व्यक्तिवृत्त

अचेल पनि सुन्दैनन् सर्पहरू गीत…

सुन्नुहोस्

साहित्य गुन्गुनाउनेहरूले उनलाई पाउनेछन्, त्यही सर्पहरूका गीतमा नै। अफसोच, सर्पहरूको गीतमा कसैले पनि संगीत भर्दैनन्, न त गाउँछन् कसले सर्पहरूका गीत ?

अचेल पनि सुन्दैनन् सर्पहरू गीत…

सत्तरी उँभो लागिसके, शैलेन्द्र साकार। उत्तरार्द्धतिरको हिँडाइमा पनि अचेल उनको ध्यान तानेको छ- वेदका ग्रन्थहरूले। ऋग्वेद, यजुर्वेद, सामवेदको गहन अध्ययनसँगै पूर्वीय दर्शन र पश्चिमी काव्यबीचको तादाम्य खोज्दैछन्। भन्छन्, “पश्चिमाहरूले लेखेका कविता र हाम्रो ऋग्वेदमा मैले एउटै कुरा पाइरहेको छु।”

उनको जोड छ, “पश्चिमाहरूले जे जति साहित्य लेखे, त्यसको मूल त हाम्रो ऋग्वेद नै रहेछ। पश्चिमी साहित्यमा प्रमिथसले अग्नि चोरेर ल्याएको कुरा उल्लेख छ तर हामीले त पहिलादेखि नै अग्निको खोजी गरिसकेका रहेछौं, अग्निको पूजा गर्दै आएका रहेछौं। प्रकृति पूजकका हिसाबले त हामी धेरै नै अगाडि रहेछौं।”

मिथक-मन्थनका प्रमिथसलाई काव्यको क्षितिजमा टाँगेका छन् उनले। प्रमिथस अर्थात स्वर्गबाट आगो चोरेर सामान्य जनबीच बाँड्ने महान् नायक। उनको “बकपत्र” कविताले त्यस्तै बोल्छ-
‘अथवा प्रमिथसले चोरेको आगो
जो प्रत्येक घरमा निभिसकेको छ
त्यही निभिसकेको खरानी बोकेर
म निस्केको छु संसारमा
जहाँ अँध्यारोले चारैतिर खोजिरहेछ
कविताको आगो
र जहाँ अँध्यारो चारैतिर चम्किरहेछ
कविताको आगोमा…।’

०००

आजपर्यन्त अधिक समय कविता कर्म र चिन्तनमा नै निमग्न साकारले पछिल्लो पटक भने फरक कृति ल्याए। नाम हो- ‘भोजपुरे हुलाकीको सन्तान’। एक हिसाबले गरे उनले पुर्खाको जह्रा खोतल्ने प्रयत्न। लेखेपछि प्रकाशनका लागि खासै चिन्ता छैन उनलाई। अर्का कवि युयुत्सु आरडी शर्माको “निराला पब्लिेकशन” तम्तयार भइहाल्छ, साकारका सिर्जना भनेपछि। उनका बहुसंख्यक कृतिमा ‘निराला’ कै लोगो टाँसिएकाले यही संग्लो प्रमाण बोल्दछ।

‘भोजपुरे हुलाकीको सन्तान’मा उनले पुर्खाको उत्खनन गरेका त छन् नै, बढीचाहिँ जीवनवृत्तमा नै ‘फोकस्ड’ छन्। पुर्ख्यौली इतिवृत्तको पोको खोल्नेक्रममा आफ्ना पुर्खा कहाँबाट भोजपुरसम्म आइपुगे ? कसरी आइपुगे ? पूरै खोतल्ने प्रयत्न गरेका छन्।

‘हुलाकीको सन्तान’ भनिनुको कारण के रहेछ भने उनका बाजे, जिजुबाजे सबै हुलाकका हर्ताकर्ता। उनीहरूले मुखियाको हैसियतमा सेवा अर्पेका रहेछन्। त्यही भएर सन्तानहरूलाई पनि अरूले चिनेजाने- ‘हुलाकीको सन्तान’का रुपमा। भन्छन्, “अहिले त हाम्रो पारिवारिक सञ्जाल विस्तार भएर सयभन्दा बढी नै भइसकेका छन्।”

रमाइलो कथा रहेछ, पुर्खाहरूले भोजपुरे भूमि टेक्नुमा पनि। विक्रमाब्द १९३८ नै उनको पुर्खा काठमाडौंको भित्री भाग असनबाट पुगेका रहेछन्, भोजपुर। भण्डारखाल पर्वलगत्तै। उनको पुर्खा श्यामलाल नेवारको असन, बालकुमारी स्थाननिर रहेछ, घर। त्यो बेला श्यामलाल हनुमानढोकास्थित कर्णेल इन्द्रजीत राणाको घरमा काम गर्दा रहेछन्। मनमौजी कर्णेलका रहेछन्- १७ वटी पत्नी। भन्छन्, “तिनैमध्ये एउटीसँग उहाँको प्रेम परेछ। त्यो बेला जार काट्न पाइने चलन थियो। झन् कर्णेलकी पत्नी लैजानेलाई त नकाट्ने कुरै भएन।”

असनमा एउटा ज्योतिषी रहेछन्। उनले श्यामलाललाई भनेछन्, ‘तिमी यो ठाउँबाट हिँडेर पूर्वतिर जाऊ, १३ दिनसम्म हिँड्दा जहाँ पुग्छौ, त्यही बस।’ मृत्युको भयबाट बँच्न श्यामलाल र उनका पत्नी ज्योतिषीको सुझावलाई शिरोधार्य गर्दै लागेछन्, पूर्वतिर। तेह्रौं दिनमा उनीहरू भोजपुरमा पुगेछन्, जुन थियो- अहिलेको सदरमुकाम। भन्छन्, “त्यतिबेला भोजपुर पूरै जंगल थियो रे। हाम्रो पुर्खाले नै जंगल फाँडेर बस्ती बसाएछन्। भोजपुर बजार बसाउने हाम्रै पुर्खा हो।”

असनबाट विस्थापित श्यामलालका सन्ततिमध्ये एक साकारभित्र काव्य-बीज त भोजपुरमा छँदा नै उम्रिइसकेको थियो। पछि म्याट्रिक्स उत्तीर्ण गरेर उच्च अध्ययनका निम्ति काठमाडौं छिरेर सर्जकहरूको वृत्तमा भिज्न थालेपछि उनको लेखनले गति पक्डिन थाल्यो। जीवनवृत्तलाईयिनै प्रसंगदेखि आफ्नो जीवन-संघर्षका अनेक बान्कीहरूमा समेटेका छन् उनले।

२०५९ सालमा छैठौं काव्यकृतिका रुपमा ‘नांगो तार’ छापिएपछि लामो अवधि कुनै काव्यकृति बाहिर आएनन्, उनको। बितेको असोजमा भने शब्दयात्रा प्रकाशनले सातौं काव्यकृतिको प्रकाशनको लेठो उठायो, ‘अरू सात समुद्र’। करीब दुई दशकपछि निस्किएको आफ्नो काव्यकृतिप्रति उनी केही सन्तुष्ट छन्, अलिकति असन्तुष्ट पनि। असन्तुष्टिचाहिँ प्रकाशकसँग। खासगरी, साजसज्जालाई लिएर। भन्छन्, “कविताकृति ननिस्किएको लामो समय भइसकेको हुँदा एउटा संग्रह ल्याउने सोच बनाइरहेको थिएँ। प्रकाशक पनि फेला पारेँ। मैले प्रकाशनको लागि दिएँ। तर शुद्धाशुद्धीमा कुनै समस्या नभए पनि साजसज्जा भने त्यति राम्रो भएन।”

कागज पनि मन परेन, साकारलाई। भन्छन्, “मलाई एकजना साथीले केसम्म भने भने तिम्रो किताब त गेसपेपर छाप्नेजस्तो कागजमा पो छापिदिएछन्।” उनले त्यही कृतिमा केही कविता थपेर दोस्रो संस्करण निकाल्ने विचार गरेका छन्।

वासु शशी र अस्वीकृत जमात

जुँघाको रेखी नकोरिँदै २०१३/०१४ सालदेखि नै लेख्न थाले उनले। २०१६ सालमा त कविता नै छापियो। तत्कालीन समय श्यामप्रसादले सम्पादन गर्ने “साहित्य” मा उनको कविता छापिँदा उनको नामको साहित्यकरण भइसकेको थिएन। थियो पुरोहितले जुराइदिएको नाम- शंकरप्रसाद श्रेष्ठ नै। पछि भने लेख्न थाले ‘शैलेन्द्र साकार’। साकारले साकार रुप पाएको भने उनी काठमाडौं आएपछि नै हो।

२०१८ सालमा काठमाडौं आए उनी। भोजपुरमा छँदा नै विद्यालयमा आयोजना हुने साहित्य गोष्ठीमा उनी निरन्तर भाग लिन्थे। हेडमास्टर शरदचन्द्र भट्टराईको उत्प्रेरणाले लेखनतिर डोर्‍याइसकेको थियो। भित्रिएपछि काठमाडौंको बसाइ उपलब्धिमूलक रहँदै गयो। कवि-लेखकहरूसँगको संगत घनीभूत हुँदै गयो। भन्छन्, “त्यो बेलासम्म मैले धेरै कवि-लेखकका नाम सुनिसकेको थिएँ।”

काठमाडौं आउँदा पहिलो पटक भेटे, रमेश विकललाई। नक्साल, भगवतीबहालनिर चनमतिको पसल थियो। त्यहीं पसलमा नै भेटेका हुन् उनले विकललाई। त्यही पसल आसपासभोजपुरका दुई जना बस्थे- हरिप्रसाद नेपाल र सुन्दरप्रसाद श्रेष्ठ।

एक दिन भने रमेश विकलसँग भोजपुरकै केवी श्रेष्ठको झगडा पर्‍यो। चनमतिको पसलमा विकल मुरली बजाएर बसिरहेका थिए। विकल प्रायः त्यही पसलमा मुरली बजाएर बस्दा रहेछन्। केवीसँग झगडा परेपछि साकारले नै छुट्याउने मौका पाए। ‘दुई झगडालु’लाई छुट्याइसकेपछि ‘एक झगडालु’ विकलले भनेछन्, ‘म रामेश्वर शर्मा चालिसे हुँ, घर चाहिँ आरुबारी हो।’ साकार सम्झिन्छन्, “पछि मात्र थाहा भयो, उहाँ नै रमेश विकल हुनुहुँदो रहेछ।”

त्यतिबेला भैरव अर्याल नक्साल, चारढुंगेमा बस्थे। विकलले नै साकारलाई लिएर गए, भैरवकहाँ। भैरव बस्ने कोठाभन्दा तल जेरी, स्वारी पकाउने पसल थियो। पसलमा जेरी, स्वारी पकाउँदा भैरवको कोठा धुवाँमय हुन्थ्यो। त्यही भएर, त्यो कोठाको नाम नै ‘धुवाँकुटी’ राखेका रहेछन् भैरवले।

सम्झिन्छन् साकार, “भैरवकहाँ पुरु रिसाल, पुष्कर लोहनीहरू पनि आइरहन्थे। पुष्करले मलाई त्यो बेलाका चर्चित कविहरू मोहन कोइराला, कृष्णभक्त श्रेष्ठ, कुमार नेपाल, मदन रेग्मीलगायतसँग चिनाइदिए।” एकपछि अर्को गर्दै उनी भूपी शेरचन, पारिजातकहाँ पनि पुगे। वासु शशीकहाँ चाहिँ लिएर गए, हेम हमालले।

मञ्जुल त एउटै जिल्लाबासी। उनी र मञ्जुल सँगसँगै नै आएका थिए, काठमाडौं। सम्झिन्छन्, “हामी पारिजात दिदीकहाँ बारम्बार गइरहन्थ्यौं। पारिजात दिदीले आफैँले जाँड बनाएर खानु हुन्थ्यो। एक दिनचाहिँ हामी पुग्दा प्रदीप नेपाल सिरक ओढेर बसिरहेका थिए।”

त्यही समयताका पारिजात, रामेश, मञ्जुल, निनु चापागाईलगायतले राल्फा खोले र उनीहरूका सिर्जन-गतिविधि राल्फाकै व्यानरमुनि फैलिन थाले। तर, २०२६ साल टेकेपछि भने साकार, कविताराम श्रेष्ठमा पनि केही गर्ने हुटहुटी पलायो र उनीहरूले पनि कुनै साहित्य आन्दोलन प्रारम्भ गर्ने सुर कँसे। त्यही क्रममा जन्मियो- ‘अस्वीकृत जमात’। वासु शशीको घरमा न्वारान भएको थियो, ‘अस्वीकृत जमात’।

किन जन्माइयो त अस्वीकृत जमात ? करीब अर्धसतकअघिको त्यो क्षण सम्झिँदै साकार भन्छन्, “अहिलेसम्म साहित्यकारहरूले राजा-महाराजा, शासकहरूका प्रशस्तिमा कविता लेखे। हामीले भने समाजका अस्वीकृत जमातहरूबारे लेख्नुपर्छ भनेर यो आन्दोलनको शुरुआत गरेका थियौँ।”

‘अस्वीकृत जमात’को परिकल्पना ब्युँतिनुअघि भारतबाट तीन जना सर्जक आएका थिए, नेपालमा। उनीहरू थिए- मलयरोय चौधरीलगायत। उनीहरूले ‘भुकी पीडी हंग्री जेनेरेशन’ भनी एउटा संस्था खोलेका रहेछन् र धेरै नै प्रभावित थिए- नक्सलवादी क्रान्तिबाट। भन्छन्, “त्यो बेलासम्म हामीले देशको महिमागान र सांस्कृतिक महत्वबारे मात्र लेख्दै आएका थियौं। तर उनीहरूसँग भेटेपछि हाम्रो लेखनको धार नै मोडियो। उनीहरूले हामीलाई के भने भने यदि तपाईंहरूले देशको वास्तविक अवस्थाबारे लेख्नु हुन्न भने किन साहित्य लेख्ने ? यो प्रश्नले हामीलाई झकझकायो र हामीले देशको वास्तविक अवस्थाबारे लेख्नुपर्छ भनेर अस्वीकृत जमातको शुरुआत गर्‍यौं।”

साकार, कवितारामश्रेष्ठ, रमेश श्रेष्ठ र प्रकाश प्रेमीले संकल्प गरे, ‘अब हामी लेखनमा पुराना परम्परालाई पछ्याउँदैनौं, साहित्यमा सत्य कुरा मात्र लेख्छौं। जुन मानिसलाई अहिलेसम्म समाजले अस्वीकृत गरिरहेको छ, जसको कुनै इज्जत छैन, अब तिनै मानिसहरूबारे लेख्नेछौं।’

दुईटा मान्यता राखे उनीहरूले। एउटा, अस्वीकृत मानिसहरूको पहिचानबारे लेख्ने र अर्को चाहिँ यौनलाई आफ्नै दृष्टिकोणले हेर्ने। भन्छन्, “वेश्यावृत्तिलाई पनि हामीले एउटा कामको रुपमा हेर्नुपर्दछभन्ने दृष्टिकोण बनायौं।”

जन्मदातामध्ये एक कवितारामले ‘अस्वीकृत जमात’लाई बढी राजनीतिकरण गरेको साकारको बुझाइ रह्यो। भन्छन्, “उनले धेरै राजनीतिकरण गर्न थाले। मैले त्यसमा असहमति जनाएँ। त्यो बेला कांग्रेसतिर लागेका भए अ.त. (अराष्ट्रिय तत्व) भइन्थ्यो, कम्युनिष्टतिर लागे खतरा थियो। मैले असहमति जनाएपछि पछि उनले मेरा अस्वीकृत मान्यताहरू भनेर बेग्लै किताब लेखे।”

त्यो बुटपालिस र भीमनिधिको सेन्सर

स्नातक सिध्याएपछि उनले जागिर खाए, धेरै अड्डामा। शुरुमा उद्योग तथा वाणिज्य मन्त्रालय, औलो उन्मुलन संघ, त्रिभुवन विश्वविद्यालयमा सहायक प्रशासक, सेवा आयोग चहार्दै जाँदा उनी अडिए- कृषि विकास बैंकमा। बैंकको एक जागिरे ज्ञानेन्द्र कोइरालाले उनलाई एक दिन भने, ‘बैंकमा जागिर खान आऊ, घर निर्माण गर्न सापटी ऋण पाइन्छ।’ त्यही ‘लोभ’ले उनी बैंकको जागिरे भए।

कृषि विकास बैंकमा जागिरे हुनुपूर्व नै उनले काठमाडौंमा स्थायी बसोवासका लागि जग्गाको जोगेडोसमेत गरिसकेका थिए। भीमसेनगोला, ठूलो खरीको बोटनजिकै एक रोपनी किनिसकेका थिए। भन्छन्, “त्यतिबेला जग्गाको मूल्य खासै धेरै थिएन। मैले हजार रुपियाँ आनामा किनेको हुँ।” यो २०३२ सालको कुरा थियो। त्यसयता उनी ठूलो खरीको बोटको बासिन्दा रहँदै आएका छन्।

बैंकमा ‘अफिसर’ हुनुअगावै उनी केही साहित्य आन्दोलनसँग जोडिइसकेका थिए। अस्वीकृत जमातपछि थियो- ‘बुटपालिस अभियान’। २०३१ सालतिर उनी डिल्लीबजारस्थित कुमार नेपालको घरमा डेरा गरी बस्थे। त्यो भवानी घिमिरेको ससुराली-घर रहेछ। ससुरालीमा आइरहन्थे, भवानी। एक दिन ‘झुत्रे’ उपनाम लेख्ने किशोर नेपाल पनि त्यहीं आएका थिए र उनले सोधे, ‘तिमीहरू बुटपालिस गर्न सक्छौ ?’

“किन नसक्नु ?” उनी र कवितारामले बुटपालिस गर्न हात उठाए।

तत्कालीन समय पञ्चायत झनै कठोर बन्दै थियो। पत्रपत्रिकाहरूका प्रकाशनमा पूरै रोक लगाइएको थियो। निकाले पनि ‘सामयिक संकलन’ भनेर मात्रै निकाल्न पाइन्थ्यो। त्यो पनि चार प्रति अञ्चलाधीश कार्यालयमा बुझाएर स्वीकृत गराएपछि मात्र प्रकाशन गर्न पाइन्थ्यो।

अञ्चलाधीश कार्यालयको सेन्सर-कुर्सीमा थिए- भीमनिधि तिवारी। कवि, नाटककार। तिवारीले एक-एक वाक्य केलाएर स्वीकृति दिएपछि बल्ल छापिन्थे, पत्रपत्रिकाहरू। त्यही समय उनले ‘मन्त्र’ नामक सामयिक संकलन निकाल्न चाहे। सबै तयारी सकेपछि सेन्सरका लागि उनी अञ्चलाधीश कार्यालयमा पुगे। पारिजातको पनि थियो, एउटा कथा। कथाको एउटा पंक्तिमा तिवारीले चिन्ह लगाएर राखेका रहेछन् र साकार पुगेपछि उनले भनेछन्, ‘यो वाक्य हेर्नुस् त, के लेखिएको हो यस्तो ? यस्तो वाक्य मेरी छोरीहरूले पढिन् भने के भन्लान् ?’

त्यो वाक्य थियो, ‘बेस्सरी मोटाएको छुचुन्द्रो दुलोभित्र पस्छ।’

पछि भीमनिधिले भने, ‘मैले अहिले केही गरिनँ तर यस्ता वाक्यहरू राख्ने कि नराख्ने भन्नेमा विचार गर्नुस् है।’

‘मन्त्र’ निकाल्ने समयताका उनले विज्ञापन खोज्न निकै दौडधुप गरे। विज्ञापन पाउनै मुस्किल। वासु शशीले आफूले चिनेका कार्यालयहरूमा भनिदिन्थे र कुद्थे साकार। पत्रिका प्रकाशनको लागि आर्थिक सहयोग जुटोस् र तत्कालीन व्यवस्थाले वाक् तथा प्रकाशन स्वतन्त्रतामा देखाएको कसिकसाउप्रति सांकेतिक रुपमा विरोध होस् भनेर नै उनीहरूले शुरु गरेका थिए- ‘बुटपालिस अभियान’। जसको ब्यानरमै लेखिएको थियो- ‘पत्रिका प्रकाशनका लागि बुटपालिस’।

२०३१ सालको एक दिनको एकाबिहानै उनीहरू पुगे, न्यूरोड पीपलबोटनिर। त्यो ठाउँमा काल्चे सार्कीले स्थायी र पेसागत रुपमा जुत्ता पालिस गर्दै आएका थिए। स्नातक गरिसकेका साकार, कविताराम श्रेष्ठ, ध्रुव सापकोटा र मोहन घिमिरेले काल्चेसँग जुत्ता पालिस गर्नेबारे संक्षिप्त ‘ट्रेनिङ’ लिए र काल्चेसँगै दिनभरिका लागि ५० रुपियाँमा जुत्ता पालिस गर्ने सामानहरू भाडामा लिए।

साकारसहित चार जना जुत्ता पालिस गर्न बसेपछि भवानी घिमिरे, मनु ब्राजाकी, कुमुद देवकोटालगायतले सडकमा निस्किएर विज्ञापन गर्न थाले, ‘आज साहित्यकारहरूले बुटपालिस गरिरहेका छन्, तपाईंहरू पनि आफ्नो जुत्ता पालिस गर्न आउनुस्।’ मध्याह्न नढल्किँदै नारायण ढकाल, भाउपन्थी, काशीनाथ तमोटहरू पनि थपिए, त्यो अभियानमा।

यो कुरा कताकता बालकृष्ण समको कानसम्म पुगेछ। उनी तत्काल पीपलबोटनिर आइपुगे र आफ्नो जुत्ता पालिस गराए। दिनभरि जुत्ता पालिस गर्दा उनीहरूको हातमा नगद पाँच सय पर्‍यो।

साँझ सँघारमै थियो। त्यही समय भवानीले एउटा प्रस्ताव राखे, ‘अब संक्षिप्त सांस्कृतिक कार्यक्रम गर्ने होइन त ?’

दिनभरि बुट पालिस गर्न खटेकाहरू थकित थिए। ग्राहक बटुल्न खटेकाहरू पनि थकित नै। असनको एउटा रेस्टुराँमा छिरे- भवानी घिमिरे, कुमुद देवकोटा, मनु ब्राजाकी, कविताराम श्रेष्ठ र साकार। कवितारामले भने, ‘संक्षिप्त सांस्कृतिक कार्यक्रम’मा निस्क्रिय सहभागिता जनाए। थकाइ मेटाउने सुर कस्दै थिए, कवितारामबाहेक अरू। एक्कासि चार-पाँच जना मुस्तण्डहरू छिरे, होटलभित्र स्वाट्टै। एक जनाले सोधे, ‘दिउँसो पीपलबोटमा जुत्ता पालिस गर्ने तिमीहरू नै होइनौ ?’

कुनै प्रत्युत्तर दिन नपाउँदै साकार र कवितारामको मुखमा घुस्सा मारे, तिनीहरूले। त्यो बेला युवा जोश थियो उनमा। उनी भन्छन्, “तिनीहरूमध्ये एकजनाले मलाई पछारे, मैले पनि उनलाई पछारे। उनले मलाई मुक्का हाने, मैले पनि हानेँ।”

‘संक्षिप्त सांस्कृतिक कार्यक्रम’ एकाएक स्थगित भयो। टेबुलमा ल्याइएका खानेकुरा छाडेर सबै जना बाहिर निस्किए। बाहिर निस्किएपछि भवानीले पिच्च थुके। उनको थुक रक्तिम थियो। तत्कालै साकारले सोधे, ‘दाइको मुखबाट त रगत पो आयो त। अघि तिनीहरूले पिट्दा दाँत नै गयो कि क्या हो दाइ ?’

भवानीले भने, ‘हैन, यो पानको रातो हो।’

‘अस्वीकृत जमात’ र ‘बुटपालिस’मा सक्रिय यी स्रष्टाले २०३६ सालको जनउभारमा पनि सहभागिता जनाए- ‘सडक कविता क्रान्ति’मा कविता सुनाउँदै। राजनीतिक परिवर्तनको रेखांकन गर्ने त्यो आन्दोलनलाई थप शक्तिशाली बनाउन उनी सडकमा उभिएर कविता भन्दै पनि हिँडे। भवानी घिमिरेको नेतृत्वको सडक कविता क्रान्तिमा उनीसँगै मोहन कोइराला, हरिभक्त कटुवाल, दिनेश अधिकारीलगायत पनि सामेल थिए।

२०४६ साल चैत ३ गतेको स्रष्टाहरूको कालोपट्टि बाँध्ने अभियानमा भने उनी सामेल हुन पाएनन्। त्यतिबेला जागिरको सिलसिलामा उपत्यका बाहिर रहनुपरेको हुँदा हरेक जसो साहित्य आन्दोलनमा सहभागी उनी त्यो बेला भने सहभागीमुक्त बने।

अब सर्पहरूका कथा

नेपाली साहित्यवृत्तमा कुनै स्रष्टाको नाम लिने बित्तिकै उनीहरूका चर्चित सिर्जना पनि सँगसँगै जोडिएर आउँछन्। भूपी शेरचन भन्ने बित्तिकै आउँछ- ‘घुम्ने मेचमाथि अन्धो मान्छे’। गोपालप्रसाद रिमाल भन्ने बित्तिकै सबैले सम्झिन्छन्- ‘आमाको सपना’। अर्थात्, बीपी कोइराला भन्ने बित्तिकै ‘सुम्निमा’, पारिजात भन्ने बित्तिकै ‘शिरीषको फूल’, हरिभक्त कटुवाल भन्ने बित्तिकै ‘यो जिन्दगी खै के जिन्दगी’, नारायण ढकाल भन्ने बित्तिकै ‘प्रेतकल्प’ वा विमल निभा भन्ने बित्तिकै ‘आगोनेर उभिएको मानिस’।

शैलेन्द्र साकार भन्ने बित्तिकै के सम्झिन्छन् त, साहित्यका पाठकहरूले? निश्चय नै उनको नामसँगै जोडिएर आउँछ- ‘सर्पहरू गीत सुन्दैनन्।’

पञ्चायतको आखिरी समयतिर लेखिएको हुँदा यो कविता शासकप्रति तिखो व्यंग्यबोध हो भनेर धेरैले बुझे र अथ्र्याए पनि त्यसरी नै। तर, यो कविताको रचनागर्भ भने बेग्लै थियो। भन्छन्, “सर्पहरू बहिरा हुन्छन् भन्ने कुरा मलाई थाहा थिएन। एक दिन भृकुटी मण्डपमा जाँदा एक जना सपेराले सर्पहरूलाई लठ्याइरहेका थिए। ती सपेराले गीत बजाइरहेका थिए। मैले उनलाई सोधेँ- तपाईंले यो गीत सर्पलाई सुनाउन बजाउनुभएको हो ? उनले भने- तपाईंलाई थाहा छैन, सर्पहरू त बहिरा हुन्छन् नि, कहाँ उनीहरूले गीत सुन्छन् र ?”

ती सपेराको कुरा सुनेपछि बाटोमा हिँड्दै गर्दा उनले कविताको गर्भाधान गर्दै हिँडिरहे। हिँड्दै गर्दा उनले शीर्षक पनि जुराए- ‘सर्पहरू गीत सुन्दैनन्।’ भन्छन्, “म मनमनै कविता खेलाउँदै हिँडिरहेको थिएँ, न्यूरोड गएँ र चिया पिएँ। घरमा फर्केर आएपछि मैले यो कविता लेखेँ।”

‘तिमीले जतिसुकै चिच्याइचिच्याई गाए पनि
यी मन्दिरमा खोपिएका सर्प-प्रतीकहरू बहिरा छन्
कुनै पूर्वनिश्चित चाडको सामूहिक भोजमा बहुलाएर
यी विषदन्त गोमनहरू टोकिरहन्छन्
कुनै नवजात शिशु-भविष्य
र ईश्वरका सामु गर्वोन्मत्त रहन्छन्
मलाई दुःख छ मेरा गायक
सर्पहरू कविता सुन्दैनन्
सर्पहरू गीत सुन्दैनन्…।’

यो कविता साकारको काव्यधरातललाई समृद्ध आकार दिने सिर्जनाको रुपमा रहिरहेछ, आजपर्यन्त। पर्न त उनलाई आफ्ना अरू कविता पनि मन पर्छन्। पछिल्लो काव्यकृतिभित्र समेटिएको ‘प्रत्येक पल्ट ईश्वरमाथि आरोप छ’ उनलाई मन पर्ने कविताको लहरमा आबद्ध छ।

ती प्राकृतिक, ती आत्मनिर्भर
बाँच्नका लागि योग्य, सुन्दर
मानिसहरूमाथि
अकस्मात् वज्रपात भएको सुन्छु,
मलाई अकस्मात् ईश्वर छैन कि जस्तो
कि भएर पनि घोर निद्रामा
कतै कोमामा अन्तिम सास लिइरहेजस्तो
अथवा भेन्टिलेटर दिएर
हामीले बचाइरहेजस्तो
अनायास लागिरहन्छ- बारम्बार लागिरहन्छ
किन उनको हत्या भइसकेको हो
राक्षस र शैतानहरूबाट ?’

साहित्य गुन्गुनाउनेहरूले उनलाई पाउनेछन्, त्यही सर्पहरूका गीतमा नै। अफसोच, सर्पहरूको गीतमा कसैले पनि संगीत भर्दैनन्, न त गाउँछन् कसले सर्पहरूका गीत ? र त भन्छन् उनी,
‘तिमी जतिसुकै पीडाले चिच्याऊ
ईश्वरका विरुद्ध उभिएर सडकमा
अथवा आनन्दले विभोर भएर
जीवनको प्रशंसामा जतिसुकै गीतहरू गाऊ
त्यसको केही मूल्य छैन
तिमी कसैकहाँ सम्प्रेषित हुन सक्दैनौं
कसैलाई ब्युँझाएर केही भन्न सक्दैनौं
सर्पझैँ आत्मरतिमा निमग्न भएकाहरू
गीत सुन्दैनन्- तिम्रो कविता सुन्दैनन्।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved