व्यावसायिक गीत गाउने कलाकारहरू अहिले दलहरूको प्रचार गीत बनाउन व्यस्त छन्। शहरमा दोहोरी साँझहरूमा लोकगीतको भाका घन्काउने लोकगायक गायिका समेत यतिबेला दलहरूकै गुणगान गाउँदै गीत बनाइरहेका छन्। उनीहरूले आफूले समर्थन गरेका दलको प्रचारप्रसारका गीत बनाउन र गाउन व्यस्त छन्।
नेपालभ्युज
काठमाडौं। स्थानीय तह निर्वाचनको मिति नजिकिदैगर्दा दलहरूलाई उम्मेदवार चयन गर्ने चटारो चलिरहँदा कलाकारहरूलाई दलहरूको प्रचार गीत गाउन भ्याई नभ्याई छ। प्रमुख दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका नेताहरू चुनाव प्रचारमा देश दौडाहामा लागिरहँदा कलाकार पनि फुर्सदमा छैनन्।
व्यावसायिक गीत गाउने कलाकारहरू अहिले दलहरूको प्रचार गीत बनाउन व्यस्त छन्। शहरमा दोहोरी साँझहरूमा लोकगीतको भाका घन्काउने लोकगायक गायिका समेत यतिबेला दलहरूकै गुणगान गाउँदै गीत बनाइरहेका छन्।
उनीहरूले आफूले समर्थन गरेका दलको प्रचारप्रसारका गीत बनाउन र गाउन व्यस्त छन्। अहिले प्राय पार्टीले आफ्नो चुनाव प्रचार –प्रसारको गीत पनि सार्वजनिक गरिसकेका छन्। एमाले, काग्रेस, माओवादी केन्द्रले चुनावी कार्यक्रममा यीनै गीतहरू बजाउँदै आएको छ। सामाजिक सञ्जालमा पनि यिनै गीत राखेर भोट मागेको देखिन्छ।
‘हाईटेक’ शैलीको प्रचार अपनाउने अभियानमा राजनीतिक दलहरू उत्रिएपछि चुनाव नजिक कलाकारसमेत चर्चामा रहेका हुन्। चुनावी अभियानका लागि गाइएका केही गीत त यति धेरै चर्चित भए कि एउटै गीतका कारण उनीहरू स्थापित भए। अघिल्लो चुनावमा तीनै तहमा पहिलो बनेर बाजी मारेको एमालेले गीतमा समेत बाजी मारेको छ।
अघिल्लो चुनावमा सर्वाधिक चर्चामा रहेको ‘सै पनि एमाले मै पनि एमाले’ बोलको गीत अहिलेको चुनावमा पनि बज्न थालेको छ। बद्री पङ्गेनी र प्रिया भण्डारीको स्वरमा रहेको गीत लाखौँ पटक हेरिएको छ। गायिका तथा मोडल प्रिया भण्डारी यसै गीतमार्फत चर्चित भइन्। गायक बद्री पङ्गेनी भने पहिल्यैदेखि दर्शक स्रोतामाझ परिचित थिए।
यस्तै एमालेको समर्थनमा बनेका अरू गीतहरू पनि चर्चामा छन्। ‘नेकपा एमाले जिन्दाबाद’ बोलको गीत हालै सार्वजनिक भएको छ। गीतमा दिनेश श्रेष्ठ, भगवान् कार्की, सुमित्रा भट्ट, बेनिशा पौडेल, अप्सरा बोगटी, सृजन पण्डित, जयराम सापकोटा, रुस्मा सापकोटा र जयराम बुढाथोकीको स्वर छ।
यस्तै ‘आयो एमाले’ भन्ने गीत पनि विभिन्न चुनावी कार्यक्रममा बजिरहेको देखिन्छ। ‘गाउँ शहर बस्तीबाट आयो एमाले, गरिबको झुप्रोबाट आयो एमाले, हिमाल पहाड तराई मधेश आयो एमाले’ एमाले नेतृत्व सरकारले गरेका कामका चर्चा गरिएको छ।
यस्तै वैकुण्ठ महत र पूर्णकला बिसीको स्वर रहेको ‘आयो एमाले आयो रातो सूर्य लिएर, न्यानो हजुरको माया जिताउनुस् हामीलाई दिएर’ गीत पनि एमालेको चुनावी कार्यक्रममा सुनिन्छ। प्रह्लाद सुवेदीको शब्दमा वैकुण्ठ महतको सङ्गीत रहेको गीत धेरैले रुचाएका छन्।
यस्तै ‘हाम्रो नेपालमा हाम्रै एमाले’ बोलको गीत पनि एमालेले चुनावी प्रचारमा बजाउँदै आएको छ। वैकुण्ठ महत र प्रिया भण्डारीको स्वर रहेको गीतमा म्युजिक भिडियो समेत युट्युबमा देख्न सकिन्छ।
सुदूरपश्चिममा बोलिने भाषामा पनि एमालेको प्रचार गीत छ। ‘समृद्ध नेपालको सपना बोक्याको नेकपा एमाले, खुसी नेपालीको मन्त्र जप्याको नेकपा एमाले’ बोलको गीतको दशौँ महाधिवेशन उद्घाटन सत्रमा भिडियो खिचिएको छ। गीतमा पूर्णकला बिसी, महेशकुमार अउजी, राजेन्द्र बाजुराली, रामप्रसाद अपस्थीलगायतले स्वर दिएका छन्।
‘च्याप्पै स्वस्तिक समाउनी, झ्याप्पै रुखमा छाप लाउनी, नपरौँ है कोही पनि रन भूलैमा’ भन्ने गीत बिहीबार मात्रै सार्वजनिक भएको छ। विमलराज श्रत्री र प्रीति आलेको स्वर रहेको गीतको भिडियो युट्युबमा पनि भेट्न सकिन्छ।
‘उठ हे उठ नेपाली, जाग हे जाग नेपाली, कांग्रेसलाई जिताउन लागौँ नेपाली’ भन्ने गीत कांग्रेसको चुनावी प्रचारमा धेरै बज्ने गीत मध्य एक हो। गीतमा चोलेन्द्र पौडेल, रामजी पौडेल, ज्योति लोहनीलगायतको स्वर रहेको छ।
‘चुनावको बेला आयो उठौँ जगत सारा, रोज्नुपर्छ कांग्रेस पार्टी झन्डा चार तारा’ बोलको गीत पनि केही साता यता मात्र सार्वजनिक भएको छ। किरण भुजेल, अलिफ खान, सुयोग सापकोटा, मदन थापा, राधिका हमाल, शान्ति बस्नेतलगायतले गीतमा स्वर दिएका छन्।
कांग्रेसका अरू प्रचार गीतभन्दा यो गीत तुलनात्मक रुपमा धेरैले मन पराएको कार्यकर्ताहरू बताउँछन्।
‘सुनसुन साथी हाम्रो देब्रे छाती, छातीभित्र मुटु मुटुभित्र नेपाली कांग्रेस पार्टी’ चार वर्षअघि रेकर्डिङ गरिएको गीत हो। एकनारायण भण्डारीको शब्दमा रहेको गीतमा विमलराज क्षेत्री, रीता थापाको स्वर रहेको छ। कांग्रेसको चौधौँ महाधिवेशनमा समेत यो गीतमा कलाकार नाचेका थिए।
अघिल्लो निर्वाचनमा रेकर्ड गरिएको नेकपा माओवादी केन्द्रको गीत यस पटक पनि बज्न थालेको छ। नवीन खड्का र टीका पुनले स्वर दिएको ‘मै पनि माओवादी’ गीत सामाजिक सञ्जालमा माओवादी कार्यकर्ताहरूले पुन पोस्ट गर्न थालेका छन्।
https://www.youtube.com/watch?v=O69L2nyogao
स्थानीय निर्वाचनलाई लक्षित गर्दै माओवादीको समर्थनमा अर्को गीत बनेको छ। केही दिनअघि सार्वजनिक भएको गीत ‘देशको हित चिताउने माओवादी हो, जनताले जिताउने माओवादी हो,’ भन्ने छ।
यस्तै एक महीनाअघि पनि माओवादीका अर्को गीत सार्वजनिक भएको थियो। ‘अमूल्य मत जिताउनुस् दिएर, निमुखालाई अधिकार लिएर आयो माओवादी,’ बोलको गीतमा चेतन गोतामे र निरु शीर्ष मगरको स्वर छ।
यस्तै सर्जक किरण बाबु पुनले पनि नेकपा माओवादीको प्रचारको गीत तयार पारेका छन्। किरणबाबु पुन र तिलक परियारको स्वर रहेको गीतमा सङ्घीयता गणतन्त्र माओवादीले ल्याएको कुरा उल्लेख छ।
Facebook Comment
Comment