कार्बन उत्सर्जनविरुद्ध सगरमाथा चढ्दै ६२ वर्षीय अधिवक्ता

उनी सगरमाथाको टुप्पोबाट विश्व समुदायसँग जलवायु परिवर्तनले क्षयीकरण भइरहेको पृथ्वीका लागि न्यायको आह्वान गर्न चाहन्छन्। उनको नारा नै छ, ‘सगरमाथा पग्लिरहेको छ, अब कार्बन उत्सर्जन रोक्नुहोस्।’

कार्बन उत्सर्जनविरुद्ध सगरमाथा चढ्दै ६२ वर्षीय अधिवक्ता

काठमाडौं। कोही मनोरञ्जनको लागि सगरमाथा चढ्छन्, कोही कीर्तिमान बनाउन। अधिवक्ता विष्णु भुसाल पनि सगरमाथा चढ्दैछन्। तर फरक उद्देश्यका साथ।

उनको उद्देश्य हो– विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न माग गर्नु।

पश्चिमा मुलुकहरूले गरिरहेको कार्बन उत्सर्जनले बढाइरहेको जलवायु परिवर्तनका कारण नेपालका हिमशृङ्खलाहरू पग्लने क्रम अत्यधिक रुपमा बढी रहेकाले त्यसका विरुद्ध आवाज उठाउन उनी सगरमाथा चढ्दैछन्। उनी सगरमाथाको टुप्पोबाट विश्व समुदायसँग जलवायु परिवर्तनले क्षयीकरण भइरहेको पृथ्वीका लागि न्यायको आह्वान गर्न चाहन्छन्। उनको नारा नै छ, ‘सगरमाथा पग्लिरहेको छ, अब कार्बन उत्सर्जन रोक्नुहोस्।’

शुक्रबार (२ वैशाख)मा सगरमाथाको यात्रामा लागेका छन्। उनी एक्लै जाँदै छैनन्, उनले आफूसँगै नेपाल बार एशोसिएशनको लोगो अंकित झण्डा पनि लाँदै छन्। त्यसैले बुधबार (३० चैत) बार एशोसिएशनका नवनियुक्त पदाधिकारी र पूर्व पदाधिकारीले उनको शुभयात्राका लागि कामना गर्दै हौसला बढाएका थिए।

भुसाललाई बिदाइ गर्दै बारका पदाधिकारी

उमेरले ६२ वर्ष पुगेका भुसालको जोश भने तन्नेरी झै छ। उनलाई हिँड्न मन पर्छ। कहिलेकाहीँ एकैदिन ४२ किलोमिटरसम्म पनि हिँड्छन्। उनको उमेरलाई हेरेर उनको हिँडाइमाथि अन्दाज लगाउनेहरू पनि चकित पर्ने गरेको उनी बताउँछन्।

“केही समय अघि म ताप्लेजुङको पाथीभरा गएको थिएँ। त्यहाँकाले पाथीभरा दर्शन गरेर फर्कदाँ पाँच घण्टा लाग्छ भन्थे, म दुई घण्टामै तल झरेँ,” उनी भन्छन्, “माथि उक्लिन एक घण्टा लाग्यो, आधा घण्टामै ओर्लिएँ। ताप्लेजुङमा रेकर्ड भयो भन्थे।”

हिँड्ने रहर भने उनमा सानैदेखि थियो। अर्घाखाँचीमा जन्मिएका उनको सानैदेखि हिमाल चढ्ने इच्छा थियो। उनले नेपाल, भारत हुँदै अमेरिकामा वातावरणसम्बन्धी नै उनले कानून विषयमा स्नातकोत्तर गरे।

पढ्ने सिलसिलामा स्वीट्जरल्याण्ड पुगेपछि उनमा हिमालप्रतिको मोह झनै बढ्दै गएको थियो। अध्ययनका क्रममा उनलाई वातावरणसँग सम्बन्धित लेख रचना र विषयले तान्दै लग्यो। त्यसपछि उनले कानून विषयमा पनि वातावरणसँगै सम्बन्धित मुद्दाहरू हेर्न थाले। काम गर्दै पढ्दा उनमा झनै वातावरणसँग सम्बन्धित विषयमा रुची बढ्न थाल्यो। तीन दशकदेखि उनी निरन्तर वातावरणसँग सम्बन्धित मुद्दामा काम गर्नुका साथै विभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा आउने वातावरणसँग जोडिएका विषयमा विश्लेषण गर्ने, लेख लेख्न थाले।

अहिले वर्षेनी हिमशृङ्खला पग्लिएर हिमतालहरू फुट्ने जोखिम रहेको र हिमताल फुटेमा देशको अर्थ व्यवस्थाको मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसाय धरासायी हुने लगायतका समाचारले उनलाई अत्याउन थालेपछि समस्या समाधान गर्न पहल गर्नको लागि उनी हिमाल चढ्ने निधोमा पुगेका हुन्। उनका अनुसार जलवायु परिवर्तनको न्यायको लागि सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनव्यवसायीको चिन्ता हुन्छ र यसको लागि कानूनव्यवसायीले पहल गर्न सक्छन्।

“वकिलहरू सोसल इन्जिनियरहरू पनि हुन्,” उनी भन्छन्, “आफ्नो जीवन सहज बनाउन मानिसले चराचुरुङ्गी लगायत सबै वातावरणको विनाश गरिरहेको छ। संसारको सुन्दर क्रियसन, केही लोभको कारणले हराउँदै गइरहेको छ।

औद्योगीकरणको नाममा हामीले चाँडै बिगार्दैछौँ। यसलाई सुधार्न पनि लगानी गर्नुपर्छ। ठूला राष्ट्रहरूले हामीलाई शुल्क तिर्नुपर्छ। आफ्नो क्षेत्रबाट सबैले जनचेतनाको लागि काम गर्नुपर्छ। त्यसले मात्रै प्रभावकारी भूमिका खेल्छ।”

जलवायु परिवर्तनको न्यायका लागि भएको विश्वव्यापी सम्मेलन कोपमा उनले पनि सहभागिता जनाएका थिए। त्यतिबेला उनी दोलखाको हिमाल चढेका थिए। त्यहाँ पनि उनले नेपाल बार एशोसिएशनको लोगो सहितको झण्डा लगेका थिए। अब उनको कालो कोट लगाएर सगरमाथा चढ्ने योजना छ।

हिमाल चढ्नु खर्चिलो काम हो। तर सगरमाथा चढ्नु उनको रोजाइ हो। उनी भन्छन्, “मैले एकपटक सगरमाथा चढ्ने पैसाले पन्ध्र पल्ट संसार घुम्न सक्थेँ होला, तर यो मेरो रोजाइ हो। हिमालकी देवीले मलाई क्षमता दिनुभयो। म त्यही हिमाल जोगाउन खर्च गर्दैछु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved