उमेरले कहाँ छेक्छ र पढ्ने रहर ? सपना पूरा गर्ने माध्यम बन्दैछ प्रेरणा स्कुल

विभिन्न कारणले सानो उमेरमा विद्यालय छोड्न विवश महिलाका लागि पढ्ने रहर पूरा गर्ने र व्यक्तित्व बनाउन फेरि शुरु गर्ने उपयुक्त माध्यम बनिरहेछ, प्रेरणा महिला माध्यमिक विद्यालय।

उमेरले कहाँ छेक्छ र पढ्ने रहर ? सपना पूरा गर्ने माध्यम बन्दैछ प्रेरणा स्कुल

काठमाडौं। उमेरले पचास पुग्नै लाग्दा पनि महोत्तरीकी भक्तकुमारी मगरको स्कुल जाने रहर अपुरै थियो। त्यसो त उनले रहर पूरा गर्ने प्रयत्न नगरेकी पनि होइनन्। तर जिन्दगीका बाध्यता सधैँ बार बनिरहे। तेस्रो प्रयासमा बल्ल उनी स्कुल भर्ना भइन्।

अहिले उनी हुन्, काठमाडौं सातदोबाटोस्थित प्रेरणा महिला माध्यमिक विद्यालयकी विद्यार्थी हुन्। कक्षा आठ। उमेर ४८।

बाल्यकालमा छुटेको पढाई उमेरको सिँढी चढ्दै गर्दा पूरा गर्दैछिन् उनी। उनी विद्यालय नगएकी भने होइनन्। बुवा प्रधानपञ्च थिए। घरमा नै दुईजना शिक्षक पनि थिए। तर पारिवारिक कलहका कारण पढ्न नसकेको सुनाउँछिन् उनी। बुवाले दुईओटा आमा बिहे गरेका थिए। दुई आमाबीचको झगडाका कारण उनको पढाईको सिलसिला रोकियो।

“हामी ६ जना छोराछोरीमा कान्छो भाई र कान्छी बहिनीले मात्र पढाईलाई निरन्तरता दिए अरू सबैको बिग्रियो। घरमा पढ्ने वातावरण नहुँदा सबैले चार, पाँचसम्म पढेर छोड्यौँ”, उनी सुनाउँछिन्।

 

त्यसरी पढ्न छोडेकी भक्तकुमारीलाई कहाँबाट पलायो त पढ्ने चाह ?

“छोराछोरी हुर्काउने बेलामा”, उनको जवाफ छ।

२१ वर्षको उमेरमा विवाह भएको थियो उनको। दुई सन्तान भए। सानोमा उनीहरूलाई गृहकार्य गराउनुपथ्र्यो। नेपाली र गणित त सिकाउँथिन्, अंग्रेजी गाह्रो भयो।

“त्यतिबेला छोराछोरी पढाउन आफूले पनि पढ्नुपर्दोरहेछ भन्ने लाग्यो” उनले सुनाइन्।

त्यसपछि पढ्न निकै प्रयास गरिन् उनले। तर घरव्यवहार, सासुससुरा, छोराछोरीको स्याहार गर्दागर्दै आफूलाई समय दिनै भ्याइनन्। २०६३ सालमा पहिलोपटक भर्ना भएकी थिइन् तर समय निकाल्नै सकिनन्। फेरि भर्ना भइन्। त्यतिबेला पनि त्यस्तै भयो।

अहिले छोरी एमबीबीएस पास भइसकेकी छन्। छोरा ब्याचलर पढ्दैछन्। छोरा–छोरी आफ्नो काम गर्न सक्ने भएकाले पढ्ने रहर पूरा गर्न थालेको उनी बताउँछिन्। पढ्ने जोश यस्तो छ, रातको ११ बजेको पत्तै पाउँदिनन्।

भक्तकुमारीजस्तै उमेरको उकालोमा स्कुल गइरहिछन् ललितपुर सुनाकोठीकी सुकमाया लिम्बु पनि। ५२ वर्षकी उनी अहिले नेपाली र अंग्रेजी वर्णमाला सिकिरहिछन्।

सानोमा उनले पढ्न नपाउनुको कारण भने सामाजिक चेतना हो।

“उतिबेला छोरीले पढे बिग्रिन्छन भनेर घरायसी काममा दलाउँथे, छोराले मात्र स्कुल देख्न पाउँथे”, झण्डै पाँच दशकअघिको समय स्मरण गर्छिन् उनी, “दाईहरू स्कुल जाँदा आफुलाई पनि रहर लाग्थ्यो। कतिपल्ट घरमा स्कुल जान्छु भनेर झगडा गरे पनि पढ्न पाइएन।”

दाजुभाई स्कुल गएको देख्दा मन खिन्न बनाउँदै घाँसदाउरा गर्न गएको सम्झिन्छिन् उनी। घरमा पाँचजना दिदीबहिनी काममा, दाजुभाइ स्कुलमा। नमिठो छ उनको स्मृति।

प्रेरणा महिला माध्यमिक विद्यालयको कक्षा एककी विद्यार्थी हुन् उनी। विद्यालय भर्ना भएको दुई महिनामा नेपाली पढ्न सक्ने भएकी छन्।

“स्कुल जाँदा के हुने रहेछ भनेर आएँ। अहिले वान, टु, टेनसम्म लेख्न सक्छु नेपाली अक्षर खरर पढ्न सक्छु”, खुशी हुँदै सुनाउँछिन् उनी।

बाल्यकालमा पढ्न नपाए पनि अहिले विद्यालय आउँदा निकै खुशी लागेको उनी बताउँछिन्।

“सिक्ने कोशिस गरिरहेको छु। सिकाइको बाधक उमेर होइन, जहिले पनि सिक्न सकिन्छ,” उनी भन्छिन्, “अहिले नेपाली पढ्न त्यति समस्या छैन। अंग्रेजी पढ्न निकै सास्ती भएको छ। गणितमा अहिलेसम्म जोर घटाउ सिकेका छौं त्यसमा कुनै समस्या छैन। गुणान भाग चाहि पढेको छैन।  विज्ञान पढेकै छैन।”

कम्तिमा फेसबुकमा  आफैले फोटो राख्नसक्ने हुने मन छ सुकमायाको।

प्रेरणा महिला स्कुलमा पढ्ने यी दुई महिला प्रतिनिधि पात्र मात्र हन्। अहिले यस विद्यालयमा दुई सय ५० भन्दा बढी १४ वर्ष माथिका महिला पढ्न आउने गरेको विद्यालयको संस्थापक सदस्य तथा शिक्षक प्रमिला शर्मा चालिसे बताउँछिन्।

१४ वर्ष नाघेका महिलालाई शिक्षा दिने उदेश्यले १५ वैशाख २०५५ प्रेरणा महिला माध्यमिक विद्यालय सञ्चालनमा ल्याएको शिक्षक शम्भु प्रसाद अर्याल बताउँछन्। चालु शैक्षिक सत्रबाट कक्षा ११ को पनि पढाइ शुरु भएको उनले बताए।

विद्यालयले केवल उमेर बढिसकेका महिलालाई पढाउने काम मात्र गरेको छैन। सकेसम्म महिलामैत्री बनाउन प्रयास गरेको शिक्षक अर्याल बताउँछन्।

“हामी विद्यार्थीलाई गृहकार्य दिदैनौं। गृहकार्य भ्याउनेलाई मात्र दिने हो। नभ्याउनेलाई कक्षाकोठामा नै लगाउने। कक्षाकोठामा हामि बढी अभ्यास गराउँछौं”, अर्याल भन्छन्।

शिक्षक प्रमिलाको मत पनि उस्तै छ। साना बालबालिकाको तुलनामा उमेर नाघेका महिलालाई बुझाउन समय बढि लाग्ने उनी बताउँछिन्। भन्छिन्, “उहाँहरूले घरमा पढाईलाई समय दिन पनि पाउनुहुदैँन। त्यसैले छिट्टो सिकाई नहुने रहेछ ।” लेख्न पनि उहाँहरूलाई अलि समस्या नै हुने उनी बताउँछिन।

उनका अनुसार पहिला साक्षरमात्र हुन आउने विद्यार्थी धेरै हुन्थे, अहिले कलेजसम्म पढ्छु भनेर आउनेहरू पनि छन्।

गैरसरकारी संस्था ‘विकासमा महिला सशक्तिकरण केन्द्र’ अन्तर्गत यो विद्यालय दर्ता भएको छ। २५ वर्षअघि चार जना महिलाले यो विद्यालय शुरु गरेका थिए। शुरुमा २५ जना विद्यार्थी रहेकोमा अहिलेसम्म विद्यालयबाट करीब पाँच सय महिला पढिसकेका छन्। २०५९ सालदेखि एसएलसी (हालको एसईई) मा विद्यार्थी सहभागी गराएको विद्यालयका विद्यार्थीले माथिल्लो तहसम्म पढेर निजामति क्षेत्र र गैरसरकारी संस्थाहरूमा काम गरिररहेका पनि छन्।

“हाम्रो विद्यार्थी नविना ताम्रकार राष्ट्र बैंकको अधिकृत हुनुहुन्छ। कुमारी महरा राष्ट्रिय मानव अधिकार आयोगको अधिकृत हुनुहुन्छ। सबै क्षेत्रको महिला समेट्ने हिसाबले खोलिएको यस स्कुल समावेशी छ”, शिक्षक अर्याल भन्छन्।

विद्यालयमा नै स्नाकोत्तर तहसम्म पढाउने योजना बनाएको उनले बताए। “विद्यालयमा भौतिक पुर्वाधार अभाव छ। सरकारले जग्गा मिलाएर भवन बनाइदिए निःशुल्क पढाउन सकिन्छ,” उनी भन्छन्, “अहिले १० प्रतिशत विद्यार्थीलाई  छात्रवृत्ति दिएका छौं। राज्यले अहिले पनि केहि सहयोग गरेको छ तर पर्याप्त छैन।”

कक्षा नौ र दशको मासिक शुल्क एक हजार रुपैयाँ रहेको यो विद्यालयमा अहिले १६ जना शिक्षक छन्। बिद्यालयमा बिहान र बेलुका गरी दुई सत्रमा पढाइ हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved