कलिलै उमेरमा बिहे, घरबारमा समस्या

हेलम्बुको पिपलडाँडामा अधिकांशको किशोरावस्थामा बिहे हुने र पारिवारिक जीवन अस्थिर हुने गरेको छ।

कलिलै उमेरमा बिहे, घरबारमा समस्या

सिन्धुपाल्चोक। हेलम्बु पिपलडाँडाकी पम्फा (नाम परिवर्तन) बल्ल १४ वर्षकी भइन् तर कानूनले तोकेको विवाहयोग्य उमेरभन्दा ६ वर्ष पहिले नै उनी विवाहित छिन्। त्यतिमात्र होइन गर्भवती पनि छिन्।

फेसबुकले जुराएको चिनजानबाट नौ महीना पहिले आफूभन्दा जम्मा चार महीना जेठो केटासँग उनको विवाह भएको हो। विडम्बना अहिले उनीसँग तिनै पति पनि छैनन्।

परिवारको सल्लाहमा कामको खोजीमा काठमाडौं गएका पतिको पखाईमा छिन् उनी। काठमाडौं पुगेको एक हप्तामा आफूले खोजेजस्तो काम नपाएकाले फर्किन्छु भनेका पति अहिलेसम्म पनि फर्किएका छैनन्।

“घर आउँछु भनेको तीन महीना बढी भइसक्यो आज आउलान्, आउदैनन्, भोलि आउलान् आउदैनन्। दिनभरी काम गरुञ्जेल एक्लै भए पनि केही लाग्दैन बेलुका सुनसान घरमा बस्न डर लाग्छ,” उनी भन्छिन्।

सासु, ससुरा अर्कै गाउँमा कपडा सिलाएर बसेका छन्। घरमा उनी छिन्। र छन्, पाँच ओटा बाख्रा, १० ओटा कुुखरा र एउटा सुँगुर। तिनैको स्याहार गरेर बित्छ उनको दिन।

गर्भवती भएदेखि नै उनको थाप्लोमा घाँस, दाउराको भारी टुटेको छैन। हरेक दिन घाँस, दाउरा गर्न जंगल जान्छिन्।

उनी बिहे गरेर आएको परिवारको खेती गर्ने जमिन छैन। भएको एक रोपनी बारी पनि अर्कैले कमाउँछन्। लाउन–खानकै दुःख छ। त्यसमाथि थपिएको छ बुहार्तन।

“बुहारी भएपछि एकछिन पनि बस्न पाइनँ। दुइज्यान हुँदा धेरै गाह्रो हुँदो र’छ, शरीरले आराम खोज्छ। खै आराम गर्ने दिन आउँला जस्तो नी लाग्दैन”, भन्दै गर्दा उनको अनुहार निन्याउरो हुन्छिन्। रसाएका आँखा हत्केलाले पुछिन् उनले।

उनलाई त बुहार्तन भन्दा पनि पीडादायी भएको छ एक्लोपन। पतिले गरेको बेवास्ता। माया गरेर, सुन्दर संसारको सपना देखाएर बिहे गरेर ल्याएका पतिले बेवास्ता गर्दा दुखी त छन् नै उनी अन्यौलग्रस्त भविष्यले झनै पिरोलिएकी छन्।

“पहिला त्यति माया गर्थे। विवाह अघि दिनमा कम्तिमा १०/१२ पटक फोनमा कुरा हुन्थ्यो। अहिले दिनकै फोन लगाउँछु कहिलेकाहिँ उठाउँछन्। कहाँ हुनुहुन्छ भन्दा कहिले नुवाकोट, कहिले सिपा, कहिले ढकालथोक छु भन्छन्। साहुले कराउछन् भन्दै फोन काट्छन्”, एक सासमा दुखेसो पोख्छिन्, “विवाह भयो, त्यसपछि बच्चा। खै के हुने हो जिन्दगी ? अब सुत्केरी हुने बेला आयो गाह्रो भए कसलाई बेलाउने होला।”

डाक्टरले बच्चा जन्माउने मिति यही १० वैशाख तोकेका छन् तर कसैको आड भरोसा नपाउँदा अन्यौलमा छिन्।

पम्फाजस्तै सकसमा छिन् सविना (नाम परिर्वतन) पनि।  १७ वर्षमा बिहे भएको थियो उनको एक वर्षमात्र जेठो केटासँग। अहिले उनीहरूको १३ महीनाको छोरा छ।

एकदिन नचिनेको नम्बरबाट फोन आएपछि चिनजान भएको मानिससँगै उनको प्रेम बस्यो। बुबा विदेश गएको बेला सौतेनी आमाले स्कुल नपठाएर मेलापात गर्न पठाएकाले दुखी उनले जीवनको सुख भेट्टाइन बिहेमा। तर बिहे भएको एक महीना नबित्दै सासु, सुसराले छुट्याइदिए।

उनका पति ज्यालादारी श्रमिक हुन्। ज्यामी काम गर्छन्।

“उहाँ अर्को गाउँमा ज्यामी काम गर्नुहुन्छ, कमाएर ल्याए खान्छौँ, नभए भोकै”, दुखेसो सुनाइन् सविनाले।

हातमुख जोर्न सकस भएपछि अहिले उनी पनि कामको खोजीमा छन्।

पम्फा र सविनाले जस्तै ममता (नाम परिर्वतन) को पनि १६ वर्षमा नै बिहे भयो।

दाइ बिहेमा जन्ती जाँदा देखभेट भएकै आफूभन्दा ६ महीना जेठो केटासँग प्रेम बस्यो उनको। कक्षा १० को टेस्ट परीक्षा दिएर बसेकी थिइन्। एसईई नदिँदै भागेर बिहे गरिन्। त्यो साल कोभिड महामारीका कारण परीक्षा नै भएन। उच्च अध्ययन गर्ने रहर छ उनको।

“पढ्न त मन छ नि अब कसरी पढ्नु। घरमा पढ्ने वातावरण ने छैन, सबै लाखा पाखा लागेका छन्,” मन खिन्न पार्दै भन्छिन्, “घरको सबै काम आफैँले सम्हाल्नुपर्छ।”

सासु ससुराले वास्ता नगरेपछि उनीहरू आफैँले घर चलाइरहेछन्। पतिले ज्यामी काम गर्छन्। त्यसैले जनतन गुजारा चलिरहेको छ।

हेलम्बुकै निशा (नाम परिवर्तन)को पनि १४ वर्षमै बिहे भएको छ। चार कक्षामात्र पढेकी निशाको बिहे भएको दुई वर्ष पुग्यो, तीन महीनाको छोरा छ।

कम उमेरमै बिहे भएकाले छोराको जन्मदर्ता गर्न नमिलेपछि दलित परिवारका बालबालिकालाई दिने पोषण भत्ता पनि उनले पाएकी छैनन्।

यसरी कम उमेरमै विवाह हुनु हेलम्बुको यो गाउँका लागि नौलो भने होइन। झण्डै हरेकजसो घरमा बालविवाह भएको पाइन्छ। बिहे भएको केही समयमा परिवारमा समस्या आउने पनि उस्तै समस्या छ।

परिपक्वता नहुँदै हुने विवाहले पारिवारिक जीवनमा ल्याएको समस्या कहालीलाग्दो छ।

यस्तो किन हुन्छ त ?

किशोरावस्थामा माया र आकर्षणको फरक नै नबुझी मनपर्दैमा विवाह भएकाले यस्तो समस्या आएको मनोपरामर्शदाता बेबी शाहको ठम्याइ छ।

“आर्कषणबाट एकअर्कोमा एट्याचमेन्ट हुन्छन्। त्यसपछिको परिणाम नबुझ्दै उनीहरूको छोराछोरी जन्मँदासम्म उनिहरू ‘सेटल’ हुदैँनन्,” उनी भन्छिन्, “शारीरिक र मानसिक रुपमा पनि उनीहरू परिवार चलाउन सक्ने परिपक्व भइसकेको हुँदैनन्। भविष्यप्रति सचेत भइसकेका हुँदैनन्।”

किशोरावस्थामा मन चञ्चल हुने भएकाले एउटासँग विवाह भए पनि अर्कोसँग प्रेम हुने र फेरि अर्को विवाह हुनेगरेको पाइएको उनी बताउँछिन्। यस्तो समस्या आय श्रोत कम भएका र विपन्न परिवारमा बढी पाइएको उनी बताउँछिन्।

अभिभावक नै सचेत भएर स्वास्थ्य, यौन शिक्षा र बाल विवाहको परिणाम बताए यस्तो समस्या समाधान गर्न सजिलो हुने उनको धारणा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved