नयाँ वर्षमा दमकमा नेपथ्यले कन्सर्ट गर्दै

नेपालभ्युज

नयाँ वर्षमा दमकमा नेपथ्यले कन्सर्ट गर्दै

झापा। चर्चित ‘व्याण्ड’ नेपथ्यले दमकमा आगामी वैशाख १ गते साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। नयाँ वर्षको अवसर पारेर दमकको धु्रवतारा दमकमा नेपथ्यले कार्यक्रम आयोजना गर्न लागेको र त्यसको तयारी अन्तिम चरणमा पुगेको नेपथ्य व्यवस्थापन गरिरहेको नेपालयले जनाएको छ।

स्थानीय सरस्वती माध्यमिक विद्यालय परिसरमा हुने सो कार्यक्रम नेपथ्यको दमकमा पाँचौँ प्रस्तुति हो। दमकमा यो कार्यक्रम नेपाली टच अष्ट्रिलया र दमकको पुरानो खेलकुद संस्था धु्रवतारा स्पोर्टिङ क्लबले संयुक्तरूपमा आयोजना गर्न लागेको हो।

ध्रुवतारा स्पोर्टिङ क्लबले आफ्नो स्थापनाको ३० वर्ष मनाउने अवसरका रूपमा पनि यो आयोजनामा अग्रसरता देखाएको हो।

आयोजक संस्थामध्ये नेपाली टच अष्ट्रिलयाका कार्यकारी प्रमुख राज गोश्वामीका अनुसार कार्यक्रमका लागि टिकट बिक्रीका निम्ति दमकबाहेक काँकडभिट्टा, बिर्तामोड, उर्लाबारी, इटहरी, पथरी, लेटाङ, धरान, विराटनगर, गौरादह र दुधेमा समेत बिक्री केन्द्र राखिएका छन्।

स्थानीय आयोजकका अनुसार टिकटको मूल्य भने रु एक हजार राखिएको छ।

“सङ्गीतप्रेमी दर्शकका निम्ति हामीले यसपाला पनि नेपथ्यलाई उत्तिकै भव्यतापूर्वक उभ्याउने तयारी गरेका छौँ”, व्याण्डको व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठले भने, “नेपथ्यप्रेमीलाई नयाँपन महसुस गराउने थप जमर्को पनि हुनेछ।”

महामारी अगाडि नेपथ्यको प्रस्तुति काठमाडौँको भृकुटीमण्डपमा भएको थियो। विसं २०७६ फागुन १७ गतेको त्यो पछिल्लो ‘कन्सर्ट’ एउटा गाउँले विद्यालयको पुनःनिर्माणका लागि आयोजना गरिएको थियो।

यो नै महामारीअघि नेपथ्यको अन्तिम प्रस्तुति बन्न पुग्यो। यसपटकको नेपथ्य कार्यक्रम दुई वर्षपछिको अन्तरालमा हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved