नेपालको लगातार दोस्रो जित, दीपेन्द्रको रेकर्ड

नेपालको लगातार दोस्रो जित, दीपेन्द्रको रेकर्ड

काठमाडौं। घरेलु मैदानमा जारी ट्राइ नेसन्स सिरिजमा लगातार दोस्रो जितसँगै नेपालले फाइनलको संभावनालाई निकै बलियो बनाएको छ। बलरहरु चम्केपछि बुधबार नेपालले सिरिजको दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्‍यो।

टीयू खेल मैदान कीर्तिपुरमा जारी सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो। अब सिरिजका लिग चरणका बाँकी दुई खेलमध्ये एक खेल मात्र जितेपनि नेपाल फाइनलमा पुग्नेछ।

‘‘सकेसम्म सुरुका चारओटै खेल जितेर फाइनलमा पुग्ने र उपाधि जित्ने लक्ष्य रहेको छ,’’ नेपालका कप्तान सन्दीप लामिछानेले भने। यो खेलमा उत्कृष्ट बलिङ गरेको नेपालले मलेसियालाई मात्र १ सय १४ रनमा रोकेको थियो।

“बलरहरुले सुरुदेखि नै लगातार विकेट लिए। आजको क्रिज ब्याटिङका लागि त्यति सजिलो पनि थिएन र त्यति गाह्रो पनि थिएन। जितको सबै श्रेय आज बलरलाई जान्छ।” सन्दीपले भने।

खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले पहिलो बलमा नै विकेट लियो। फास्ट बलर करण केसीले मलेसियाका ओपनर विरानदिप सिंहलाई पहिलो बलमा नै बोल्ड आउट गरे। ओपनर गोल्डेन डक भएपनि मलेसियाले डिफेन्सिभ खेल खेलेन।

अर्का ओपनर जुबाइदी र कप्तान अहमद फैजले दोस्रो विकेटको लागि ४९ रनको साझेदारी गर्दै मलेसियको इनिङ्स सम्हाले। फास्ट बलरलाई रन खाइरहेको अवस्थामा नेपाली स्पिनरहरु बलिङमा आएपछि रनमा अंकुश लाग्यो।

सातौँ ओभरमा स्पिनर कुशल मल्लले जुबाइदीलाई बोल्ड गरे। आक्रामक ब्याटिङ गरेका जुबाइदीले १५ बलमा सर्वाधिक ३२ रन जोडे। यसपछि अर्का स्पिनिर दीपेन्द्र सिंह ऐरीले १२ औँ ओभरमा कुनै रन नदिई एक विकेट लिए।

लगत्तै अर्को ओभरमा कप्तान सन्दीपको स्पिन बलमा टिकेर खेलिरहेका मलेसियाका कप्तान फैज २४ रनमा क्याचआउट भए। १३ ओभरमा ७४ रनमा सुरुआती चार विकेट गुमाएपछि मलेसिया दबाबमा आयो।

यसपछि १७ औं ओभरको पहिलो बलमा पनि सन्दीपले अर्को विकेट झारे। डेथ ओभरमा राम्रो बलिङ गरेको नेपालले अन्तिम चार ओभरमा लगातार चार विकेट झारेको थियो। नेपालको कसिलो बलिङका बाबजुद २० ओभरको पूरै खेल खेलेपनि मलेसिया आठ विकेटको क्षतिमा मात्र ११४ रनमा समेटियो।

मलेसियाले टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा नेपालविरुद्ध बनाएको यो हालसम्मकै दोस्रो कम स्कोर हो। बलिङमा नेपालका लागि सन्दीप र करणले समान दुई विकेट लिएका थिए।

त्यस्तै दीपेन्द्र, कुशल मल्ल र अभिनाष बोहोराले समान एक विकेट लिए। दीपेन्द्रले सबैभन्दा किफायती बलिङ गर्दै चार ओभरमा मात्र १४ रन दिएका थिए।

यसपछि ११५ रनको सहज विजय लक्ष्य पछ्याएको नेपालको पनि ब्याटिङमा सुरुआत भने राम्रो भएन। सानो लक्ष्य भएपनि ओपनिङ साझेदारी नचल्ने पुरानै समस्या यो खेलमा पनि दोहोरियो।

ओपनर कुशल भुर्तेलमात्र एक रनमा आउट हुँदा रोहित पौडेल पनि मात्र १२ रनमा पेभोलियन फर्किए। खेललाई चाँडो सक्न खोज्दा लामा प्रहार गर्ने प्रयासमा नेपालको विकेट खसेको थियो।

दीपेन्द्रको रेकर्ड

यसपछि आएका दीपेन्द्र सिंह ऐरीले नेपालका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा सर्वाधिक रन जोड्ने रेकर्ड बनाए। आजको खेलमा २१ रन जोड्दै कुल ८०३ रनसहित उनी सर्वाधिक रनकर्ताको सुचिमा पहिलो स्थानमा उक्लिएका हुन्।

उनले पूर्वकप्तान पारस खड्काको रेकर्ड तोडे। पारस खड्काको नाममा ३३ टी–२० खेलमा ७ सय ९९ रन छ। दीपेन्द्रले ३६ खेलमा यो रेकर्ड बनाएका हुन्। ३६ खेलमा उनको तीन अर्धशतक छ, जसमध्ये उनको उच्च स्कोर ८३ रन हो।

चौथो ओभरमा नै २५ रनमा दुई विकेट गुमाइसकेको नेपालबाट दीपेन्द्रले २१ रन जोड्ने क्रममा आरिफ शेखसँग ७० रनको साझेदारी गरेका थिए। जसले विजयको आधार तय गर्‍यो। आरिफले अर्धशतक बनाए। उनले ३८ बलमा सात छक्का र एक चौकाको मद्दतले ५७ रन जोडेका हुन्। उनी प्लेयर अफ दि म्याच समेत घोषित भए।

यस खेलमा टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा डेब्यू गरेका दिलिपनाथले मात्र सात बलमा अविजित १५ रनको योगदान दिए। नेपालले चार विकेट गुमाएपनि लक्ष्य ३८ बल खेल्नु अगावै पूरा गर्‍यो।

सिरिजमा लगातार दोस्रो जितपछि चार अंकसहित नेपाल फाइनलको नजिक पुगेको छ। तीन राष्ट्र सहभागी सिरिजमा एकअर्कासँगको दुई- दुई खेलपछि अंकतालिकाको शिर्ष स्थानमा रहने दुई टिमले अर्को हप्ता हुने फाइनलमा भिडन्त गर्नेछन्।

सिरिजमा दुई खेलमा एक जितका साथ मलेसियाको दुई अंक छ भने दुवै खेल हारेको पीएनजीले कुनै अंक जोड्न सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved