क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार हरिदेवी कोइरालालाई

नेपालभ्युज

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार हरिदेवी कोइरालालाई

तनहुँ। गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिएको छ। व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा शनिबार आयोजित कार्यक्रममा कोइरालालाई उक्त पुरस्कार प्रदान गरिएको हो।

कला संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत गायिका कोइरालालाई उक्त पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए। उक्त पुरस्कारको राशि नगद रु २५ हजार छ।

यसैगरी गीतल राष्ट्रिय पुरस्कार २०७७ कवि प्रोल्लास सिन्धुलीया र २०७८ गायक राज सिग्देललाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि रु सात हजार छ। यस्तै गीतल प्रतिभा पुरस्कार २०७७ लोकगायक शङ्कर परियार र २०७८ लोकगायिका आशा बिसीलाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ।

पुरस्कृत स्रष्टाहरुलाई प्राज्ञ सरुभक्त श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो। कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका सहप्राध्यापक नारायणप्रसाद गौतमद्वारा लिखित महाकाव्य सुनकेशरी विमोचन गरिएको थियो। समालोचक महाप्रसाद हडखले (महेश)ले यस महाकाव्यले नेपाली साहित्यको क्षेत्रमा नयाँ आयाम थपेको बताए।

मञ्चले भाषा, साहित्य र कला संस्कृतिको क्षेत्रमा स्थानीय तथा राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्दै आएको सचिव दिवाकर भट्टराईले जानकारी दिए।

मुटु र मिर्गौलापीडितलाई आर्थिक सहयोग

तनहुँ समाज हङकङले मृटुमा समस्या भएकी बालिका र मिर्गौलापीडित एक महिलालाई आर्थिक सहयोग गरेको छ। दुवै पीडितका परिवारलाई समाजले शनिबार रु तीन लाख ९० हजार सहयोग गरेको हो।

व्यास नगरपालिका–१४ हर्कपुरकी १६ महिने बालिका सविना थापाको उपचारका लागि रु एक लाख ९५ हजार र मिर्गौलापीडित सोही वडाको ठिनकी १९ वर्षीया खुश्वु रानाको उपचारका लागि रु एक लाख ९५ हजार सहयोग हस्तान्तरण गरिएको छ।

सोह्र महिने बालिकालाई जन्मिदै मुटुको समस्या रहेको र उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग गरिएको समाजका निवर्तमान अध्यक्ष भीमराज गुरुङले जानकारी दिए। ती बालिकाको अप्राकृतिकरूपमा मलद्वार र यौनाङ्गसँगै जोडिएकाले उक्त समस्याको शल्यक्रिया गर्नका लागि सहयोग गरिएको उनले बताए।

ती बालिकाको हाल गङ्गालाल हृदयरोग केन्द्र काठमाडौँमा उपचार भइरहेको उनकी आमा तोरन थापाले जानकारी दिनुभयो। छोरीलाई एकैसाथ दुईवटा समस्या देखिएको र घरको अर्थावस्था कमजोर भएकाले सहयोगको याचना गरेको उहाँले बताउनुभयो।

व्यास नगरपालिका–१४ ठिनकी १९ वर्षीया खुश्बुको दुवै मिर्गौलामा समस्या देखिएपछि मिर्गौला प्रत्यारोपणका लागि सहयोगको अपिल गरिएको छ।

हङकङमा विभिन्न सिलसिलामा गएका ४७ जना तनहुँवासीबाट सङ्कलित उक्त रकम पीडितका परिवारलाई हस्तान्तरण गरिएको छ। समाजका निवर्तमान अध्यक्ष गुरुङ र सल्लाहकार पुष्कर लुङ्गेलीले संयुक्तरूपमा पीडितका परिवारलाई हस्तान्तरण गर्नुभएको छ।

उक्त रकम समाजका कोषाध्यक्ष कुशबहादुर थापा र आजीवन सदस्य विक्रम थापाको संयुक्त संयोजकत्वमा सङ्कलन गरिएको संस्थाका सचिव सुवित गुरुङले जानकारी दिनुभयो। वडा कार्यालयको सिफारिससहित पीडित परिवारको अर्थावस्था निकै कमजोर रहेको भन्ने पत्र समाजलाई प्राप्त भएपछि सोहीअनुसार रकम सङ्कलन अभियान सुरु गरिएको उहाँले बताउनुभयो।

रकम हस्तान्तरण गर्दै पूर्वअध्यक्ष गुरुङले गम्भीर रोग लागेका अर्थावस्था कमजोर भएका परिवारलाई समाजले विभिन्न समयमा सहयोग गर्दै आएको बताए। “तनहुँ समाज हङकङमा आबद्ध साथीहरूको सामाजिक कामप्रतिको समपर्ण देखेर म आफूलाई पनि सामाजिक काममा थप लगाव बढेको छ”, उनले भने।

सोही अवसरमा समाजका सल्लाहकार पुष्कर लुङ्गेलीले रोगको प्रकृति र पीडित परिवारको अवस्थाअनुसार सहयोग गर्ने गरेको बताए। तनहुँमा विगतदेखि नै समाजिक सेवा गर्दै आएको समाजले नेपाली दुःख पीडामा परेको खबर प्राप्त भएपछि नेपालीसँग समन्वय गरी कमाइबाटै सहयोग रकम पठाउँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved