बालिकाको बयान बदलिँदैमा सहज छैन पल शाह छुट्न

पीडित बालिकाले बयान फेरेसँगै शाह चाँडै नै छुट्न सक्ने अड्कलबाजी भइरहेका छन्। तर पीडितले बयान फेरेकै आधारमा अहिले नै अभियुक्त थुनामुक्त नहुने अधिवक्ता अर्याल बताउँछन्।

बालिकाको बयान बदलिँदैमा सहज छैन पल शाह छुट्न
फाइल तस्वीर

काठमाडौं। नाबालिग गायिकामाथि जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा पीडितले बयान फेरेकी छन्।  आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा पीडित गायिकाले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको भन्दै बयान फेरेकी हुन्।

यससँगै अब यस प्रकरणमा पललाई सजाय हुन्छ कि सफाइ भन्ने प्रश्नहरू पनि अघि आएका छन्। तर कानून व्यवसायीहरूका अनुसार बालिकाले बयान फेरे उनी छुट्न त्यति सहज देखिँदैन। अधिवक्ता ओमप्रकाश अर्याल शाह छुट्नका लागि मुद्दाको अन्तिम फैसला आउनुपर्नेछ।

बालिकाको तर्फबाट बहस गर्न काठमाडौंबाट तनहुँ पुगेकी अधिवक्ता राधिका खतिवडाका अनुसार पीडितले जाहेरीमा भएका केही विवरणमा सहमति जनाएको र केहीमा असहमति जनाएकी छन्। “मुद्दा दायर हुँदाको अभियोगपत्रमा भएका कति कुरा हो भनिन्, कति होइन भनिन्,” उनले भनिन्, “त्यो हो र होइन अदालतले निर्क्यौल गर्ने विषय हो। त्यति मात्रै भएको हो, अरु केही भएको छैन।”

बन्द इजलासका कुरा बाहिर भन्न नमिल्ने उल्लेख गर्दै उनले भनिन्, “बकपत्र चलिरहेको छ। आज पीडितको बकपत्र सकियो। अब जाहेरवालाको बकपत्र भएको छैन। अहिले हामीले अरु केही भन्न मिलेन।”

अहिले अभिनेता शाह पुर्पक्षको लागि थुनामा छन्। पीडित बालिकाले बयान फेरेको खबर बाहिरिएसँगै शाह चाँडै नै छुट्न सक्ने अड्कलबाजी भने भइरहेको छ। तर पीडितले बयान फेरेकै आधारमा अहिले नै अभियुक्त थुनामुक्त नहुने अधिवक्ता अर्याल बताउँछन्।

उनका अनुसार पीडितले बयान फेरेमा अदालतले सावधानी अपनाउनुपर्ने हुन्छ। “नेपालको परिवेशमा धेरै जसो ठाउँमा पीडितलाई, जाहेरवालालाई विभिन्न किसिमको प्रलोभन देखाइन्छ। ब्ल्याकमेल पनि गरेको हुन्छ। त्यो कारणले आफ्नो भनाइ परिवर्तन गर्न सक्छन्,” उनी भन्छन्, “पछि परिवर्तन गरेको भनाइलाई नै आधार मान्ने अवस्था बिरलै हो। पछिल्लो भनाइलाई सावधानी पूर्वक ग्रहण गर्नुपर्छ। किन त्यो मान्छेले जाहेरीको बेलामा एक चिज भन्यो, पछि अर्काे भन्यो भने कुन चाहिँ सत्य हो भन्ने पत्ता लगाउन उनीहरूको भनाइको मात्रै आधार नभएर अरु सबुत प्रमाण, परिस्थिती जन्य प्रमाणहरू सबै हेरेर निश्कर्षमा पुग्नुपर्छ।”

यस्तो छ अदालती प्रक्रिया

अधिवक्ता अर्यालका अनुसार जाहेरी सामान्य सूचना मात्रै हो। त्यतिको आधारमा कसैलाई दोषी ठहर गर्न मिल्दैन। जाहेरी प्रारम्भिक सूचना मात्रै भएकाले अरु भौतिक सबुत प्रमाणहरू संकलन गर्नुपर्छ र त्यो नै निर्णायक हुन्छ। मुद्दाको सुनुवाइ र बकपत्रका क्रममा पीडितले बयान फेरे पनि घटनामा जोडिएका अन्य मानिसको पनि बयान हुन्छ।

“अदालतमा पीडितले बयान फेर्नुभयो भने उहाँसँग थप अझै बुझ्न सक्छ। थप प्रश्नहरू सोधेर सत्य कुरा निकाल्न प्रतिप्रश्न गर्न सकिन्छ। कतिपय बयान, पूरक बयान लिएर थप सूचना सत्य बोल्न लगाउने प्रक्रिया अन्तर्गतको कुरा हो,” अधिवक्ता अर्याल भन्छन्, “त्यति गर्दा पनि फरकफरक दिँदै गयो भने पीडितलाई नै सजाय पनि हुनसक्छ भन्ने कुराको जानकारी अदालतले गराउनुपर्छ। जानकारी गराएर पनि उहाँले झुठो बोलेको हो कि होइन भन्ने कुराको बारेमा केही न केही अनुसन्धान गर्नुपर्ने हुन्छ।”

बकपत्रका दौरानमा पीडितले बयान फेर्दैमा अभियुक्त भने सजिलै छुट्न नसक्ने उनले बताए। उनले भने, “बकपत्र चलिरहँदा पीडितले बयान फेरेकै भरमा अभियुक्त छोड्दैन। फाइनल सुनुवाई पछि नै बोलिन्छ। बीचैमा अभियुक्त छुट्ने नछुट्ने फैसला गरिँदैन। यसको लागि बकपत्र सकिएर फैसला आएपछि मात्रै छुट्ने नछुट्ने प्रक्रिया अगाडि बढ्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved