यस्तो छ भक्तपुरको बिस्का जात्राको कथा

यस्तो छ भक्तपुरको बिस्का जात्राको कथा
तीर्थलाल नःघःभनी(राजभण्डारी)

काठमाडौं उपत्यकाभित्र धेरैजसो स्थानहरूमा लिङ्गो उभ्याउने प्रचलन छ। कान्तिपुर, ललितपुर, मनमैजु, फुटुङ्ग, टोखा, देवपाटन, साँखु र चितलांग आदि विभिन्न स्थानहरूमा अद्यापि लिङ्गो गाडी आएको पाइन्छ। त्यो पनि स्थानीय देवदेवताहरूको जात्रामा मात्र उभ्याइन्छ। खाली जात्राको लागि मात्र लिङ्गो उभ्याइ आएको पाइँदैन। साथै जात्रा मानि आएको पनि देखिएको छैन। परन्तु भक्तपुरमा लिङ्गोको जात्रा मनाइ आएको पाइन्छ।

भक्तपुरमा लिङ्गो उभ्याइ जात्रा मनाउने परम्परा अद्यापि छँदैछ। चैत मसान्तका दिन चुपिंघाट नजिकका भैरवखेलमा लिङ्गो उभ्याइन्छ। लिङ्गो उभ्याएको जात्रा हेर्न आउने दर्शकहरूको घुइँचो हुन्छ। त्यस्तै वैशाख संक्रान्तिका दिन लिङ्गो ढालिन्छ। यो जात्रा हेर्न आउने पनि निकै हुन्छन्। अचेल लिङ्गो जात्रा करबल अथवा बल्लतल्ल मात्र चलि आएको प्रतीत हुन्छ। लिङ्गो उभ्याउने तथा ढाल्ने निश्चित समयमा हुँदैन। पहिले-पहिले जस्तै जनसहभागीता पनि उस्तो जुटेको देखिँदैन। आफ्नो संस्कृति जोगाइ राख्न उतिको ध्यान दिएको उस्तो देखिँदैन। यसले गर्दा जात्रा हेर्न आउने दर्शकहरू पनि प्रायः शून्य भइसकेको छ। साथै यस्तै हुँदै गयो भने एक दुई दशकमा नै यो परम्परा लोप भई जाने हो कि जस्तो देखिन्छ।

प्रथमतः भक्तपुर शहरमा लिङ्गो उभ्याउने परिपाटी कसले चलाएका हुन् र कहिलेदेखि चलेको हो भन्ने सन्दर्भमा केही विचार गरिन्छ। गोपालराज वंशावलीको ३४/३५ पृष्ठमा यसरी लेखिएको पाइएको छ-

२६ ख) जौराजिनी श्री बिश्मदेवी ना बृ (त्य)

२७ क) ऐन्द्र कूट सम्वच्छर चारिसय चबुद्रह

वैशाख मास तस्व पुत्र श्री जयशक्ति देवनः

ऐन्द्रकूट ध्वज मारोहनम्।।

यसको अर्थ ८३ पृष्ठमा यसरी दिएको छ।

ने.सं. ४१४ (वि.सं.१३५१) वैशाखमा युवराज्ञीनी श्री बिश्मदेवीले इन्द्रकूट बनाइन्। तिनका छोरा श्री जयशक्तिदेवले इन्द्रकूट ध्वज आरोहण गरे।

यो भनाइले युवराज्ञीले ‘इन्द्रकूट’ भन्ने इन्द्रको नामबाट एउटा थुम्को वैशाखमा बनाइन र तिनका छोरा जयशक्तिदेवले ‘इन्द्रकूट’ अर्थात् ‘इन्द्रथुम्को’मा इन्द्रध्वज गाडे भन्ने बुझाएको छ। परन्तु यो ‘इन्द्रकूट’ बनाउने यवराज्ञीको थिइन् र जयशक्तिदेव को थिए भन्ने सम्बन्धमा पनि केही जिज्ञासा राखिन्छ। गोपालराज वंशावलीको ४३ पृष्ठमा यसरी लेखिएको पाइएको छ-

सं. ३५८ जेष्ठ शुक्ल प्रतिपदा श्री जयभीमदेवस्य

पुत्र श्री जय आदित्य युवराज जात।

यस भनाइले राजा भीमदेव मल्लका छोरा युवराज आदित्य मल्लको जन्म भयो भनी बताएको छ। राजा भीमदेव मल्लले ने.सं. ३७९-३९०(वि.सं. १३१६-१३२७) सम्म गद्दी नसीन थिए। पुनः यसै पुस्तकको ४४ पृष्ठमा यसरी लेखेको पनि पाइएको छ।

स ३७६ वैशाख कृष्ण षष्टि श्री जोराजयादित्य स

पुत्र जय शक्तिदेवस जात।

यस भनाइले युवराज जय आदित्य मल्लाको छोरा जयशक्तिदेव जन्मे भनी बताएको छ। यस तथ्यबाट ‘इन्द्रकूट’ बनाउने युवराज्ञी बिश्मदेवी युवराज आदित्यकी रानी तथा राजा भीमदेव मल्लकी बुहारी थिइन् भने जयशक्तिदेव युवारज आदित्यका सुपुत्र तथा भीमदेव मल्लका नाति थिए भन्ने स्पष्ट बुझिन आएको छ। साथै गोपालराज वंशावलीको ५२ पृष्ठमा यसरी लेखेको देखिन्छ –

स ४१३ फागुण शुक्ल अष्टमी श्री जयादित्यदेवस अस्त।

यस भनाइले ने.सं.४१३ (वि.सं.१३५०) फागुणमा जय आदित्य मल्ल स्वर्गे भए भनी बताएको छ। राजा भीमदेव मल्लले भक्तपुर राजधानीमा नै बसी राजकाज चलाएका थिए। यसपछि जय सिंह मल्ल गद्दी नशीन भए। यिनको पछि अनन्त मल्ल राजा भए। यिनले ने.सं. ३९४-४३० (वि.सं.१३३१-१३६७) सम्म राज्य गरेका थिए।

यिनैको पालामा आदित्य मल्लको मृत्यु भएको वर्ष दिनपछि अर्थात् अनन्त मल्ल राजा भएको २० वर्ष पछि ने.सं. ४१४(वि.सं.१३५१) वैशाखमा युवराज्ञी बिश्मदेवीले आफ्ना पतिका नामबाट (आदित्य भन्ने नाम पनि इन्द्रको एउटा नाम हो) ‘इन्द्रकूट’(इन्द्रडाडा) बनाइन्। पछि त्यसै डाडामा नीजका छोरा जयशक्तिदेवले (आफ्ना बाबुको नाम कीर्ति फहराउने हेतुले) इन्द्रकूट ध्वजारोहण गरे अथवा इन्द्रध्वज गाडे। यसैको स्मृतिको रूपमा सालिन्दा लिङ्गो उभ्याउने परम्परा चली आएको हो भन्ने प्रतीत हुन आएको छ।

दोस्रो, वैशाखमा उभ्याउनुपर्ने लिङ्गोलाई चैत मसान्तमा उभ्याउने र वैशाख संक्रान्तिमा ढाल्ने गरी परिवर्तन कुन आधारमा गरेका हुन् तथा कहिले कसले गरेका हुन् भन्ने सन्दर्भमा केही चर्चा गरिन्छ। एउटा पुस्तकमा गौतमी पुराण र मनूका वचनबाट उध्दृत गरी यसरी लेखिएको पाइएको छ-

गौतमी पुराण-

चैत्र च बिश्वयात्रांया ध्वजस्योत्थानक चरेत्।।

सव दुःखाय विनस्यन्ति सर्वशत्रु क्षयाय च।।

मनू वचन-

ध्वज भञ्जनं कं पश्चात्क्रियये संक्रमे दिने।।

दुर्भिक्ष नाशनं चैव शत्रुपक्ष क्षयाय च।।

साथै इतिहासकार डा. डिल्लीरमण रेग्मीज्यूको ‘मेडिइभल नेपाल’ दोस्रो भागको ६५० पृष्ठमा यसरी लेखेको पाइएको छ।

गौतमी पुराण-

चैत्र च बिश्वयात्रां ध्वोजस्योत्थानकं चरेत्।।

सर्वे दुःखा विनश्यन्ति सर्वशत्रु क्षयाय च।।

ध्वज भञ्जनकं पश्चाते क्रियते संक्रमे दिने।।

यस अलावा विद्वान इतिहासविद् तन्त्रज्ञाता श्री लीलाभक्त मुनंकर्मीज्यूको ‘बिस्केट जात्राको संस्कृति’ भन्ने पुस्तकको १३ पृष्ठमा यसरी लेखिएको छ।

चैत्र च विश्व जात्रां ध्वजस्यो स्थाबकं चरेत्।।

सर्बे दुःखाधिन स्यन्ति सर्व शत्रुक्ष याय च,

ध्वजा भञ्जनकं पश्चाते संक्रमे बिने।।

यी श्लोकहरूमा केही पाठान्तर पाइएको छ। परन्तु ‘बिस्केट जात्राको संस्कृति’ भन्ने पुस्तकमा लेखिएको श्लोकमा ज्यादै अन्तर पाइएको छ। अरू श्लोकले यसरी बताएको आभास हुन्छ।

अमेरिकी फोटोग्राफर जीम गुडम्यानले सन् १९८० को दशकमा खिचेको लिंगो जात्राको तस्वीर।

‘चैत्र महिना अर्थात् चैत्र मसान्तका दिन ‘विश्वयात्रा’ ब्येला ध्वजोत्थान गरेमा सारा दुःख नाश भई शत्रुपक्ष क्षय हुनेछ र वैशाख अर्थात् वैशाख संक्रान्तिका दिन ध्वजा ढालेमा दुर्भिक्ष नाश भई शक्रु पनि क्षय हुनेछ।’

यसै पुराणको भनाइका आधारमा वैशाखमा लिङ्गो उठाउने परम्परालाई तोडी चैत मसान्तमा उठाउने र वैशाख संक्रान्तिका दिन ढाल्ने गरी आएको देखिन्छ। साथै यस ध्वजालाई विशेष गरी विभिन्न नाम गरी पुकारेको पाइन्छ। इतिहासकार डा.श्री डिल्लीरमण रेग्मीज्यूको ‘मेडिइभल नेपाल’ दोस्रो भागको ६७० पृष्ठमा भविश्य पुराणबाट उध्दृत गरी यसरी लेखिएको छ।

द्वादश्यांतु सितेपक्षे मासि भाद्रपदे तथा।

शक्रमुत्थपयते राजा विश्व श्रवण वास दै।।

यस श्लोकमा ‘शक्र’ ध्वज भनी पुकारिएको छ। साथै नेपाल वर्ष क्रिया भन्ने पुस्तकमा गाधर्व वचनबाट उध्दृत गरी यसरी लेखिएको छ।

मधु कल्कस्य पुष्पं च देव ध्वज यताककम्।

महापुण्र्य प्रमयेन द्वादश्यां च प्रढौकयेत्।।

यी श्लोकहरूमा ‘महेन्द्र ध्वज’ ‘ऐन्द्रध्वज’ भनी पुकारिदिएको छ। यसपछि अग्नि पुराणबाट उध्दृत गरी यसरी लेखिएको छ –

आराधितो महेन्द्र च ध्वजाकारो सुपष्ठि सु।।

यस श्लोकमा ध्वजाकार महेन्द्र (इन्द्र) भनी पुकारिदिएको छ। यसैलाई नेवारी भाषामा ‘यःसिं’ भनी पुकारी आइएको छ। यी नामहरू ‘इन्द्रकूट ध्वज’ कै नाम हुन् भन्ने स्पष्ट हुन आएको छ। यस अलाबा ‘मेडिइभल नेपाल’ दोस्रो भागको ६७० पृष्ठमा ‘राज मार्तण्ड तन्त्र’ बाट उध्दृत गरी यसरी लेखिएको छ।

कक्रध्वजं दारुकं च खड्ग पुष्पेन वेष्टयत्।।

हस्तै मुखं च संयोज्य जिण्णो ध्वजस्थ लक्षणम्।।

यो श्लोकले देवदारुको शक्रध्वजमा खड्ग पुष्पको हात शीर मुख राखी पुतलीको आकार जस्तो गरी बनाएको जिण्णोध्वज लक्षणको हुनेछ भनी बताएको छ। साथै जिण्णोध्वज भनी पुकारेको पनि छ। यसै अनुरूप भक्तपुरका लिङ्गोमा देवदारु रूखका हाँगा तथा खड्ग पुष्पले हात शीर राखी मुख आकार आउने गरी बनाएको आभास पाइन्छ।

अतः माथि उल्लेख गरेको गौतमी पुराणबाट उध्दृत गरेको श्लोकमा ‘विश्व यात्रायां’ भनी उत्कीर्ण भएको छ। यो ‘विश्व यात्रा’ भन्ने सन्दर्भमा केही चर्चा गरिने प्रयास गरिन्छ। गोरलपुरबाट प्रकाशित कल्याणको ‘संक्षिप्त भविश्य पुर्णाङ्कको ९४ पृष्ठमा’ ब्रम्हाजीले गरेका सूर्यको स्तोत्रमा यसरी लेखेको छ।

नमो हितकृते नित्यं धर्माय तपनाय च।।

हरये हरिताश्वाय विश्वस्य प्रतये नमः।।

यस श्लोकमा ‘हितकृत (संसारलाई कल्याण गर्ने) धर्म तपन हरिताश्व (हरेरंगका घोडा हुने ) ‘विश्वपति’ भगवान सूर्यलाई सँधै मेरो नमस्कार छ’ भनिएको छ। यसबाट ‘विश्व’ भन्ने नाम पनि सूर्यको नाम हो भन्ने विदित हुन आएको छ। साथै लिच्छवीकालका अभिलेखको ५९ पृष्ठमा टेबहालको शिलालेखबाट उध्दृत गरी यसरी लेखिएको छ।

‘(संव)त ४०२ राज्ञ श्रीमानदेवस्य सम्यक पालयतो

महिम आषाढ शुक्लस्य तिथौ पञ्चदश्यां शुभात्र्थिना

बाणिजां सात्र्थवाहेन गुह्यमित्रेण भविततः संस्था

पितोत्र भगवानिन्द्रो नाम दिवाकरः क्षत्रंयथा

गम्पद् वृम्प्रदेशे शतश्य भूमि पिण्डक मानिका ६०’

यस अभिलेखमा ‘भगवान इन्द्र नाम गरेका दिवाकर’ भनी स्पष्ट लेखेको छ। यसबाट दिवाकर (सूर्य)को नाम ‘इन्द्र’ पनि हो र इन्द्रको नाम सूर्य पनि हो भन्ने स्पष्ट बुझाएको छ। यस तथ्यबाट ‘सूर्य’ को नाम ‘विश्व’ पनि हो भन्ने प्रष्ट देखिन आएको छ।

यही सूर्य वैशाख मेष राशिदेखि चैत मीन राशिसम्म १२ राशि चाहारिँदा १ वर्ष लाग्छ। सूर्य राशिपिक्षे अर्थात् १२ राशिमा परिक्रमा गरिने हुँदा ‘विश्व यात्रा’ भनेको हो भन्ने अनुमान गर्न सकिन्छ। साथै यसैको आधारमा विश्व (सूर्य) वैशाख मेष राशिदेखि यात्रा गरिने हुँदा सालभर अनिष्ठ, अनिकाल, दुर्भिक्ष नहोस्,नआवस नथा नाश होस् भन्ने हेतुले संक्रान्तिका दिनमै इन्द्रध्वज भञ्जन (ढाल्ने) र विश्व (सूर्य) चैत मसान्त मीनराशि अन्त्यसम्म निर्विघ्न पूर्वक यात्रा समाप्त गरिने हुँदा खुशीयालीको रूपमा शक्रध्वजोत्थान गरी आएको हो भन्ने ज्ञात हुन आएको छ।

अर्काे गौतमी पुराणमा ‘विश्वयात्रांया ध्वजस्योत्थान’ भनिएको तात्पर्य सूर्य मीन राशिबाट मेष राशिमा पदार्पण गर्ने बेला ध्वजा गाड्नु अर्थात् लिङ्गो गाड्नु भनेका हुन्। मीन राशिबाट सूर्य (विश्व) मेष राशिमा प्रवेश गरिनेलाई ‘विश्व यात्रा’ भनिएको हो भन्ने प्रष्ट देखिन आएको छ। यसैले ‘विश्वयात्रा’ मा उभ्याउने ध्वजा भएकाले ‘विश्वकेतु’ भनिएको हो।

यही ‘विश्वकेतु’ भन्ने नाम कालान्तरसम्म प्रख्यात छन्। पछि ‘विश्वकेतु’ लाई अपभ्रम्स गरी ‘विसिकेत’ भनियो। विसिकेतलाई विकृति गरी ‘विसिकात’ भन्न थाले। पछि ‘विसिकात’को ‘बिस्केट’ भन्न थालियो। नेवारी भाषाबाट ‘बिसिकाट’ लाई ‘बिसियात’ भन्न थाले। साथै ‘वि’ को अर्थ ‘साँप’र ‘सि’ को अर्थ ‘मरेको’ तथा ‘यात’ को अर्थ ‘यात्रा’ भनी अर्थ लगाइ ‘विसियात’ को ‘मरेको साँपको यात्रा’ भनी अर्थ लगाउन थालियो। यसै अनुरूप लिङ्गोलाई ‘अजिङ्गर अजिङ्गरनी’ को जात्रा भनी आएका हुन्। यो बिलकुल अशुद्ध र कपोलकल्पित हुन् भन्ने स्पष्ट देखिन्छ।

तेस्रो ने.सं ४१४ मा यज्ञशक्तिदेवले वैशाखमा उभ्याउने गरी ‘इन्द्रध्वज’ प्रतिस्थापित गरेकोलाई गौतमी पुराण तथा राज मार्तण्ड तन्त्रका आधारमा सूर्य मीन राशिबाट सर्ने दिन चैत मसान्तमा लिङ्गो उभ्याउने र मेष राशिमा प्रवेश भएको दिन दिन वैशाख संक्रान्तिमा ढाल्ने गरी परिवर्तन कसले गरेका हुन् र यो परिवर्तित परम्परा कहिलेदेखि चलेका हुन् थाहा हुन सकेको छैन। यसर्थ यस सम्बन्धमा अन्वेषण गर्न बाँकी नै छ।

साथै यो इन्द्रकूट ध्वज अर्थात् विश्वकेतु उभ्याउने स्थानलाई ‘भैलःख्यः’ वा ‘भैलःगा’ वा ‘भेलू ख्यः’ वा ‘भलू गाः’ वा ‘भैलःगम’ भनी आएका छन्। अपितु भैरवका पीठ भएको स्थानलाई मात्र नेवारी भाषाबाट यसरी भन्ने चलन छ। तर यहाँको भैरवको पीठ अवष्ठित(अवस्थित) छैन। हुन त एउटा पीठ अवष्ठित छ। तर त्यो पीठ भैरवको होइन। विष्णुदेवी (बैष्णवीका पीठ हुन्। त्यसैले यस स्थानलाई भैरव ख्यः (भैरव खेल) भन्न मिल्दैन। यस स्थानलाई ‘विष्णुदेवी खेल’ वैष्णवी गम भन्ने मात्र सुहाउँछ। परन्तु यसो भनिएन, भैरव खेल नै भनी आएको छ।

जहाँ भैरव पीठै छ्रैन त्यहाँलाई ‘भैरव खेल’ किन भनियो ? आधार के छ भन्ने विषयमा अलिकति चर्चा गरिन्छ। इतिहासविद् श्री लीलाभक्त मनुंकमिज्यूको ‘विस्केत जात्राको संस्कृति’ भन्ने पुस्तकको १४ पृष्ठमा ‘विश्वकेतु’ ध्वजा (लिङ्गो) मा झुण्ड्याउने पताकामा रहेको अभिलेख उध्दृत गरी यसरी लेखिएको पाइएको छ।

‘नेपाल  भूपाल श्री ष्ठ पाडौ म

श्री जगतप्रकाश सिंह श्रीमहाकाल भैरव’

यस अभिलेखबाट जगतप्रकाश सिंहले लिङ्गोलाई ‘श्री महाकाल भैरव’ भनी सम्बोधन गरी पताका चढाएको हो भन्ने स्पष्ट बुझाएको छ। यसबाट भक्तपुरमा उभ्याउने लिङ्गो भैरवको प्रतीक हुन् भन्ने प्रतीत हुन आएको छ। यो ध्वजा अथवा पताका राजा जगतप्रकाश मल्लले चढाएको हो भनी तर्क गरेको छ। परन्तु राजा जगत प्रकाश मल्लका पालाको अभिलेख धेरै जसो प्रकाशमा आइसकेको छ। उक्त अभिलेखहरूमा राजा जगतप्रकाश मल्लको नामका पछाडि ‘सिंह’ जोडिएको पाइएको छैन। तसर्थ उक्त अभिलेख राजा जगतप्रकाश मल्लका होइन। कुनै एक सज्जन व्यक्तिका नाम हुन् भन्ने स्पष्ट देखिन आएको छ। यस अलावा १५ पृष्ठमा श्री ५ रणबहादुर शाहज्यूबाट लिङ्गोलाई चढाएको पताकाको अभिलेख उध्दृत गरी यसरी लेखिएको छ।

‘ॐ स्वस्ति। श्री आकाश भैरवलाई श्री ५ रणबहादुर शाहले वीरध्वजा बनाइ चढाञ्यू। शाके सम्वत् १७१८, वि.सं. १८५४, कलि सम्वत् ४८९७, नेपालसम्वत् ९१७ चैतमासे शुक्लपक्षे द्वादशी तिथौ  शनिश्चरवार।’

यस अभिलेखमा पनि विश्वकेतु (लिङ्गो) लाई आकाश भैरव भनी पुकारेको छ। यसबाट पनि लिङ्गोलाई भैरवको प्रतिबिम्ब मानेको स्पष्ट देखिन्छ। यस अलावा लिङ्गोमा झुण्ड्याउने यस पलाकालाई ‘वीरध्वजा’ भनी प्रष्ट पुकारेको छ। यसलाई ‘अजिङ्गगर अजिङ्गरनी’को प्रतीक भनी अर्थ्याउनु कहासम्मको युक्ति संगत छ थाहा छैन। पुनः यसै पुस्तकको यसै पृष्ठमा श्री ५ त्रिभुवन वीर विक्रम शाहदेवज्यूबाट चढाएको पताकाको अभिलेख उध्दृत गरी यसरी लेखेको छ।

‘स्वस्ति श्री आकाश भैरवलाई श्री ५ महाधिराज त्रिभुवन वीर विक्रम शाहदेवबाट ‘वीरध्वज’ बनाइ चढाञ्यू। श्री विक्रम सम्वत् २००४ साल, शाके सम्वत् १८६९, नेपाल संवत् १०९८ फागुण मासे   गुरुबासरे।’

यस अभिलेखमा पनि विश्वकेतु अर्थात् लिङ्गोलाई ‘आकाश भैरव’ भनी पुकारेको छ। यसबाट पनि लिङ्गोलाई भैरव नै भनिएको देखियो। यसको साथै पताकालाई ‘वीरध्वजा’ नै भनी सम्बोधन गरेको पाइएको छ। यसबाट पनि पताका ‘अजिङ्गर अजिङ्गरनी’को प्रतीक होइन भन्ने स्पष्ट बुझाएको छ। साथै ‘विस्केट’ जात्राको संस्कृति’ भन्ने पुस्तकको १६ पृष्ठमा यसरी लेखेको छ।

‘यो एउटा लिङ्गो जात्रा गर्न दायाँ ८ हात बायाँ ८ हात र टाउको निमित्त रुखका झ्याउ टुप्पामा राखेर टाउकोदेखि दुबै हातमा नीलो ३२ हातको कपडाले मोडी हातको बीचमा एकजोडा नाग-नागनीका चित्रका ध्वजा बाँधेर लिङ्गो उभ्याउने गर्दछ।’

यस भनाइअनुसार ‘लिङ्गो जात्रा गर्न दायाँवायाँ ८/८ हात तथा टाउको राखेर टुप्पोदेखि नीलो कपडाले बेरिन्छ’ भन्ने उल्लेख भएको सहिनै छ भने भैरवलाई नै इंगित गरेको देखिन्छ। टाउको हात राखी काठको पुतली आकार आउने गरी बनाएको लिङ्गो लक्षणको छ भन्ने व्यहोरा माथि परिसकेको छ। तथापि भैरवको रूपवर्ण अकसर गरी नीलै हुन्छ। यसकारण यसकारण भैरव पूजा गर्दा नीलो वस्त्र चढाउने परम्पार अद्यापि छँदैछ। यस तथ्यबाट पनि लिङ्गो भैरवकै प्रतीक हो भन्ने देखिन आएको छ।

साथै ध्वजाका नागका चित्र अंकित गरेको हुँदैमा नागनागिनीका ध्वजा भन्न मिल्दैन। नागको फना भैरवको कानमा लाउने कुण्डली गहना हो। अर्काे राजा श्री ५ रणबहादुर शाह र श्री ५ त्रिभुवन वीर विक्रम शाहज्यू समेतले आकाश भैरवलाई चढाएको ध्वजामा ‘वीरध्वाजा’ भनी स्पष्ट उत्कीर्ण भएकाले ‘उक्त ध्वजा’ नाग नागिनीको प्रतीक मान्न मिल्दैन।

यस्तै कान्तिपुरमा भद्रकाली, कंकेश्वरी, गुह्येश्वरी, हनुमानढोका, फुटङ्ग आदि ठाउँमा उभ्याउने लिङ्गोमा फहराउने ध्वाजा पताकामा विभिन्न चित्रहरूमा साथै नागको चित्र पनि लेखिएको पाइन्छ। परन्तु यस ध्वाजाहरूलाई नागका प्रतीक मानी आएको पाइएको छैन। यसर्थ भक्तपुरको लिङ्गोमा फहराउने झण्डा पताका ध्वाजामा नागको चित्र अंकित हुँदैमा नागनागिनी (अजिङ्गर अजिङ्गरनी)को रूप हुन् भनी तर्क गर्नु अनर्गलमात्र हुन जानेछ। लिङ्गोमा हाल झुण्ड्याइ आएको ध्वजा सायद राजा  श्री ५ रणबहादुर शाह तथा श्री ५ त्रिभुवन वीर विक्रम शाहहरूले चढाएका ‘वीरध्वजा’ नै हुनुपर्छ। यो एक किसिमबाट वीरताका प्रतीक हुन्। विश्व-विजयको द्योतक ‘विश्वकेतु’ हुन भन्नुमा अत्युक्ति नहोला।

चौँथो विश्वकेतु अर्थात् इन्द्रध्वज लिङ्गोलाई भैरवका प्रतीक किन मानियो र कुन आधारमा मानेका हुन् भन्ने सन्दर्भमा केही चर्चा गर्ने प्रयास गरिएको छ। ‘विश्व’ भन्ने सूर्यको एउटा नाम हुन् भन्ने कुरा माथि परिसकेको छ। यस अतिरिक्त ‘इन्द्र’ भन्ने पनि सूर्य कै अर्काे नाम हो भन्ने व्यहोरा पनि माथि गइसकेको छ। साथै ‘भास्कर’ भन्ने पनि सूर्य नै हुन् भनी वर्णन माथि नै गरी सकेको छ। अब सूर्यलाई भैरव भनी कुन आधारमा भनिएको र मानिएको हो अलिकति मनन गरिन्छ। गोरखपुरबाट प्रकाशित कल्याणको संक्षिप्त भविश्य पूर्णाङ्कको १३३ पृष्ठमा ‘भविश्य पुराण ब्राह्म पर्व’ को १२८ अध्यायबाट उध्दृत गरी यसरी लेखेको छ।

वैकर्तनौ विवस्वाद्यं मार्तण्डो भास्करो रवि।।

लोक प्रकाशकः श्रीमाल्लोक चक्षु ग्रहेश्वर।।

लोक शाक्षी विलोकेशः कर्ता हर्ता तमिस्त्रहा।।

तपन स्तापन श्चैव शुचि सप्ताश्व वाहन।।

यस उक्तिबाट सूर्यको नाम ‘रवि’, ‘भास्कर’, ‘मार्तण्ड’ पनि हो भनी बताएको छ। यसै पुराणको ९४ पृष्ठमा ब्रह्माजीले गरेको सूर्यको स्तोत्रमा यसरी लेखेको छ।

नमः सूर्याय नित्याय खयेऽकार्य भानवे।।

भास्कराय मार्तङ्गय मार्तण्डाय विवश्वते।।

यस श्लोकबाट पनि सूर्यको नाम ‘मार्तण्ड’ पनि हो भनी स्पष्ट बताएको छ। साथै भास्कर पनि हो भनी पुष्टि गरेको छ। यस अलावा बृहत पुरश्चर्यार्णव द्वितीय भागको २२७ पृष्ठमा ‘माहेश्वरीय तन्त्र’ बाट उध्दृत गरी यसरी लेखेको पाइएको छ।

संस्मृत्य भैरवदेव मार्तण्डाख्य मुमापतिम्।।

मूलेन मनुनादेवि सूर्यस्य मनुनाथ वा।।

मायावीजं समुद्धृत्य सोऽहँ तुबिपरितकम्।।

मार्तण्ड भैरवङेत प्रकाश शक्ति संयुतम्।।

एष तेऽर्धाेऽग्नि जायेति दद्यावधं त्रयं सुधी।।

यस तन्त्रश्लोकबाट सूर्यलाई ‘मार्तण्ड भैरव’ भनी सम्बोधन गरेको पाइयो। साथै एउटा तान्त्रिक पूजाविधिमा यसरी लेखेको पाइएको छ।

मर्मनाभि सियतं देवं मायत्री पद भूषितम्।।

कूटमेव स्थितंदेव महामार्तण्ड भैरवम्।।

श्री सूर्याय नमः।।

यस श्लोकबाट सूर्यलाई ‘मार्तण्ड भैरव’ भनी मानी आएको स्पष्ट पुष्टि हुन आएको छ। साथै ‘विस्केट जात्राको संस्कृति’ भन्ने पुस्तकको १५ पृष्ठमा यसरी लेखेको छ।

‘विस्केत जात्राका लागि सोझो सल्लाका रुखको पोल लगभग ५५ हात लामो  हुनुपर्छ।’

यो भनाईमा सत्यता छ भन्ने ५५ हातको होइन ५४ हातको हुनुपर्छ। किनभने तन्त्रको जगतमा ५४ भैरवको विशेष स्थान छ। एकएक हातको एकएक भैरवको प्रतीक ५४ भैरवको ५४ हातको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ। तापनि लिङ्गो भैरवको प्रतीन मानेकाले यस भनाइबाट पनि पुष्टि हुन आएको छ।

तसर्थ मार्तण्ड भन्ने सूर्यको नाम भएकाले ‘मार्तण्ड भैरव’ भन्ने पनि सूर्य नै हुन् र ‘सूर्य’ भन्ने नाम पनि ‘इन्द्र’ को नाम भएकोले ‘इन्द्र’ पनि भैरव नै हुन् भन्ने ज्ञात हुन आएको छ। यस तथ्यहरूबाट ‘इन्द्रकूट’ ध्वज, इन्द्रध्वज अर्थात् विश्वकेतु लिङ्गो ‘मार्तण्ड भैरव’को प्रतिमूर्ति हो भन्ने स्पष्ट हुन आएको छ। मार्तण्ड भैरवको प्रतिबिम्ब स्वरूप विश्वकेतु लिङ्गो उभ्याउने (गाड्ने) ठाउँ भएकाले नै नेवारी भाषामा भैलख्यः भैलगाः भलू ख्यः भनी आएका हुन्। अर्थात् ‘भैरवखेल’भनेका हुन्।

पञ्चमत नेपालमा विभिन्न प्रकारका जात्राहरू छन्। यसमध्ये प्रदर्शन गर्ने पनि एउटा जात्राको रूपमा मानी आइरहेका छन्। जस्तै जावलाखेलमा भोटो देखाउने जात्रा हो। यस्तै मनमैजुमा पनि भोटो देखाउने जात्रा छन्। मध्यपुर वोडेदेशमा जिब्रो छेड्ने जात्रा हुन्। यसै अनुरूप चुपिंघाट नजिकै भैरवखेलमा मार्तण्ड भैरवको प्रतिमूर्ति विश्वकेतु लिङ्गो उभ्याइ प्रदर्शन गर्ने भएकाले जात्राको रूप लिन गएको प्रतीत हुन आउँछ।

यसरी मनन गरिँदै जाँदा भक्तपुरको लिङ्गो जात्रा ने.सं.४१४(वि.सं.१३५१) वैशाखदेखि चलिआएको देखिन्छ। त्यसताका लिङ्गो उभ्याउने एउटा नौलो प्रक्रिया भएकाले हेर्न जाने घुइँचो लागेको हुन सक्छ। यसबाट भव्य जात्राको रूप लियो होला। पछि गौतमी पुराण तथा मनूका वचन अनुसार चैतमा उभ्याउने तथा वैशाखमा ढाल्ने प्रक्रियाको विशेषता थपिएकाले जात्राको महत्व बढेको आभास हुन्छ।

यस अतिरिक्त विश्व यात्राको रूपमा चैत मसान्तका दिन उभ्याउने तथा वैशाख मसान्त ढाल्ने विशेषता थपी ‘विश्वकेतु’ भन्ने नाम प्रख्यात भएपछि जात्राको महत्व झन बढ्न गएको देखिन्छ। यस अलावा मार्तण्ड तन्त्रका आधारमा विश्वकेतु लिङ्गोलाई ‘महाकाल भैरव, आकाश भैरव’ भनी पुकारी भैरवका प्रतिबिम्ब तथा प्रतिमूर्ति मानेपछि जात्राको विशेषता झन बढन् थालेको देखिन आउँछ। भक्तपुरका जनमानसमा हर्षोल्लासले ओतप्रोत भएको हुादा धातुलयमा गीत गाउन थाले।

‘सुथ न्हापां दना वने।

चुपिं गाले मोल ल्हुय।

भैरव दरशन याय।। ’

यस गीतले ‘बिहान सबेरै उठी चुपिंघाटमा नुहाइ भैरव दर्शन गर्दछु’ भनी बताएको छ। यसबाट त्यसताका भैरव नै विश्वकेतु लिङ्गो नै हो भन्ने बुझिन आउको छ। यसपछि आकाश भैरवको र चामुण्डा काली (भद्रकाली) को रथयात्रा थपिएपछि जात्राको विशेषता बढी हुन पुगेको देखिन आएको छ। तसर्थ यस तथ्यहरूको आधारमा भक्तपुरका लिङ्गो जात्रा ७०४ वर्ष पुरानो हो भनी थाहा पाउन सकिन्छ।

“नेपालभाषामा ‘व्वधासा’ कथासंग्रह लगायत नेपालभाषा र नेपालीमा दर्जन बढी पुस्तक र लेख लेखेका काठमाडौंका कथाकार एवं संस्कृतिविद् एवं शोधकर्ता तीर्थलाल नःघःभनी राजभण्डारीले पुरातत्व विभाग अन्तर्गत राष्ट्रिय अभिलेखालयले वर्ष १६ विसं २०५५ मा प्रकाशन गरेको ‘अभिलेख’को अंकमा ‘भक्तपुरको लिङ्गो जात्रा’ शीर्षकमा छापिएको लेख।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved