मौका खेर फाल्दा मच्छिन्द्र पराजित

मौका खेर फाल्दा मच्छिन्द्र पराजित

काठमाडौं। “समग्रमा खेलमा हामीले धेरै एट्याक गरेका थियौं। तर गोल गर्ने धेरै मौकाहरू नै खेर फाल्यौं, त्यसैले हार भोगियो,” श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टारसँगको २-० गोलअन्तरको हारपछि मच्छिन्द्र क्लबलका प्रशिक्षक प्रवेश कटुवालको प्रतिक्रिया थियो यो।

फुटबल खेलमा एउटा सामान्य आधारभूत सिद्धान्त छ। खेल जित्नका लागि आफूले गोल गर्ने र विपक्षीलाई गोल गर्नबाट रोक्ने। तर फुटबलको यो दुवै आधारलाई नेपालको शहीद स्मारक ‘ए’ लिग च्याम्पियन मच्छिन्द्र क्लबले मंगलबारको एएफसी कप २०२२ को खेलमा बिर्सियो।

खेलमा मच्छिन्द्रले एकातिर आफूले गोल गर्न पाएका करिब एक दर्जन उत्कृष्ठ अवसरहरूलाई सदुपयोग गर्न सकेन भने अर्कातर्फ विपक्षी टिमबाट दुवै गोल कमजोर डिफेन्सका कारण खायो।
दुवै आधारमा फेल भएपछि पहिलो पटक एएफसी कप खेल्न पाएको मच्छिन्द्रको यात्रा प्रारम्भिक चरणको पहिलो छनोट खेलबाट नै समाप्त भएको छ।

गत महीना सम्पन्न लिगमा अपराजित रहेको मच्छिन्द्रले दशरथ रंगशालामा मंगलबार भएको खेलमा भने घरेलु मैदानको फाइदा उठाउन सकेन। श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टारले खेलको १५ औंं मिनेटमा नै अग्रता लिने सुनौलो मौका पाएको थियो। तर ओम्बेबेको पेनाल्टी प्रहारलाई मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे।

मच्छिन्द्रका डिफेण्डर देबोन्द्र तामाङले पेनाल्टी बक्सभित्र फरवार्ड सेनल सन्देशलाई लडाएपछि ब्लु स्टारले पेनाल्टी पाएको थियो। यसपछि खेलको २५ मिनेटमा ब्लु स्टार खाता खोल्न सफल भयो। मोहमद फसलको किक फ्रिकिक बलमा फरवार्ड मोहमद इसानले डिफेण्डरलाई पछि पार्दै क्लोज रेन्जबाट गोल गरे।

यसको तीन मिनेटपछि नै ब्लु स्टारले अग्रता दुगुना पार्‍यो। २८ औंं मिनेटमा मच्छिन्द्रको कमजोर डिफेण्डसको फाइदा उठाउँदै ब्लु स्टारका फरवार्ड सेनल सन्देशले पेनाल्टी बक्सभित्रबाट आकर्षक गोल गरे।

मच्छिन्द्रले भने प्राप्त केही राम्रा मौका सदुपयोग गर्न नसक्दा पहिलो हाफमा गोल फर्काउन सकेन। पहिलो हाफमै २-० ले पछि परेपछि दोस्रो हाफमा मच्छिन्द्र केही आक्रामक देखिन्थ्यो। तर पहिलो हाफमा जस्तै दोस्रो हाफमा पनि मच्छिन्द्रको गोल गर्ने मौका खेर गयो।

४९ औंं मिनेटमा सुनिल बलको फ्रिकिक प्रहार क्रसबारमा लागेर बाहिरियो। यसपछि ५६ औं मिनेटमा कर्नर बलमा कप्तान सुजल श्रेष्ठले फ्रि हेडर मार्फत गोल गर्ने धेरै राम्रो मौका सदुपयोग गर्न सकेनन्।
६६ औं मिनेटमा मच्छिन्द्र दुर्भाग्यमानी साबित भयो। फरवार्ड विमल घर्तीमगरको क्लोज हेडर पोलमा लागेर फर्कियो। यसपछि रिबाउण्डमा किप्पर ‘बिट’ भइसकेको अवस्थामा छिरिङ गुरुङको प्रहारलाई अन्तिम लाइनमा ब्लु स्टारका डिफेण्डरले बचाए।

७७ औं मिनेटमा रन्जित धिमालको क्रसमा कप्तान सुजल श्रेष्ठले खाली पोष्टमा हानेको हेडर पनि बाउन्स भएर पोष्ट माथिबाट बाहिरियो। यसपछि खेलमा थप गरिएको चार मिनेटको अतिरिक्त समयको पनि अन्तिम मिनेटमा मनिष डाँगीको लामो क्रसमा हेडर गोल गर्दै कप्तान सुजलले मच्छिन्द्रलाई २–१ मा पुर्‍याएका थिए।

तर गोललगत्तै फाइनल सिटी बजेपछि मच्छिन्द्रले बराबरी गोल फर्काउने अर्को मौका नै पाएन। खेलको ९० मिनेटमा पाएका अनगिन्ती मौका खेर फाल्नु नै मच्छिन्द्रको हारको कारण बन्यो।

अघिल्लो दिन पत्रकार सम्मेलनमा मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले प्रारम्भिक चरण पार गरेर समूह चरणमा पुग्ने लक्ष्य रहेको बताएका थिए। तर वानअफ म्याच हारेपछि यसपटकलाई मच्छिन्द्रका एएफसी कपको यात्रा यतिमै रोकियो।

गत महीना सम्पन्न लिगमा सानदार प्रदर्शन गरे पनि लिगपछि मोफसलमा भएका नकआउट प्रतियोगितामा भने मच्छिन्द्रले लिगकोे लयलाई गुमाएको थियो। पोखरामा भएको आहारारा गोल्डकप र धनगढीमा भएको खप्तढ गोल्ड कपमा मच्छिन्द्रले फाइनलसम्मको यात्रा पनि तय गर्न सकेको थिएन।

त्यस्तै सलार्हीमा भएको राजर्षी जनक कपमा फाइनलमा पराजित भएको थियो।

अघिल्लो साता थाइल्याण्डमा नेपाली राष्ट्रिय टिमले दुई मैत्रीपूर्ण खेल खेलेको थियो। यसै प्रतियोगिताको तयारीका लागि मच्छिन्द्रले भने सो खेलका लागि आफ्नो क्लबमा रहेका राष्ट्रिय टिमका सदस्यलाई पनि पठाएको थिएन।

यो वर्षको ‘ए’ डिभिजन लिगमा सातौँ चरणको खेल सकिँदासम्म लिगको शीर्ष स्थानमा रहेको आधारमा मच्छिन्द्र क्लब एएफसी कपको लागि छनोट भएको थियो। अन्त्यमा मच्छिन्द्रले अपराजित रहँदै दुई खेल खेल्नु अगावै ‘ए’ डिभिजन लिग उपाधि पक्का गरेको थियो।

लिग उपाधि जित्दा १३ खेलमा ११ जित र दुई बराबरीपछि ३५ अंकसहित मच्छिन्द्रले दोस्रो स्थानमा रहेको नेपाल आर्मी क्लबमाथि १२ अंकको अग्रता कायम गरेको थियो।

मच्छिन्द्रले एशियाली फुटबल महासंघ (एएफसी) को क्लबस्तरिय प्रतियोगिता एएफसी कप खेलेको यो पहिलो पटक हो। मच्छिन्द्र गत वर्षको लिगको पनि च्याम्पियन क्लब थियो। तर लिग विजेता बनेर पनि एएफसीको क्लब लाइसेन्स नभएका कारण मच्छिन्द्रले गत वर्ष एएफसी कप खेल्न पाएको थिएन।

उसको ठाउँमा लिगको उपविजेता नेपाल आर्मी क्लबले एएफसी कप खेल्न पाएको थियो। आर्मीले भने दशरथ रंगशालामा नै भएको गत वर्षको छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा श्रीलंकाकै अर्को टिम श्रीलंकन पुलिसलाई नै ५-१ हराएको थियो । तर दोस्रो खेलमा भारतको क्लब बैंग्लुरुविरुद्ध ५-० ले पराजित भएपछि प्लेअफमा पुग्न असमर्थ भएको थियो।

एएफसी कपमा नेपाली क्लबको सबैभन्दा राम्रो प्रदर्शन भनेको समूह चरणसम्मको यात्रा हो। मनाङ मर्स्याङ्दी क्लब एएफसी कपको समूह चरणमा प्रतिस्पर्धा गर्ने एक मात्र नेपाली क्लब हो।

सन् २०१९ मा शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेर मनाङले सीधै समूह चरणमा प्रवेश पाएको थियो। समूह चरणमा २ बराबरी खेलेको मनाङ ४ खेलमा पराजित भएपछि समूहको अन्तिम स्थानमा रहेका थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved