मोरङमा कांग्रेसबाहेकका गठबन्धन दलबीच तालमेलका लागि छलफल शुरु

२०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेस मोरङका १७ मध्ये ९ स्थानीय तहमा विजयी भएको थियो।

मोरङमा कांग्रेसबाहेकका गठबन्धन दलबीच तालमेलका लागि छलफल शुरु

विराटनगर। प्रदेश नं. १ को राजधानी रहेको जिल्ला मोरङमा कांग्रेस बाहेकका गठबन्धन दलले चुनावी तालमेलका लागि छलफल शुरु गरेका छन्।

मोरङमा कांग्रेसले एक्लो उम्मेदवार खडा गर्ने संकेत गरेपछि गठबन्धनका अन्य तीन दलले चुनावी तालमेलका लागि औपचारिक छलफल शुरु गरेका हुन्।

मोरङमा कांग्रेसले चुनावी तालमेलमा असहमतिको संकेत गरेपछि गठबन्धनका बाँकी दलले छुट्टै छलफलको प्रक्रिया अघि बढाएको नेकपा माओवादी केन्द्र प्रदेश नं. १ का सचिव गणेश उप्रेतीले बताए। केन्द्रको रणनीति र निर्णयलाई त्यागेर कांग्रेस अघि बढेको भए पनि माओवादीले भने त्यसो नगर्ने उनले जानकारी दिए।

उप्रेतीले भने, “मोरङको हकमा कांगे्रसले केन्द्रको निर्णय मान्ने जस्तो देखिँदैन। कोइराला पक्षले देउवा पक्षको निर्णय नमान्ने जानकारी छ। तर, हामी त्यसो गर्दैनौँ। केन्द्रको निर्णयअनुसार नै अघि बढ्छौँ।”

शुक्रबार विराटनगरमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशस्तरीय नेताको उपस्थितिमा भएको छलफलले चुनावी तालमेल गरेर जाने सहमति गरेको छ। तर, यसरी नै अघि बढ्ने भन्ने विषयमा स्पष्ट निर्णय नै भने भइसकेको छैन।

उप्रेतीका अनुसार माओवादी केन्द्र नेपाली कांग्रेस बाहेकका अन्य जुनसुकै दलसँग तालमेल गरेर जान तयार छ। कांग्रेसले पनि तालमेल गर्न चाहे मार्ग प्रशस्त रहेको गठबन्धनका अन्य दलहरुको धारणा छ।

शुक्रबारको छलफलमा बोल्दै नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मीले केन्द्रको निर्णय अस्वीकार गर्दै अघि बढ्दा यसले अविश्वासको वातावरण सिर्जना गर्ने बताए। उनले केन्द्रको निर्णयलाई अस्वीकार गर्नु गठबन्धनलाई धोका दिनु सरह भएको तर्क गरे।

रेग्मीले भने, “कांग्रेसले किन चुनावी तालमेलबाट हिच्किचाइरहेको छ थाहा भएन। तर, हामी तालमेल गरेरै जान्छौँ। अन्तिम निर्णय शनिबार हुन्छ।”

जसपाका नेता तथा विराटनगर महानगरपालिकामा मेयर पदका दाबेदारसमेत रहेका उमेश यादवले कांग्रेसबिना फरक रणनीतिका साथ अघि बढ्ने गृहकार्य भइरहेको बताए। उनले कांग्रेसले चुनावी तालमेलमा रुचि नदेखाउनु कांग्रेसकै लागि घाटाको विषय भएको औंल्याए। भने, ‘भोलिका दिनमा एक्लै चुनाव लड्नुपर्ने अवस्था आए पनि जसपा पछि हट््दैन।”

नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले कांग्रेस आवश्यकताअनुसार चुनावी तालमेल गर्ने पक्षमा रहेको बताए। उनले कांग्रेसको बलियो पकड भएका स्थानीय तह अन्य दलका उम्मेदवारलाई दिने कुरा मान्य नहुने प्रष्ट पारे। भने, “मोरङको चुनावी तालमेललगायत विषयमा पार्टीको स्पष्ट धारणाका निम्ति जिल्ला कार्यसमितिको बैठक जारी छ।”

मोरङको हकमा लेटाङ, सुन्दरहरैँचा र पथरीमा गठबन्धन गर्ने तथा विराटनगर र सुनवर्षीमा गठबन्धन नगर्ने कांग्रेसले तयारी गरेको छ। यसअघि, २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेस मोरङका १७ मध्ये ९ स्थानीय तहमा विजयी भएको थियो।

बुढीगङ्गामा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम विजयी भएको थियो। पछि त्यो पार्टी पनि कांग्रेसमा समाहित भएपछि हाल मोरङको १० स्थानीय तहमा कांग्रेसको नेतृत्व छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved