दीपेन्द्रको अलराउण्ड प्रदर्शनले नेपाललाई उपाधि

पाँचौँ ओभरमा दीपेन्द्रले लगातार दुई विकेट लिए। कप्तान आसाद भालालाई आठ रनमा एलबीडब्लू धरापमा पारेका उनले खतरनाक ब्याटर टोनी उरालाई डकआउट गरे। २५ रनमै तीन विकेट गएपछि पीएनजीको इनिङ संकटमा पर्‍यो। १० औँ ओभरमा पीएनजीका अर्का राम्रा ब्याटर चार्ल्स आमिनीलाई पनि दिपेन्द्रले आउट गरेपछि खेल नेपालतर्फ ढल्केको थियो।

दीपेन्द्रको अलराउण्ड प्रदर्शनले नेपाललाई उपाधि

काठमाडौं। नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो उपाधि जितेको छ।  त्रिदेशीय टी २० क्रिकेट शृंखलाको फाइनल खेलमा मात्र होइन पूरै प्रतियोगिता भरी दीपेन्द्र सिंह ऐरीले उत्कृष्ठ अलराउण्ड प्रदर्शन गरेपछि नेपालले अविजित रहँदै ट्राई नेसन्स टी-ट्वान्टी सिरिजको उपाधि उचाल्यो।

यसअघिको दुई म्याचको एकदिवसीय सिरिज पीएनजीसँग २-० ले गुमाए पनि घरेलु टी-ट्वान्टी सिरिजमा भने नेपालले पाँच खेल नै जित्यो। फाइनल जितेपछि नेपाली टिममा कप्तान सन्दीप लामिछानेले भने,“धेरै खुशी छु कि नेपाली टिमले सोचे जस्तो प्रतियोगिता खेल्न सक्यो। भविष्यमा ठुला उपलब्धि पाउनको लागि यो शुरुआत मात्र हो।”

सोमबार टीयू खेल मैदानमा भएको फाइनल खेलमा नेपालले पीएनजीलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्‍यो। यो फाइनलको जितसँगै नेपालले पीएनजीसँग एकदिवसीय सिरिजको हारको बदला पनि लिएको छ। साथै नेपाल पीएनजीलाई पहिलोपटक लगातार तीन टी-ट्वान्टी खेलमा हराउन पनि सफल भयो।

नेपालको जितमा ब्याटिङमा अर्धसतकीय पारी खेलेका दीपेन्द्रले बलिङमा चार विकेट लिए। एक सय ६९ रनको लक्ष्य दिएको नेपालले उत्कृष्ट बलिङमा पीएनजीलाई १७ औँ ओभरमा नै मात्र ११८ रनमा अलआउट गर्‍यो।

यो कम लक्ष्य डिफेण्ड गर्न बलरसँगै १२ औ खेलाडीको रूपमा नेपाली समर्थकको पनि राम्रै साथ थियो। नेपाली टिमलाई समर्थन गर्न मैदानमा १० हजार बढी समर्थकको उपस्थिति थियो।

“नेपालको तर्फबाट उपाधि जित्नु मेरा लागि सधैँ विशेष अनुभव रहने गर्छ, किनकि यहाँ नेपाली समर्थक सधैँ हाम्रो साथमा हन्छन्,” उपाधि जितेपछि नेपाली टिमका प्रशिक्षक पुबुदु दासनायकेले बताए।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १६८ रनको मध्यम योगफल तयार पारेको थियो। नेपालले शुरुआत राम्रो गरेन। पहिलो ओभरदेखि नै आक्रामक खेल खेलेको नेपालको ६ ओभरको पावर प्लेमा दुई विकेट गयो। पाँचौँ ओभरमा ओपनर कुशल भुर्तेल २२ बलमा पाँच चौकाको मद्दतले २५ रन जोड्दै क्याच आउट भए। यो घरेलु सिरिजमा खराब फर्ममा रहेका कुशलको सिरिजभरिकै यो उच्च स्कोर हो।

लगत्तै अर्को ओभरमा रोहितकुमार पौडेल पनि दुई रनमा क्याच आउट भए। ४४ रनमा दुई विकेट गएपछि नेपाल दबाबमा परेको थियो। नेपाली ब्याटरलाई लामो पारी खेल्नुपर्ने खाँचो थियो। अर्का ओपनर आशिफ शेखले दीपेन्द्र सिंह ऐरीसँग मिलेर सम्हालिएर ब्याटिङ पनि गरिरहेका थिए। तर १२ औँ ओभरमा नेपालले लगातार तीन विकेट गुमायो। आफ्नो अन्तिम ओभरमा पीएनजीका फाष्ट बलर सेमो कामियाले तीन विकेट मेडन ओभर गरे।

आशिफ २९ बलमा २९ रन जोड्दै क्याच भए। यसपछि आएका आसिफ शेख र दिलीप नाथ दुवै डकआउट हुँदा ८२ रनमा नेपालले पाँच विकेट खेर फाल्यो। यसपछि १६ औँ ओभरमा आदिल अन्सारी पनि १५ रनमा पेभोलिएन फर्किँदा नेपालको स्कोर ११४ थियो। नेपालको इनिङ फस्न पनि सक्थ्यो। तर दीपेन्द्र सिंह ऐरीले करण केसीसँग मिलेर अविजित रहँदै ५४ रनको साझेदारी गर्दै नेपालको इनिङलाई फाइटिङ टोटल स्कोरसम्म पुर्‍याएका थिए।

आक्रामक ब्याटिङ गरेका यी दुईले अन्तिम चार ओभरमा ५४ रन जोडे। करणले विष्फोटक पारी खेल्दै मात्र १२ बलमा पाँच चौका र एक छक्काको मद्दतले अविजित ३३ रन जोडेका थिए।

कीर्तिमानी दीपेन्द्र बने प्लेएर अफ दी सिरिज

दीपेन्द्रले ३८ बलमा पाँच चौकाको सहयोगमा अविजित ५४ रनको योगदान दिए। जारी सिरिजमा उनको यो दोस्रो अर्धसतक हो। त्यस्तै सिरिजमा उनले अर्को एक सतक पनि बनाएका थिए।

यसै फाइनल खेलबाट दीपेन्द्र टी-ट्वान्टी अन्तर्राष्ट्रियमा एक हजार रनको कोशेढुंगा पार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। फाइनल खेलमा २१ रन जोडेपछि उनको एक हजार रन पूरा भएको हो। उनले ३९ खेलमा यो रन पूरा गरेका हुन्।

यसै सिरिजका दौरान उनले पूर्वकप्तान पारस खड्काको नाममा रहेको टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलको सर्वाधिक सात सय ९९ रनको रेकर्ड तोडेका थिए। यो सिरिजमा राम्रो फर्ममा रहेका उनले करियरको पहिलो टी-ट्वान्टी सतक पनि बनाएका थिए। यो अर्धसतकसँगै उनको रन संख्या एक हजार ३३ भएको छ।

“दीपेन्द्र हाम्रो टिममा उत्कृष्ट प्रतिभा हुन् जसले म्याच जिताउने तागत राख्छन्,”खेलपछि प्रशिक्षक पुबुदु दासनायकेले बताए। दीपेन्द्रले नै फाइनल खेल र सिरिजकै उत्कृष्ट खेलाडीको उपाधि जिते। उनले प्रतियोगिताभरि २५५ रन जोडेका थिए भने सात विकेट लिएका थिए। फाइनल खेलमा पनि उनले अविजित ५४ रनसहित चार विकेट लिए।

पीएनजीसँगको अघिल्लो खेलमा ह्याट्रिकसहित पाँच विकेटको रेकर्ड बनाएका करण केसीले उत्कृष्ट बलरको उपाधि पाए। उनले सिरिजमा पाँच खेलमा सर्वाधिक १३ विकेट पनि लिएका थिए।

फाइनलमा शानदार बलिङ

जवाफमा एक सय ६९ रनको मध्यम लक्ष्य दिएको नेपालले बलिङमा राम्रो प्रदर्शन गर्‍यो। पावर प्लेमा नै नेपालले पीएनजीको तीन विकेट झार्‍यो। तेस्रो ओभरमा करण केसीले ओपनर लेगा सियाकालाई मात्र आठ रनमा क्याच आउट गरे।

पाँचौ ओभरमा दीपेन्द्रले लगातार दुई बलमा दुई विकेट लिए। कप्तान आसाद भालालाई आठ रनमा एलबीडब्लू धरापमा परेका उनले खतरनाक ब्याटर टोनी उरालाई डकआउट गरे।

मात्र २५ रनमा शुरुआती तीन विकेट गएपछि पीएनजीको इनिङ संकटमा पर्‍यो। १० औँ ओभरमा पीएनजीका अर्का राम्रा ब्याटर चार्ल्स आमिनीलाई पनि दीपेन्द्रले नै १५ रनमा आउट गराएपछि खेल नेपालतर्फ ढल्केको थियो।

१३ औँ ओभरमा सन्दीपले लगातार दुई विकेट लिएपछि खेल पीएनजीको हातबाट फुत्कियो। सन्दीपले हेकुरेलाई ६ रनमा आउट गर्दा नोर्मन भानुवा डकआउट भए। मात्र ८७ रनमा पीएनजीको ६ विकेट गुमायो।

अर्को ओभरमा चाद सोपरलाई आउट गर्दै दीपेन्द्रले चार विकेट पूरा गरे। फाइनलमा शानदार ब्याटिङसँग उत्कृष्ठ बलिङ गरेका दीपेन्द्रले चार ओभरमा मात्र १८ रन खर्चेर चार विकेट नै लिएका थिए।

पीएनजीका लागि टिकेर आक्रामक खेल खेलिरहेका एक मात्र ब्याटर सेसे बाउ थिए। तर उनलाई साथ दिने कोही भएन। करण केसीले १६ औ ओभार अर्धसतकिय पारि खेलेका बाउलाई पनि आउट गरेपछि खेल नेपालको पक्षमा आएका थियो।
बाउले ३८ बलमा ६ छक्काको सहयोगमा ५९ रन जोडेका थिए। बलिङमा करणले थप तीन र सन्दीपले दुई विकेट लिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved