चुनाव नजिकिँदै जाँदा प्रचण्डको बढ्दो भरतपुर मोह

चुनाव नजिकिँदै जाँदा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भरतपुरमोह ह्वात्तै बढेको छ । दुई सातामै तीन पटक चितवन पुगेका उनले पछिल्लाे पटक भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठलाई छेउमा राखी आफ्नै हातबाट लालपूर्जा बाँडे । उनी भोटकाे राजनीतिमा दिलोज्यानले लागेको प्रष्टै देखिन्छ।

चुनाव नजिकिँदै जाँदा प्रचण्डको बढ्दो भरतपुर मोह

काठमाडौं । चुनाव नजिकिँदै जाँदा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भरतपुरमोह ह्वात्तै बढेको छ । उनले २३ चैतमा भरतपुर महानगरको वडा नम्बर २, आँपटारीका ४६ घर भूमिहीन दलित परिवारलाई आफैँले जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) बाँडे।

उक्त कार्यक्रममा भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठ पनि साथमै थिइन् तर मन्त्रीलाई छेउमा राखी आफैँले लालपूर्जा बाँडे । दायाँपट्टि मन्त्री श्रेष्ठ थिइन्, अनि बायाँपट्टि उभिएर ताली बजाउनेमा प्रचण्डकी छोरी रेणु दाहाल थिइन्, जो भरतपुर महानगरपालिकाकी मेयर हुन् ।

२०७४ सालको स्थानीय चुनावमा छोरी रेणुलाई निकै जोडबलका साथ कांग्रेसको समेत समर्थन जुटाएर जिताएदेखि प्रचण्ड चितवनमा केन्द्रित हुन थालेका हुन् । त्यही वर्ष मंसीरमा भएको संघीय संसद्को चुनावमा चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएयता प्रचण्डले गृहजिल्लाको भ्रमणलाई प्राथमिकता दिन थालेका हुन्।

आफूले चुनाव लड्दा चितवनका भूमिहीनलाई जग्गा उपलब्ध गराउने वाचा गरेका थिए– उनले । फेरि स्थानीय निर्वाचन आउन एक महिना बाँकी छँदा आफ्नो पुरानो वाचाअनुसार पूर्जा वितरण गर्न पुगेका हुन् ।

मन्त्रीको साटो आफैँले बाँडे लालपूर्जा

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरिरहँदा प्रचण्ड मन्त्रीसमेत लिएर आफ्नो निर्वाचन क्षेत्रमा लालपूर्जा बाँड्न थालेका हुन् । कार्यक्रममा उपस्थित मन्त्री शशी श्रेष्ठलाई छेउमा राखेर आफैँले लालपूर्जा बाँड्नुको एक मात्र उद्देश्य केबल भोटको स्वार्थ हो भन्ने कसैबाट छिपेको छैन ।

स्थानीय निर्वाचन ३० वैशाखमा हुँदैछ । स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नी माइली छोरी रेणुलाई फेरि बनाउन दिलोज्यानले लागिपरेका छन्, जुन उनको आफ्नै चुनावी स्वार्थसँग पनि गाँसिएको छ ।

०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेससँग गठबन्धन गरी छोरी रेणुलाई भरतपुरको मेयर जिताएका थिए– प्रचण्डले । यसपटक पनि पनि त्यही रणनीतिमा छन् ।

चितवन का‌ंग्रेसको बढ्दो दबाब

सत्तारुढ गठबन्धनका पाँच दलले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने सैद्धान्तिक निर्णय गरेसँगै भरतपुरको मेयर माओवादी केन्द्रले फेरि दाबी प्रस्तुत गरेको छ तर केन्द्रबाट गरिएको उक्त निर्णयपछि चितवन कांग्रेस सशंकित बनेको छ । चितवन कांग्रेसले भरतपुरको मेयर पद अर्को दलका लागि छोड्न नसक्ने बताएको छ।

चितवन कांग्रेसले बिहीबार बिहान मात्रै ‘सत्ता–गठबन्धन समन्वय समिति’ का संयोजक रामचन्द्र पौडेललाई भेटी ज्ञापनपत्र बुझाएको छ साँझ कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि ज्ञापनपत्र बुझाएको छ। चितवन कांग्रेसका सभापति राजेश्वर खनालले भने, “गठबन्धनसहित स्थानीय निर्वाचनमा जान चितवन कांग्रेस पनि तयार छ तर मेयर कांग्रेसले पाउनुपर्छ ।” यही अडान सहित पार्टीका नेतालाई ज्ञापनपत्र बुझाएको उनले बताए।

०७४ सालको स्थानीयको निर्वाचनमा पार्टीले माओवादीकेन्द्रका उम्मेदवारलाई सहयोग गरेको बताउँदै यो पटक कांग्रेसलाई सहयोग गर्नुपर्ने चितवन सभापति खनालको दाबी छ ।

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा भरतपुर नगरपालिकाको मेयर कांग्रेसले पाउने संभावन घट्दै गएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चितवनमा सक्रियता बढेको चितवनका वाम–विश्लेषक हरि सापकोटा बताउँछन्।

“चितवन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको संघीय निर्वाचन क्षेत्र पनि हो । त्यसैले उहाँ यस क्षेत्रमा सक्रिय हुनु स्वभाविक हो,” विश्लेषक सापकोटाले भने, “त्योसँगै आउँदै गरेको स्थानीय निर्वाचनमा छोरी रेणुको पक्षमा माहोल बनाउन प्रचण्डको सक्रियता बढेको बुझ्न सकिन्छ ।”

भरतपुरका कुल २९ वडामध्ये २० वटा वडा प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ । प्रचण्ड चितवन भ्रमणका क्रममा महानगरका नौ वटा वडाबाहेक यिनै २० वडामा उनी बढी केन्द्रित छन् ।

यसको कारण के ? विश्लेषक सापकोटाले भने, “छोरी रेणुलाई मेयर पदमा उम्मेदवार बनाउन नसके पनि आफ्नो निर्वाचन क्षेत्रको अङ्क गणित मिलाउन पनि प्रचण्डको चितवन दौड बाक्लिएको भन्न सकिन्छ ।”

पछिल्लो दुई सातामा मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तीन पटक चितवन पुगेका छन् । कांग्रेसका चितवन सभापति राजेश्वर खनालले महानगरका मेयर कुनै हालतमा नछोड्ने दाबी राखेपछि प्रचण्डको चितवनमा सक्रियता बढेको हुनसक्ने आशंका व्यक्त गरे ।

“चितवन प्रचण्डको निर्वाचन क्षेत्र हो त्यसैले चितवन भ्रमणका विषयमा प्रश्न गरिरहनुपर्ने आवश्यकता देख्दिनँ,” चितवन कांग्रेसका सभापति खनालले भने, “उहाँले चितवन भ्रमणका क्रममा मेयर पद आफ्नो पार्टीले प्राप्त गर्नुपर्ने माहोल बनाउने प्रयास गरेको सत्य हो।”

मेयरमा माओवादी आशक्ति

छोरी रेणुका लागि मात्रै होइन, भरतपुरको मेयर पद माओवादी अध्यक्ष प्रचण्डको आफ्नैलागि पनि महत्त्वपूूर्ण छ । यसअघिको स्थानीय निर्वाचनमा छोरी रेणुलाई भरतपुर महानगरपालिकाको मेयर पद ‘जसरी पनि जिताउँदै’ उनले आफ्नो क्षेत्र पनि सुरक्षित गरेका थिए।

१० वर्ष सशस्त्र द्वन्द्व सञ्चालन गरेर आएका प्रचण्ड ०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० र रोल्पा–२ बाट चुनाव जितेका थिए।

यस्तै, ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा प्रचण्ड काठमाडौं–१० बाट पराजित भए । काठमाडौंमा तेस्रो स्थानमा पुगेका प्रचण्ड सिरहा–५ बाट बल्ल–बल्ल विजयी भएका थिए– झिनो मतान्तरले। पटक–पटक मतगणना स्थगन गरी विजय घोषित उनले उक्त क्षेत्र पनि दोहो¥याउने अवस्था भएन ।

प्रचण्डले राष्ट्रिय नेताको छवि त बनाएका थिए तर आफ्नो निश्चित निर्वाचन क्षेत्र नहुँदा प्रचण्डलाई कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने चुनौती थियो। यस्तो अवस्थामा चितवन स्थायी घर भएका प्रचण्डले चितवनकै क्षेत्र नम्बर ३ लाई आफ्नो निर्वाचन क्षेत्र बनाए । अनि त्यसको आधारका रूपमा छोरी रेणुलाई भरतपुरको मेयर बनाए ।

छोरी रेणु मेयर हुँदा चितवनको विकास निर्माणमा प्रचण्डको हस्तक्षेपकारी भूमिका देखिन्छ । प्रचण्डको व्यक्तित्व प्रभावले चितवनको विकास निर्माणलाई केही गति दिए पनि माओवादीकेन्द्र समग्र चितवनको भौगोलिक राजनीतिमा निकै कमजोर देखिन्छ।

एमाले–कांग्रेसभन्दा  माओवादी कमजोर

चितवनमा माओवादी केन्द्र कांग्रेस र एमालेको तुलनामा कमजोर छ। २०७४ को स्थानीय निर्वाचनमा तीन पार्टीले प्राप्त मतभारले पनि यसलाई पुष्टि गर्छ ।

भरतपुर महानगरपालिकाका २९ वडाका वडाध्यक्षले पाएको मत गणना गर्दा कांग्रेसले स्थानीय तहको निर्वाचनमा कुल ३८ हजार एक सय २७ मत प्राप्त गरेको थियो भने नेकपा एमालेले ३८ हजार ७९ मत प्राप्त गरेको थियो । महानगरको मेयर जितेको माओवादीले वडामा पाएको मत जम्मा २० हजार तीन सय ३२ थियो।

कांग्रेस र माओवादी केन्द्रले मेयर पदका लागि गठबन्धन गर्दा समेत भरतपुर महानगरमा एमालेका तर्फबाट मेयर पदका तत्कालिन उम्मेदवार देवी ज्ञवालीसँग झीनो मतले मात्रै माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु विजयी भएकी थिइन्। त्यति बेला रेणुले ४३ हजार १ सय २७ मत प्राप्त गर्दा ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए। जम्मा २ सय ३ मतले मात्र ज्ञवाली पराजीत भएका थिए ।

संघीय निर्वाचनलाई व्यक्तित्वले पनि प्रभाव पार्ने हुँदा स्थानीय तहको निर्वाचनमा प्राप्त मतभारलाई मात्रै आधार मान्न नसकिने चितवनका अर्का वाम विश्लेषक डिआर पोरखेल बताउँछन्। “संघीय निर्वाचनमा उम्मेदवारको व्यक्तित्वले पनि प्रभाव पार्छ,” विश्लेषक पोखरेल भन्छन्, “यद्यपि चितवनमा माओवादी केन्द्र कमजोर छ।”

छोरी मेयर नहुँदा प्रचण्डलाई के फरक ?

रेणु भरतपुरको मेयर हुँदैगर्दा त्यहाँका सम्पूर्ण विकास निर्माणदेखि अन्य गतिविधि माओवादी केन्द्र र त्यसका अध्यक्षको हैसियतमा प्रचण्डको पकडमा रहन्छ। स्थानीय निर्वाचनबाट आफ्नो मेयर हुँदा पार्टीलाई संगठन विस्तारमा पनि सहयोग पुग्छ।

यी गतिविधिका लागि रेणुबाहेकका प्रचण्डकै पार्टीका अर्का व्यक्ति मेयर हुँदासमेत उनको हालिमुहालीमा असर पुग्नसक्छ भने फरक पार्टीको मेयर हुँदा प्रचण्डको हैसियत भरतपुरमा खुम्चिन्छ।

स्थानीयको निर्वाचनपछि संघीय निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट नै प्रतिस्पर्धा गर्न पनि रेणु भरतपुरको मेयर हुँदा प्रचण्डलाई सहज हुन्छ। यसअघिको निर्वाचनमा एमाले र माओवादीले गठबन्धन गरेका कारण प्रचण्डले भारी मतान्तरले जितेका थिए । त्यस बेला उनले सहानुभूतिको भोट पनि पाएका थिए । कांग्रेस–राष्ट्रिय प्रजातन्त्र पार्टीका साझा उम्मेदवार विक्रम पाण्डेले उनलाई कडा चुनौती दिएका थिए।

संघीय निर्वाचनमा हालको सत्ता गठबन्धन कायम रहे दाहाल चितवन क्षेत्र नंम्बर ३ बाट गठबन्धनको साझा उम्मेदवार बन्नेछन्। तर, नेकपा विभाजन पश्चात माओवादी केन्द्रको ठूलो तप्का एमालेमै रहेका कारण दाहाललाई संघीय निर्वाचन पहिलेको भन्दा चुनौतीपूर्ण बन्ने छ ।

गत चुनावमा माओवादी केन्द्रका प्रभावशाली नेता रामबहादुर थापा ‘बादल’ एमालेमा छन्। थापाले पनि चितवनलाई प्रतिनिधित्व गर्छन्। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा बादलले चितवन क्षेत्र नम्बर २ बाट चुनाव जितेका थिए।

प्रचण्ड र बादलको थापाको क्षेत्र फरक हो। भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका इतिहासका पूर्व प्रध्यापक एवं चितवनमा कम्युनिष्ट पार्टीको इतिहासका लेखक डा. राजेन्द्र रेग्मी बादलको एमाले रोजाइले प्रचण्डलाई यस पटकको निर्वाचनमा केही असर गर्ने बताउँछन्। “चितवनमा आफ्नो प्रभाव घटेको छैन भन्ने प्रमाणित गर्न पनि प्रचण्ड भरतपुरको मेयर आफ्नो पक्षमा पार्न चाहन्छन्,” लेखक रेग्मीले भने, “त्यसैले पनि चितवनमा दाहालको सक्रियता बढेको हो।”

“संसदीय पद्धतिप्रति मलाई खासै विश्वास छैन”, बुधबार कान्तिपुर टेलिभिजनसँगको एक अन्तर्वार्तामा माओवादी अध्यक्ष प्रचण्डले भनेका थिए। संसदीय पद्धतिमा विश्वास नभएको बताउने माओवादी अध्यक्ष प्रचण्डको चुनाव क्षेत्रको मोह र व्यवहारमा भने विल्कुल मेल खाँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved