चेन होटल शिन्तामणि नेपाल भित्रियो

कम्पनीले न्यूनतम तीन दिनको बुकिङ लिने भएकाले १५ सयदेखि ३ हजार डलरसम्म एउटा कोठाको मूल्य निर्धारण गरी प्याकेज बिक्री हुने जनाएको छ।

नेपालभ्युज

चेन होटल शिन्तामणि नेपाल भित्रियो

काठमाडौं। अन्तर्राष्ट्रिय ‘चेन होटल’का रुपमा रहेको शिन्तामणि होटलले नेपालमा आफ्नो सेवा दिने भएको छ। मुस्ताङकोे चर्चित मोक्ष होटलको व्यवस्थापनलाई शिन्तामणि होटलले लिएको हो।

शेर्पा हस्पिलाटिली ग्रुपअन्तर्गत सञ्चालन भइरहेको मोक्ष होटलको व्यवस्थापन अब शिन्तामणि होटलले गर्ने जनाइएको छ। शिन्तामणि होटलले विश्वका विभिन्न स्थानमा आरामदायी होटल सञ्चालन गर्दै आएको छ। यती समूहअन्तर्गत सञ्चालित विभिन्न होटलमध्ये मोक्ष होटल पनि एक चर्चित होटल मानिन्छ।

शिन्तामणि विश्व बजारमा जंगलका बीचमा महँगो होटल सञ्चालन गरेर ख्याति कमाएको ‘ब्राण्ड’ हो। एक अर्ब १० करोड लगानीमा निर्माण भई सञ्चालनमा रहेको सो रिसोर्टको व्यवस्थापन भने आगामी अक्टोबरदेखि सम्हाल्ने गरी दुई पक्षीय सम्झौता भएको हो।

रिसोर्टको सम्पूर्ण व्यवस्थापन सम्हाल्ने गरी सम्झौता भएको यती ग्रुपका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिए। सो ब्राण्डले खर्चालु पर्यटकका लागि लक्षित गरी निर्माण गरिएका होटल तथा रिसोर्टको व्यवस्थापन सम्हाल्दै आएको छ।

कम्पनीले न्यूनतम तीन दिनको बुकिङ लिने भएकाले १५ सयदेखि ३ हजार डलरसम्म एउटा कोठाको मूल्य निर्धारण गरी प्याकेज बिक्री हुने जनाएको छ। कोठा, हवाई स्थानान्तरण, गतिविधि, स्पा, खाना र पेय पदार्थ सबै प्याकेजमा समावेश हुने बताइएको छ।

अमेरिकन आर्किटेक बिल बेन्स्लीले शिन्तामणि होटल ब्रान्डको शुरुआत गरेका हुन्। कम्बोडियाको जङ्गल पर्यटनमा आफ्नो प्रयोग सफल भएको र नेपालमा पनि सफल हुने उनको विश्वास छ। विश्वभरका पर्यटकलाई थकाइ मार्ने मुख्य गन्तव्य जोमसोम बनाउने उद्देश्यका साथ काम शुरु गरिएको जनाइएको छ।

मोक्ष होटल समुद्री सतहबाट दुई हजार ८०० मिटरको उचाइमा रहेको छ। शिन्तामणि होटलले पछिल्लो समय कम्बोडियामा पनि आरामदायी होटल सञ्चालन गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved