अर्थमन्त्री बन्न कांग्रेसभित्रै एकसे एक योग्य छन् : डा. रामशरण महत

अर्थ नीतिबारे दुवै पक्षबीच छलफल हुन सक्छ तर हस्तक्षेप गर्न पाइँदैन। विधि, नियम र कानून सबैले पालना गर्नुपर्छ। त्यही भएर गभर्नरको निलम्बनमा मैले ठीक कारण देखिरहेको छैन। अब यसको फैसला सर्वोच्च अदालतले नै गर्ला।

अर्थमन्त्री बन्न कांग्रेसभित्रै एकसे एक योग्य छन् : डा. रामशरण महत

नेपाली कांग्रेसका नेता डा. रामशरण महत पटकपटक अर्थमन्त्री भइसकेका व्यक्ति हुन्। पछिल्लो समय देशको अर्थतन्त्रको अवस्थाका विषयमा विभिन्न टिप्पणी भइरहेको अवस्थामा उनी पनि मौन छैनन्। गभर्नर निलम्बन गर्ने सरकारको निर्णय गलत भएको भनाइ उनीसहित सत्ता गठबन्धन दलकै नेताहरुको भनाइ छ। उनै महतसँग नेपाली अर्थतन्त्रको अहिलेको अवस्थाबारे नेपालभ्यूजका लागि नवीन झाले गरेको कुराकानीः

गभर्नर निलम्बनलाई कसरी हेर्नु भएको छ ?

यसमा मलाई चित बुझेको छैन। गभर्नर निलम्बनको आधार पुष्टि गर्न सक्ने कुरा म देखिरहेको छैन। यसमा मलाई जहाँसम्म लाग्छ कि अर्थमन्त्री र गभर्नरबीच तालमेल नभएको वा एकअर्काप्रति विश्वास नभएर यो गरिएको छ।

अर्को कुरा विदेशबाट आएको पैसा पनि जोडिएको म देख्छु। कुनै देशबाट आएको पैसाको निकासा गर्न गभर्नरले अवरोध गरेपछि अर्थमन्त्रीले रिसाएर निलम्बनसम्म पुगेको देख्छु। विदेशबाट आएको पैसा स्रोत खोलिनुपर्छ। त्यो विधिसम्मत छ कि छैन भनेर त्यो हेरिनु जायजै हो।

राष्ट्र बैंकले त्यही गरेपछि गभर्नरलाई निलम्बन गरेको जस्तो देखिन्छ। तर यो न्यायसंगत छैन। राष्ट्र बैंक एउटा स्वतन्त्र निकाय हो। अर्थ मन्त्रालयले बेला बेलामा परामर्श गर्न सक्छ तर उनले त्यहाँ यो वा त्यो गर भनेर उर्दी जारी गर्न सक्दैन।

अर्थ नीतिबारे दुवै पक्षबीच छलफल हुन सक्छ तर हस्तक्षेप गर्न पाइँदैन। विधि, नियम र कानून सबैले पालना गर्नुपर्छ। त्यही भएर गभर्नरको निलम्बनमा मैलै ठीक कारण देखिरहेको छैन। अब यसको फैसला सर्वोच्च अदालतले नै गर्ला।

के हाम्रो अर्थतन्त्र साँच्चिकै गम्भीर अवस्थामा पुगेको हो त ?

अहिले सुधार गर्नुपर्ने धेरै कुराहरू मैलै देखेको छु। मुख्यतः सरकारको क्षमता बढाउनुपर्ने हुन्छ। सरकारको प्रशासनिक क्षमता नै देखिएन। हाम्रो खर्च गर्ने नै तरिका। चालु खर्चमा मात्रै हामी सीमित हुने अवस्था देखियो। पुँजीगत खर्च १० प्रतिशत मात्रै देखियो। यो चिन्ताको विषय हो।

यसबाट बढ्न हाम्रो प्रशासनिक क्षमता नै बढाउनुपर्छ। अहिले हामीसँग तीन तहको सरकार छ। तीनै तह सरकारको आआफ्ना प्राथमिकताहरू छन्। तर त्यसअनुसार कामचाहिँ हुन सकेको छैन। हामीले खर्च गरेकोमध्ये ८० प्रतिशत जति प्रशासनिक नै छ।

अर्को कुरा हाम्रो आयात मात्रै बढ्यो। निर्यात झनै खस्केको देखियो। व्यापार घाटा बढेको बढयै छ। आन्तरिक ऋण पनि बढेको छ। पहिला हामीले जीडीपीको दुई प्रतिशतसम्म आन्तरिक ऋण लिने व्यवस्था गरेका थियौं। तर अहिले त्यो ६ प्रतिशतसम्म पुगेको छ। जसकारण बजेटको आकार मात्रै बढेको छ। त्यो कार्यान्वयन नै भइरहेको छैन।

पछिल्लो सात महीनामा अर्थतन्त्र बिग्रियो भन्ने कुरा आयो ? किन पछिल्लो सात महीनै यस्तो अवस्था देखापर्‍यो?

पछिल्लो सात महीनायता हाम्रो खर्च बजेटअनुसार हुन सकेन। साढे १६ खर्बको बजेट हामीले ल्याएका छौं। तर अहिलेसम्म हामीले त्यसको ३५ प्रतिशत मात्रै खर्च गर्न सकेका छौं। यो आर्थिक वर्ष सकिँदासम्म हामीले मुस्किलले ५० प्रतिशत खर्च गर्न पुग्छौं।

यसमा सुधारका लागि हामीले प्रशासनिक क्षमता नै अभिवृद्धि गर्नुपर्छ। साथै संस्थागत कामहरू कसरी बलियोसँग हुन्छ, त्यसमा ध्यान दिनुपर्छ। संस्थागत कामहरू राम्रो गर्न त्यहाँ हुने नियुक्तिहरूमा हामीले ध्यान दिनुपर्ने हुन्छ।

हामीले नियुक्त गर्दा क्षमता र व्यावसायिक मानिसहरूलाई नियुक्त गर्नुपर्ने हुन्छ। हामीले राजनीतीक भागवण्डका आधारमा नियुक्ति गरिरहेको छौं। त्यसरी क्षमता वृद्धि हुन सक्दैन।

अर्थ मन्त्रालयमा हामीले राजनीतिक नियुक्ति गर्नु नै हुँदैन। क्षमताका आधारमा त्यहाँ गर्नुपर्छ। तर त्यो हुन सकिरहेको छैन। यो दुर्भाग्यपूर्ण कुरा हो। गभर्नर निलम्बनमा पनि त्यही भएर राजनीतिक स्वार्थ देखिएको हो।

प्रमुख प्रतिपक्षी एमालेले त नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा अघि बढेको दाबी गरेको छ नि

श्रीलंकाको बाटोमा अर्थतन्त्र गयो कि गएनभन्दा पनि हाम्रो क्षमतामा सुधारको खाँचो देखिएको छ। हाम्रो व्यापार घाटा ह्वातै बढेको छ। पछिल्लो सात महीनाको तथ्यांक हेर्दा अवस्था ठीक छैन भन्ने कुरा त प्रस्ट छ। आयात ह्वातै बढेको छ। निर्यात घटेको छ। त्यही भएर हामी हाम्रो आन्तरिक उत्पादनमा ध्यान दिनुपर्ने अवस्था छ।

अर्थमन्त्रीले गभर्नरमाथि सरकारलाई असफल बनाउन र सरकारको सूचना प्रतिपक्षी दललाई दिएको आरोप लगाएका छन् नि ?

मलाई त्यस्तो लाग्दैन कि गभर्नर सरकारलाई असफल गराउन लागिपरेका छन्। अर्थमन्त्रीले जे कारणबाट गभर्नरलाई निल्म्बन गरेको भने पनि मेरो बुझाई यसको चुरो कुरा विदेशबाट आएको पैसा नै हो।

वैधानिक तवरले नआएको पैसा हाम्रो राष्ट्र बैंकले मात्रै होइन कि जहाँको पनि बैंकले रोक्ने गर्छ। त्यही भएर राष्ट्र बैंकले त्यसमा प्रश्न उठाएको हुनुपर्छ। यो ठीक होइन। अहिलेको अर्थतन्त्रमा अर्थमन्त्रीको पनि कतिपय कमजोरी छ।

त्यो छैन भनेर देखाउन पनि उहाँले आफूअनुकूल गभर्नर ल्याउन चाहेको हुनुपर्छ। गभर्नरको काम गर्ने आफ्नै विधि र मापदण्डहरू हुन्छन्। उनले त्यहीअनुसार काम गर्नुपर्छ।

तपाईंले अर्थमन्त्रीको कमजोरीको कुरा गरिहाल्नुभयो, अवैधानिक रूपमा विदेशबाट आएको पैसामा अर्थमन्त्रीको चासो देखिनु कति गम्भीर कुरा हो ?

चासोभन्दा पनि विधानअनुसार उहाँले हेर्नुपर्ने हुन्छ। विधानसम्मत नआएको चिजमा उहाँले चासो लिएर पनि केही हुँदैन। वित्तीय जानकारी इकाइ छ केन्द्रीय बैंकमा। खासमा उसले रोकेको रहेछ। उहाँले (अर्थमन्त्री शर्मा) यसबारे सम्पूर्ण जानकारी लिनुपर्थ्यो।

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई हटाउन चाहन्थे भन्ने समाचारहरू आएका थिए, तर अचानक गभर्नर निलम्बनको घटना अगाडि आयो नि?

प्रधानमन्त्रीलाई राष्ट्र बैंकको आन्तरिक कुराहरू सबै थाहा हुन्छजस्तो मलाई लाग्दैन। यसमा अर्थमन्त्रीले प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गरेर विश्वासमा लिएको जस्तो देखिन्छ। अर्थमन्त्रीले विश्वासमा प्रधानमन्त्रीलाई लिएर गभर्नर निलम्बन गरेको देखिन्छ।

अहिलेको सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापतिले गरिरहेका छन्। जसमा माओवादी, नेकपा एस र जसपा सामेल छ तर अर्थतन्त्रलाई लिएर जे जस्तो अवस्था देखिएको छ। यस्तो बेला प्रधानमन्त्रीले के गर्नुपर्छ जस्तो लाग्छ तपाईलाई ?

मेरो प्रस्ट बुझाइ छ- सरकारको क्षमता नै पुगिरहेको देखिएन। यसका लागि अर्थसहित प्राविधिक मन्त्रालयहरूमा सम्बन्धित विषययोग्य मानिसहरूलाई जिम्मेवारी दिनुपर्छ। अर्थकै कुरा गर्ने हो भने कांग्रेसभित्रै एकसे एक योग्य साथीहरू छन्। उहाँहरूलाई त्यहाँ ल्याउँदा हुन्छ। त्यस्तै, अन्य पनि प्राविधिक मन्त्रालयहरूमा व्यावसायिक क्षमता भएकैहरूलाई जिम्मेवारी दिनुपर्छ। त्यसका लागि गठबन्धनका अन्य दलहरूलाई पनि भन्नुपर्छ।

गभर्नर निलम्बन प्रकरण आन्तरिक रूपमा बढ्दा प्रधानमन्त्री देउवाले तपाईंसँग यस सम्बन्धमा त्यस्तो कुनै सल्लाह गरेको थिए वा थिएन?

प्रधानमन्त्रीसँग भेटघाट र सरसरल्लाह भइरहेको हुन्छ। तर मन्त्रिपरिषद्बारे मैलै कहिल्यै पनि चासो राखेर जानकारी लिइनँ। अर्थमन्त्रीले प्रधानमन्त्रीलाई गलत सूचना दिएर विश्वासमा लिएको देखिन्छ। जो ठीक होइन।

अब यसरी डामाडोल भइसकेको अर्थतन्त्रलाई कसरी ट्रयाकमा ल्याउन सकिन्छ ?

गभर्नर निलम्बनको घटना विगतमा पनि भएको हो। तर सर्वोच्चले त्यसलाइ उल्टाइदिएको हो। त्यही भएर अहिले पनि गभर्नरलाई गरिएको निलम्बन घटना पुनः सर्वोच्च जान्छ नै। अब सर्वोच्चले के व्याख्या गर्छ त्यो हेर्नुपर्छ।

विदेशबाट आएको जुन पैसा यो घटनाक्रमहरूमा जोडिएको छ। त्यसको चाहिँ के हुन्छ ?

त्यसको प्रस्ट छ। विधि र प्रक्रिया पुगेर आएको छ भनेर त्यो खुला गर्नुपर्छ। अन्यथा त्यो फिर्ता भएर जान्छ। त्यो यहाँ खुला गर्न मिल्दैन। विदेशबाट आएको कुनै पनि रकमको स्रोत खोलिनुपर्छ र यो सबै ठाउँमा लागु हुन्छ। त्यही भएर त्यसको विधि प्रक्रिया मिलेको छैन भने जोसुकै आए पनि त्यो खुला गर्न मिल्दैन।

देश स्थानीय तह निर्वाचनमय छ, यस्तो अवस्थथाम कांग्रेस नेतृत्वको सरकार रहेको बेला अर्थतन्त्रबारे जेजस्तो कुरा आएको छ, यसले कतै निर्वाचनमा पार्टीलाई क्षति पुर्‍याउछजस्तो लाग्दैन?

राष्ट्र बैंकको गभर्नरदेखि अहिले चर्चा परिपर्चाले स्थानीय तह निर्वाचनमा के प्रभाव पार्छ र। मलाई त्यस्तो लाग्दैन।

आफ्नै पार्टीको नेतृत्वमा सरकार छ, अर्थतन्त्रलाई लिएर चौतर्फी चिन्ता देखिएको छ, पार्टीमा कुनै सरसल्लाह छ कि छैन ?

पार्टीमा अहिलेसम्म यसबारे कुनै छलफल भएको छैन।

अहिले आयात रोक्ने कुराहरू आएका छन्, यसले कस्तो प्रभाव पार्छ ?

हाम्रो आयात ह्वातै बढेको छ। १० खर्बभन्दा बढी पुगेको देखिन्छ। निर्यात घटेको छ। हामीले यसमा सुधार ल्याउनुपर्ने हुन्छ। हामी कृषिप्रधान देश भन्छौं। तर पछिल्लो समयमा हामीले २ खर्बभन्दा बढी कृषिजन्य चिज आयात गरेका छौं।

त्यसका लागि हामीले कृषि क्षेत्रमा सुधार गर्नैपर्छ। हामीसँग ४० प्रतिशत वनजंगल छ। तर हामी वनजन्य पदार्थ पनि आयात गर्छौं। यसमा पनि सुधार गर्नैपर्छ। साथै उद्योग कलकारखानाहरू पनि खोलेर आयात घटाउनैपर्छ र निर्यात बढाउने गरी काम गर्नुपर्छ।

आयातमा रोक लगाउनु कत्तिको जायज हो अहिले ?

यसबारे सरकारले अध्यान गरेर मात्रै कुनै कदम चाल्नुपर्छ। सरकारले अहिले के कस्तो अध्यन गरेको छ। त्यो मलाई थाहा भएन।

श्रीलंकासँग नेपालको तुलना गर्नुपर्ने अवस्था छ कि छैन ?

श्रीलंका नेपालभन्दा विकसित देश हो। त्यहाँको अर्थतन्त्र हाम्रोभन्दा उन्नत प्रकारको छ। तर पछिल्ला केही वर्षयता बिग्रेको छ। त्यहाँ पनि व्यापार घाटा एकदमै बढेर समस्या आएको छ। उसको ऋणले पनि अलि समस्या पारेको छ।

चीनबाट लिएको ऋणले श्रीलंकालाई थप समस्यामा पारेको छ। श्रीलंकाले आइल्याण्ड बनाउने भनेर चीनबाट मल्टिपल्स पोर्टका लागि ऋण लिएको थियो। ऋण तिर्न नसकेर अहिले उसले सय वर्षका लागि चीनलाई नै दिएको छ।

बजार एकदम अनियन्त्रित देखिन्छ, यो अवस्थालाई कसरी लिने?

बजार अनियन्त्रित भएको कुरा हाम्रो आन्तरिक कुराहरूसँग मात्रै जोडिएको छैन। कोभिडले सारा संसारलाई प्रभावित पारेको छ। त्यसको पनि प्रभाव अर्थतन्त्रमा देखिएको हो। दोस्रो कुरा, अहिले बढेको महँगी रशिया युक्रेन युद्धसँग पनि जोडिएको छ। र यो नेपालमा मात्र होइन कि सारा संसारमा यसको प्रभाव छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved