व्यक्तिवृत्त

जीवन शर्माले हिँडेको त्यो गाउँको बाटो

अघोषित ‘सुकुम्बासी’ हुन्, उनी। उनको नाममा नेपालको कुनै पनि थलोमा एक टुक्रासम्म जमिन छैन। यो कुरा सुन्दा अनौठो लाग्छ। पाहीका धनाढ्यमा गनिन्थे उनी। पाहीमात्र नभई बागलुङको दक्षिणी भेगका धनाढ्यमै पर्दथे उनी।

जीवन शर्माले हिँडेको त्यो गाउँको बाटो

एउटा गज्जबको संयोग मान्नु पर्ला।
२०७८ चैत २६ गते जनवादी गायक जीवन शर्माले ६२ औँ हुरी-बतास पार गर्दै थिए। त्यो दिन टेक्दै थिए उनी- ६३ औँ वसन्तको सँघारमा। वसन्तको उल्लसित दिनमा, आफूले धर्तीलाई स्पर्श गरेको भोलिपल्ट उनी आफ्नै जन्मथलो बागलुङ, पाहीका बालकदेखि वृद्धसम्मलाई सुनाउँदै थिए, सुमधुर स्वरलहरी। आफ्नो गलालाई तिखार्दै अरूका गला पनि तिखार्ने ध्येय सँगाल्दै थिए, यी शब्दहरूसाथ,
‘परदेशी तिमी फर्की आऊ है…।’

चैतको अन्तिम दिनहरूमा पाहीभन्दा माथिको हाँडीकोटको चुलीमा थुप्रिएको थियो, बादल। खसाल्न लागिरहेको थियो बादलले जलथोपाहरू। अलिअलि त खस्दै पनि थिए। पाहीका स्थानीय भने बिग्रिन लागेको मौसमप्रति कुनै पर्वाह नगरी, कुनै उजुरी नदिई जीवनका गीतमा नाच्न र रमाउन लालायित देखिन्थे।

एउटा खोल्सीनिर उत्तीसलगायत वृक्षहरूले घेरिएको भूभाग र केही आर्द्र जमिनमा आफ्ना स्वर पस्किन तल्लीन शर्मा भन्दै थिए, ‘जसलाई रुघा-खोकी र ज्वरो आएको छ, तपाईंहरू यो पानीबाट बँचेर गीत सुन्नु होला।’

प्रसिद्ध गीतिसर्जक विनोद गौचनले औँल्याएझैँ मौसम त्यति ‘झल्ला’ भएन, त्यो दिन। कुनै बेला पोखराका यी कविले पोखराको मौसमलाई बुझेर लेखेका थिए, ‘मौसम पनि झल्ला हुन्छ यो शहरमा।’

पहिला त उनले मञ्चमै उभिएर गाए- गाउँको सम्झनालाई तरोताजा राख्ने एउटा नवसिर्जना। कलाकार न परे, आफूसँगै अरूलाई गाउन र नचाउन पछि परेनन् उनी।

मञ्चबाट ओर्लिए एकाएक र गाए बागलुङ भेगतिर खुबै चल्ने भाका- ‘सालै जो।’ गाउन थाले, ‘तलमा पर्‍यो बेंसीको फाँट, माथि पर्‍यो कैलास…।’

अहाँ ! उनीसँगै नाचे सबै। बालकहरू त केही पर त्यही नाचको सिको गर्दै थिए। एउटा कुनामा स्थानीय दलित समुदायका मानिसहरू पनि आफ्नो प्रतिभा प्रस्फुटित तुल्याउँदै थिए।

रमाइलो रह्यो माहोल।

००

हरेक वर्ष चैत्राष्टमीका दिन बागलुङ बजारको प्रवेश-विन्दु प्रसिद्ध कालिका भगवतीको मन्दिरमा भव्य मेला लाग्दछ। जसले नामै पाएको छ, ‘चैते दशैँ मेला।’ सम्भवतः चैते दशैँलाई भव्य रुपमा मनाउने संस्कृति त्यही भेगमा मात्र जीवित रहँदै आएको छ होला।

आफू जन्मिएकै दिन शर्माले गायक तिलकवम मल्लको चर्चित गीत ‘चैते दशैँ बागलुङे मेलैमा..’ लाई स्मरण गर्दै आफ्ना गीतहरू गाउने योजना थियो।

बिहान सबेरै उनले बागलुङको यात्रा तय गरे। काठमाडौंदेखिको यात्रालाई सहज-असहज रुपमा पार गर्दै उनी पुगे, त्यो दिन अपराह्न तीन बजेतिर। र, चैते दशैँ मेलाको सांस्कृतिक समारोहमा उपस्थिति पनि जनाए। उनलाई सुन्न लालायित थिए, धेरै नै।

अफसोच, प्रकृतिले रौद्र रुप देखायो एकाएक। अपराह्नतिर मेलास्थललाई बिथोले- आँधी, हुरी, बतास, असिना र पानीले। असिना र पानी यसरी ओइरियो, सायद आकाश नै रित्तिएको छ। त्यो दिन चैते दसैँ मेला भर्न आउनेहरूलाई गीत सुनाएर नचाउन पाएनन् उनले।

भोलिपल्ट भने ‘क्षतिपूर्ति’ तिरे उनले। अर्थात्, बागलुङको चैते दशैँ मेलामा मेला भर्न आएकाहरूलाई नचाउन नपाएको ‘क्षतिपूर्ति’ उनले आफ्नै जन्मथलोमा पुगेर तिरे।

पाहिस्थित अमर युवा क्लबले मनाउँदै रहेछ- २४ औँ वर्षगाँठ। उनीसहित पुगे- त्यही गाउँमा जन्मिएर राष्ट्रिय पहिचान बनाएका पूर्वसचिव, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा, संस्कृत साहित्यका विद्वान् र सोही गाउँमा अध्यापन गरेका सर्जक मुकुन्द शर्मा चालिसे। आफ्ना शिष्य शर्माप्रति गर्वित थिए त्यो दिन, डा. महाश्रम। भन्दै थिए, ‘जीवन यही माटोमा जन्मिएर हुर्किएका राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतिभा हुन्। उनको प्रतिभा यति छ कि, उनी आफैं गीत लेख्छन्, संगीत भर्छन् र सुमधुर स्वरमा गाउँछन् पनि। यसरी तीनैखालका प्रतिभा भएका व्यक्तित्वहरू कमै हुन्छन्।’ डा. शर्माको शब्दमा अतिशयोक्ति थिएन।

साँझ पर्न लागिरहेको बेला सोझियो यात्रा जीवनको घरतिर। उजाड रहेछ अचेल उनको घर-आँगन। सग्लो घरको आँगनमा उम्रिएका रहेछन् झारपातहरू। तर त्यस्तो थलो रहेछ, पाही, जहाँ बाह्रैमास रमाउन सक्छन्, प्रकृतिका हरेक जीव। शिखरनिर उभिएको हाँडीकोट, त्यसभन्दा मुनिको घना वनजंगल, कुल्कुलाउँदै बगिरहने स-साना झोरा र खोल्सीहरू, व्यवस्थित बस्ती। कसैले स्वर्गको परिकल्पना गरेका छन् भने पाहीको त्यो भूभाग टेकेपछि प्रत्याक्षानुभूति गर्न पाइने रहेछ। त्यसैले त कवि मुकुन्द शर्मा चालिसेले लेखेका थिए, करिब पाँच दशकअघि नै,
‘विहार स्थलको माथि गुल्जार वनबीचमा
छ हाँडीकोट यो मानौं सुरलोक नजिकमा…’

शिक्षणको याद

चैत २८ गते उनले पाहीस्थित जनता माध्यमिक विद्यालयको प्रांगण टेके, जुन विद्यालयमा २०४१ सालतिर रहेछन् उनी, ‘हेड सर’। तत्कालीन समय र वर्तमानको शिक्षण पद्धति र शैलीबीचको अन्तर केलाउँदै उनले अनुभव बाँडे, “पहिला व्ल्याकबोर्डमा लेखेर पढाइन्थ्यो, अहिले प्रोजेक्टरबाट पढाइन थालिएको छ, कति अन्तर आयो, आयो।”

गीत-संगीतमा प्रतिबद्ध रुपले समर्पित हुनुअघि उनले धेरै ठाउँमा शिक्षण पनि गरे। पाही, सर्कुवा, मुस्ताङ र सोलुखुम्बुमा समेत। तर जिन्दगीले अर्कै मोड लियो- २०३६ सालको जनआन्दोलनपछि। शिक्षणभन्दा सांस्कृतिककर्मीको भूमिकामा उभिएर जनता ब्युँझाउने अभियानमा लागे। त्यसयता निरन्तर छन्, गीत-संगीत क्षेत्रमा नै। जनताको दुःख-सुखका कथालाई टिपेर उनीहरूलाई जागृत तुल्याउने अभियानमा नै।

कुनै काममा एकोहोरिएर लाग्ने स्वभावका शर्मा तत्कालीन समयमा पढ्दै थिए, तीन कक्षामा। परीक्षाको नतिजा आउँदा अनुत्तीर्ण भए। अनुत्तीर्णले रन्थनिएपछि गाउँका एकजना मिल्दो साथीसँग साँझपख सल्लाह गरे, ‘पास हुन सकिएन, अब भागेर दिल्ली जाऔँ।’

बागलुङ भेगका मानिसहरू दिल्ली जाने चलन थियो, त्यतिबेला। भन्छन्, “साँझमा सल्लाह गरेर सुत्यौं। भोलिपल्ट उठ्दा उज्यालो भइसकेको रहेछ। उज्यालोमा भाग्ने आँट आएन र भाग्न पाएनौं।”

तीन कक्षामा अनुत्तीर्ण भएका उनी एकै पटक सात कक्षामा भर्ना भए। अंग्रेजी त शून्य। एबीसीडीसमेत जानेका थिएनन्। कक्षा टपे पनि पढाइमा उनी अब्बल भएरै निस्किए। भन्छन्, “वार्षिक परीक्षा आउन ६ महिना बाँकी हुँदादेखि पढ्न थालेँ, नतिजा आउँदा त म प्रथम भएछु।”

अध्ययनमा उनी यति लगनशील थिए, घाँस काट्न जाँदा पनि किताब बोकेरै जान्थे। घाँस काट्दै पढ्थे उनी। मिहिनेत नै मूलमन्त्र थियो उनको। जुन आजपर्यन्त कायम छ।

पढाइमा अब्बल भए पनि कताकता भुलक्कड पनि थिए उनी। पाहीबाट दुई घन्टा टाढा सर्कुवास्थित विद्यालयमा जाँदा कहिलेकाहीं स्थानीय ठेउले खोलामा ब्याग छाड्थे। विद्यालयमा शिक्षकले किताब निकाल्न भनेपछि उनी झल्याँस्स हुन्थे, ‘ओहो, ब्याग त मैले खोलामै पो छाडेछु।’

पाहीका शिक्षकहरूलाई आफ्ना अनुभव साट्ने क्रममा उनले प्रख्यात कवि पिवी शेलीको कविता सम्झिए। कविता थियो, ‘टु अ स्काइलार्क’। उक्त कविताको थोरै व्याख्या गरेर उनले भने, “दुःखबाट नै सुन्दरता जन्मिन्छ।”

जहाँ जीवन पुग्छन्, त्यहाँका बासिन्दाले उनको सुमधुर गलासँग परिचित हुन पाएनन् भने के नै अर्थ रहन्थ्यो र ? शिक्षकहरूमाझ उनले एउटा उत्साहप्रद गीत गाए,
‘समयसँग सम्झौता होइन, संघर्ष गर संघर्ष
आउँछन् हजारौं चुनौती स्वीकार गर सहर्ष…।’

जापानमा गीत गाउँदा कारबाही

जीवनले आफ्नो जीवनका मूल्यवान् र ऊर्जाशील वर्षहरू नेकपा (मसाल) को छहारीमुनि ओतिएर गीत-संगीतलाई समर्पित गरे। २०३२ सालदेखि नै संगीत साधनामा निमग्न उनले २०३६ सालको जनमतसंग्रहको बेलामा त ‘वेदना परिवार’ सँग जोडिएर गीत गाउँदै हिँडे।

उनको प्रतिभालाई गहिराइबाटै चिनेका थिए- मसालका नेताहरू मोहनविक्रम सिंह, चित्रबहादुर केसीलगायतले। केसी त उनकै भेगका नेता थिए, नचिन्ने कुरै भएन।

करिब चार दशकसम्म मसालको झन्डामुनि जनवादी संस्कृतिको प्रवाहमा हेलिएर समय, मिहिनेत र सीप खर्चेका शर्माले २०७५ सालतिर भने त्यही पार्टीबाट ‘कारबाही’ को पुरस्कार पाए। भन्छन्, “तीन वर्षयता म स्वतन्त्र छु, कुनै पनि पार्टीमा आबद्ध छैन।”

२०७५ सालमा उनलाई जापानमा बस्ने नेपालीहरूले एउटा सांगीतिक कार्यक्रममा भाग लिन बोलाए। ‘जापान-नेपाली एकता समाज’ ले निम्त्याएको कार्यक्रममा भाग लिएर फर्किएपछि उनलाई पार्टीको उच्च तहका नेताहरूले स्पष्टीकरण सोधे, ‘पार्टीलाई कुनै जानकारी नदिई, कुनै अनुमति नै नलिई किन जापानमा गएर गीत गाएको ?’

उनले स्पष्टीकरण दिए र भने, ‘जहाँ गए पनि मैले दुःखी-गरिबको गीत गाउने हुँ। मलाई जसले जहाँ बोलाए पनि दुःखी-गरिबकै गीत गाउँदै आएको छु। जापान गएर गीत गाउँदा मेरो के गल्ती भयो र ? त्यहाँ बस्ने नेपाली मजदुरहरूले बोलाए, म उनीहरूकै गीत गाउन गएँ।’

नेताहरूले चित्त बुझाएनन् उनको स्पष्टीकरण। अन्ततः कारबाहीको भागिदार बनाएरै छाडे। कारबाही गर्दा ‘सांस्कृतिक विचलन’ जस्ता शब्द जोडेर कारबाही गर्ने कम्युनिष्टहरूको चलन छ। तर शर्मालाई भने बिनाआरोप नै कारबाही गरियो।

कारबाहीप्रति उनको ठूलो आपत्ति र गुनासो छैन। सहज रुपमा भन्छन्, “मलाई कारबाही गरेर झनै सहज बनाइदिए। झन् आनन्दमय जिन्दगी बिताइरहेको छु।”

के अब पार्टीले पुनः गीत गाउन बोलायो भने जानु हुन्छ त ? शर्मा निर्धक्कसाथ भन्छन्, “अब त्यो सम्भावना छैन। पार्टीगत रुपमा स्वतन्त्र भए पनि मजदुरप्रतिको प्रतिबद्धता, गरीब-दुःखीका वेदनालाई संगीत भरेर गीत गाउँदै हिँड्ने र जनता, देश र राष्ट्रप्रतिको जिम्मेवारीबोध र प्रतिबद्धता भने यथावत नै छ।”

रक्तिम जुर्‍यो नाम

रक्तिम र जीवन शर्मा- एकअर्काका पर्यायवाचीजस्तै। नङ र मासुजस्तै। ‘रक्तिम सांस्कृतिक परिवार’ लाई झनै ‘रक्तिम’ बनाउन शर्माले नै पोखे- लगनशीलता, कठोर मिहिनेत र सीप-सिर्जना।

पछिल्लो समय रक्तिमले पैंतीसौं वार्षिकोत्सव मनाइरहँदा शर्मा भने आफ्नै गाउँबस्तीमा व्यस्त थिए। ‘रक्तिम’ सँगको दशकौं लामो सम्बन्ध टुटेको छ अहिले। भन्छन्, “अहिले म कुनै पनि संघसंस्थामा आबद्ध छुइँन। रक्तिमबाट हटे पनि मेरो चिनारी जनताको गीत गाउने गायकको रुपमा छँदै छ।” तर ‘देवकोटा-लुसुन प्रतिष्ठान’ मा भने आबद्ध छन् उनी।

२०४३ सालको त्यो दिन उनी बिर्सन सक्दैनन्। पञ्चायतको कठोर दिनहरूमा बीजारोपण भएको थियो, ‘रक्तिम’ को। जुन नाम जुराएका थिए उनले नै।

२०४३ को वर्षान्त अर्थात् २६ चैत। उनीसहित प्रगतिशील सांस्कृतिक चेत भएकाहरू त्रिचन्द्र कलेजको घन्टाघरको फेदमा उपस्थित भए र एउटा सांस्कृतिक समूह गठन गर्न सहमत भए। पहिलो दिन संस्थाको नाम जुरेन। भन्छन्, “कसैले कुनै नाम, कसैले कुनै नाम प्रस्तावित गरे। भोलिपल्ट मैले एउटा नाम प्रस्ताव गरेँ- रक्तिम। सबै साथीले रुचाए र त्यही नाममा नै सहमति बन्यो।”

गीत-संगीतप्रति उनको रुचि गाउँमा छँदादेखि नै पलाउन पुग्यो। भन्छन्, “गाउँका स्थानीयहरूले देश, जनता र राष्ट्रप्रति जिम्मेवार हुनुपर्छ भन्ने चेतना हृदयको गहिराइमै जगाइदिनुभयो। देश र जनताप्रतिको जिम्मेवारीलाई कसरी सशक्त र प्रभावकारी ढंगले निर्वाह गर्न सकिन्छ भन्ने चिन्तन गर्दा गीत-संगीत सशक्त माध्यमका रुपमा देखा परे र यही क्षेत्रमा नै आबद्ध भएर अघि बढेँ।”

अभिभावकको चाहना भने बेग्लै थियो। नामुद पण्डित बनाउन चाहन्थे, बुबाले उनलाई। संस्कृत पढाएर ठूलो पण्डित बनाउने बुबाको चाहना रहे पनि पढाइमा अब्बल रहेको देखेपछि इन्जिनियर बनाउन चाहे। बुबाको चाहनालाई कार्यान्वयन गर्र्ने सिलसिलामा उनी काठमाडौं आए र पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा भर्ना पनि भए। दुई वर्ष पढे। तर त्यही बेला २०३६ सालको जनउभार शुरु भयो। पढिरहेका उनी त्यो जनउभारलाई सघाउन गीत गाउँदै सडकमा ओर्लिए। भन्छन्, “आन्दोलनको बेला गाउँबस्तीहरूमा गीत गाउँदै हिँड्न थालेँ। त्यो जनआन्दोलनको हुरीले मलाई सांस्कृतिक आकाशतिर बेगिन लगायो। इन्जिनियरिङको मेरो पढाइ त्यही छुट्यो।”

२०३६ सालको जनउभारमा उनले ‘वेदना परिवार’ को व्यानरमुनि गीत गाउँदै हिँडेका थिए। उनीसँगै अग्रज गायक रायन, कोमल धिताललगायत थिए।

आफ्नै सहकर्मीद्वारा गीत चोरी

केही वर्षअघि उनको एउटा गीत चोरी भयो- कुनै बेलाका रक्तिम सांस्कृतिक परिवारमा आबद्ध आफ्नै सहकर्मीद्वारा। उनले लेखेको गीतमा सामान्य शब्द हेरफेर गरेर एकजनाले गाए-
‘तिमी फुल्यौ कतै म फुलेँ कतै
जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ…।’

आफ्नो सिर्जना आँखैअघि चोरी भए पनि उनले कुनै कदम चालेनन्। स्वर, संगीत र शब्दका त्रिवेणी प्रवाहित तुल्याइरहेका उनलाई आफ्नो सिर्जना चोरी भए पनि अरू थुप्रै सिर्जनाहरूप्रति गर्व छ।

आफ्नै सहयात्रीले एउटा गीत चोरेको पीडाभन्दा पनि राज्यले नै उनका गीतहरू ‘चोरेको’ मा दुःखमनाउ गर्छन्। पूर्वराजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि उनका सिर्जनाहरूले नराम्रो हमला बेहोर्नुपर्‍यो। भन्छन्, “युद्धकालमा मेरो कोठामा सेनाले छापा मार्‍यो। मेरा कतिपय मास्टर क्यासेटहरू लिएर गए। त्यसमध्ये मेरा केही भाकाहरू पनि हराए।”

हुन पनि, अहिलेसम्म २५ सयभन्दा बढी गीत-संगीत रेकर्ड भइसकेका छन् उनका। कम होइन, संख्यात्मक हिसाबले यति गीत। शब्दहरूका त कुरै नगरौं। ६ हजारभन्दा बढी शब्द छन्, उनीसँग।

गाएरै जीवन निर्वाह

अघोषित ‘सुकुम्बासी’ हुन्, उनी। उनको नाममा नेपालको कुनै पनि थलोमा एक टुक्रासम्म जमिन छैन। यो कुरा सुन्दा अनौठो लाग्छ। पाहीका धनाढ्यमा गनिन्थे उनी। पाहीमात्र नभई बागलुङको दक्षिणी भेगका धनाढ्यमै पर्दथे उनी।

अंशबन्डा हुँदा पाहीको जग्गा नभई उनको भागमा पर्‍यो, चितवनको डेढ कठ्ठा घडेरी। तर, २०५२ सालतिर उनले त्यो जग्गा बेचे र बेच्दा आएको तीन लाख रुपियाँ लगानी गरे- ‘नेपाल सांस्कृतिक प्रतिष्ठान’ मा। भन्छन्, “त्यो प्रतिष्ठानलाई नेपालका गरीब, दुःखी र उत्पीडित जनताको गीत-संगीतको केन्द्र बनाउने विचार थियो। तर युद्ध शुरु भएपछि हाम्रा गीतहरूमाथि प्रतिबन्ध लाग्यो। म पनि भूमिगत भएँ। म पनि नभएपछि प्रतिष्ठान डुब्यो र मेरो अंश पनि डुब्यो।”

न कतै जग्गा-जमिन, न कतै जागिर, न त पेन्सन नै। कसरी चलिरहेको छ, जीवन निर्वाह ? उनी भन्छन्, “देश-विदेशका सांस्कृतिक समारोहहरूमा गीत गाउन बोलाउँछन्, आयोजकहरूले केही आर्थिक सहयोग गर्छन्, त्यसैबाट जीवन चलिरहेको छ।”

अर्को स्रोतचाहिँ पत्रिका प्रकाशन हो, उनको। केही वर्षदेखि ‘रातो लालटिन’ नामक पत्रिका प्रकाशन गरिरहेका छन्। “उक्त पत्रिकाका निम्ति प्राप्त विज्ञापन, सूचना विभागले दिने आर्थिक सहयोगलगायतले पत्रिका प्रकाशनलाई सघाउ पुगिरहेको छ,” शर्मा भन्छन्।

पछिल्लो सक्रियता

वर्तमानमा नेपाली समाज र जनपंक्तिले कस्ता खालका गीत मागिरहेका छन् ? उनी अचेल त्यस्ता गीतका लेखन, संगीत र गायनमा पनि अग्रसर देखिएका छन्। भन्छन्, “जनताले भ्रष्टाचारविरुद्धका गीत खोजिरहेका छन्, मैले त्यस्ता गीतहरू पनि लेखेर गाउँदै हिँडेको छु।”

आयामिक छन्, उनका गीत-संगीत। देशभित्रका तात्कालिक राजनीतिक, सामाजिक, सांस्कृतिकलगायत एजेन्डाहरूलाई उनका गीतले प्रतिनिधित्व गर्दै आएका छन्। रोजगारका निम्ति विदेसिने नेपालीहरूका कथा-व्यथा होस् वा अरू एजेन्डाहरू नै किन नहुन्, तिनलाई शब्द, संगीत र स्वरले बद्ध तुल्याएका छन्। अर्थात् भन्न सकिन्छ उनलाई समाजका समग्र विपन्नजनका सर्जक। सामाजिक/सांस्कृतिक परिवर्तनको मन्द तापमा परिस्कृत उनका गीति-सिर्जनामा यति मिठास स्वाद आउँछ, पछिल्लो समय उनले गाउँलाई सम्झिएर लेखेको एउटा गीतले नै त्यो विशिष्ट र अर्गानिक स्वाद दिलाउँछ-
‘म हिँडेको गाउँको बाटै मुस्कुरायो
खनजोत गरेको त्यो पाटै मुस्कुरायो…।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved