्य निभाउन सक्नेछ। त्यही नै अन्तर्राष्ट्रिय भाइचाराका निमित्त सवभन्दा ठूलो कान्तिकारी हुन जान्छ र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्नो राष्ट्र र राष्ट्रिय पार्टीको मान-सम्मान बढाउँछ।

यसै सल्लाहबाट उत्साहित भएर पहिले पनि हाम्रो पार्टीको आर्थिक स्रोत राष्ट्रिय क्षेत्र नै थियो र अहिले पनि हाम्रो आर्थिक स्रोत राष्ट्रिय स्रोत नै हो। आर्थिक स्रोत वास्तवमा आर्थिक स्रोतमात्र नभै सैद्धान्तिक र राजनीतिक समर्थन पनि हो। जुन मात्रामा हाम्रो पार्टीको सिद्धान्त र राजनीति जनताले मन पराउने छन्। त्यही मात्रामा हाम्रो आर्थिक स्रोत पनि बढेर जाने छ। यस कुरालाई आज पनि हाम्रो पार्टीका साथीहरूले राम्ररी बुझ्नु परेको छ।

यसबीच काठमाडौं उपत्यका र पूर्व-पश्चिमका केही क्रान्तिकारी साथीहरूसँग भेट-घाट र कुराकानी भएकै थियो। साथीहरूको राय पार्टी गठनको पक्षमा नै थियो। त्यसपछि २२ अप्रिल, सन् १९४९ का दिन कलकत्ताको श्यामबजार इलाकाको २८, नवीन सरकारलेनमा एक बैठक बस्यो। त्यस बैठकमा पुष्पलाल, निरञ्जन गोविन्द बैद्य, नारायणविलाश जोशी, र नरबहादुर जम्मा ४ जना थिए।

त्यसैबीच काठमाडौंबाट दुर्गादेवी पनि आइपुगेकी हुनाले तिनलाई पनि संस्थापक सदस्यको रूपमा लिने भन्ने कुरा भए अनुसार पार्टीको संगठन समितिमा थपियो। यस संगठन समितिले पुष्पलाललाई पार्टीको महामन्त्री पदमा नियुक्ति गयो र उनलाई केन्द्रीय रूपमा संगठन गर्ने अभिभारा दियो।

त्यसपछि निरञ्जन गोविन्द बैद्यलाई बारा, पर्सा, रौतहटमा पार्टी संगठन गर्ने जिम्मा दिइयो। कारण उनले सन् ४७ मा वीरगंज इलाकामा भएको सत्याग्रहमा नेतृत्वदायी भूमिका खेलेका थिए। नारायणविलास र दुर्गादेवीलाई काठमाडौं उपत्यकाको जिम्मा दिइयो। नरवहादुरलाई विराटनगर, जोगवनीमा मजदूरबीच काम गर्ने जिम्मा दिइयो।

उक्त बैठकले देशका क्रान्तिकारीहरूको नाममा एक अपिल गर्दै नेपाल कम्युनिष्ट पार्टीको आफ्नो लक्ष्य पनि स्पष्ट गरेको थियो। त्यसवखत चीनमा बढ्दो मुक्ति संग्रामबाट भयभित भै नेपालमा पनि कम्युनिष्ट खतरा देखाई राणाहरूलाई सुधार गराउने कोशिस भारतीय सरकारको पक्षबाट भैरहेको थियो।

यसै सिलसिलामा विश्वेश्वरप्रसाद कोइराला (गुप्त रूपले) काठमाडौं गएका थिए। फलत: राणा प्रधानमन्त्री मोहन शम्सेरले नागरिक अधिकारको घोषणा गरेका थिए। यसै सम्बन्धलाई लिएर उक्त बैठकले “नागरिक स्वर सम्पूर्णबर्गलाई आवश्यक छ, अत: क्रान्तिकारी नागरिक स्वतन्त्रता बनाउँ” भन्ने अपील पास गरेको थियो।

उक्त अपिलले मोहन शम्सेरको नागरिक अधिकारको घोषणाको पर्दाफास गर्दै शुरुमै भनेको छ :
– “एकातिर ‘नागरिक अधिकार लिई छोड्छौं’ भन्ने नारा बुलन्द गर्ने सयौ भाइहरू राणाको जेलमा सढिरहेका छन, अर्कोतिर धेरै दिनदेखि कुरेको विधान २००६ सालको सुरूमा राणा सरकारले घोषणा गर्यो। नागरिक स्वतन्त्रताको विषयमा ऐन, कानून, नियमावली जारी भयो।

यो घोषणा हाम्रा ती बीर शहीदहरूको स्मृतिमा ठूलो अपमानको कुरा हो। जसले आफ्ना दाजुभाइ, दिदीबहिनीहरूले लेख्ने, बोल्ने, पढ्ने, सभा-संगठन गर्ने स्वतन्त्रता पाउनेछन् भनेर हाँसी-हाँसी दुश्मनको गोली छातीमा थापेका थिए, हाँसी-हाँसी फाँसीको तखतामा झुन्डिएका थिए। फेरि यो घोषणा नेपालका ती सपूतहरूका निम्ति ठूलो अपमानको कुरो हो-जो सभा संगठन गर्न नदिने राणाशाहीको ऐनलाई लत्याएर जेल पसेका छन्।

साथै यो घोषणा हामी हजारौं नर-नारीका निम्ति एउटा हाँक हो, चुनौती हो, जसले राणाशाहीको अगाडि घुँडा टेक्नुभन्दा अनेकौं किसिमका यातनाहरू, देशबाट निकालिनु इत्यादिलाई श्रेय ठानी रहेका छौं। अत: हाम्रा प्रत्येक नर-नारीले यस घोषणालाई लत्याई कोतपर्वले होइन, क्रान्तिकारी तरिकाले राणाशाहीको तखता उल्टाउने छौं भन्ने प्रतिज्ञा गर्न परेको छ। ” त्यसवखत नेपाल प्रजातन्त्र कांग्रेसले राजालाई हात लिई काठमाडौंमा अर्को कोतपर्व गरी अर्थात् कुनै वहानामा राजदरबारमा राणाहरूलाई बोलाई सखाप गर्ने षड्यन्त्र हुँदै थियो।

वास्तवमा राणाशाही नागरिक स्वतन्त्रतादेखि यसरी काँपेका छन् किन” ? भन्ने तर्क दिदै उक्त अपीलमा भनिएको छ –
“किनभने, राणाहरूलाई यस कुराको पूर्णरूपले ज्ञान छ कि द्वितीय विश्वयद्धको फलस्वरूप समाजवादी संसारको मानप्रतिष्ठा र घेरा बढ्दै गएको छ यो घेरा नेपालमा अति प्रवलरूपले बढेको छ र नेपाल यस नयाँ संसारबाट अलग हुन सक्दैन।

यस नयाँ संसार (समाजवादी सँसार) को हावा नेपालमा अति प्रवल रूपले चलेको छ भन्ने कुरा राणालाई पूर्णरूपले बोध छ। हामीहरूले प्रजातान्त्रिक अधिकारका धेरै लडाँइहरूमा हिस्सा लिएका छौं। प्रजातान्त्रिक अधिकारका निम्ति लडेका छौं र यस दौरानमा (बीचमा) राणाशाहीको विश्वासघात नीतिको भण्डाफोर गरेका छौं।”

 

किनभने हामीले बोल्ने अधिकार पाएको खण्डमा राणाशाहीको पाखण्डी र अतिनिर्दयी शोषणको जसमा जमिन्दार,साहुकार, पूँजीपतिहरूको पनि हिस्सा छ। विरोधमा सानदार शब्द गुन्जायमान गर्नेछौं भन्ने राणाशाहीलाई पूर्णरूपले थाहा छ।

हामीले बोल्ने अधिकार पाएको खण्डमा हाम्रा नेपाली भाईहरूलाई साम्राज्यवादीहरूले मलया हिन्दुस्थान,पाकिस्तान र दक्षिणपर्व शियाका मुलुकहरूमा आज बन्दुकको जुन सस्तो चारा बनाइराखेका छन, त्यसको विरोध गछौं।

“किनभने राणाहरू यो कुरा राम्रोसँग बझ्दछन् कि यदि हामीले पारित हुने अधिकार पायौं भने हामीहरूले मजदूर-किसान,विद्यार्थी-तरुण र नेपालका सम्पूर्ण प्रजातान्त्रिक मनधारी नरनारीहरूलाई संगठित गर्नेछौं र सामन्ती र साम्राज्यवादी डाकाहरूले नेपालको धनजनमा गरिरहेको शोषणलाई बन्द गर्नेछौं।

नेपालको श्रमिकबर्गलाई संगठित गरी हाम्रो धनजनको मालिक हामी नै हुनेछौं, हाम्रो प्यारो मातृभूमिको तैनाथ हामी नै गर्ने छौ न कि सामन्ती र साम्राज्यवादी डाँकाहरू। यी सबै कुरा राणाशाहको गिदीमा तस्वीर छ, त्यसकारण नागरिक स्वतन्त्रताको नामले उनीहरू काँप्दछन् उनीहरूको, थाप्लो रिगाउँदछ मुटु ढुकढुक्याउँदछ।”

त्यसपछि नागरिक हक किन सम्पूर्ण बर्गलाई आवश्यक छ र किन सवैले त्यसका निम्ति संघर्ष गर्नुपर्दछ भनी उक्त अपीलमा भनिएको छ – “यदि नागरिक स्वतन्त्रताले हाम्रा दुश्मनको मुटु काँपे,कापोस्, मुटु को चाल बन्द गरे, गरोस्, तर कान्तिकारीहरूले निम्नलिखित युद्धनाद फुक्नै पर्दछ – “मजदुरहरूलाई आफ्नो रोटी र तलव बढाउँन र महँगी भत्ता बढाउँनका निम्ति लडन् पर्दछ यसकारण कि नागरिक स्वतन्त्रता चाहिन्छ।

किसानलाई आफ्नो भोक हटाउन,आफ्नो वालीनाली (फसल) को मात्रा बढाउन,ज्याला बढाउन, अधियाँमा उचित भाग पाउन र जमीनका निम्ति लडन् पर्दछ। यसकारण कि किसान नागरिक स्वतन्त्रता चाहन्छ। विद्यार्थीहरूलाई विनाफिस अथवा कमफिसमा उच्च दर्जाको शिक्षा पाउन संघर्ष गर्नु पर्दछ। यसकारण कि ऊ नागरिक स्वतन्त्रता चाहन्छ। नारी (महिला) हरूलाई आफ्नो दोहोरो दासत्वका विरोधमा लड्न पर्दछ।

यसकारण कि नारीलाई नागरिक स्वतन्त्रता चाहिन्छ। यसकारण सबै जनता एक भई नागरिक स्वतन्त्रताका लागि सानदार यद्ध लडन पर्दछ”

यसपछि यस्तो संघर्ष कसरी लड्ने भन्ने नीतिलाई स्पष्ट गर्दै उक्त अपीलमा भनिएको छ :

“नेपाली जनताको नागरिक स्वतन्त्रताको लडाइँ एउटा क्रान्तिकारी हो। यसकारण यो लडाई अहिंसात्मकसम्म मात्र सीमित हुनुहुँदैन।

हरेक टोल,हरेक शहर, हरेक गाउँ र हरेक जिल्ला, हरेक स्कुल- कजेल, र हरेक कारखानाहरूमा नागरिक स्वतन्त्रताका क्रान्तिकारी समितिहरू बनाऊ, राणाको जनविरोधी नीतिको खुल्लम खुल्ला बहिस्कार गर, सभा र प्रदर्शन गर, ठाउँ-ठाउँ कब्जा गरी आफ्नो ऐन कानून जारी गर। यी समितिहरूद्वारा किसान, र अरू श्रमजीवीहरूका मागहरू उठाऊ।

नागरिक स्वतन्त्रताका क्रान्तिकारी समितिहरूले भासिएर (अन्डर ग्राउण्ड काम गर्ने तरिकाहरू हमला रोक्ने चालहरू र ती क्रान्तिकारी जनताका मागलाई. समाजवादी लगामे र अरू कांग्रेसी नेताहरूले आँखामा छारो हाली राखेका – दुश्मनका विरुद्ध लडाँइमा एकताबद्ध गर्ने उपायहरू पनि राम्ररी सम्झन परेको छ।

नेपालमा जति संगठनहरू छन् , ती सवैलाई क्रान्तिकारी लालझण्डामुनि  सामेल गराउनु पर्नेछ। वास्तवमा नेपालको समस्त। प्रजातान्त्रिक शक्तिलाई यस्तो एकतावद्ध गर्ने क्षमता क्रान्तिकारी समितिहरूमा हुनुपर्दछ।”

राणाशाहीको शक्तिको मूल्यांकन गर्दै र क्रान्तिका निम्ति अग्रसर हुनका निम्ति उक्त अपीलमा जोडदार रूपमा भनिएको छ – “राणाशाही वास्तवमा त्यति बलियो छैन जतिको देख्दा वलियोजस्तो भान पर्दछ। राणाशाहीसँग जनतालाई दबाउने तागत छैन।

अतएव: जनतालाई दबाउनका निम्ति राणाशाहीले आगल -अमेरिकन सम्राज्यवादी र नेहरू सरकारबाट बल प्राप्त गर्दछ जो कि आफसे आफ बढ्दो क्रान्तिकारी भेलको अगाडि लड्खराइ रहेका छन्। यसरी एकातिर प्रतिक्रियावादीहरू हरेक देशको क्रान्तिलाई रोक्ने ताकमा छन्।

अर्कोतिर समस्त विश्वका प्रजातान्त्रिक शक्तिहरू सोभियत यूनियनको नेतृत्वमा प्रतिक्रियावादीहरूलाई हाँक दिदै अगाडि बढिरहेका छन्। प्रतिकियावादीहरूको हरेक जालसाजीलाई चकनाचुर पार्दैछन्। लाखौं-लाख डलर (अमेरिकाको मुद्रा) ले पनि चीनी जनतालाई अमेरिकन डाकाहरूले च्याँग काइ सेकमार्फत आफ्नो मट्ठीमा राख्न सकेनन्।

चीनी जनता कम्युनिष्ट पार्टीको नेतृत्वमा बिजयी नै सावित भए। चीनमा क्रन्तिकारी जनताको विजय हँदै छ। यही क्रान्ति हाम्रो देशको संघारमा आइपुगेको छ।”

त्यसपछि क्रान्तिका विरुद्ध षड्यन्त्र र सम्झौतामा लागेका बिभिन्न पार्टीहरूका नेताहरूको चालवाजीवाट जनतालाई सतर्क गराउँदै उक्त अपीलमा भनिएको छ:

“याद गर। क्रान्तिको सयममा शोषकवर्ग क्रान्ति रोक्न धेरै चालवाजी गर्दछ। त्यसको प्रत्यक्ष प्रमाण ‘नेपाल प्रजातन्त्र कांग्रेस छ। यसका सञ्चालक निस्कासित राणाहरू हुन्। यसका मुख्य कार्यकर्ताले राणाको हुकुम बजाई जनतालाई मनग्ये शोषण गरेका छन्। उदाहरण -भीम भक्तमान सिंह, गोबर्धन मास्के आदि। यसकारण भुलमा परेका र आफ्नो उल्लु सिधा गर्न नचाहने कार्यकर्ताहरू राजिनामा दिदैछन्। यस्तो कांग्रेसलाई दलाल बनाउँदा तुरून्त काम फत्ते नहुने हुनाले भारतीय धनीवर्गका नेताहरू अर्कोलाई दलाल बनाउने ताकमा छन्।

नेहरूलाई भारतमा क्रान्तिविरोधी कार्यमा मुख्य आड सोसलिष्ट जयप्रकाश र लोहियाजस्ता देशद्रोही व्यक्तिहरू नै भैरहेको हुनाले नेपालमा पनि उनकै चेला चपेटाहरूलाई ( नेपाली राष्ट्रिय कांग्रेस- कोइराला दल- समाजवादी लगामी ) नेहरूले आफ्नो दलाल बनाउने निश्चय गरेको बझिन्छ।

यसकारण क्रान्तिको नेतृत्व गर्ने कम्युनिष्ट पार्टी नेपालमा देखा नपर्दै की कांग्रेसीहरू तछाड्मछाड् गर्दै कम्युनिष्ट डर देखाई राणासँग सम्झौता गर्न अगाडि बढे। ………..विश्वेश्वर कोइराला काठमाडौंमा गई प्रधानमन्त्री मोहन शम्शेरलाई यही व्यहोराको विन्ती-पत्र चढाए। यस्तासँग एकदम साबधान। याद गर – सामन्तवादी समाज र शासन व्यवस्था नेपालमा रहेसम्म एकाध बकुलाभगते नेताहरू नेपालको शासनमा छानिएर जनताको दुःख-कष्ट कम -हँदैन, यो त क्रान्तिकारी जनतालाई भुलमा पार्ने तरिका मात्र हो। अतएव: हाम्रो नारा हुनु पर्दछ :

“राणाहरूसँग सम्झौता होइन, क्रन्ति ! क्रान्ति!! क्रान्ति !!!”

त्यसपछि यस क्रान्तिको अन्तिम उद्देश्यको व्याख्या गर्दै उक्त अपीलमा भनिएको छ :

“सामन्ती शासन व्यवस्थालाई चकनाचुर गर। विदेशी साम्राज्यवाद र भारतीय पूँजीवादको प्रभाव र घेरादेखि अलग होऊ। मजदुर-किसानको शासन खडा गर। यस शासनमा धनी,साम्राज्यवादी र प्रतिक्रियावादीहरूका दलालहरू बाहेक सवै शोषित जनतालाई हिस्सा देऊ। सोभियत रुस, द.पू. यूरोपका नव प्रजातन्त्रहरू र आजाद चीनसँग राजनैतिक सम्बन्ध खडा गर। समाजवादको – लक्ष्य राखी शासन चलाऊ।

यसैलाई नव प्रजातन्त्र (New Democracy) भन्दछन्। द.पू. यूरोप – र आजाद चीनमा यस्तै शासन छ। हामीलाई पनि यही चाहिन्छ।

अतएब: “नव प्रजातन्त्र जिन्दावाद”।

पर्चा नं १ (क) २००६ बैशाख १२ गते संगठक समिति, नेपाल कम्युनिष्ट पार्टी)

-यो आलेख पुष्पलालको पुस्तक ‘नेपाल कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’बाट साभार गरिएको अंश हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved