नियात्रा

तिलस्मी तोर्पा

“बहिनी एउटा फोटो खिचुँ है”- मैले घट्ट र बहिनीको तस्वीर खिच्न खोजेँ।
“पर्दैन, फोटोसँगै माया पनि गयो भने के गर्ने नि ?”- अलि लजाएजस्तै गरेर बहिनीले तीर हान्ने जवाफ फर्काइन्।

तिलस्मी तोर्पा

नबिटुलिएका पाइलाहरू खोज्दैछन् पहाडहरू। हामी प्रेमिल घरबार सजाउन सहस्र अन्धकार जलाउँदै अघि बढिरहेछौं।

हुम्ला, तिमीले नै मजासँग अलमल्यायौ मलाई, कहाँ जान दियौ र मानसरोवरसम्म। आफ्नो मान्छे सधैँ आफैंसँग अलमलियोस्, अरूसँग टाढै रहोस्, अरूसँग नजिकियो भने उतै पो लहसिन्छ कि भन्ने आशंका रहन्छ प्रेमी-प्रेमिकामा। त्यस्तै ठान्यौ तिमीले पनि। काठमाडौंमा यात्रारम्भ गर्दा गन्तव्यबिन्दु तिमी मात्र थिइनौ, मानसरोवर पनि थियो। तिमीलाई भेटेपछि तिम्रो सान र सौन्दर्यमा भुलेँ म, मान र मायामा भुलेँ म- गन्तव्य तिमी बाहेक अरू हुनै सकेन।

सबै यात्राहरू सहज हुँदैनन्। अझ, कठिन ठाउँको यात्राको लागि मिलाउनु पर्छ कठिनसँगै यात्राको चाँजोपाँजो। सीमित समयमा धेरै काम भ्याउन खोज्ने म जस्तोको लागि कठिन प्राप्यता रहेछ मानसरोवर।

डा. दामोदर पुडासैनी ‘किशोर’

‘प्रकृतिको अनुपम छटा बोकेर उभिएका छन् कैलाश र मानसरोवर। आदिम जल र असीम हिउँका अन्योल स्वर्ग हो मानसरोवर। जलको जाँगर हो मानसरोवर, बलको ब्युँझाइ हो कैलाश। जल, थल, वायु आकाश सबैैको सौन्दर्यको सार एकठ्ठा भएको थलो हो त्यो। सौन्दर्यको महान् चित्र, रहस्यको विशाल गीत, जीवन आरम्भका अजस्र शृङ्खलाहरू- सबैैसबैै भेटेरनै कैलाश र मानसरोवर क्षेत्रलाई कसैले संसारकै सर्वोत्कृष्ट मनोरम स्थल मानिरहेछन्, कसैले भगवान र स्वर्गको साक्षात्कार अनुभूति गरिरहेछन्। हिन्दुहरू साक्षात् शिवजी भेट्ने लालसा राख्छन् त्यहाँ। बौद्धहरू साक्षात् शान्ति समेट्ने आशा राख्छन् त्यहाँ। प्रकृतिका पूजारीकालागि कैलाश मानसरोवरमाजस्तो महकता अन्यत्र भेट्नै सकिँदैन। सोह्रहजार फिटभन्दा माथिरहेको तिब्वती प्लेटको चुचुरा र त्यही रहेका तालका ताजा जलका अजस्र स्रोतहरू कतै ब्रह्मपुत्र बगेर र कतै कर्णाली फैलिएर अरबौं जीव वनस्पतिको जीवनोदयका सारतत्व सावित भइरहेछ। त्यसैले कैलाश मानसरोवर संसारकै सर्वगम्य सुगन्ध हो।’ सुनेका र बुझेका स्रोतबाट त्यही निष्कर्षमा पुगेको थिएँ म। त्यस क्षेत्रको स्पर्शमा रमरमी बन्न चाहन्थेँ म।

असहज समयले कहाँ भेट्न दियो र मलाई कैलाश र मानसरोवर।

हुम्लाबाट दश एघार दिन पैदल पार गर्न सकेको भए मानसरोवर पुगेर फर्किन्थ्यो ज्यान। हेलिकप्टर उड्न सकेको भए पाँच छ दिनमै मानसरोवरको महक अभियान साम्य हुन्थ्यो। भर्खरै ओलम्पिक खेल सकिएको र तिब्वतमा ‘स्वतन्त्र तिब्वत अभियान’ ले खैलाबैला मच्चिएकोले विदेशीलाई तिब्वत छिर्ने ढोका बन्द गरेको जानकारी पाइयो हुम्लामै। तिब्वत प्रवेश अनुमति नपाएपछि कैलाश-मानसरोवर पुग्ने कुरै भएन। तिब्वतीद्वार खुलेको भए हुम्ला हुँदै त्यहाँ पुग्ने विदेशीहरूको ताँती चल्थ्यो। हुम्लादेखि हिल्सासम्म हेलिकप्टर चढेर मानसरोवरको मुटुसम्म पुग्न सकिन्थ्यो। जिल्लाका सम्पूर्ण कार्यालयका कामकारवाही एकमहिनामा केलाउनपर्ने बाध्यताले मैले त्यताको यात्राको लागि दश बाह्र दिन छुट्टयाउन सकिँन। अविरल वर्षिरहेको हिउँले बाटोघाटो सबैै एकछत्र पारेको खबरले पनि यात्रामा अंकुश लाग्यो।

‘खास कैलाश त रल्लिङ हो रल्लिङ। तिब्वतमा पर्ने कैलाश त रल्लिङ पछिको पो हो’- हुम्लाका धेरै मान्छेको मुखबाट सुनेँ। रल्लिङ आस्थाको शैलाधिप हो। आशाको शैलशिखर हो। उमङ्गको शैलकूट हो। शीतोपचारको अखण्ड शीताद्रि हो। त्यहाँ पुगेपछि कोही पनि शीत्कारमा नसजिइरहन सक्तैन, शीताङ्क बनेर नवर्षिईरहन सक्तैन’- धेरै हुम्लीहरूले जोडपूर्वक बताइरहे रल्लिङको रौनक। ‘त्यसो हो भने किन खेर फालुँ यो अवसर’- लाग्यो मलाई। आतुर बने म रल्लिङतिर लम्कन। स्थानीय कर्मचारी साथीहरूसँग सल्लाह गरेँ। साथीहरूले उदारता देखाउनुभयो। रल्लिङ जाने निधो भयो।

रल्लिङ जाने निधो गरेपछि फेरि हुम्लाभर हिमपातको ओइरो चल्यो। भर्जनी बँगे खोंच खोंचबाट। हुम्ला एयरपोर्ट चिराचिरा भयो। मान्छेहरू जाडोले सिकसिकाउन थाले। ‘रल्लिङ पुग्ने सपना पहिरोमा पुरिने हो कि’-एउटा अव्यक्त डरले छोपिरह्यो मनलाई।

‘जान सकिन्छ र सर, हिउँले बाटैमा अप्ठेरो पार्ने हो कि ?’- महिला विकास अधिकृत विष्णुमाया पौडेलजीले अघिल्लो दिन नै आशङ्का पोख्नुभयो। ‘हिमवर्षा रोकियो भने जसरी पनि जानुपर्छ है’- विष्णुजी र उच्च पहाडी गरिवी निवारण परियोजनाका सदस्य-सचिव जङ्गबहादुर रोकायाको चोचोमोचो मिल्यो। जिल्ला विकास समितिकै विशाल बोहोरा र सुमन भण्डारी पनि हाम्रो यात्रालाई सहवरण गर्न चाहनुहुन्थ्यो। हाम्रो सल्लाह जति गाँजिन्थ्यो, पानीको झ्यारझ्यार र हिउँको फुसफुस त्यतिनै बाक्लिन्थ्यो। मलाई तिम्रा अङ्ग-अङ्ग छाम्न नपाउँदा भित्रभित्रै कुतकुति चलिरहेथ्यो। आखिर क्यालेण्डरले अङ्कित गरेको असोज सातको बिहान उदायो शुभ सङ्केत बोकेर। घाम मुस्कुराउँदै सिमकोटको हिमाच्छादित हृदय सुँघ्न आइपुग्यो। वरिपरिका डाँडाकाँडा नौनीका निष्क्लेश निसाना बनिरहेथे। सिमकोट मँ ब्लँ हिमालको फेदीमा फैलेको सामोनिक्स बजारभन्दा सुन्दर छ। हिउँमा हाँसिरहेको म्युनिख शहरभन्दा अझ चम्किएको छ। निष्कलङ्क, निष्कण्टक र निष्कपट पेरिसको मोमात्र्र भन्दा अझ बढी छ रुपौलो। सिमकोटको पूर्वोत्तर हिममन्दिरझैं ठिङ्ग उभिएको छ रल्लिङ। ‘रल्लिङ हुम्लाको साहस हो, सान हो, जीवनको अर्थ खोतल्ने उदिप्त गान बजान हो’- यही बुझेर पनि म आतुर थिएँ रल्लिङका रेखारेखामा रुमल्लिन। अपराह्न दुई बजे रल्लिङको लागि रन्को छोड्ने सल्लाह थियो। दुई बजेको आतुरमा थिएँ म।

पौने दुई बज्यो। पानी दर्कियो डाँडाहरूमा। चिनीको ओइरो चल्यो। फेरि यात्राको दुश्मन बन्ने भयो समय- मनमनै पाकेँ म। मोवाइलमा लहरै घण्टी बज्यो विष्णुजी र जङ्गजीको- ‘यात्राका आँकुराहरू अन्योलमै मर्ने हुन् कि ?’ बाटाहरू हिउँले पुरिएभने मोडिनसक्छ गन्तव्य। अविरल हिमधारा ओइरिरहेछ भने अवरोध पुर्‍याउँछ हाम्रा पाइलाहरूलाई।

‘दर्केझरी हो। खहरे र भदौरे वर्षाको टिकाउ हुँदैन भन्छन्। हिउँ परेपनि आँटेको समयमा साइत गरौं। नरोकिइ सुख्खै छैन हिउँ। असाध्यै अप्ठेरो पर्‍यो भने बसौंला बास बुराउँसेमा। पाइला नचालेसम्म कतै पनि हुन सक्तैन यात्रा।’ बालहठमै उत्रिएँ म। विष्णुजी र जङ्गजी पनि आफ्नो उद्देश्यमा हार नखाने मान्छे हुनुहुँदोरहेछ। तीनहठको अगाडि प्रकृति साम्य भइन्। हिमधारा हराए।

यात्राको अङ्कुर उचालिँदै गयो।

सहज सिन्काहरू बटुलिसकेपछि मात्र शुरु गर्छु भन्ने हो भन्ने अवरोधको सङ्घारमै अलमलिरहन्छ यात्रा।

हाम्रो समूहमा बरगाउँ घर भएकी महिला कार्यकर्ता निमा लामा पनि थपिइन्। स्थानीय स्रोत र साधन समेट्न सकियो भने सरल र सुखदायी बन्छ यात्रा।

यात्रारम्भको पहिलो पाइलामै जीवनको उत्क्रम भेट्ने अनुरक्तमा उत्फुल्ल बनेँ म। हामी लादेवाडा र पाउवाडा बीचको बाटो हुँदै उकालो चढ्यौं। हिउँको लेपले चिप्लो बाटो। पानीको यात्राले छप्ल्याङचुप्लुङ छ बाटो। हाम्रो स्पर्शले सर्लक्क पोखिन्छन् बाटा छेउका भिजेका बुच्काहरू।

‘आरम्भले अत्याउँछ अवरोधलाई’- त्यही सोचेर हिँडिरहेछौं हामी।

हिमाल चढ्दा कहिलेकाहीँ एक मिटर उचाइ पनि धेरै गुणा बढी लाग्छ। स्याँस्याँ बढ्छ, लेक लाग्न थाल्छ र जीवन धान्न ओरालो नझरी सुक्खै छैन।

‘यात्रा समूहका कसैलाई पनि दुःख दर्दको छायासम्मले नछोओस्’- विष्णुजी र निमा बहिनीले पुकारा गर्नुभयो हिमालतिर फर्केर। यात्रामा पुरुषहरूभन्दा नारीहरू बढी व्यवस्थित हुन्छन्। विष्णुजीले पनि यात्राको लागि खाजा तयार गर्नुभएको रहेछ। हामीलाई समेत छाताको जोहो गर्नुभएको रहेछ। निमा बहिनीकै सल्लाहमा हामी सबैैले माउण्टेन सुज पहिरेका थियौँ। बाक्लो ज्याकेट र बाक्ला कपडाहरू पहिरेका थियौँ। जाडोको टोकाइमा फिकाफिका लागिरहेथे ती सबैै।

अद्भूत शान्ति फैलिरहेथ्यो आँखाको डिलले भ्याएसम्मका दृश्यहरूमा। घरि छोप्ने घरि बिलाउने कुहिरोको चर्तिकला भने चित्र बनाइरहेथे घाम-छायाको।

‘आहा कति राम्रा गेडाहरू मुगा उनेर राखेजस्ता, खान हुन्छ निमा ?’ बाटा छेउभरि फलिरहेका राता गेडाहरूतिर इङ्गित गर्दै सोध्नुभयो विष्णुजीले। ‘किन नहुनु, केटाकेटीमा घोडा चराउन जाँदा कत्ति खान्थ्यौँ हामी।’ निमाले एक गेडा टिपेर कुप्लुक्क मुखमा हाल्नुभयो। ‘सेप्लिङ्ग’ भन्नुहुँदो रहेछ निमाहरूले। ‘कुइयाँसु’ भन्नुहुँदोरहेछ राजनजीहरूले। ‘यसको चिया असाध्यै स्वादिलो हुन्छ’- विशालजी बोल्नुभयो। विष्णुजी र मैले एकएक पसर कुइयाँसु गमक्र्यायौँ। टोक्दैटोक्दै हुमाने खोलातिर अघि बढ्यौँ।

“छ्याग्भुलो” (नमस्कार) मभन्दा अगाडि हिँडिरहेकी निमाले अलिकति झुकेर अभिवादन गरिन्। विपरीत दिशाबाट आइरहेका बूढा बाले भने- “छ रिङ्ग छ्याग्लामा कोज्याग्ला फुल” (तिम्रो नमस्कार भगवानसम्म पुगोस्।) बूढाको साथमा आएकी दश वर्ष जतिकी छुनमुने बच्चीलाई मुसार्दै निमाले सोधिन्- “यबु होता” (सञ्चै छ ?) अघिल्तिर उभिएको हिमालमा जूनको किरण छरिएझैँ बन्यो बच्चीको मुहार। ‘अभिवादन साटासाट गर्ने कति राम्रो चलन- विष्णुजी र मैले गाइँगाइँगुईंगुईं गर्‍यौँ। बूढा बा नाताले निमाका ससुरा पर्ने रहेछन्। उनीहरू हाम्रो विपरीत दिशातिर लागे।

हुमाने खोला पुग्नै लाग्दा एउटी हजुरआमा र त्यस्तै चौध पन्ध्र वर्षकी नातिनी अघि बढिरहेका भेट्यौं।

“आमा कता हिँड्नुभयो ?” मैले सोधेँ।

“बुराउँसे जान लागेको”- आमाको जवाफ।

“कति वर्ष हुनुभयो ?” फेरि प्रश्न।

“पाँच बीस पुग्न पाँच वर्ष बाँकी छ”- आमा उकालोमा ठमठमी हिँडिरहनुभयो। आमालाई भेट्न हामीलाई हम्मेहम्मे पर्‍यो।

पिठ्युँमा कुटुरो बोकेकी बहिनी हजुरआमासँगै टुकुटुकु उकालो काट्दै थिइन्। जंगल पूरै डालेचुकका पोथ्राहरूले ढकमक्क थियो। मैले एकमुठी डालेचुकका गेडा टिपेँ र चपाउँदै अघि बढेँ। पहाडले आफूजस्तै बलियो बन्न सिकाउँछ अरू प्राणीलाई पनि। समथरमा जन्मेहुर्केका हजुरआमाहरूलाई त्यो उमेरमा खाटबाट तलमाथि गर्न पनि हम्मेहम्मे पथ्र्यो होला। ती हजुरआमाको भने जीवन अझै उकालीओराली बनेर चलिरहेछ। उकालोले उहाँसँग हार्‍यो, काँडाहरू कान्लामुन्तिर पन्छिए। हजुरआमाको साहसको स्पर्शले शक्ति थपियो हामीमा पनि।

हुमाने खोला तर्नेबित्तिकै अजङ्ग पहाडको काखमा डोर्‍याइरह्यो हामीलाई गोरेटो बाटोले। हिउँले पहिरो गएछ। माथिबाट ढुङ्गाहरू खस्दै थिए। हिँड्दाहिँड्दै पहिरो खस्यो भने प्राण पखेरु उड्न बेर थिएन। बाटाका ढुङ्गाहरू पन्छाउँदै पहिरोका लेदोमा उफ्रँदै अघि बढ्ने क्रम जारी छ। चिसो होस् वा अप्ठेरो पराजित छैन यात्रा। वरिपरि हिमालहरू दाँतका लहर जसरी खित्खित् गर्दै थिए। पारी पहाडबाट हेर्दा सिमकोटलाई ढकमक्क फक्रेको आलुबखडाका बोटहरूले घेरेजस्तो देखिइरहेछ। हुमानेखोलादेखि बुराउँसेतिर लम्केको हामीले पछ्याएको बाटो पनि आलुबखडाका सेता फूलको फेदमा टाँसिएजस्तो लागिरहेछ। हिम आँगनमा माया र साहसका बिस्कुन सुकाउन पाउँदा कति रमाइलोसँग हुर्काउन सकिन्छ हगि प्रेयसीभन्दा प्रिय सपनाहरू।

“म्याडम थकाइ लाग्यो कि ?”- उकालोले लाजै नमानी उचाइ बढाएपछि विष्णुजीलाई सोधेँ।

“छैन सर, बरु हजुर पहिलोचोटी यस्तो उकालो चढ्दै हुनुहुन्छ, अप्ठेरो पर्‍यो कि ? थकाइ लाग्यो भने गतिलाई अलि मत्थर पार्नु नै बेस। थकाइसँगै उब्जेको भोकलाई बेला बेलामा मार्नुनै बेस”- एउटा चकलेट दिनुहुन्छ विष्णुजीले। छातीभित्र रहेको मायाको मेहरो सरसरी फैलन्छ हामीलाई ढाक्नेगरी।

“यो त के उकालो हो र उकालोको शुरुआत मात्र हो, भोलि भेट्नुहुनेछ खास उकालो। सगरमाथा चढ्ने यात्री खोटाङतिर पुगेजस्तो मात्र हो यो। फेदमै बसेर टुप्पोसँग डराउने हो भने गोडाहरू फर्किहाल्छन् नि पछिल्तिर” हौसला नहार्न तन्नेरी साहस छरिन्- निमा बहिनीले।

“बसुँ न त एक क्षण, अनि लागौंला उकालो”- हुम्लाकै भए पनि हिँड्ने हिम्मत कम नै छ जस्तो देखिइसक्यो जङ्गजीमा।

६ ढुङ्गा बनेर थचक्क एउटा बिसौनीमा बस्यौँ।

“यो मेरो बारीमा रहेको सत्तरी वर्ष अघिको बोटबाट फलेको स्याउ।” झण्डै कालाजामुनजस्तो कलेजी रङ्गका स्याउ दाना झोलाबाट निकाल्नुभयो जङ्गजीले। सबैले कटकटी टोक्यौँ। साँच्चै लालमोहनकै चास्नीमा डुबाएका जस्ता गुलिया थिए ती। त्यस्ता स्याउहरू व्यावसायिक रुपमा खेती गरे पनि सुनभन्दा महङ्गो बन्थ्यो हुम्ला। हुम्लामा जे जति स्याउ फलेका छन्, ख्याल ख्यालमै फुलेका छन् जोश र जाँगरले होइन। दुई स्याउ पेटमा हुलेपछि पेट पूरै अघायो, शरीरमा ताजापन फैलियो। स्याउ खाँदै फोटो खिच्दै- तस्बिरको एउटा नियमितता रचेँ मैले। क्यामेरामा कहिले यात्रा टोली लुसुक्क छिथ्र्यो, कहिले दायाँतिर लमतन्न परेको सिमकोट बजार लुक्न पुग्थ्यो, कहिले हुत्तिन्थे लेन्सका डिसले भ्याएसम्मका हिमालहरू।

घाम थिएन तर प्रकृति जतासुकै चहकिली थिई। हामी सिमकोटभन्दा बढी उचाइमा पुगिसकेका थियौँ, हामीभन्दा बढी उचाइ बनेर अग्लिरहेथ्यो हिमाल।

बुराउँसे गाउँ पुग्दानपुग्दै एउटा नाकजस्तो मोड आयो। मोडमा तीनवटा साना-साना बौद्ध गुम्बाहरू शान्तिको वायु फैलाइरहेका थिए। मोडबाट एक ढलो सिमकोटतिर फर्केको थियो अर्को ढलो बुराउँसे र हिल्दूम गाउँ बोकेर पूर्वतिर फर्केको थियो। ती मध्ये बुराउँसे माथितिर र हिल्दूम तलतिर गजधम्म बसिरहेछन्। ती दुवै गाउँबाट अझ खोंचतिर लाग्ने हो भने पञ्चमुखी हिमालको आसपासबाट सेतो सर्प हामफालेंझैँ ओर्लिरहेछ हिल्दूम नदी। हिल्दूम आफू खोंचमा कुलकुलाएर पहाडलाई दुई फ्याकमा बाँडेको छ। बुराउँसे र हिल्दूमको पारीपट्टि अजङ्गको पहाड उभिएको छ। पहाडको मध्यभागमा तेह्र घर मात्र टाँसिएको लाङ्दुक गाउँ छ। मोडबाट हिल्दूम खेला, पहाडहरू, हिमालहरू, रानीवनमा रहेको रणशुर गुल्मका चिटिक्क परेका घरहरू, सिमकोटको आदि, अन्त्य, तल, माथि र बेंसीमा बगिरहेकी कर्णाली सबै आँखाको छेवैमा आउँथे। नौनीले ढाकिरहेका हिमाल। हरिया गलैंचाले बेरिएका पहाडहरू। भित्तामा टाँगिएका गलैंचामा झैँमन्द गतिले ओहोरदोहोर गर्ने कमिले ताँतीका भेंडा, घोडा, झुमा, झोपा, चौंरी, याक, गधा र खच्चरहरूको साहसी सल्बल्याई। सौन्दर्यरसमा झन्झन् बढ्दैछ निखारपन। तृप्ततामाथि अतृप्ति दिँदैछन् दृश्यहरूले।

घडीमा चारभन्दा बढी बजेको थिएन तर एक्कासी अँध्यारो बन्यो वातावरण। कुहिरोको आडमा अवतरित भयो साँझ। आकाश पूरै मडारिन थाल्यो। सिमसिम पानी वर्षन थाल्यो। मेघको गर्जनले हाम्रो होसहवास ठेगानामा नभए जस्तो गर्‍यो। छ जना यात्रु तीन छाता। दुई दुई जनाको दरले छाताको आश्रय लिँदै अघि बढिरहनुपरेको छ। आरीले घोप्ट्याएझैँ बर्सिरहेछ पानी। विशालजी र म एउटा छातामा थियौँ। छाता त ओतभन्दा अल्झो पो बन्यो। उकालो ओरालो बाटो। बाटोभरि बुट्यानका हाँगा लर्केर ओशको आक्रमण। साँघुरो बाटो भएकोले दुईजना सँगै हिँड्न पनि नमिल्ने। लगाएको ज्याकेट लथपथ भयो। ऊनी टोपी, पाइन्ट र जुत्ता पानी सोस्ने स्पञ्ज बने। शिरदेखि पाइतालासम्म सुख्खा कतै रहेन। चिसो चुरिँदो बनेर चुलियो। बाटाहरू पूरै साउने खहरे बने। कुन बाटो, कुन खोल्सो, केही पत्तो भएन। हामी हिलोमा हेलिँदै बुराउँसे पुग्यौँ। गाउँ भेटेपनि ओत कहाँ लाग्ने अत्तोपत्तो थिएन। गाउँमा नौला मान्छे छिरेकोमा बेजोडले भुक्दैथे गाउँभरिका कुकुरहरू। कुनै घरमा हुत्तिँदै छिरौं भने भोटे कुकुरले एक गाँसमा स्वाहा पारिदिन बेर थिएन। गाउँ वर्षाले रुझ््दैथ्यो, तर मान्छेको चालचुल केही थिएन। हामी सबैैभन्दा अगाडि थियौँ। सबैैभन्दा पछाडि हुनुहुन्थ्यो- विष्णुजी र निमा बहिनी। चट्टीमा टेकेर विष्णुजीलाई हिँड्न अझ गाह्रो थियो। दबदबे हिलोमा जुत्ता आफैँ समस्या बन्दोरहेछ। हिलोमा हेलिएको मुसोको गति भएको छ यात्रुहरूको।

बुराउँसे गाउँ भेट्ने बित्तिकै बाटा छेउकै घरको पिँढीेमा ओत लाग्यौँहामी। त्यहाँ नौवटा स-साना बाछाबाछीहरू ओत लागिरहेका थिए। झण्डै तीन फिट अग्ला ती बाछाबाछीहरू एकै आमाले लहरै जन्माएकाझैँ लाग्दथ्यो। तिनीहरू मान्छेको तातो छाम्दै हामीसँग लेपसिन्थे। हामी तिनीहरूले कुल्चने वा गहुँत गोवरले फोहोर पारिदिने डरले परतिर घँचेट्थ्यौँ। मान्छेहरू हाम्रा मित्रहरू हुन् भन्ने राम्रो चिनेका छन् गाईवस्तुले, हामीहरू भने सधैँ तिनीहरूसँग फाइदा लिन्छौँ र उनीहरूलाई नै जोखिममा फसाइरहेछौँ।

मलाई पहाडको काखमा हुर्कंदै गरेको गाउँ र नदी किनारमा फैलँदै गरेको शहर असाध्यै मन पर्छ। यी दुवैमा प्रकृतिले सफा सुग्घरको माहोल र शान्तिको सजधजलाई निख्खर बनाएको हुन्छ। इलाम होस् वा डडेलधुरा, मुगलिङ होस् वा बन्दीपुर, बैतडी होस् वा जोमसोम, पाल्पा होस् वा पालुङ, सबैै सुन्दर हुनुको अर्थ पहाडी किन्नरी हुन् जस्तो लाग्छ। नारायणीमा नुहाएकी नारायणगढ, सेतीसँगै ब्युँझेकी पोखरा, कालीगण्डकीका आसपासमा हुर्केबढेका बागलुङ, कुश्मा, बेनी र कागबेनी, इन्द्रावती र सुनकोशीको समिपमा टाँसिएको दोलालघाटले सबैको मन नलोभ्याइरहन सक्तैन। हुम्लाका हरेक गाउँहरू पहाडमा अडेस लागेर उभिएका छन्। हिउँको खास्टो ओड्दा न्यानो मान्छन्। बुराउँसे पनि बोटमा पुटुक्क पाकेका मेवादानाझैँ उभिएको छ। त्यो लामाहरूको बस्ती सफा छ। बाटाहरूमा कचेरा जमेका छैनन्। ‘देख्नु भो सर, टोपिटाले (बाहुन-क्षेत्री जनाउने शब्द) हरूको भन्दा जाड (तामाङ लामा जनाउने शब्द) हरूको गाउँ कति सफा छ’- विशालजीले रुझ्दारुझ्दै कोट्याउनुभयो मलाई। साँच्चै लामाहरूको बस्ती बुराउँसेमा फोहोरको आभास थिएन।

घनघोर पानी बिदो हुँदै गएपछि बुराउँसेबाट ओरालो लागियो। गाउँका बाटा, पर्खाल र कान्लाहरू गर्ल्यामगुर्लुम् ढलेका छन्, बाटो हो कि ढुङ्गाको बगर भेउ पाउन गाह्रो छ। गाउँमाझको बाटोबाट निकास पाउन अझ गाह्रो परिरहेछ।

“लौ अब म अघि लाग्छु, हजुरहरू मलाई पछ्याउनु होला”- विष्णुजीले यात्राको अगुवाइ गर्न खोज्नुभयो।

‘यता होइन, उता पो छ त पारी जाने बाटो’- पाँडबाट एउटी लमिनी दिदी कराएपछि बाटो बिराएछौं भन्ने थाहा लाग्यो।

“लौ म्याडम हजुरको पछि लागेर नहुने रै’छ, बाटो खोज्यो भने घर पुर्‍याइदिनु हुने रै’छ”, हाँसो गुञ्जियो।

‘यताबाट आउनुहोस् न, हजुरहरू त अन्तै पो गयो’, तल बारीको डिलमा स्याउको आड लागेर उभिएकी निमा बहिनीको आवाजले डोरियौं हामी।

बुराउँसे गाउँबाट हिल्दूम खोलासम्म ओरालो हिँड्नुपर्ने थियो। पाइला पाइलामा पहिराहरू नौला बनेर ब्युँतँदै थिए। त्यो उकालो ओरालोको यात्रा मेरो लागि नौलो र आनन्ददायक थियो।

“सर त हुम्ली भन्दा पनि खतरा हुनुहुँदोरहेछ लागना (पहाड) नाघ्न। भीर, पहिरो खोलो जे सुकैलाई पनि छलेर हिँड्न जान्ने”- सुमन भाइले मेरो हिँडाइलाई हौस्याउनुभयो।

“अब हुम्लामै राख्नुपर्छ सरलाई पनि, यस्तो मजाको मान्छेलाई कहाँ छोड्नु”- जङ्गजीले अझ छर्नुभयो न्यानो।

साँझको बेला। दुई डाँडाबीचको खोंचमा बगिरहेको हिल्दूम नदी। पानीको स्यारस्यार साम्य भएको छैन। हिल्दूम नदीमा सात छाप्रामा सातवटा घट्ट घुमिरहेका छन्। ओतलाग्न मिल्छकि भन्ने आशले विशालजी र म एउटा घट्टे छाप्रोमा छिर्छौँ। घडीको सुई जस्तै निरन्तर घुमिरहेको थियो घट्ट। स्याउजस्तै गाला भएकी एउटी युवती घट्टमा फापरको ओइरो हालिरहेकी छिन्। हामी सरासर भित्रिँदा तिनी असमञ्जसमा परिन्।

“बहिनी एउटा फोटो खिचुँ है”- मैले घट्ट र बहिनीको तस्वीर खिच्न खोजेँ।

“पर्दैन, फोटोसँगै माया पनि गयो भने के गर्ने नि ?”- अलि लजाएजस्तै गरेर बहिनीले तीर हान्ने जवाफ फर्काइन्।

“मायाको रङ्गले सजाएर लैजाउँला नि फोटो, हुन्न ?”- मेरो जवाफमा बहिनी हाँसिन्।

त्यही मौका पारेर मैले तस्वीरमा कैद गरेँ उनलाई। पछिपछि आइपुग्नुभयो साथीहरू। हामी बाहिरियौं। बहिनीले घट्टेछाप्रोको ढोकाबाट हामीलाई हेरिरहिन्। नौला खालका मान्छेहरू देख्दा निकै उत्सुक देखिएकी थिइन् बहिनी।

हिल्दूम खोला नाघेपछि ओरालो पनि सकियो। हाम्रा पाइला उचाइतिर उठ्दै थिए। उकालो चढ्दा लेक लाग्ने हो कि भन्ने डर मनमा फक्रँदै थियो। तर केही भएन।

बाटाहरूमा विद्यालयबाट फर्कदैं गरेका नानीहरू भेटियुँन्, जाँगरिला र उज्याला जीउ ज्यान भएका बालकहरू खेल्दै गरेका पनि भेटियुँन, कामबाट फर्कंदा पहाडनै थर्काउनेगरि गीत गाउने र नाच्ने रामरउसमा हाँसखेल गरिरहेका तन्नेरीहरू भेटियुँन र भेटियुँन आफ्नो गर्विलो जिन्दगीका गाथाहरू ओजपूर्वक सुनाइरहेका जोसिला बा-आमाहरूका जमात- त्यस्तै चाहेको थियो मनले। तर कोही भेटिएनन् त्यस्ता। बरु, उच्छट्ट ठण्डीले जतासुकैबाट डस्न खोजिरह्यो हामीलाई। आँखाको लागि सुन्दर र ज्यानकोलागि सकसको परिभाषामा उभियो हिउँ त्यतिखेर।

हिल्दूम खोला नाघेपछि पारिपट्टी डाँडामा माथितिर बुराउँसे र तलतिर हिल्दूम गाउँ टुक्रुक्क बसिरहेका देखिए। गाउँ वरिपरी फापर, चिनो, कागुनु, मार्से, कोदो बालीको पहेंलो, हरियो र रातो रङ्गे संयोजन मनोरम देखियो। बीचबीचमा सूर्यमूखी फक्रँदा ताराहरू माझ जून चम्केझैं लाग्दैथियो। चुली, ओखर, स्याउ र आरुका बोटहरूले रङ्गीन वातावरणमा इन्द्रेणी फुलाउँदै थिए। त्यहाँ बैंस रुखको बिगबिगी थियो। भोटेपिपलको चमकधमक थियो। डालेचुकहरू हल्लिरहेथे। हावा मन्द चलिरहेथ्यो। दृश्य र स्पर्शले हाम्रो थकाइ टिकेन। हामी हिँडिरहेको पाखाभरि कुइयाँसु फलेका थिए। धूपीका बोटहरू सुसाइरहेथे। प्रकृति आफ््नै तालमा मस्त थिई। हामी बेग्लै तालमा मख्ख थियौं। पारी देखिने सिमकोट हिल्दूम र बरांैंसेका घरहरूबाट बत्तीको उज्यालो उम्रँदै थियो। त्यसबेला लाङ्दुक गाउँ छोडिसकेका थिए हाम्रा पाइलाहरूले।

“भोक लाग्यो नि सर, अब खाना खाऊँ खाजालाई खेर फाल्नु पनि भएन”- बोल्नुभयो विष्णुजी।

“साँझ परिसक्यो, खाने र ?”- जागेको भोकको परवाह नै नगरी बोलेँ म।

“खाजा खान्न भन्नुहुन्न, गाउँमा जान्न भन्नुहुन्न”- सुमन भाइको मुखबाट निस्कियो टुक्का।

बिसौनी भेटियो। निमा बहिनीले बोक्नुभएको झोलाबाट खाना खोलियो। आलु फ्राइ, बन्दामा डालेचुक हालेको अचार, सेल, पुरी थुप्रै खाजा पो तयार गर्न लगाउनु भएको रहेछ विष्णुजीले। उहाँको भने मङ्गलबारे ब्रत परेकोले फलफूल बाहेक केही नखाने। हामीले ट्रकमा मालसामान लोड गरेझैं खाना भर्‍यौं। ‘भोकको बेलामा मीठो मसिनो’- रिजर्भमा पुगेको मोटरसाइकलमा इन्धन भरेझैं भयो हाम्रो लागि। सबैै मिलेर विष्णुजीलाई धन्यवाद दियौं। ‘खोज्छन् सबैै सुख भनि सुख त्यो कहाँ छ ? आफू मिटाई अरूलाई दिनु जहाँ छ’ को उक्ति यथार्थ पार्न सकेकोमा विष्णुजीको अनुहारमा जून फक्रियो।

“सधैँ यस्तै मीठो खाना खान पाइयोस्, खानासँगै यस्तै पवित्र माया पनि पाइयोस्”- म बोलेँ।

“जिन्दगीको यात्रामा सधैँ उकालीओराली भेटिइरहोस्, भेटिएको उकाली ओरालीमा हजुर जस्तो हँसिलो मान्छे भेटिइरहोस्”- जवाफ फुर्‍यो विष्णुजीबाट। समर्थनको ताली बज्यो तीन भाइको।

रछ्यानको मुलाझैं हलक्क हल्क्यो साँझ। लिमाटाङ्गमा पुगेर बास बस्ने हाम्रो योजनालाई बुराउँसेमा वर्षेको पानीले पखालिसकेको थियो। लिमाटाङ्ग पुग्न अझै दुईघण्टा हिँड्नुपथ्र्यो। अँध्यारोले कालो पोतिसकेको थियो जताततै। बाटो र भीर अब छुट्टिन नसक्ने भयो। भित्ता समाउँदै जमिन छाम्दै पाइला चाल्दा कुनबेला भीरको ढुङ्गा बनिने हो अत्तो पत्तो थिएन। ‘अब हिँड्न गाह्रो हुन्छ, म जेठानीलाई फोन गर्छु, आज बरगाउँको मेरै घरमा बसौं’- उपाय सुझाइन् निमा बहिनीले।

‘बरगाउँ पुग्न रल्लिङ जाने बाटोबाट आधा घण्टा झर्नुपर्छ, भोलि फेरि आधा घण्टा उक्लनुपर्छ, बरु तोर्पा गाउँमा बसौं, बरगाउँ नजाऊँ’- जङ्गजीको आग्रह।

के हो बरगाउँ, के हो तोर्पा – ‘अत्तो न पत्तो गोविन्द गाई’ बन्यौँ विष्णुजी र म।

‘आधाघण्टा हिँडे पनि आफ्नो घर भनेको आफ्नै हो। सर उहाँदेखि आउनुभएको छ। आफ्नो घरमा भए जसरी बस्दा पनि सुविधा हुन्छ। हाम्रो गाउँ पनि देख्नुहुन्छ। अर्काकोमा अप्ठेरो भयो भने के गर्नु।’- हिल्दूमको कञ्चन पानीझैँ निमा बहिनीका आत्मीय आवाज ओर्लियो।

‘ठीक छ बहिनी, पीर नगर्नुस्। तपाईँको घर हाम्रै त हो नि। बसुँला कुनैदिन। बाटो छोडेर बरगाउँ जाँदा भोलि धेरै बाटो उकालो चढ्नु पर्छ। आज बाटा छेउमै बसौं। यात्रामा अप्ठेरोलाई पनि सप्ठेरो मान्नुपर्छ। चिन्ता नलिनुस्, आजको अप्ठेरो मीठो, भोलिको अप्ठेरो तीतो’- तोर्पातिरै तर्किने राय रह्यो जङ्गजीको।

भीरमा ढुङ्गो गुडेझैँ तीन बहिनीहरू माथिबाट खुरर्र दौडदै आए। हाम्रो अघिल्तिर पुगेपछि खित्का छोडेर हाँसे। जाड भाषाको उनीहरूको कल्याङमल्याङ कुन चराको नाम हो पत्तो भएन। “बहिनीहरू कताबाट ?”- मैले रोकेँ।

अठार बीस वर्षे फूलमुखी बहिनी लजाउँदै उभिइन्। दुईवटी तेह्र चौध वर्षे कोपिला कुमारीहरू फूलमुखी बहिनीलाई थाँक्रो बनाएर काँक्रोझैं झुण्डिए र लज्जावती बने। वार्ता साटासाट भयो।

“हामी लिमाटाङबाट आ’को। भोलि लामाहरू रल्लिङ जाँदैछन् उनीहरूलाई नै खर्च पुर्‍याएर आ’ को।”

“हामीहरू पनि पुग्न सकौंला त आज लिमाटाङ ?”

“आज त सक्तैन, रात परिसक्यो, भोलि पुग्छ।”

“घर कहाँ हो त ?”

“लान्दूक हो, अँध्यारो भयो, तपाईँहरू पनि हामीकहाँ नै बस्नु।”

“भो बहिनी, फर्केर के जानु, हामी माथितिरकै गाउँमा बस्छौं।”

“लौ त है हामी गयौं।”

बहिनीहरू फेरि भीरमा गुडेको भकुण्डोझैं ओरालो झरे। उनीहरू तल पुगुञ्जेलसम्म हाँसोको मुस्लो माथिसम्म उक्लिरह्यो।

लान्दूक र तोर्पा गाउँबीचको मोड कटेपछि सिमकोट, बुराउँसे, हिल्दूम, स्याम्ने जस्ता सबै बस्तीहरू छेकिए। हातमा रहेको सेलफोनको नेटवर्क बिलायो। पूर्व उत्तरमा नजिकै देखियो रल्लिङ हिमाल। शिरपट्टि सगबगायो पञ्चमुखी हिमाल। दायाँबायाँ नामनै थाहा नभएका हिमालहरू चाँदीको पर्खालझैँ चम्किरहे। झम्केसाँझको त्यो अँध्यारोमा उज्यालो भनेकै हिमचहक थियो त्यतिखेर।

तलतिरबाट एउटा आकृति हुत्तिँदै आयो। ‘कता जानु हुँदैछ ?’- नजिक आइपुगेपछि बोल्यो त्यो आकृति।

‘रल्लिङ जान लागेका। लिमाटाङमा बास बस्ने विचार थियो। रात पर्‍यो।’- जङ्गजीको जवाफ।

‘ए भाञ्जी रहिछिन् नि’- तोर्पा गाउँका लामा रहेछन् ती दाइ। साइनोले मामा पर्दारहेछन् निमा बहिनीका।

केहीबेर लामादाइ र निमा बहिनीबीच जाड भाषामा के के कल्याङमल्याङ भयो, हामीले बुझेनौं।

‘यहाँबाट डेढ घण्टा हिँडेपछि मेरो घर पुगिन्छ, आज उतै जाऊँ’- लामादाइको प्रस्ताव।

‘त्यति माथि किन जानु, तोर्पामा बास पाइएला नि आज त्यतै बसौंला’- जङ्गजीको जवाफ।

‘लौ त्यसो भए, म तोर्पामा तपाईंहरूको बासको बन्दोबस्त गर्छु, तपाईंहरू बिस्तारै पाल्नुहोला’- लामादाइका पाइला वायुपङ्खी घोडा बने।

पन्ध्र मिनेटपछि तोर्पा गाउँमा पुग्दा गाउँलेहरूको खलबल सुनियो। लामा दाइले गोरखाली (सरकारी कर्मचारी जनाउने शब्द)पाहुना आउँदैछन् भनेपछि क-कसको घरमा पाहुना राख्ने भन्ने कचहरी चलेको रहेछ। कचहरीमा महिला, पुरुष दुवैथरी थिए। कर्मचारीहरू गाउँ पुगे भने गाउँलेले सल्लाह गरेर कर्मचारीहरूलाई खानपान र बसोबासको व्यवस्था गर्नु पर्ने परापूर्व कालदेखिको चलन अझ टुटेको रहेनछ हुम्लामा। आफैँले तरान नभेटेको बेला कर्मचारीलाई कसरी खुवाउने पियाउने गरुन बिचरा हुम्लीहरूले।

‘तपाईंहरूलाई स्वागत छ है हाम्रो गाउँमा’- एक अधबैंसेले बोले। त्यो न्यानो आत्मीयताले हाम्रो थकाइ आधा मेटियो।

तोर्पा गाउँका दाजुभाइ दिदीबहिनीले हाम्रो समूहलाई दुई भागमा बाँडे। पुरुष चार जनालाई प्रेमबहादुर लामाको घरमा र दुई महिलालाई अर्की दिदीको घरमा लाने विषयमा दुई दिदीहरूबीच हानथाप भयो। दुवैजना आफैँ नलगी नछोड्ने जिद्धिमा। बल्ल एक दिदीलाई सम्झायौं। विष्णुजीहरू लमिनी दिदीको माथिल्लो घरतिर लाग्नुभयो। हामी झर्‍यौं- प्रेमबहादुर दाइको पछिपछि उहाँकै घरतिर। आखिर गाउँ भनेको गाउँ नै हो। अझैपनि सुधोपन छ, आत्मीयता छ, मानवता छ। ‘साँझका पाहुना देवता बराबर भन्ने भावना अचेल झन् झाँङ्गिएको छ। शहरमा पाहुनाको परिभाषा पैसाले तलमाथि पारिसक्यो, आत्मीयता रछ्यानमा कुहिसक्यो। न चिनाजानी। न लेनदेन। विनास्वार्थ तोर्पावासीको वात्सल्यता हामीभरि पोखिएकोमा हृदयदेखि नै पुलकित बनेँ म।

पाखैमा टासिएजस्तो प्रेमबहादुर दाइको घरमा लिस्नुबाट छाना, छानाबाट पाँड, पाँडबाट घरमा पसिने रहेछ। ‘लेक जानेबाटो ढुङ्गो न माटो’ भनेझैं हरेक तलामा उक्लन ओर्लन एकएक वटा काठे लिस्नु ठड्याइएको हुन्छ परम्परागत हुम्ली घरहरूमा। एउटा मात्र काठमा मुस्किलले खुट्टा टेक्न मिल्ने खुट्किलाहरू बनाइएका हुन्छन्। न समात्ने ठाउँ, न पूरै पैताला टेक्न मिल्ने खुट्किलाहरू। तैपनि सुरिलो रुखबाट सुरुर्र लोखर्के ओर्लेझैं लिस्नुबाट ओहोरदोहोर गर्दछन् त्यहाँका मान्छेहरू।

घरभित्र न्यानो थियो। मझेरीमा धुँवा सुरक्षित रुपमा बाहिर फ्याँक्ने चिम्नीसहितको फलामे चुल्होमा आगो बलिरहेको थियो। चुल्होमाथि किट्लीमा तातेको पानीले बाफ छोड्दै थियो। चारै भित्तामा काठका कलात्मक र्‍याकहरू सजाइएका थिए। र्‍याकभित्र खण्ड खण्डमा पकाउने भाडाकुँडा, थाल, कचौरा, प्लेट सजाएर राखिएको थियो। बाहिरबाट घर सामान्य लागेपनि घरभित्र सम्पन्न र सफा देखिन्थ्यो। चुल्हो नजिकै दोचा लगाएकी लमिनी भाउजू भान्छाको काम गर्दैहुनुहुन्थ्यो। दाइले भाउजूसँग चिनाजानी गराउनुभयो। हामीले अभिवादन साटासाट गर्‍यौं। दाइले सफा गुन्द्रीमाथि गलैंचा बिच्छ्याउनुभयो। हामीले भिजेका हाम्रा ज्याकेटहरूलाई तारमा झुण्डयायौं र सन्तोषको स्वास फेर्दै बस्यौं। मैले भाउजूसँग तातो पानी मागेर पिएँ, साथीहरू सबैैले चिसै पानी पिउनुभयो। हिउँमै जन्मेहुर्केका ती साथीहरूको लागि चिसो डर होइन रमाइलो थियो, अप्ठेरो होइन सुरक्षा थियो।

प्रेमबहादुर दाइ र अरू साथीबीच पहिलेदेखिनै चिनाजानी रहेछ। त्यसैले पनि गाउँमा बस्न सजिलो भएको थियो। होटल, लज र रेष्टुरेन्ट नपाइने त्यस्ता ठाउँहरूमा स्थानीयहरूको साथ पाइयो भने मात्र सजिलो हुन्छ। यात्रामा जङ्गजी, नीमाजी, विशालजी र सुमनजीको साथ पाउनु विष्णुजी र मेरालागि फलिफापपूर्ण थियो। उहाँहरू नभए बाटोघाटो, भाषा र बिसौनी सबैैमा अन्योलको कुहिरोले कक्रयाउँथ्यो सायद।

‘गाउँमा मीठो मसिनो छैन, तातो पानीले प्यास मेट्नुहोस्।’-मायालु स्वरमा बोल्नुभयो भाउजू। हाम्रो अघिल्तिर तिब्वती चिया राखिदिनुभयो। चियाको चुस्की जति थपिँदै जान्छ त्यति मेटिँदै जान्छ जाडो र शरीरको थकाइ।

“भाउजू यो राख्नुहोस्।”- विशालजीले दुईवटा चाउचाउ भाउजू अघिल्तिर राखिदिनुभयो।

“पर्दैन, किन चाहियो र, झोलामा राख्नुहोस्, भोलि बाटामा खानुहुन्छ”- बोल्नुभयो भाउजू।

हामी सबैैको आग्रहपछि भाउजूले चाउचाउ थन्क्याउनुभयो। पाहुना लाग्न जाँदा उपहार लैजाने चलन राम्रै हो। उपहारले पाहुना र घरभेटीको सम्बन्धमा प्रगाढता ल्याउँछ। जापानीहरूले पनि उपहारलाई असाध्यै महत्वका दृष्टिले हेरेको भेटेको छु मैले। उपहार ठूलो परिमाण वा मोलको जरुरत पर्दैन। स्यानो र सम्झनायोग्य उपहारलाई विशेष महत्वका दृष्टिले हेर्दछन् उनीहरू। पाहुना लाग्न जाँदा बैठक कोठामा बस्नासाथ घरभेटीलाई उपहार सुम्पने चलन छ त्यहाँ। टोकियोकी सचिको सुनेकावाकहाँ एक पटक पाहुना लाग्न जाँदा मैले लगिदिएको ऊनीको टोपी र बुद्ध मूर्तिले खुशी भएर उनले हप्तौं जापान घुमाइदिएको खुशी मेरो मनमा अझै गाढा छ। पति पत्नी हुन् वा प्रेमी प्रेमिका, व्यवसायी हुन वा कर्मचारी, नेता हुन वा भिखारी सबैै खुल्छन् प्राप्यतामा। हुम्लामा पनि यो संस्कारले बढावा पाएको रहेछ।

उपहार माध्यम हुनसक्छ पराई मन खोल्न पनि।

‘लाङदुक र तोर्पा गाउँहरूलाई आधुनिक गाउँमा परिणत गर्दै छौं हामी’- तोर्पा गाउँको अनुहार फेरिन लागेकोमा उज्यालो पोतिएको छ दाइको मुहारमा।

‘हामी गाउँलेहरू असाध्यै मिलेका छौं। सबैै मिलेपछि नराम्रो केही हुनेरहेनछ। विकास आयो भने शहरभन्दा त गाउँनै रमाइलो नि।’- उमेरमा धेरैतिर घुमफिर गरिसक्नुभएका प्रेमबहादुर दाइ जस्ता धेरै छन् भन्दै हुनुहुन्थ्यो दाइ देश-परदेश घुमेपछि पो मान्छेमा विचार पैदा हुन्छ। नयाँ विचारले मात्र ल्याउन सक्छ हर क्षेत्रमा क्रान्ति’- निकै अनुभवी सार ओर्लँदै छ प्रेम दाइबाट।

हिमाली गाउँ तोर्पाले नजिकैको खोलाबाट बिजुली उत्पादन गरेर जगमग बनिरहेथ्यो। एक महिना अघिदेखि टेलिभिजन प्रसारणको पहुँच मिलिरहेथ्यो। गाउँघर सफा सुग्घर राख्ने र सुधारिएको प्रविधिबाट खेतीपाती गर्ने जस्ता कार्यमा तोर्पाले तीव्रता अँगालिरहेथ्यो।

गहिरो थाल आकारको तर थालभन्दा अलि सानो काँसको याङ्जीमा खाना पस्केर हाम्रो अघि लस्करै राखिदिनुभयो भाउजूले। उच्छट्ट भोक र थकाइमा फापरको रोटी, भाँगो र सूर्यमुखीको अचार जत्ति खायो झन्झन् स्वादिलो। पेट टसमस चल्न नसक्ने भइसक्ता पनि जिभ्रोले जिस्किरहन छोडेन।

तामाङ भाषामा के के बोल्दै ढोकाबाट भित्रिनुभयो एउटी महिला। उहाँको साथमा तेह्र वर्षको एउटा छोरो थियो। उहाँहरू भाउजूको नजिकै बस्नुभयो। याङ्बुटी रहेछ उहाँको नाम। हेर्दा भाउजू र उहाँ दिदी बहिनी जस्तो लाग्ने। नातामा प्रेमबहादुर दाइको काकी पर्नुहुँदोरहेछ उहाँ।

“काकीभन्दा भतिजा पाको, कसरी ?”- मैले मुख खोलेँ।

“नातामा यस्तै हो, कहिलेकाहीँ पर्छ”- प्रेमबहादुर दाइ प्रस्तुत हुनुभयो सहज रुपमा।

भाउजू र याङ्बुटी अनुहार र पहिरन दुवैमा उस्तैउस्तै लाग्थे। दुवैले ठूलाठूला राता मुगाको माला, नीलो रङ्गको तुथो, मुगाको बीचबीचमा मोती पहिरेका थिए। कपालमा सरदारजीको फेटा जस्तै ऊनको नातो बानेका थिए। मुगाका तीन तीनवटा मालाको बीचमा दुवैले ठूलाठूला जन्तर झुण्ड्याएका थिए। म त्यहाँका दृश्यहरूलाई क्यामेराभित्र तह लगाउँदै थिए। खिच्ने बित्तिकैको आफ्नो फोटो हेर्न पाउँदा असाध्यै खुशी हुनुभयो याङ्बुटी र भाउजू।

‘डिजिटल क्यामेरामा यस्तै हुन्छ’- अथ्र्याउनुभयो प्रेमबहादुर दाइले।

‘फोटो यबुहोट्टो।’ भन्दै हिमालमा जून ओर्लेझैं अनुहार बनाउनुभयो याङ्बुटीले।

‘भोलि त मौसम खुल्छ होला। बिहान सबेरै रल्लिङ जानुहोला। फर्केर सिमकोट पुग्न सक्नुहुन्न। भोलिपनि यतै बस्नुहोला। इष्टमित्र र कुटुम्ब भनेको सधैँ घरमा भेट्न पाइने होइन। तपाईँहरू आउनाले घरनै उज्यालो भयो हाम्रो।’- उदात्त माया प्रकटभयो लामा दाइबाट। भाउजू र याङ्बुटी पनि बन्नुभयो त्यसको गाढा मतियार।

हाम्रो लागि पाँडमा ओछ्यान तयार भएछ। बाक्ला गलैंचा र फेरुवाको तीन पत्रमा घुस्रेपछि आफूमाथिनै हिउँ परेपनि चिसोले भेट्न सक्ने सम्भावना थिएन।

पाँडमा पुगेपछि बिस्तारै सबैैतिर नियालेँ मैले तिमीलाई, हुम्ला। रल्लिङ र पञ्चमुखी हिमालमा उभिएर तिमी नुहाइरहेकी थियौ। पोखरीमा माछा ढुकेको बकुल्लाझैं बरगाउँ अँध्यारो रातमा टुक्रुक्क बसिरहेथ्यो। ध्यानमा लीन साधु जस्तो थियो बरगाउँ। हावाको सिरसिर र छहरा सुसाइले अनन्त आनन्द कोरलिरहेछ। पहाडको पिंधमा उत्तरपूर्वबाट बग्दै आएको दोज्याम कर्णाली फनक्क घुमेर दक्षिणतिर लागिरहेछ। जूनको उज्यालोमा धिपधिपे बत्ती बाल्ने सुरसार गर्दैछे ऊ। गुडुल्किएका स्याउका बीचबाट स्याँ स्याँ सुँ सुँ गर्दैछ। सूर्यमुखीका पहेंला पत्रहरूबाट र कोदो, फापर र कागुनुका बालाहरूबाट शीतल र शालीन सुस्केरा छोडिरही उसलेपनि रातभर। तोर्पा आफैं तिलस्मी थिई। तिलोत्तमाझैँ चम्किरहिथी। रल्लिङ र पञ्चमुखी हिमालहरूको सामिप्यताले मुसुक्क हाँसिरहेकी बालिका बनिरहेकी छे ऊ।

जूनका मौन आँखाहरूले सेकिँदैनन् तोर्पा, बरगाउँ र रल्लिङका मिहिन चित्रहरू। कुकुरहरूका आदिम आवाजहरूले खल्बल्याउँदैछन् उदात्त सुनसानलाई।

“बिहान पानी पर्‍यो भने रल्लिङलाई यतैबाट दर्शन गरेर फर्कनु पर्छ कि कसो सर ?”- खनखन दह्रो छ सुमन भाइको।

“त्यसै गर्नु पर्ला नि जाने उपाय नभएपछि के गर्नु”- मुखले त बोलेँ तर मनले पटक्कै त्यसो भन्न मानेको थिएन।

‘सकेसम्म यात्रा तुहाउनु हुँदैन।’ त्यति भन्दा नभन्दै तोर्पा पनि खलखली नुहाउन थाल्यो। स्वेच्छाचारी ढङ्गले डाङडाङडुङडुङ कर्‍याककुरुक गर्न थाल्यो बतासले। फतफती ओरालो लागे आकाशबाट हिमलहराहरू। ‘लौ रल्लिङ तिम्रो स्पर्शनै नपाई फर्कन पर्ने भयो ?’- मनमनै अत्यास उचालियो।

‘त्यसो हुनसक्तैन, मन र मौसम कहाँ स्थिर हुन्छ र लामो समयसम्म, भोलि बिहानसम्म बादलले मजेत्रो ओडिसक्छे।’-अलि आशामा उठ्यो मन जुरुक्क।

हिउँका लाप्साहरू बेस्सरी छरिएका छन् हामी सुतेको पाँडभरि। हिउँभन्दा कडा बनेर टोक्न खोज्दैछ जाडोले।

झण्डै झण्डै गहतकोसे बनेर गुजुल्टियौ चारैभाइ। सुतेरै पारितिरका हिमालहरूलाई आँखाको नानीले छोइरहे।

दिउँसोदेखिनै चिसोले शरीर कचल्टेको थियो। रोक्न खोज्दाखोज्दै बाघगर्जन ब्युँतेझैं वायु फुस्कियो पेटबाट। “सरी है”- म अलि लज्जित भएँ।

“के को सरी नि सर, महावीर गाँठो फुट्यो”- सुमन भाइको भनाइले मरिमरी हाँस्यौं चारैजना।

“अब यस्तो गल्ती दोहोरिँदैन”- मैले भनेँ।

“रोक्न सकेसम्म त हो सर”- विशालजीको भनाइले हाँसोको शृङ्खला अघि बढ्यो ढवारर्र बम पड्केको आवाज निस्कियो जङ्गजीबाट पनि। तल्लो तलाको कुकुर बुद्रुक्क उफ्रेर उक्लियो पाँडमा। फनफनी घुम्यो पाँडभरि। हामी सबै चुप रह्यौं। उसले सबैलाई सुँघ्यो र ओर्लियो।

हाम्रो गहतकोसे शृङ्खला त्यसपछि भने राम्रैसँग शुरु भयो।

‘भोलिको घाम अघिल्तिर कोही नउभियोस् पर्खाल बनेर।’- तन्नेरी बतास चुम्दै कामनाको डसनामा लम्पसार परेँ म।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved