युवा छँदा

स्टिफन हकिङ : संकल्पबोधका पर्याय

नेपालभ्युज

स्टिफन हकिङ : संकल्पबोधका पर्याय

‘ना थके कभी पैर
ना कभी हिम्मत हारी है
जज्बा है परिवर्तन का जिन्दगी मे
इस लिये सफर जारी है…।’

यदि यो काव्य-हरफ कुनै महान् व्यक्तित्वको जीवन-सन्दर्भमा लागू हुन्छ भने निःसन्देह रुपमा एक्काइसौं शताब्दीका प्रख्यात भौतिकशास्त्री स्टिफन हकिङको जीवनकथामा लागू हुन्छ। संघर्षशील र संकल्पबोधले भरिपूर्ण उनको जीवनकथा पढ्दा उत्प्रेरित नहुने पंक्ति सायदै होलान्। अझ युवा पुस्ता त झनै धेरै होलान्।

२१ वर्ष अर्थात् युवावस्थाका प्रारम्भिक वर्ष। बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयमा कस्मोलोजीको अध्ययन गरिरहेकै बेला उनी एउटा गम्भीर बिमारीसँग जुध्न बाध्य भए। त्यो रोग थियो- एमियोट्राफिक लेटरल स्किलअरोसिस। त्यो मोटर न्युरोनको अक्षमतासँग सम्बन्धित एक विशेष प्रकारको बिमारी थियो। अहिलेसम्म पनि चिकित्सा-विज्ञान क्षेत्रले उक्त रोगको उपचारको बाटो पहिल्याउन सकेको छैन।

निःसन्देह, स्टिफनले कस्मोलोजी र क्वान्टम ग्राभिटीको क्षेत्रमा धेरैभन्दा धेरै काम गरे। सन् १९६० मा क्याम्ब्रिजमा अध्ययन गर्दाताका नै उनले आफ्ना मित्र रोजर पेनरोजसँग मिलेर महान् भौतिकशास्त्री अल्वर्ट आइन्स्टाइनको ‘जनरल थ्योरी अफ रिलेटिविटी’ बाट एक नयाँ जटिल गणितीय मोडेलको प्रतिपादन गरेका थिए। तिनै दिनमा नै उनी गम्भीर प्रकृतिको बिमारीको सिकार बन्न पुगे।

एकदिन क्याम्ब्रिज विश्वविद्यालयको सिँढीबाट उनी ओर्लिंदै थिए। तत्काल उनलाई महसुस भयो- आफ्नो शरीर बिल्कुलै आफ्नो नियन्त्रणभन्दा बाहिर छ। केही समयपश्चात् नै उनको शरीर सिँढीबाट पल्टिन थाल्यो। उनको टाउकोमा गम्भीर चोटसमेत लाग्यो। त्यो समयसम्म क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापकहरुले उनको अद्भूत प्रतिभालाई चिनिसकेको थियो र उनले कस्मोलोजीको क्षेत्रमा अद्भूत खोज र क्षमता देखाउछन् भन्ने विश्वविद्यालयलाई पूर्णतः विश्वास थियो।

उनको टाउकोमा चोट लागेपछि परीक्षण गरियो। त्यस परीक्षणलाई मेंसा इन्टरनेशनल टेस्ट भनिन्थ्यो। जुन टेस्टमा बुद्धिको क्षमताको जाँच गरिन्थ्यो। परीक्षणपश्चात् चिकित्सकले घोषणा गरे कि- स्टिफनको जीवनयात्रा त्यति लामो छैन, उनी केही दिनका लागि मात्र यो संसारको पाहुना रहने छन्। चिकित्सकले त स्टिफनको आयु नै तोकेर भनिदिएका थिए- ‘उनी २ वा ३ वर्ष मात्र बाँच्ने छन्।’

चिकित्सकले यस्तो घोषणा गर्दा उनी २१ वर्षे कल्कलाउँदो उमेरमा मात्र हिँड्दै थिए। उनलाई लाग्यो- मृत्यु सँघारमै उभिएको छ र त्यसलाई पन्छाउन सकिँदैन। अब स्टिफनसामु दुइटा विकल्प बाँकी रहे। एउटा, चिकित्सकको घोषणा गरेअनुसार मृत्युका दिनहरु कुरेर बस्ने। अर्को, बाँकी जिन्दगी भरपूर आनन्दमा बिताउने। त्यही समय उनको विवाहको समय समेत नजिकिँदै थियो।

चिकित्सकको ‘मृत्यु-घोषणा’ पछि स्टिफन अवसाद (डिप्रेसन) मा फसे। बिमार हुनुपूर्व उनले विद्यावारिधि गर्ने सोच बनाएका थिए। चिकित्सकको घोषणापछि त्यसलाई पनि स्थगित गर्न चाहे उनले। उनले सोचे, ‘यदि चाँडै मर्नु छ भने जिन्दगीका अरु योजना किन बनाउने ?’ उनी चरम अवसादले घेरिन पुगे।

उनीभित्र व्याप्त अवसादको तुवाँलोलाई चिर्न र जिन्दगीमा नौलो उत्साह भर्न तत्पर भइन्, उनकी प्रेमिका जेन। जेनले नै उनीभित्र उत्साह भर्दै भनिन्, ‘भविष्यबारे सोच्नु व्यर्थ छ, वर्तमानमा बाँच्नु पर्छ।’ अन्ततः प्रेमिका जेनको प्रेम र स्नेही व्यवहारले नै उनलाई अथाह उत्साह र जिजिविषा दिलायो र उनले अवसाद र रोगसँग लड्ने निर्णय गरे।

स्टिफनलाई रोगले बिस्तारै च्याप्दै लग्यो। उनका हात-खुट्टा बिस्तारै चल्न छाडे। उनी काम गर्न असक्षम बन्दै गए। एक प्रकारले उनी जीवित लासजस्तै बन्न पुगे। शारीरिक रुपले पूरै असक्षम भए पनि उनी बाँच्न चाहन्थे, मात्र बाँच्न। उनले हिम्मत हारेनन्। शारीरिक अक्षमताले गाँजे पनि उनको तेजिलो मस्तिष्क भने सम्पत्तिको रुपमा रहेको थियो नै। उनले आफ्नो मस्तिष्कलाई बढीभन्दा बढी विज्ञानको क्षेत्रमा उपयोग गर्ने संकल्प गरे। उनले सोचे, ‘अब म यस्तो खोजमा जुट्ने छु, जसले मानव जातिलाई दीर्घकालसम्म फाइदा पुग्नेछ।’

नभन्दै त्यसपछिका दिनमा उनले ब्रम्हाण्डमा रहेको व्ल्याक होलको रहस्य पत्ता लगाउनतिर आफूलाई केन्द्रित तुल्याउन थाले। दिनरात त्यही कर्ममा नै आफूलाई निमग्न तुल्याउन थाले।

व्ल्याक होलको रहस्य सुल्झाउने क्रममा उनले धेरै नै मस्तिष्क खियाए। उनले ब्रेंडन कार्टर, वर्नर इजरायल र डी. रविन्सनसँग मिलेर जोन व्हिलरको नो-हेयर थ्योरमका गणितीय हल प्रस्तुत गरे। यसका अनुसार, कुनै पनि व्ल्याक होलको व्याख्या तीन विन्दुअन्तर्गत निकाल्न सकिन्छ। प्रत्येक व्ल्याक होलमा द्रव्यमान, कोणीय संवेग र इलेक्ट्रिक चार्ज जस्ता तीन गुण अवश्य नै हुन्छन् र यसैका आधारमा यो रहस्यलाई सुल्झाउन सकिन्छ।

गामा किरणबारे अध्ययन गर्ने क्रममा स्टिफनले बताए- ‘बिग व्याङको घटनापछि साना-साना व्ल्याक होलको निर्माण भएको थियो।’ बारडीन र कार्टरसँग मिलेर उनले व्ल्याक होल मेकानिक्सको सम्बन्धमा चार वटा नियमसमेत प्रतिपादन गरेका थिए। ती नियमलाई थर्मोडायनेमिक्ससँग जोडेका थिए उनीहरुले।

सन् १९७४। जुन वर्षलाई उनको जीवनको महत्वपूर्ण वर्षका रुपमा मानिन्छ। त्यही वर्ष उनी व्ल्याक होलबारे क्रान्तिकारी खोज गर्न सफल भए। उनले थाहा पाए, होल्सको निर्माणमा ऊष्माले ठूलो भूमिका निर्वाह गर्छ र यसमा निरन्तर पारमाणविक कणहरुको उत्सर्जन भइरहन्छ, जबसम्म यस्ता होल्सले आफ्ना सम्पूर्ण ऊर्जालाई समाप्त गर्दैन। त्यस उत्सर्जनलाई स्टिफनले रेडियसनको नाम दिएका थिए।

युवावस्थामै गम्भीर रोगले च्यापे पनि अपार जिजिविषाका कारण बाँचुन्जेल वैज्ञानिक क्षेत्रमा क्रियाशील स्टिफनले धेरै विषयमा काम गरे। उनले क्वान्टम कस्मोलोजी, कस्मिक इन्फ्लेशन, एनीसोट्रपिक बिग व्याङ युनिभर्सेजमा हीलियम उत्पादन, लार्ज एन कस्मोलोजी, द डेन्सिटी म्याट्रिक्स अफ द युनिभर्स, टोपोलोजी, स्ट्रक्चर अफ द युनिभर्स, बेबी युनिभर्सेज, येंग-मिल्स इन्स्टेनटंसका साथै द एस मेट्रिक्स एन्टी डी सिटर स्पेस, क्वान्टम इन्टेगलमेन्ट एन्ड एन्ट्रोपी, द नेचर अफ स्पेस एन्ड टाइम, इन्क्लुडिङ द एरो अफ टाइम, स्पेसटाइम फोम, स्टिङ थ्योरी, सुपरग्राभिटी, युकिलिडियन क्वान्टम ग्राभिटी, द ग्रेभिटेशनल हेमिलटोनियन, ब्रान्स-डिके एण्ड होयल-नार्लिकर थ्योरिज अफ ग्रेभिटेशन, ग्रेभिटेशन रेडिएसन एन्ड वार्महोलजस्ता क्षेत्रमा पनि उनले काम गरेका थिए।

एक वैज्ञानिक हुनुका साथै उनी एक लेखक पनि हुन्। विज्ञान लेखक। विज्ञान क्षेत्रमा व्याप्त अनेक रहस्यहरुबारे उनले आफ्ना कृतिहरुमा उल्लेख गरे। उनको ‘अ ब्रीफ हिस्ट्री अफ टाइम’ सर्वाधिक बेस्टसेलर कृतिमा गनिन्छ। संसारका अनेक भाषामा अनुदित यो कृतिलाई ‘ब्रम्हाण्डिकीको विकासको संक्षिप्त दस्तावेज’ मानिन्छ। उक्त पुस्तक प्रकाशनमा आएपछि द न्यूयोर्क रिभ्यू अफ बुक्सले समीक्षात्मक टिप्पणी गर्दै लेखेको थियो, ‘उनी ब्रम्हाण्डकीय भौतिकीको जटिलतालाई स्पष्टता र बुद्धि-कुशलताका साथ सम्झन्छन्। उनी एक असाधारण मस्तिष्कको स्वामी हुन्।’

संयोग नै भन्नुपर्छ, स्टिफन हकिङको जन्म सन् १९४२ को ८ जनवरीमा भएको थियो, जुन दिन परेको थियो- महान् वैज्ञानिक ग्यालिलियोको पुण्यतिथि। अर्को कुरा, स्टिफनलाई क्याम्ब्रिज युनिभर्सिटीले गणितको ल्यूकेसियन प्रोफेसरको पदीय दायित्व दिइयो, जुन पदमा पहिल्यै रहेका थिए- सर आइज्याक न्यूटन। त्यस्तै, पूर्ववर्ती शताब्दीमा न्यूटनलाई बेलायत सरकारले जसरी रोयल सोसाइटीमा मनोनयन गरेको थियो, हकिङलाई पनि पछिल्लो समय त्यही सोसाइटीमा मनोनयन गरिएको थियो। सन् १९८२ मा त उनलाई बेलायत सरकारले ‘कमान्डर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’ नामक पदवीले समेत सम्मानित गरेको थियो।

७६ वर्ष बाँचेका स्टिफनले आफ्नो भौतिक शरीर बिसाए- सन् २०१८ मा। तर युवावस्थामै शारीरिक रुपले असमक्ष रहे पनि, युवावस्थामै चिकित्सकले केही वर्षपश्चात् मृत्यु हुने घोषणा गरे पनि उनले ब्रम्हाण्डको रहस्य पत्ता लगाउन जुन तत्परता देखाए, त्यो विज्ञानको क्षेत्रमा महत्वपूर्ण र सार्थक उपलब्धिको रुपमा अंकित रहने छन्।

स्रोतः
१. ‘समयका संक्षिप्त इतिहास’- स्टिफन हकिङ (हिन्दी अनुवाद- अश्वपति सक्सेना) सन् २००१, राजकमल प्रकाशन, नयाँ दिल्ली।
२. ‘अहा ! जिन्दगी’ को अप्रिल सन् २००८ को अंक।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved