सुस्ताएको मैथिली कला र साहित्यिक गतिविधि जुर्मुराउँदै

नेपालभ्युज

सुस्ताएको मैथिली कला र साहित्यिक गतिविधि जुर्मुराउँदै

जनपुरधाम। जनकपुरधाममा सुस्ताएको पछिल्लो केही समयदेखि कला र साहित्यसम्बन्धी गतिविधि विस्तारै बढ्न थालेको छ। आवश्यक संरक्षण र सम्वद्र्धनको अभाव तथा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणलगायत कारण सुस्ताएको मैथिली कला, संस्कृति र साहित्यसम्बन्धी गतिविधि साहित्यकार तथा संस्कृतिकर्मीको सक्रियतामा बिस्तारै लयमा फर्किन थालेको हो।

“कोरोनाका कारण गतिविधि केही वर्षदेखि ठप्प जस्तै थियो”, साहित्यकार एवं पत्रकार श्यामसुन्दर शशीले भने, “विस्तारै गति लिन थालेको छ।”

मिथिला कला, संस्कृति र साहित्यको संरक्षण सम्वद्र्धनका लागि राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ। मैथिली नाट्य कलापरिषद् र मैथिली विकास कोषले जनकपुरधाममा वर्षेनी विभिन्न कार्यक्रम गर्दै आएको थियो। “कोभिड–१९ को त्रास कम भएसँगै संस्थाको सक्रियता बढेको छ”, शशीले भने।

मैथिली कला, साहित्य र संस्कृतिको उर्वरभूमि मानिएको जनकपुरधाममा कला, साहित्य र संस्कृतिसम्बन्धी कार्य नहुँदा निराश बनेका कलाकार, साहित्कार र सङ्गीतकार पछिल्लो सक्रिय गतिविधिका कारण उत्साहित बनेका छन्। पत्रकार एवं साहित्यकार हिमांशु चौधरी बिस्तारै गति लिएको कला, साहित्यको गतिविधिले उत्साह बढाएको बताउँछन्।

एक महिनाको अवधिमा जनकपुरधाममा दुई साहित्यिक महोत्सव सम्पन्न भएका छन्। यही चैत २३ गतेदेखि कला, साहित्य र नाट्य महोत्सव हुन लागेको छ।

तीन दिनसम्म चल्ने सो महोत्सव जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गणमा आयोजना हुने छ। महोत्सवको पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम तय भएको कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved