जल पर्यटनमार्फत् मनाङमा सडक मर्मत

नेपालभ्युज

जल पर्यटनमार्फत् मनाङमा सडक मर्मत

रामपुर। कालीगण्डकी नदीमा जल पर्यटनको विकास गर्दै स्थानीयवासीलाई आयआर्जनसँग जोड्ने विषयलाई रामपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ।

नजिकको तीर्थ हेला भनेजस्तै पर्याप्त सम्भावना रहेर पनि ओझेलमा परिरहेको कालीगण्डकीको महिमा र गरिमालाई उँचो बनाउँदै योसँग जोडिएका आयआर्जनका सम्भावनालाई उजागर गर्ने गरी नगरपालिकाले प्रयास थालेको हो।

नदीलाई पर्यटनसँग जोड्दै व्यावसायिक रुपमा जलयात्रा सञ्चालन गरी तल्लो तटीय क्षेत्रका स्थानीयवासीलाई आयआर्जनसँग जोड्नाका साथै नदीको महत्व जोगाउन अभिप्रेरित गर्ने उद्देश्यले ‘रिभर गाइड प्राविधिक तालिम’ सुरु गरिएको नगरप्रमुख रमणबहादुर थापाले बताए।

“नदीलाई संरक्षण गर्दै व्यावसायिक जलयात्रा सञ्चालन गर्ने उद्देश्यले युवाहरूलाई जलयात्रासम्बन्धी तालिम आयोजना गरेका हौँ”, उनले भने।

पारिवारिक जलयात्राका लागि उपयुक्त रहेको यस नदीमा व्यावसायिक रुपमा जलयात्रा गरी पर्यटन विकासका साथै आयस्रोत भित्र्याउन युवालाई तालिममा सहभागी गराइएको छ। जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत रामपुर नगरपालिकाको आयोजनामा तालिम सञ्चालन गरिएको हो।

उनले भने,“नेपाल पर्यटन बोर्डको सहयोगमा कालीगण्डकी नदीमा यसअघि नै जलयात्राको सम्भाव्यता अध्ययन गरिसकिएको छ, रामपुर नगरको आयोजनामा बृहत् रुपमा राम्दीदेखि पुट्टारघाटसम्म सफलतापूर्वक जलयात्रा महोत्सव पनि आयोजना गरियो, नदी आसपासका स्थानीयवासीको जीवनस्तर उकास्नका लागि व्यावसायिक जलयात्रा सञ्चालन गर्न युवालाई तालिम आयोजना गरेका छौँ।”

रामपुर क्षेत्र पर्यटनका लागि सम्भावनायुक्त स्थान रहेकाले तालिमपश्चात् लाइसेन्स प्राप्त गर्ने युवालाई जलयात्रा व्यवसाय सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने नगरप्रमुख थापाले बताए।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीको सहकार्यमा नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र नेपाल एसोसिएशन अफ र्‍याफ्टिङ एजेन्सी (नारा) को सहकार्यमा सुरु भएको तालिममा ३२ युवा सहभागी छन्।

नेपाल सरकारले कालीगण्डकी नदीको तल्लो क्षेत्र राम्दीदेखि देवघाटसम्म जलयात्रा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी अगाडि बढाएको छ।

दिगो विकास र पहिचानका लागि पूर्वाधार आफैँले खडा गर्नुपर्ने तथा सीप विकासका लागि संस्थाले सहयोग गर्ने जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाका प्रोजेक्ट म्यानेजर ज्ञानेश्वर महत्तोले बताए।

उनले परियोजनाअन्तर्गत कालीगण्डकीसँगै नेपालको कोसी नदी, त्रिशूली नदीमा पनि तालिम सञ्चालन गर्न भइरहेको र तालिमपश्चात् एक वर्षभित्र रिभर गाइडको लाइसेन्स प्रदान गर्नका लागि सहजीकरण गर्ने बताए।

नेपाल पर्यटन बोर्डका प्रबन्धक सन्तोष घिमिरेले कालीगण्डकी नदी पर्यटन विकासको प्रशस्त सम्भावना बोकेको हँुदा नियमित जलयात्रा सञ्चालन भएको खण्डमा बाह्य पर्यटक यहाँ भित्रने बताए।

नेपाल एसोसिएशन अफ र्‍याफ्टिङ एजेन्सीका उपाध्यक्ष तथा नदी संरक्षण संस्थाका अध्यक्षसमेत रहेका मेघ आलेले कालीगण्डकी आयआर्जनको दरिलो माध्यम बन्ने बताउँदै चौथो राष्ट्रिय नदी सम्मेलन कालीगण्डकीमा गर्ने तयारी भइरहेको जानकारी दिए।

“यस नदीसँग जोडिएका विभिन्न जातजाति, समुदायको उत्थान र पहिचान दिँदै जीविकोपार्जन कार्यमा लाग्न प्रेरित गर्ने उद्देश्यले चौथो राष्ट्रिय नदी महोत्सव गर्ने तयारीमा जुटेका छौँ, बगेको पानीलाई सदुपयोग गर्दै पर्यटन विकास र त्यसबाट स्थानीयवासीले प्रशस्त आर्थिक विकास गर्न सक्नेछन्”, उनले भने।

पोखरा र बुटवल सहरको बीच भागमा पर्ने कालीगण्डकी करिडोर यसै नदीसँग जोडिएकाले पनि व्यावसायिक रुपमा नियमित जलयात्रा सञ्चालन गरी उत्कृष्ट जलयात्राको पर्यटकीय गन्तव्यस्थल बन्नेछ। नियमित जलयात्रा सञ्चालन भएपछि पोखरा र लुम्बिनी आएका पर्यटक यहाँ भित्रन बताइन्छ। तालिम पन्ध्र दिनसम्म चल्ने बताइएको छ।

बगेको पानीलाई सदुपयोग गरी आयस्रोत लिने र पर्यटकीय क्षेत्र विकास गर्न कालीगण्डकीमा जलयात्रा सञ्चालनका लागि विभिन्न समयमा विभिन्न निकायबाट परीक्षणका काम पनि भइरहेको छ।

कालीगण्डकीको तल्लो भाग राम्दीदेखि देवघाटसम्म नियमित जलयात्रा चलाउन कर्णाली र्‍याफ्टिङ एन्ड एड्भेन्चरका विज्ञसहितको टोलीले तीन वर्षअघि नै तीन खण्डमा कालीगण्डकीमा सफल परीक्षण गरिसकेका छन्।

सो परीक्षणपश्चात् यो क्षेत्र पारिवारिक जलयात्राका लागि अति उत्तम मानिएको विज्ञसहितको टोलीले निष्कर्ष निकालेपछि यसले व्यापक चर्चा पाएको छ।

पारिवारिक जलयात्राको अनुभूति दिलाउन, व्यावसायिक हिसाबले नियमित जलयात्रा सञ्चालन गर्न रामपुर नगरपालिकाको आयोजनामा बृहत् कालीगण्डकी जलयात्रा महोत्सव पनि गरियो।

विसं २०७६ को वैशाख ६ र ७ गते नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भएको बृहत् जलयात्रा महोत्सवपश्चात् धेरैले यहाँ व्यावसायिक ढङ्गबाट जलयात्रा गर्न सुझावसमेत दिएका छन्। यस नदीमा नियमित जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भावना छ।

कालीगण्डकी बेसीका पाल्पाको रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाले ऐक्यबद्धता जनाउँदै यस नदीको पानीलाई पर्यटनसँग जोडेर पारिवारिक जलयात्रा गरी विश्वसामु चिनाउन स्थानीय तहको पहलमा अगाडि बढ्ने बताइएको छ।

करिब तीन सय जना सहभागीले रमाइलोसँग राम्दीको मालुङ्गाधामदेखि पुट्टारघाटसम्म जलयात्रामा मनोरञ्जन लिएका थिए। यसबाट पनि धेरैले व्यावसायिक तवरबाट जलयात्रा गर्न सुझाव दिएका छन्।

कालीगण्डकीमा जल यातायात सञ्चालन हुने कुराले नागरिकको जीवनस्तर उकासिनेमा खुसी व्यक्त गरिएको छ।

धार्मिक, ऐतिहासिक, प्राकृतिक र पर्यटकीय तथा जैविक विविधताले भरिपूर्ण शालिग्राम पाइने नदीका नामले विश्वसामु परिचित बनेको यो नदीमा अब नियमित जलयात्रा गरेर आम्दानीको स्रोत जुटाउन सकिन्छ।

चारैतिरबाट सडक सञ्जाल जोडिएको यो क्षेत्र धार्मिक, पर्यटकीय क्षेत्रका हिसाबले अत्यन्तै राम्रो मानिएकाले नदीमा बगेको पानीबाट पनि आर्थिक लाभ लिने गरी नियमित जलयात्रा सञ्चालन गरेको खण्डमा तल्लो तटीय क्षेत्रका नागरिकले आर्थिक लाभ लिनेछन्।

कालीगण्डकी उपत्यकालाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने, नियमित जलयात्रा गरी रोजगारीबाट आयआर्जन बढाउन, विश्वभर यस कालीगण्डकीलाई चिनाउन, नदी र जीवनको महत्व जोडिने भएको हुँदा यसको उपयोग गरी स्थानीयवासीले प्रशस्त आम्दानी गर्ने सुनौलो अवसर प्राप्त गर्नेछन्।

धार्मिक महत्वका हिसाबले परिचित यस नदीमा जलयात्राबाट कालीगण्डकीले धेरैलाई रोजीरोटी गर्ने अवसर प्रदान गर्न सकिनेछ। राष्ट्रिय गौरवकै आयोजना रहेको कालीगण्डकी करिडोर यसै नदीसँगै जोडिएकाले पनि यहाँ जलयात्राबाट गतिलो आम्दानीको स्रोत भित्र्याउन सकिन्छ।

मुक्तिनाथदेखि देवघाटसम्म जोड्ने कालीगण्डकी करिडोरको काम धमाधम अगाडि बढ्दैछ। भोटेकोसी र त्रिशूली नदीमा दुईचार दिनको समय लगाएर रमाउने पर्यटकहरूलाई यहाँसम्म ल्याउने वातावरण बनाइयो भने जलयात्राका लागि कालीगण्डकी धेरैको रोजाइ बन्न सक्ने बताइन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved