कीर्तिमानी बलिङ, ह्याट्रिक र पाँच विकेट लिने पहिलो नेपाली खेलाडी

कीर्तिमानी बलिङ, ह्याट्रिक र पाँच विकेट लिने पहिलो नेपाली खेलाडी

काठमाडौं। ट्राई नेसन्स सिरिजको बिहिबारको खेलमा पहिले ब्याटिङ गरेको नेपालले अन्तिम तीन ओभरमा ६० रन जोडेको थियो। जवाफमा २०४ रनको विजय लक्ष्य पूरा गर्न पीएनजीलाई पनि अन्तिम तीन ओभरमा ४७ रन चाहिन्थ्यो र उसको चार विकेट मात्र खसेको थियो।

यो अवस्थामा ब्याटिङमैत्री पिच रहेको कीर्तिपुर मैदानमा खेलको नतिजा जता पनि जान सक्थ्यो। तर अन्तिम तीन ओभरमा नेपालले बाँकी ६ विकेट मात्र लिएन कि रन पनि नौ मात्र दियो। जसमा नायक बने नेपालका फाष्ट बलर करण केसी।

ह्याट्रिक

करणले खेलमा दुई प्रमुख कीर्तिमानी बनाए, ह्याट्रिक र पाँच विकेट। करण नेपालको लागि टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो खेलाडी बने। उनले पीएनजीको इनिङको अन्तिम ओभरमा लगातार तीन विकेट लिएका थिए।

ओभरको पहिलो बल डट गरेका उनले दोस्रो बलमा चाद सोपरलाई रोहित पौडेलद्वारा क्याचआउट गराएका थिए। तेस्रो बलमा सिमोन अताईलाई उनले बोल्ड आउट गरे। यसपछि करणको ओभरको चौथो बलमा पीएनजीका पोकनाले लामो सट खेल्न उडाएको बललाई दिपेन्द्रले क्याच लिएपछि करणको ह्याट्रिक पूरा भयो।

नेपाली क्रिकेटमा पुरुष टिममा यो दोस्रो ह्याट्रिक हो। यसअघि शक्ति गौचनले सन् २०१२ मा विश्वकप छनोटमा डेनर्माकविरुद्ध पहिलो ह्याट्रिक लिएका थिए। तर त्यो बेलमा नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी र एकदिवसीय मान्यता पाएको खेलमा यो पहिलो ह्याट्रिक हो।

पाँच विकेट

ह्याट्रिक मात्र होइन उनी नेपालका लागि टी–ट्वान्टी म्याचमा पाँच विकेट लिने पहिलो खेलाडी पनि बनेका छन्। “करणको पाँच विकेट प्लस ह्याट्रिक क्रिकेटमा निकै ठूलो उपलब्धि हो, जुन निकै सरहानीय छ,” करणको रकेर्डबारे नेपालका कप्तान सन्दी लामिछानेले बताए। “एक क्रिकेट खेलाडीका लागि भविष्यमा आफ्नो करिअरलाई फर्किएर हेर्दा यस्ता रेकर्डले ठूलो महत्व राख्छ।”

खेलमा ३.४ ओभर बलिङ गरेका उनले मात्र २१ रन खर्चेर पाँच विकेट लिएका थिए। उनले पीएनजीका दुवै ओपनर लेगा सिएका र कप्तान आसाद भालालाई समान एक रनमा पेभोलिएनको बाटो देखाएका थिए।

यसअघि नेपालका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा वसन्त रेग्मीले सन् २०१५ को विश्वकप छनोटमा हङकङविरुद्ध चार ओभरमा १६ रन खर्चेर सर्वाधिक चार विकेट लिएको रेकर्ड थियो। यो खेलमा लिएको पहिलो विकेटसँगै करणले टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ५० विकेटको कोशेढुंगा पनि पूरा गरेका थिए। नेपाली टिममा टी–ट्वान्टी क्रिकेटमा ५० विकेट पूरा गर्ने उनी मात्र दोस्रो खेलाडी हुन्। करणले ३६ खेलमा ५० विकेट लिएका हुन्।

यसअघि नेपालका कप्तान सन्दीप लामिछानेले मात्र ५० विकेट लिएका छन्। कुल ६७ विकेटसहित सर्वाधिक विकेट लिने सूचीमा सन्दीप पहिलो स्थानमा छन्। तेस्रो ओभरमा मात्र १३ रनमा दुवै ओपनर आउट भएपछि चार्ल्स आमिनी र टोनी उराले समालिएर खेल खेल्दै तेस्रो विकेटका लागि ८४ रनको साझेदारी गरे। आमिनीले ६२ र उराले ४३ रनको योगदान दिएका थिए।

तर यी दुवैलाई सोमपाल कामीले क्याच आउट गराएपछि खेल पीएनजीको हातबाट फुस्किएको थियो। यसपछि अभिनाशले १८ औ ओभरमा लगातार दुई विकेट लिएका थिए। त्यस्तै करणले अन्तिम ओभरमा ह्याट्रिक गरेपछि पीएनजी अन्तिम दुई बल खेल्नुअगाडि मात्र १६६ रनमा अलआउट भयो।

बलिङमा करणबाहेक नेपालका लागि सोमपाल कामी र अभिनाष बोहोराले दुई दुई विकेट लिए। त्यसैगरी सन्दीपले एक विकेट झारेका थिए।

विष्फोटक ब्याटिङ

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २०४ रनको बिशाल योगफल तयार पारेको थियो। टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो छैठौं ठूलो स्कोर हो भने पीएनजीविरुद्ध बनाएको हालसम्मकै सर्वाधिक ठूलो योगफल हो।

शुरुआत मध्यम गरेको नेपालको लागि ६ ओभरको पावर प्लेमा ओपनर कुशल भुर्तेल र आशिफ शेखले बिनाविकेट नोक्सानी ४४ रनको साझेदारी गरेका थिए। तर अर्को ओभरमा कुशल २० बलमा १७ रन जोड जोड्दै क्याच आउट भए।

आशिफ शेखले भने २९ बलमा एक छक्का र चार चौकाको मद्दतले ३८ रन जोडे। दशौं ओभरमा दोस्रो विकेट खस्दा नेपालको रन ७२ थियो। यसपछि रोहित कुमार पौडेलले दीपेन्द्रसिंह ऐरीसँग मिलेर तेस्रो विकेटको लागि ५१ रनको साझेदारी निभाए। आक्रामक ब्याटिङ गरेका रोहितले २३ बलमा चार चौका र दुई छक्कासहित ४१ रनको योगदान दिए।

एकै ओभरमा सर्वाधिक रनको रेकर्ड

खेलमा १७ ओभरको समाप्तीसम्म नेपालको स्कोर १४३ रन थियो। क्रिजमा थिए दीपेन्द्र र यसै खेलमार्फत टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू गरेका युवा ब्याटर आदिल अन्सारी। यी दुईले विष्फोटक ब्याटिङ गरेपछि अन्तिम तीन ओभरमा नेपालले ६० रन जोड्यो।

१८ औं ओभरमा २४ रन जोडेको नेपालले १९ औं ओभरमा ३२ रन बटुल्यो। ३२ रन नेपालले एकै ओभरमा जोडेको हालसम्मकै सर्वाधिक ठूलो स्कोर हा। साथै विश्व क्रिकेटमा पनि एकै ओभरमा प्रहार गरेको ३२ रन तेस्रो ठूलो रन संख्या हो।

दीपेन्द्रले १८ औं ओभरको शुरुआती तीन बलमा लगातार तीन छक्का प्रहार गरेका थिए। यहि तीन छक्कासँगै उनले खेलमा अर्धसतक पनि पूरा गरे। अघिल्लो दिन टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा नेपालका लागि सर्वाधिक रन हान्ने पारस खड्काको रेकर्ड बनाएका उनको यो चौथो अर्धशतक हो।

नेपालका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सवार्धिक ८६९ रन जोडेका उनी यसै सिरिजमा नेपालका लागि एक हजार रन पूरा गर्ने पहिलो खेलाडी बन्न सक्छन्। दीपेन्द्रले मात्र ३३ बलमा चार छक्का र तीन चौकाको सहयोगमा ६६ रन जोडेका थिए। उनले आदिलसँग मिलेर चौथो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए।

आदिलको सान्दार डेब्यू

यसै खेलमार्फत पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलिरहेको आदिल अन्सारीले सान्दार डेब्यू गरे। घरेलु क्रिकेटमा आक्रमक ब्याटिङका कारण चर्चामा रहेका डेब्यूटेन्ट आदिलले यो खेलमा पनि आफ्नो स्वाभाविक खेललाई निरन्तरता दिए।

विष्फोटक ब्याटिङ गरेका उनले मात्र ११ बलमा २८० भन्दा माथिको स्ट्राइक रेटमा ३१ रन जोडेका थिए। उनले तीन छक्का र एक चौका प्रहार गरे। १९ औं ओभरमा कीर्तिमानी ३२ रन जोड्दा आदिलले लगातार तीन बलमा तीन छक्का हानेका थिए।

“मैले अभ्यास नै त्यस्तै गर्ने गरेको छु, मेरो खेल्ने शैली नै जाने बित्तिकै हान्ने हो,” खेलपछि आदिलले भने। पहिलो खेलबाट नै उनले नेपाली टिमको फिनिसरको समस्या समाधान गर्ने संकेत गरेका छन्।
यसपछि अन्तिम ओभरमा भने तीन विकेट गएपछि नेपालले २० ओभरमा सात विकेटको नोक्सानीमा २०३ रनको योगफल तयार पारेको थियो।

जारी सिरिजमा लगातार तेस्रो जितपछि स्पष्ट ९ अंकसहित नेपालले एक खेल अगावै फाइनलमा स्थान पक्का गरेको छ। यसअघि पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। सिरिजमा पीएनजीको भने यो लगातार तेस्रो हार हो।

अब नेपालले सिरिजको चौथो खेलमा शनिबार मलेशियासँग प्रतिस्पर्धा गर्नेछ। फाइनलमा पुगिसकेको नेपालको लागि उक्त खेल नयाँ प्रयोग गर्ने खेल हुनेछ। पीएनजी र मलेसियामध्ये नेपालसँग फाइनलमा उपाधिका लागि भीडन्त गर्ने अर्को टिमको टुंगो भने लाग्न बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved