जसको जिउने आधार नै वृद्धभत्ता बनेको छ

मालिका गाउँपालिका–५ देवीस्थानका एक वृद्धले छोराबुहारी भए पनि उनीहरूले हेलाँ गरेपछि अलग्गै बसेको र वृद्धभत्ताबापत पाइने रकमबाट गुजारा चलाएको बताए। “छोराबुहारी त छन् तर, भन्नका लागि मात्र छन्”,

जसको जिउने आधार नै वृद्धभत्ता बनेको छ

म्याग्दी। न सन्तान, न सम्पत्ति १ त्यसमाथि हिँडडुल गर्न र बनिबुतो गरेर गुजारा चलाउन नसक्ने सामर्थ्यविहीन शरीर। म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका ९६ वर्षीय खड्गबहादुर थापाको वास्तविक अवस्था हो यो।

आफ्नो सम्पत्ति नभएपछि आफन्तको प्रयोगविहीन घरमा बसेर जीवनका अन्तिम दिनहरू बिताइरहेका खड्गबहादुर थापा र उनकी श्रीमती खिरकुमारी थापाको जीवन जिउने आधार भनेको नै सरकारले दिने वृद्धभत्ता हो।

सोही गाउँकी ८७ वर्षीया मसिनी कार्की सरकारले दिने वृद्धभत्ता बुझेको दिन निकै खुशी हुन्छिन्। पाँच वर्षअघि श्रीमान् बितेपछि बगरफाँटको कोटखोला नजिक डाँडोको पर्ती जग्गामा गाउँलेले बनाइदिएको छाप्रोमा वस्दै आएकी कार्की वृद्धभत्ताबापत सरकारले दिने रकमलाई फारु गरेर खर्च गर्छिन्। वृद्धभत्ताबाहेक उनको आम्दानीको अन्य कुनै स्रोत छैन। कार्की पनि सन्तानविहीन हुन्।

थापा र कार्की मात्रै होइन, म्याग्दीका पाँच हजार बढी ज्येष्ठ नागरिकको जीवन जिउने आधार नै सरकारले दिने वृद्धभत्ता बनेको छ। एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटा स्थानीय तह रहेको म्याग्दीमा पाँच हजार ६४६ ज्येष्ठ नागरिकले वृद्धभत्ता पाउँदै आएको स्थानीय तहहरूको तथ्यांकले देखाएको छ। यसरी वृद्धभत्ता पाउनेमा कतिपय ज्येष्ठ नागरिक सन्तानविहीन छन् भने धेरैजसोका छोराछोरी भए पनि सरकारबाट प्राप्त वृद्धभत्ताले नै आफ्नो गुजारा चलाउने बताउँछन्।

समाजबाट सम्मान र छोराबुहारीबाट माया नपाए पनि सरकार आफूहरूको गुजारा चलाउने माध्यम बनेको उनीहरूको भनाइ छ। मालिका गाउँपालिका–५ देवीस्थानका एक वृद्धले छोराबुहारी भए पनि उनीहरूले हेलाँ गरेपछि अलग्गै बसेको र वृद्धभत्ताबापत पाइने रकमबाट गुजारा चलाएको बताए। “छोराबुहारी त छन् तर, भन्नका लागि मात्र छन्”, मङ्गला गाउँपालिका–४ का जसबहादुर घर्तीले भने, “चामल, नुन, तेल सबै वृद्धभत्ताले किन्छु। खर्च टरेको छ। आफ्ना सन्तानबाट दुःख भोग्नु परे पनि हामीलाई सरकारले हेरेको छ, हामी बूढाबूढीलाई साँझ बिहान खाने गाँस र बिरामी पर्दा औषधोपचार गर्ने खर्च पुगेको छ।”

त्यसैगरी बेनी नगरपालिका–२ की इन्द्रकली थापा छोरीसँग बस्नुहुन्छ। श्रीमान् बितेको २५ वर्ष बित्यो। घर खर्च, औषद्योपचार र चाडपर्वमा नातिनातिनीलाई दक्षिणा वृद्धभत्ताबापत पाइने रकमबाट नै गर्छिन्। भनिन्, “काम गर्न सकुञ्जेल आफैँले दुःख गरेर खाएँ। अहिले काम गर्न सक्दिनँ, सरकारले दिएको पैसाले पेट पालेकी छु।” बगरफाँटकी ७८ वर्षीया यामकुमारी शर्मा पनि छोराबुहारीसँग बस्छिन्। खान, बस्न समस्या छैन। वृद्धभत्ता ओखतीमुलोमा खर्च हुने उनले बताइन्। “छोराबुहारीलाई आफ्नो व्यवहार धान्दै ठीक छ। सरकारले दिएको पैसा रोगी बूढीलाई दबाइमुलोमा सकिन्छ”, उनले भनिन्।

वृद्धभत्ता बैंकबाट वितरण गर्न थालेपछि भने वृद्धवृद्धालाई सास्ती भएको छ। संघीयता कार्यान्वयन हुनुअघि सामाजिक सुरक्षाभत्ता सचिवले वडा कार्यालय अथवा टोलटोल पुगेर वितरण गर्ने गरेको सम्झँदै संघीयता कार्यान्वनमा आएसँगै पारदर्शिताका लागि सरकारले बैंकिङ प्रणालीमार्फत वितरण गर्न अनिवार्य गरेपछि सास्ती भएको ज्येष्ठ नागरिकको गुनासो छ।

बेनी नगरपालिका–२ का वडाध्यक्ष राजाराम शर्मा सापकोटाले भत्ता बुझ्नका लागि बैंकसम्म धाउनुपर्दा वृद्धवृद्धा र अशक्तलाई निकै दुःख भएको बताए। “सरकारले दिएको भत्ता वृद्धवृद्धाको जिउने आधार त बनेको छ तर, बैंकसम्म धाउनुपर्दा उनीहरूलाई दुःख पनि निकै हुन्छ, सरकारले वडा कार्यालमार्फत घरआँगन वा सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट नै वितरण गर्ने व्यवस्था मिलाइदिए उनीहरूलाई राहत हुने थियो”, वडाध्यक्ष सापकोटाले भने।

बेनी नगरपालिका-२ का ८६ वर्षीय वेदप्रसाद उपाध्यायले वृद्धाभत्ता घरैमा ल्याएर दिए आफूलाई सजिलो हुने बताए। “भत्ता लिन सदरमुकाम बेनीबजारको बैंकमा पुग्नुपर्छ। रोगी शरीरले भर दिँदैन। बैंकमा पनि लामो लाइनमा बस्नुपर्ने हुन्छ। बैंकमा पैसा निकाल्ने मेसिन बिग्रिँदा दोहोराएर जानुपर्ने हुन्छ”, उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved