काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबले एएफसी कपको प्रारम्भिक चरणको पहिलो खेलमा मंगलबार श्रीलंकाको ब्लूस्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ। मछिन्द्रले खेल घरेलु मैदान दशरथ रंगशालामा नै खेल्दैछ।
यसै वर्षको ‘ए’ डिभिजन लिगमा सातौँ चरणको खेल सकिँदासम्म लिगको शीर्षस्थानमा रहेको आधारमा मछिन्द्र क्लब एएफसी कपको लागि छनोट भएको थियो। अन्त्यमा लिगको उपाधि पनि मछिन्द्रले नै जित्यो। ब्लूस्टार श्रीलंकाको सुपर लिग च्याम्पियन हो।
खेल नेपाली समयअनुसार साझ पाँच बजे हुनेछ। मछिन्द्रले लिग खेलेको टिममा कुनै परिवर्तन गरेको छैन। सोमबारको पत्रकार सम्मेलनमा मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले प्रारम्भिक चरण पार गरेर समूह चरणमा पुग्ने लक्ष्य रहेको बताए। उनले भने, “हामी लिग शुरु भएदेखि नै एएफसी कपको तयारीमा थियो। लिग डिफेण्ड गर्ने र एएफसी कप खेल्ने हाम्रो शुरुदेखिकै प्लान हो। त्यहीअनुसार गत कार्तिकदेखि नै तयारी थियो।”
यदि पहिलो खेलमा ब्लूस्टारलाई पराजित गर्न सके प्रारम्भिक चरणको दोस्रो खेलमा मछिन्द्रको भेट भारतको मोहुन बगान क्लबसँग हुनेछ। उक्त खेल भने २९ चैतमा कोलकतामा हुने तय भएको छ।
दोस्रो खेलमा मोहुन बगानलाई पनि हराउन सके बल्ल मछिन्द्र क्लबले एएफसी कपको मुख्य प्रतियोगिता प्रवेशका लागि प्लेअफमा प्रवेश पाउनेछ। प्लेअफमा प्रारम्भिक चरणको अर्को खेलको विजेतालाई पनि पराजित गर्नसके मात्र मछिन्द्र एएफसी कपको समूह चरणको लागि छनोट हुनेछ।
एएफसी कपमा छनोट हुन सके मछिन्द्र समूह डीमा पर्नेछ। यो समूहमा भारतको गोकुलम केरेला, बंगलादेशको बसुन्धर किंग्स र माल्दिभ्सको माजिया स्पोर्टस रहेका छन्। मछिन्द्रले एशियाली फुटबल माहासंघ (एएफसी) को क्लब स्तरीय प्रतियोगिता एएफसी कप खेल्न लागेको यो पहिलो पटक हो।
मछिन्द्र लिगको गत वर्षको पनि च्याम्पियन क्लब हो। तर एएफसी क्लब लाइसन्स नभएकाले गत वर्ष मछिन्द्रले एएफसी कप खेल्न पाएको थिएन।
Facebook Comment
Comment