घरेलु क्रिकेट सिरिज र नेपालको कीर्तिमान

घरेलु क्रिकेट सिरिज र नेपालको कीर्तिमान

काठमाडौं। यसै साता सम्पन्न घरेलु टी–ट्वान्टी सिरिज नेपाली क्रिकेटका लागि विशेष बन्यो। सिरिजको पहिलो उपलब्धि भनेको अन्तरिक विवादका कारण विवाजित बनेको नेपाली राष्ट्रिय टिमले अविजित रहँदै सिरिजको उपाधि जित्नु थियो। यसले टुक्रिएको नेपाली टिम एकतातर्फ केन्द्रित रहेको सन्देश दिएको छ।

त्यस्तै पुस्ता हस्तान्तरणको क्रममा रहेको नेपाली टिममा यो सिरिजमा मौका पाएका अधिकांश युवा खेलाडीले शानदार प्रदर्शन गरे। सिरिजको अर्को प्रमुख उपलब्धि थियो नेपाली टिम र खेलाडीहरूले बनाएका कीर्तिमानहरू।

चम्केका दीपेन्द्र

यो सिरिजमा नेपाली टिममा सबैभन्दा उत्कृष्ठ फर्ममा थिए टिमका संकटमोचक खेलाडी, ब्याटिङ अलराउण्डर दीपेन्द्र सिंह ऐरी। फाइनल खेल र सिरिजकै उत्कृष्ट खेलाडीको उपाधि जितेका दीपेन्द्रले कीर्तिमान बनाउने कीर्तिमान नै रचे।

सिरिजबाट उनी नेपालका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एक हजार रनको कोशेढुंगा पार गर्ने पहिलो नेपाली खेलाडी बने। सिरिज दौरान नै उनले पूर्वकप्तान पारस खड्काको नाउँमा रहेको टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलको सर्वाधिक ७९९ रनकोे रेकर्ड तोडेका थिए। सिरिजको पाँच खेलपछि उनको कुल रन संख्या एक हजार ३३ भएको छ।

सिरिजमा मलेसियाविरुद्धको दोस्रो खेलमा उनले एकै म्याचमा कुनैपनि नेपाली खेलाडीले बनाएको उच्च रनको अर्को रेकर्ड पनि कायम गरे। दीपेन्द्रले टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा आफ्नो पहिलो शतक प्रहार गर्दै ५७ बलमा १० चौका र ६ छक्काको मद्दतले अविजित ११० रन जोडेका थिए। यसअघि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले बनाएको सर्वाधिक १०७ रनको रेकर्ड उनले तोडेका हुन्।

यसै सिरिज मार्फत दीपेन्द्र नेपालका लागि टी–ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय गरी दुवै फर्म्याटमा शतक प्रहार गर्ने दोस्रो खेलाडी पनि बने। यसअघि भएको पीएनजीसँगको एकदिवसीय सिरिजको दोस्रो खेलमा उनले करियरको पहिलो एकदिवसीय शतक प्रहार गरेका थिए। दीपेन्द्रअघि पूर्वकप्तान पारसको नाउँँमा मात्र दुवै फर्म्याटमा शतकको रेकर्ड थियो।

उनको प्रशंसामा नेपाली टिमका प्रमुख प्रशिक्षक पुबुदुले बोलेका शब्द यस्ता छन्, “दीपेन्द्र हाम्रो टिममा रहेका उत्कृष्ट प्रतिभामध्ये एक हुन्, उनी एक्लै म्याच जिताउन सक्ने क्षमता भएका यस्ता खेलाडी हुन्, जसलाई जुन पोजिशनमा खेलाए पनि उनको प्रदर्शनमा केही भिन्नता पाइँदैन।”

करणको ह्याट्रिक प्लस पाँच विकेट

प्रतियोगिताको उत्कृष्ट बलरको उपाधि जितेका तीव्र गतिका बलर करण केसीले यो सिरिजमा दुई प्रमुख कीर्तिमान बनाए, ह्याट्रिक र पाँच विकेट।

यसै सिरिजबाट टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने उनी पहिलो नेपाली खेलाडी बने। पीएनजीसँगको दोस्रो म्याचमा उनले ह्याट्रिकसँगै एकै खेलमा पाँच विकेट लिने पहिलो खेलाडीको अर्को रेकर्ड पनि बनाए।

“करणको एकै खेलमा पाँच विकेट प्लस ह्याट्रिक, क्रिकेटमा हुने निकै ठूलो उपलब्धि हो।” करणको रकेर्डबारे नेपालका कप्तान सन्दीप लामिछानेले दिएको प्रतिक्रिया हो यो।

उनले पीएनजीसँगको इनिङको अन्तिम ओभरमा लगातार तीन विकेट लिएका थिए। नेपाली क्रिकेटमा राष्ट्रिय पुरुष टिममा यो दोस्रो ह्याट्रिक थियो। यसअघि शक्ति गौचनले सन् २०१२ मा विश्वकप छनोटमा डेनमार्क विरुद्ध पहिलो ह्याट्रिक लिएका थिए। तर त्यो बेलमा नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी र एकदिवसीय मान्यता पाएपछिको करणकोे ह्याट्रिक नै पहिलो हो। यसै खेलमा उनले ३.४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चेर पाँच विकेट लिएका थिए। यसअघिको नेपालका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा बलिङमा उत्कृष्ठ रेकर्ड वसन्त रेग्मीको नाउँमा थियो। उनले सन् २०१५ को विश्वकप छनोटमा हङकङविरुद्ध चार ओभरमा १६ रन खर्चेर सर्वाधिक चार विकेट लिएका थिए।

यो सिरिजबाट करण टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि ५० विकेटको कोशेढुंगा पूरा गर्ने कप्तान सन्दीप लामिछाने पछिका दोस्रो खेलाडी बनेका छन्। एकै ओभरमा सर्वाधिक रनको रेकर्ड
पीएनजीसँगको दोस्रो खेलमा नै नेपाली ब्याटिङले अर्को एउटा शानदार रेकर्ड राख्यो। रेकर्ड थियो एकै ओभरमा प्रहार गरेको सवार्धिक ३२ रनको। नेपालले एकै ओभरमा जोडेको यो हालसम्मकै सर्वाधिक ठूलो स्कोर थियो।

दीपेन्द्र र डेब्यू म्याच खेलिरहेका युवा ब्याटर आदिल अन्सारीले खेलको १९ औ ओभरमा चार छक्का मद्दतले ३२ रन बनाएका थिए। एकै ओभरमा प्रहार गरेको ३२ रन विश्व क्रिकेटमै हालसम्मकै तेस्रो ठूलो रनसंख्या हो।

यसै सिरिजमा नेपालले पीएनजीलाई पहिलो पटक टी–ट्वान्टी अन्तर्राष्ट्रियमा लगातार तीन खेलमा हराएको थियो भने नवकप्तान सन्दीप लामिछानेको कप्तानीमा पहिलो उपाधि पनि जितेको थियो।

एकदिवसीय सिरिजमा पनि कम थिएन कीर्तिमान

नेपालको कीर्तिमानको श्रृंखलाको सुरुआत त यो टी–ट्वान्टी सिरिजअघिको पीएनजीसँगको एकदिवसीय (ओडीआई) सिरिजबाट नै भएको थियो। यो नै नेपालले पहिलो पटक आयोजना गरेको एकदिवसीय सिरिज थियो भने नेपालले एकदिवसीय सिरिज हारेको पनि पहिलो पटक नै थियो।

तर सिरिज गुमाए पनि नेपाली खेलाडीहरूले धेरै रेकर्ड बनाए। पहिलो खेलमा नै १९ वर्षिय युवा ब्याटर रोहित कुमार पौडेलले कीर्तिमान रचे। रोहितले ओडीआई म्याचमा नेपालका लागि एकै इनिङमा उच्च रन जोड्ने खेलाडीको रेकर्ड बनाएका थिए।

उनले पारसको नाउँमा रहेको सर्वाधिक ११५ रनको रेकर्ड तोड्दै १०७ बलमा सात चौका र चार छक्कासहित सर्वाधिक १२६ रन जोडेका थिए। साथै रोहित नेपालको लागि ओडीआईमा शतक प्रहार गर्ने दोस्रो खेलाडी पनि बने।

त्यस्तै रोहित यसै सिरिजमा नेपालको लागि ओडीआईमा सर्वाधिक रन जोड्ने खेलाडी पनि बने। उनले ज्ञानेन्द्र मल्लको नाउँमा रहेको ४८० रनको रेकर्ड तोड्दै सर्वाधिक ६२३ रन बनाए। उनी ओडीआईमा नेपालका लागि ५०० रन पूरा गर्ने पहिलो ब्याटर पनि बने।

सिरिजको पहिलो खेलमा नै नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) इतिहास कै हालसम्मकै सबैभन्दा ठूलोे २८६ रनको स्कोर पनि बनाएको थियो।

कीर्तिमानी साझेदारी

सिरिजको दोस्रो खेलमा दीपेन्द्रले युवा ब्याटर देब खनालसँग मिलेर नेपालको ओडीआई इतिहासमै सबैभन्दा ठूलो साझेदारीको रेकर्ड बनाएका थिए। यी दुईले तेस्रो विकेटको लागि सर्वाधिक १२९ रनको साझेदारी गरे। जुन कुनै पनि विकेटको लागि नेपली टिमले गरेको उच्च साझेदारी हो।

रोहित पौडेल र आरिफ शेखले सिरिजको पहिलो खेलमा पाँचौं विकेटको लागि गरेको सर्वाधिक १०४ रनको साझेदारीलाई लगतै अर्को खेलमा दीपेन्द्र र देबको जोडीले तोडेको थियो।

सन्दीपको रेकर्ड

सिरिजको दोस्रो खेलमा कप्तान सन्दीप ओडीआई क्रिकेटमा सबैभन्दा छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो बलर बनेका थिए। उनले २२ ओडीआई खेल खेल्दै ५० विकेट लिए। यो रेकर्डमा सन्दीपअघि श्रीलंकका पूर्वस्पिनर अजेन्था मेन्डिस छन्। मेन्डिसले १९ म्याचमा ५० विकेट पूरा गरेका थिए।

सन् २०१८ मा ओडीआई मान्यता पाएयता नेपालले खेलेको सबै २२ ओडीआई खेल खेल्ने सन्दीप एक मात्र खेलाडी पनि हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved