चुनावी गठबन्धनलाई लिएर कांग्रेसभित्र भाँडभैलो

सभापति देउवा पाँच दलीय चुनावी गठबन्धनबाट एक कदम पनि हटेका छैनन्। जसले गर्दा कांग्रेसभित्र भाँडभैलो मच्चिन थालेको छ। यसले निर्वाचनमा समेत असर पर्न सक्ने आकलन छ।

चुनावी गठबन्धनलाई लिएर कांग्रेसभित्र भाँडभैलो
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेस पर्साले बुधबार पत्रकार सम्मेलन नै गरेर केन्द्रले सत्तागठबन्धनबीच चुनावी तालमेल गरे पनि आफूहरूले नमान्ने चेतावनी दियो।

त्यसअघि मंगलबार भरतपुर नगरपालिकाका वडाध्यक्षहरूले पनि यस्तै चेतावनी दिएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बसेर स्थानीय तह निर्वाचनको सीट बाँडफाँडको विधि तय गर्नुअघि नै चितवनको भरतपुर महानगरपालिकाका भित्रका वडा सभापतिहरूले भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले नपाए विद्रोह गर्ने निर्णय गरेका थिए।

तर, पाँच दलीय गठबन्धनले गरेको निर्णयअनुसार अब भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार माओवादी केन्द्रको पोल्टामा पर्ने देखिएको छ । केन्द्रको निर्णयअनुसार अहिलेकी मेयर तथा माओवादी नेतृ रेणु दाहाल पुनः उम्मेदवार बन्ने भएकी छिन्।

भरतपुरको मेयर फेरि कांग्रेसले नपाउने भएको छ। यो खण्डमा कांग्रेसमा विद्रोहको खतरा छ।

बुधबार नै जनकपुरका सबै (२४) ओटै वडाका कांग्रेस प्रमुखहरूले संयुक्त बैठक गरेर चुनावी तालमेल नमान्ने चेतावनी दिएका थिए।

मंगलबार मात्रै बसेको सत्ता गठबन्धन बैठकले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा देशभरिका ७ सय ५३ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गर्दै त्यसको आधारहरू समेत तय गरेको थियो। २०७४ को चुनावमा जहाँ जुन पार्टीले जितेको हो सोही आधारमा सिट बाँडफाँड गर्ने निर्णय गठबन्धन बैठकले गरेको थियो।

तर, सत्तामा रहेको कांग्रेसका स्थानीय सङ्गठनहरूले भने पार्टीको केन्द्रको निर्णय नमान्ने बताइरहेको छ। सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकै गृह जिल्लामा पार्टीका स्थानीय नेताहरू गठबन्धन मान्न तयार छैनन्।

सभापति देउवा पाँच दलीय चुनावी गठबन्धनबाट एक कदम पनि हटेका छैनन्। जसले गर्दा कांग्रेसभित्र भाँडभैलो मच्चिन थालेको छ। यसले निर्वाचनमा समेत असर पर्न सक्ने आकलन छ।

केन्द्रीयस्तरमै पनि चुनावी गठबन्धनलाई लिएर कांग्रेसभित्र स्पष्ट दुई धार देखिएको छ। त्यसमाथि कतिपय जिल्लाबाट गठबन्धन नमान्ने चेतावनी आउन थालेपछि कांग्रेस चुनावलाई लिएर समस्याग्रस्त हुने आशंका गरिएको छ।

नेता शेखर कोइरालासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिक ठाउँमै सबै ठाउँमा गठबन्धन गर्न नहुने बताइरहेका छन्। उपसभापति पूर्णबहादुर खड्कासहित नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाले भने गठबन्धन गरेरै जानुपर्ने अभिव्यक्ति दिइरहेका छन्।

यसरी पार्टीभित्र गठबन्धनको औचित्यलाई लिएर स्पष्ट दुई धार देखिँदा तल्लो तहसम्मै ध्रुवीकरण निम्तिएको छ।

प्रवक्ता प्रकाशशरण महत भने चुनावी तालमेललाई लिएर पार्टीभित्रबाट भ्रम छर्ने काम भइरहेको बताउँछन्। “यो ठिक होइन, हामीले आवश्यकता र औचित्यकै आधारमा बढीभन्दा बढी स्थानीय तह कसरी जित्न सकिन्छ भन्ने उद्देश्यले गठबन्धन गर्न लागेका हौँ“, महतले भने।

कांग्रेस प्रवक्ता महतले यसो भने पनि कांग्रेसका स्थानीय सङ्गठनहरू त्यो स्वीकार गर्न तयार छैनन्।

पर्सा कांग्रेसका नेता अरविन्द गुप्ताले कांग्रेस एक्लै बलियो दाबी गर्दै निर्वाचनमा अरूसँग मिल्नुको कुनै तुक नै नभएको बताए। “हामीले वीरगन्ज महानगरदेखि पर्साका कुनै पनि स्थानीय तह छाड्ने छैन“, गुप्ताले भन्छन्, “केन्द्रले जबरजस्ती गरे आफूहरूले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छौँ।“

गुप्तासहित पर्सा कांग्रेसका नेताहरूको बुधबार बसेको बृहत् बैठकले केन्द्रले जे निर्णय गरे पनि वीरगञ्जसहित पर्साका कुनै पनि स्थानीय तहमा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। बैठकमा पर्सा कांग्रेसका सभापति जनार्दन क्षत्रीसहित जिल्लाका सबै प्रमुख नेता सहभागी थिए।

यता भरतपुरमा पनि कांग्रेसको यस्तै अवस्था छ। पार्टीको वडा कमिटीका प्रमुखहरूले पनि सर्वदलीय बैठक गरेर केन्द्रले तालमेल गरे त्यसलाई अस्वीकार गर्ने बताइसकेका छन्। उनीहरूले पनि स्वतन्त्र उम्मेदवारी दिने बताएका छन्।

बागी उम्मेदवारको सम्भावना

कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा जसरी पनि सत्ता गठबन्धनबीचमा चुनावी तालमेल गर्ने गरी अघि बढेपछि पार्टीका बागी उम्मेदवारको खतरा समेत देखिएको छ।

महानगर, उपमहानगरदेखि जिल्लाहरूले दिइरहेको कांग्रेस नेतृत्वलाई चेतावनी कसरी अगाडी बढ्छ त्यो अहिले नै भन्न सकिने अवस्था छैन।

तर, पार्टी बैठकदेखि सार्वजनिक रुपमा चुनावी तालमेलकोविरुद्धमा कांग्रेस नेताहरू देखिएका छन्। बिहीबार मात्रै काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री गगन थापाले तालमेल प्रवृत्ति ठीक नभएको टिप्पणी गरेका छन्। उनले पार्टीको निर्णय मात्रै आफूहरूले मानेको भन्दै व्यक्तिगत रुपमा आफू गठबन्धनको पक्षमा नरहेको बताए।

गत मगलबार मात्रै नेता शेखर कोइराला कर्णाली प्रदेशको कार्यक्रममा बोल्दै पार्टीको तल्लो निकायको मनोविज्ञान विरुद्ध केन्द्रले चुनावी तालमेल गरे त्यो पार्टीका लागी प्रत्युत्पादक हुने चेतावनी दिएको थियो।

जानकारहरू यसरी शीर्ष नेताहरूदेखि पदाधिकारीसम्मका नेताहरूले चुनावी तालमेलको विपक्षमा सार्वजनिक अभिव्यक्ति दिइरहँदा पार्टी नेतृत्वले तालमेल गरेमा त्यसले पार्टीको आन्तरिक अवस्थामा थप भाँडभैलो बनाउने अवस्था देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved