पोखरा-नयाँदिल्ली उडान विस्तार गर्दै बुद्ध एयर

पोखरा-नयाँदिल्ली उडान विस्तार गर्दै बुद्ध एयर
फाइल तस्बिर

काठमाडौं। निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ।

बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा ९कास्की० बाट नयाँदिल्ली सिधा उडान गर्ने तयारी गरेको हो। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडान गर्ने तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार बुद्ध एयरले पोखराबाटै भारतको देहरादुन गन्तव्यमा पनि उडान गर्ने योजना बनाएको छ। पोखराबाट दिल्ली गन्तव्यमा दैनिक दुई वटा उडान सञ्चालन गरिनेछ। उक्त गन्तव्यको उडान एक घण्टा ३० मिनेटको हुन्छ। कम्पनीले यसअघि भारतको वनारस र कोलकात्तामा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोगमा ल्याएका एटिआर ७२ जहाजमार्फत नै दिल्ली गन्तव्यमा उडान गर्ने जनाएको छ।

“पोखरा प्रमुख पर्यटकीय गन्तव्य हो। पर्यटकको पहिलो रोजाइ नै पोखरा पर्ने भएकाले त्यहाँबाट नजिकको गन्तव्य नयाँदिल्ली हुने भएकाले सेवा विस्तार गर्न लागिएको छ”, सूचना अधिकारी कर्णले भने। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चाँडो सञ्चालन भएमा त्यहाँबाट सिधा नयाँदिल्ली उडान गर्ने योजनअनुरुप आवश्यक प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ। उक्त गन्तव्यमा सिधा उडानका लागि नेपाल र भारत दुवैतर्फको प्रक्रिया पूरा गरेर उडान सञ्चालन गर्नेगरी काम भइरहेको कम्पनीका सूचना अधिकारी कर्णले जानकारी दिए।

बुद्ध एयरले मे पहिलो सातादेखि काठमाडौं गन्तव्यमा पुनः सिधा उडान गर्ने तयारी पनि गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved