सत्ता गठबन्धन

कांग्रेसमा अझै अन्योल : केन्द्र तालमेलको पक्षमा, स्थानीय असन्तुष्ट

नेपाली कांग्रेसका एक प्रदेश सभापतिका अनुसार स्थानीय तहहरूबाट पार्टीमा ठूलो दबाब सिर्जना भएपछि कांग्रेसमा यस्तो अन्योल देखापरेको हो।

कांग्रेसमा अझै अन्योल : केन्द्र तालमेलको पक्षमा, स्थानीय असन्तुष्ट

काठमाडौं। स्थानीय तह निर्वाचनको तोकिएको मिति आउन महीना दिन बाँकी छ तर सत्ता गठबन्धन भने अझै चुनावमा कसरी जाने भन्नेमा स्पष्ट हुन सकेको छैन। त्यतिमात्र होइन चुनावसम्मै सत्ता तालमेल कायम रहन्छ, रहँदैन भन्नेबारे पनि शंकाउपशंका उत्तिकै छ। सत्ता गठबन्धनले अहिलेसम्म स्थानीय तालमेलको खाका पनि तयार पार्न सकेको छैन। यसको मुख्य कारण हो, नेपाली कांग्रेसमा सिर्जना भएको अन्यौल।

नेपाली कांग्रेसका एक प्रदेश सभापतिका अनुसार स्थानीय तहहरूबाट पार्टीमा ठूलो दबाब सिर्जना भएपछि कांग्रेसमा यस्तो अन्योल देखापरेको हो।

“कांग्रेस अरू पार्टीसँग तालमेल गर्ने अवस्थामा छैन”, अनौपचारिक कुराकानीमा ती सभापतिले भने, “बरु हामीले सभापतिलाई स्थानीय तहमा सबै पार्टीले आ–आफ्नो ढंगले उम्मेदवारी दिने र एमालेले जित्ने ठाउँहरूमा गठबन्धनभित्रका उम्मेदवारहरू एक आपसमा तालमेल गर्न सकिने सुझाएका छौँ।”

अघिल्लो हप्ता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशका पार्टी सभापतिहरूसँग बेग्लाबेग्लै छलफल गरेका थिए।

केही निश्चित जिल्लामा तालमेलका लागि भइरहेको कोशिश सकारात्मक हिसाबमा अगाडि नबढ्दा अन्योल बढ्दै गएको हो। तीमध्ये एक हो, चितवन। चितवनको भरतपुर महानगरपालिकामा गबठन्धनमा मेयर पदबारे सहमति जुट्न सकिरहेको छैन।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदका लागि नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच तालमेल भएको थियो। मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएकी थिइन। यसपटक चितवन कांग्रेस भरतपुर महानगरपालिकाको मेयर पद अन्य पार्टीलाई छोड्न चाहँदैन।

त्यसै सिलसिलामा चितवन कांग्रेसका सभापति राजेश्वर खनाल नेतृत्वको एक टोली २४ चैतमा काठमाडौं आई केन्द्रीय स्तरका नेतालाई भेटेर भरतपुरको मेयर पद छोड्न नसक्ने सन्देश दिएर फर्केका छन्।

त्यस्तै कञ्चनपुर लायतका जिललामा पनि चुनावमा तालेमल गर्न कांग्रेसीजन तयार छैनन्।

कांग्रेसमा आन्तरिक रूपमा एकमत हुन नसक्दा चुनावी तालमेल नै संकटमा पर्ने अवस्था आएपछि गठबन्धनका केन्द्र तहका नेताहरूको बैठक २८ चैतमा प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ। उक्त बैठकले संयुक्त अपिल जारी गर्दे आपसी सहयोगको वातावरण मिलाउन आग्रह गरेको छ।

जिल्ला तहको पार्टी पंक्तिलाई सम्बोधन गर्ने हिसाबमा प्रकाशित अपिलमा भनिएको छ, ‘लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रतापूर्वक अगाडी बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाली राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकास र समृद्धि हासिल गर्न पाँच दल प्रतिबद्ध छ र हिजोको सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौँ।’

तालमेलका विषयमा स्थानीय तहमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न दलहरूले यस्तो अपिल सार्वजनिक गरेको बालुवाटार बैठकमा सहभागी नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले बताए।

“गठबन्धनले स्थानीय तहको निर्वाचनमा निरन्तरता पाउने विषयमा कुनै शंका गर्नुपर्ने अवस्था छैन,” कांग्रेस उप–सभापति खड्का भन्छन्, “गठबन्धनको सोमबार बसेको बैठकले यही विषयलाई सुनिश्चितता गर्दै अपील प्रकाशित गरेको हो।”

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भने बालुवाटा बैठकमा कुन–कुन तहको निर्वाचनमा कसर अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको बताए।

महानगर र उपमहानगरलाई केन्द्रबाटै तालमेल गर्ने, नगरहरूलाई प्रदेशबाट गर्ने, त्यसभन्दा तल्लोस्तरलाई जिल्ला तहबाट तालमेल गर्ने विषयमा छलफल भएको खनालले बताए।

उनका अनुसार २९ चैत (आज) बेलुकासम्म चुनावी तालमेलको खाका टुंगो लाग्ने छ। यद्यपि तालमेलबारे गठबन्धनमा समस्या रहेको भने खनालले स्विकारे।

“कुनै कुनै पार्टीले आफूलाई ठूलो पार्टीका रूपमा लिँदा तालमेलका लागि केही समस्या देखिएको छ। जहाँ पनि आफूले बढी पाउनुपर्छ भन्ने माग राख्ने प्रवृत्ति देखिएका छन्,” नेता खनालले भने, “यही विषयलाई नियमन गर्न अपिल प्रकाशित गरेको हो। तालमेलका लागि केही अप्ठेरो देखिएको छ तर यस्तो भन्दै गर्दा तालमेल नै हुँदैन भन्ने होइन, तालमेल हुन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved