फ्याक्ट चेकिङ डे

‘अ’सामाजिक सञ्जाल, अफवाहको जञ्जाल

यी उदाहरण हुन्, मिथ्या सूचना र त्यसको प्रभावको बारेका। कसैले आफ्नो सीमित स्वार्थ सिद्धका निमित्त फैलाउने गरेका यस्ता हल्लाले धेरै मानिसलाई गलत निर्णय गर्न प्रेरित गर्छ। र फन्दामा पर्ने सम्भावना समेत हुन्छ। ऋतिक रोशनको घटनामा झैँ सार्वजनिक सुरक्षामा चुनौती हुन सक्छ। साम्प्रदायिक सहिष्णुतासद्भाव बिग्रन सक्छ।

‘अ’सामाजिक सञ्जाल, अफवाहको जञ्जाल

काठमाडौं। एक महीनाअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापा बोलिरहेको एउटा क्लिप सामाजिक सञ्जालमा भाइरल भयो। भिडियो भाइरल मात्रै भएन थापाले गाली पनि उधुमै खाए। भाइरल भएको क्लिप यस्तो थियो ”मलाई प्रधानमन्त्री बनाइदिनुस्। म कस्तो निर्णय गर्दिन्छु भने, ६० वर्ष नाघेकाहरूलाई घरमा बसीबसी ३० हजार भत्ता दिन्छु। १८ वर्ष पुगेका सबैलाई मोबाइल फ्रि, त्यसमा पनि आइफोन चलाउने वा सामसङ चलाउने छानीछानी। मोटरसाइकल चढ्नेलाई वर्षको सय लिटर पेट्रोल फ्रि।”

तर यर्थाथ अर्कै थियो, कम्युनिष्ट पार्टीले उत्तेजनाको राजनीति गर्दै यस्तो झुठ फैलाइरहेको आरोप उनले लगाएका थिए। तर थापाले बोलेका सबै कुरा हालिएन, बरू त्यसलाई गलत अर्थ लाग्‍नेगरी आफूखुसी सामाजिक सञ्जालमा भाइरल बनाइयो। यसबारे नेपाल भ्युजले पूरा भिडियोसहित फ्याक्टचेक प्रकाशन गरेको थियो।

जबरजस्ती करणी आरोपमा अभिनेता पल शाह प्रहरी हिरासतमा रहँदा धेरै मिथ्या सूचनाहरू आए। उनी अहिले पुर्पक्षको लागि थुनामा छन्। तर, महीना दिनअघि नै उनी छुटेको सामग्री सोसल मिडियामा छ्यापछ्याप्ती भएका थिए।

युटुबरहरुले घण्टैपिच्छे ‘नयाँ खुलासा’ भन्दै पोस्ट गरेको भिडिओ अहिले पनि सामाजिक संञ्जालमा देख्न सकिन्छ। युट्युब भिडियोको थमनेल र क्याप्सनबाटै अनुमान लगाएर धेरैले गलत धारणा बनाए। त्यो बेलामा पनि भ्रम चिर्न नेपालभ्यूजले यसबारेमा सत्यतथ्य जानकारी गराउन केही सामग्री प्रकाशन गरेको थियो।

चैतको पहिलो शुक्रबार अमेरिकी एयर फोर्सको कार्गो जहाज शुक्रबार काठमाडौं आएर फर्कियो। नेपालमा एमसीसी पारित भएपछि अमेरिकी सेना आउने चर्चाका बीच अमेरिकी एयर फोर्सको कार्गो जहाज आएपछि सामाजिक सञ्जालमा तरङ्ग नै छायो।

एमसीसी पारित नहुँदै हल्ला फैलिएको थियो, ‘एमसीसी पारित भएमा अमेरिकी सेना नेपाल आउँछ।’ एमसीसीपारित भएको केही सातामै अमेरिकी सेनाको जहाजको अवतरणलाई बाघ कराउनु र बाख्रा हराउनु भनेजस्तै संयोग भयो। मिथ्या सूचना फैलाउनेलाई सुवर्ण अवसर भयो। यसबारेमा पनि नेपाल भ्यूजले सम्बन्धित निकायसँगको सोधखोजमा एक सामाग्री तयार प्रकाशन गरेको थियो।

स्रोतको नाम पद उल्लेख गर्दै जहाज नेपाल आउनु कुनै विशेष घटना नभई नियमित भएको र यो पटकसमेत यस वर्ष चार पटक जहाज आइसकेको जानकारी गराइएको थियो।

९ चैतमा ‘नेकपा एमालेको केन्द्रीय कमिटी बैठक हल बाहिर कार्यकर्ताको कुटाकुट’ भन्ने क्याप्सनसहितको भिडियो भाइरल भयो। स्थानीय चुनावको मुखमा धमाधम अरु दलका नेता कार्यकर्ता भित्राइरहेको एमालेको तीव्र आलोचना भयो।

कार्यकर्ता राजनीतिक चरित्र नभएको र अराजक भएको भन्दै एमालेमाथि आलोचना शूरु भयो। घटना भएको लगतै भाइरल भएको भिडियोबारे लगतै नेपाल भ्यूजले एक सामग्री प्रकाशन गर्‍यो। त्यो सामग्री पढेपछि धेरैले थाहा पाए, ‘कुटाकुट गर्ने एमाले कार्यकर्ता नभई पत्रकार पो रहेछन्’ भन्ने।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएलगतै १ लाख १८ हजार जना म्यादी प्रहरीको भर्ना खोलेको दाबी गरिएको एउटा सूचना फैलिएको थियो। कतिपय र अनलाइन मिडियामा समेत समाचार आए।

सोही सूचना र समाचार धेरैले असल मनसायले शेयर गरे। कतिपय मानिसहरू म्यादी प्रहरीको फर्म भर्न प्रहरी चौकी समेत धाए। गलत सूचना फैलिएपछि प्रहरी विज्ञप्ति समेत प्रकाशन गरेको थियो। २०७४ साल असोज २४ गते प्रहरीले प्रकाशन गरेको म्यादी प्रहरी भर्नासम्बन्धी सूचनालाई तोडमरोडसहित सम्पादन गरी मिथ्या सूचना फैलाएको रहस्य खुल्न धेरै दिन लागेन। मिथ्या सूचनाको भर पर्दा धेरैले दुख मात्र पाए। त्यसको केही सातापछि मात्र म्यादी प्रहरीको भर्ना खोलेर अहिले बन्द भैसकेको छ।

केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पामा गएर भ्यूटावर उद्घाटन गरे। त्यसको भोलिपल्ट एमाले अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीमा अर्को बहुउद्देश्यीय भ्यूटावरको उद्घाटन गरे। भ्यूटावर उद्घाटन गर्न गएका एमाले नेता विष्णु पौडेल र केपी ओलीलाई स्थानीयले लखेटेको भन्दै एक भिडियो भाइरल भयो।

तर, भाइरल बनाइएको भिडियो भने तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टले २१ फागुन २०७७ मा बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्ने क्रममा गरिएको ढुंगामुढाको थियो। पुरानो भिडियोलाई गलत विवरणका साथ अहिले फैलाइएको पाइएको नेपाल फ्याक्टचेकले प्रकाशन गरेपछि वास्तविकता खुल्यो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रुसविरुद्द लड्न आफ्ना युक्रेनी सेनासित युद्ध मैदानमा खटिएको भन्दै सैनिक पोसाकसहितको फोटो प्रकाशन भयो। रुसले युक्रेनमा आक्रमण थालेकाले सो सूचना धेरैले छिट्टै पत्याए। धेरैले राष्ट्रपति जेलेन्स्कीलाइ ‘रियल हिरो’ भन्दै शेयर पनि गरे।

युक्रेनका जेलेन्स्कीको सोही भाइरल फोटो गुगलमा खोजेर हेर्दा पुरानो भएको तथ्य फेला पार्न धेरै समय लागेन। १० डिसेम्बर २०२१ मा प्रकाशित रोयटर्सको समाचारमा सोही फोटो प्रयोग भएको रहेछ। अहिले फरक सन्दर्भमा धेरैले पुरानो फोटो पोस्ट गरेको पाइयो। त्यस्तै सोही युद्धमा युक्रेनको भन्दै सिरियालगायतका धेरै देशका पुराना फोटोहरू सामाजिक सञ्जालमा अझ पनि भाइरल हुँदै आएका छन्। यसबारेमा साउथ एसिया फ्याक्ट चेकले पनि सामग्री प्रकाशन गरिसकेको छ।

मिथ्या सूचना फैलिने माध्यम सामाजिक सञ्जाल भएको भन्दै दोष दिँदै आएका छन्। खासमा एक कान, दूई कान हुँदै मैदान भएर पनि धेरै मिथ्या सूचना फैलिएको उदाहरण पनि छन्।

२०५७ साल तीरको घटना हो। भारतीय अभिनेता ऋतिक रोशनले ‘मन नपर्ने देश नेपाल र मन नपर्ने जनता नेपाली भनेको र नेपालीलाई घृणा गर्छु’ भन्ने अभिव्यक्ति दिएको हल्ला फैलियो। देशभरका दर्शकहरु उत्तेजित भए। यस्तो व्यापक प्रदर्शन भयो कि जसलाई नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाउनुपरेको थियो। केहीको ज्यानै गएको थियो।

मिथ्या सूचना यसकारण हानिकारक

यी, आठ उदाहरण हुन्, मिथ्या सूचना र त्यसको प्रभावको बारेका। कसैले आफ्नो सीमित स्वार्थ सिद्धका निमित्त फैलाउने गरेका यस्ता हल्लाले धेरै मानिसलाई गलत निर्णय गर्न प्रेरित गर्छ। र फन्दामा पर्ने सम्भावना समेत हुन्छ। ऋतिक रोशनको घटनामा झैँ सार्वजनिक सुरक्षामा चुनौती हुन सक्छ। साम्प्रदायिक सहिष्णुता सद्भाव बिग्रन सक्छ।

यही चुनौतीलाई सामान गर्न सचेत गराउन अप्रिल २ तारिखलाई अन्तर्राष्ट्रिय ‘फ्याक्ट चेकिङ डे’को रूपमा मनाइन्छ। छौंटौ अन्तर्राष्ट्रिय फ्याक्ट चेकिङ अर्थात् तथ्य जाँच दिवस शनिबार (आज) परेको छ। विभिन्न समाचार, सूचना तथा सामाजिक सञ्जालबाट प्रकाशन प्रसारण हुने कुराको तथ्य जाँच गर्ने संस्थाहरूले यो दिवस मनाउँदै छन्।

आम नागरिकमा सञ्चारमाध्यम र सामाजिक सञ्जालको पहुँच बढेसँगै मिथ्या सूचना सम्प्रेषण पनि बढेको छ। यसले समाजमा विभिन्न समस्या पैदा गरेको भन्दै सही सूचना दिने काममा तथ्य जाँचकी संस्थाहरूले सक्रियतापूर्वक काम गरिरहेका छन्।

यस्ता मिथ्या सूचनाबाट बच्न सर्वसाधारण आफै सचेत हुनुपर्ने नेपाल फ्याक्टचेकका सम्पादक उमेश श्रेष्ठ बताउँछन्। फ्याक्ट चेकको काम गर्दै आएका पत्रकार श्रेष्ठ भन्छन्, ‘‘भेटिएका, पढिएका प्रकाशित सामग्री सही नहुन पनि सक्छन् भनेर सचेत हुने, तुरुन्तै विश्वास गरिन हाल्ने, शंका लागेका सामग्री सकभर परीक्षण गर्ने, सोसल मिडियामा सेयर गर्न वा त्यसका सूचनाका आधारमा आफ्नो विचार राख्न हतार नगर्ने, आफूले परीक्षण गर्न नसके केही सामय पर्खेर सत्यतथ्य र स्रोत खुलेका सामग्रीहरू अध्ययन गर्ने गरियो भने मिथ्या सूचनाबाट बच्न सकिन्छ।’’

मुलुकमा स्थानीय तहको निर्वाचन आउँदै छ। यस्तो समयमा मिथ्या सूचना धेरै फैलाइन सक्ने हुँदा समेत हुनुपर्ने जानकारहरू बताउँछन्। प्रतिस्पर्धी दलहरूले फरक दलका उम्मेदवार तथा दललाई गलत साबित गर्न मिथ्या सूचनाका सहायता लिने गलत अभ्यास पहिले देखिनै छ। यो चुनावमा पनि यस्तो हुन नसक्ने भन्ने नहुने साउथ एसिया फ्याक्टचेकका सम्पादक दीपक अधिकारी बताउँछन्।

‘‘गलत सूचनाले लोकतन्त्रलाई असर गर्छ। लोकतन्त्र भनेको के हो जनताले सही प्रतिनिधि छान्ने हो। को उम्मेदवार सही हो, को गलत हो, कसले के गरिरहेको छ, कुन दलले सही काम गरेको छ भन्ने जान्न सूचना समाचार हेर्नुपर्ने हुन्छ,’’ उनी भन्छन्, ‘‘मिथ्या सूचनाले दिने झुटो जानकारीका कारण मतदाताले गलत निर्णय गर्न सक्छन्। त्यसैले लोकतन्त्र बलियो बनाउन पनि मिथ्या सूचनाबाट जोगिनु र खबरदारी गर्नु आवश्यक हुन्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved