नेपालको पुरानो प्रतिद्वन्द्वी मलेसिया, कमजोर नआकौँ

यो सिरिजको मंगलबारको खेलमा पीएनजीलाई १९ रनले पराजित गर्दै मलेसियाले आफूलाई कमजोर नआँक्न नेपाल र पीएनजीलाई चुनौती दिएको छ। यो सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज (बुधबार) मलेसियाको नै सामना गर्दैछ।

नेपालको पुरानो प्रतिद्वन्द्वी मलेसिया, कमजोर नआकौँ

काठमाडौं। जारी ट्राई नेसन्स् सिरिजमा नेपाल र पीएनजी भन्दा मलेसियालाई कमजोर टिम मानिएको थियो। गत वर्षको टी–ट्वान्टी विश्वकप खेलेको पीएनजी आईसीसीको टी–ट्वान्टी वरियता क्रममा हाल १९ औँ स्थानमा छ भने आयोजक नेपाल १३ औँ स्थानमा छ। मलेसिया भने वरियताक्रममा नेपाल २० स्थान तल, ३३ औ स्थानमा छ।

तर, यो सिरिजको मंगलबारको खेलमा पीएनजीलाई १९ रनले पराजित गर्दै मलेसियाले आफूलाई कमजोर नआँक्न नेपाल र पीएनजीलाई चुनौती दिएको छ। यो सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज (बुधबार) मलेसियाको नै सामना गर्दैछ।

पहिले ब्याटिङ गरेर तेस्रो ओभरमा नै विकेट गुमाएको मलेसियाले निकै जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै २० ओभरमा मात्र तीन विकेटको क्षतिमा १८० रनको ठुलो स्कोर बनाएको थियो।

यसपछि आक्रामक ब्याटिङ लाइनअप रहेको पीएनजीलाई मलेसिया १७२ रनमा अलआउट गर्न सफल भयो। अन्तिम पाँच ओभरमा पीएनजीलाई जितका लागि ५३ रन जोड्नु थियो भने पाँच विकेट बाँकी नै थियो। तर डेथ ओभरमा राम्रो बलिङ गरेको मलेसियाले पीएनजीलाई रोक्यो।
नेपालले पनि बुधबार मलेसियालाई कमजोर प्रतिद्वन्द्वी ठान्ने भुल गर्नु हुँदैन।

हुन त मलेसियाले अन्तर्राष्ट्रिय क्रिकेट नखेलेको करिब एक वर्ष भइसक्यो। गतवर्ष अप्रिलमा नेपालमा नै भएको ट्राई नेसन्स् सिरिज खेले यता मलेसियाले खेलेको छैन। उक्त सिरिजको चार खेल मध्ये तीन खेल हारेको मलेसियाले एक खेल बराबरी खेलेको थियो।

उक्त सिरिजदेखि नै नेपाली क्रिकेटमा दुई युवा ओपनीङ ब्याटर कुशल भुर्तेल र अशिफ शेखको उदय भएको थियो। नेपालको ब्याटिङ सुधारेका पूर्व प्रशिक्षक देभ ह्वाटमोरको प्रशिक्षणमा नेपालले यो घरेलु सिरिजको उपाधि जितेको थियो।

सिरिजको लिग चरणको दुवै खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो। पहिलो खेलमा सानदार बलिङ गर्दै मलेसियालाई नेपालले मात्र १०९ रनमा अलआउट गरेको थियो। यसपछि विस्फोटक ब्याटिङ गरेका ओपनर कुशल र अशिफले पहिलो विकेटको लागि शतकिय साझेदारी गर्दै नेपाललाई १३ औँ ओभरमा नै जित दिलाएका थिए।

दोस्रो खेलमा पहिलो ब्याटिङ गरेको नेपालले २१७ रनको विशाल स्कोर खडा गरेको थियो भने ६९ रनको ठूलो जित हात पारेको थियो। उक्त सिरिजमा खेलेका अधिकांश खेलाडी अहिलेको नेपाली टिममा पनि रहेका छन्।

मलेसिया नेपाली क्रिकेटको लागि पुरानै प्रतिद्वन्द्वी हो। सन् २००० पछिको दशकमा नेपाल र मलेसियाले एसियाली क्रिकेट परिषद् (एसीसी) को एलाइट टिमको रुपमा सँगै क्रिकेटको यात्रा गरेका थिए।

सँगै हिँडे पनि क्रिकेटमा नेपालले गरेको प्रगतिको तीव्रतालाई मलेसियाले भेट्टाउन सकेन। सन् २००८ देखि २०१८ सम्मको १० वर्षमा विश्व क्रिकेट लिग डिभिजन–५ देखि लिग डिभिजन–२ सम्म आइपुग्दै नेपालले एकदिवसीय मान्यता पाइसकेको छ।

सन् २०१४ मा नेपाल र मलेसियालेसँगै लिग डिभिजन–४ मा प्रतिस्पर्धा गरेका थिए। तर, मलेसिया हाल पनि एकदिवसीय फम्र्याटमा लिग डिभिजन–४ मा नै छ।
विश्व क्रिकेटमा टी–ट्वान्टीको प्रभाव बढ्दै गएपछि सन् २००७ देखि एसियाली क्रिकेट परिषद्ले पनि २० ओभरको प्रतियोगिताको रुपमा एसीसी टी–ट्वान्टी च्याम्पियनसिपको सुरुआत गरेको थियो।
यो प्रतियोगिताको पहिलो संस्करणमा समूह चरणमा नेपालले मलेसियालाई २१ रनले हराएको थियो। दुई वर्ष पछिको यही प्रतियोगिताको अर्को संस्करणमा भने समूह चरणमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको थियो।

त्यस्तै सन् २०१३ मा काठमाडौंमा नै भएको एसीसी टी–ट्वान्टी च्याम्पियनसिपमा उपविजेता बनेको नेपालले समूह चरणमा मलेसियालाई १९ रनले पराजित गरेको थियो।
यो वर्ष एक निर्णायक छनोट खेलमा चुक्दा नेपाली क्रिकेट टिम टी–ट्वान्टी विश्वकपको लागि छनोट हुन सकेन। सन् २०१४ मा मात्र एक पटक विश्वकप खेलेको नेपालले हालसम्म एसिया कप भने खेल्न पाएको छैन।

यो पटक टी–ट्वान्टी फम्र्याटमा आयोजना हुन लागेको एसिया कप खेल्न नेपालको लागि राम्रो अवसर थियो। तर, नेपाल एसिया कपको छनोट प्रतियोगितासम्म पनि पुग्न सकेन।
एसिया कपको छनोट प्रतियोगितामा पुग्ने बाटोको रुपमा रहेको सन् २०२० को एसीसी ईष्र्टन रिजन टी–ट्वान्टी प्रतियोगितामा नेपाल तेस्रो भएको थियो। शीर्ष दुई भित्र पर्न नसक्दा नेपालको एसिया कप छनोट प्रतियोगिता खेल्ने मौका पनि गुमेको थियो।

एसिया कपको छनोट प्रतियोगितामा शीर्ष दुईभित्र पर्न नसक्नुको प्रमुख कारण थियो ईष्र्टन रिजन टी–ट्वान्टी प्रतियोगितामा मलेसियासँगको २२ रनको पराजय। ईष्टन रिजनबाट सिंगापुर र हङकङ एसिया कपको छनोट प्रतियोगितामा पुग्न सफल भए। यदि नेपालले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी मलेसियालाई हराएको भए अबको तीन महिनापछि आयोजना हुने एसिया कपको छनोट प्रतियोगिता खेल्न पाउँथ्यो।

तर, टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा हालसम्म नेपालले मलेसियासँग गुमाएको यही एउटा खेल नेपालको एसिया कपको बाटोमा बाधक बनेको थियो। यो खेलमा मलेसियाले दिएको १५५ रनको लक्ष्य पच्छाएको नेपाल ब्याटिङ नचल्दा १३२ मा अलआउट भएको थियो।

सन् २०१९ देखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आफ्ना सबै सदस्य राष्ट्रलाई टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता दिएपछि मलेसियाले पनि टी–ट्वान्टी मान्यता पाएको थियो।
त्यसयता नेपाल र मलेसियाबिच आईसीसीको मान्यता प्राप्त टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ६ पटक भिडन्त भएको छ। जसमा नेपालले पाँच खेल जितेको रेकर्ड छ।

मलेसियाले टी–ट्वान्टी मान्यता पाए पछि सन् २०१९ मा मलेसियाको घरेलु मैदानमा खेलेको दुई म्याचको सिरिज नेपालले क्लिनस्विप गरेको थियो। पहिलो खेलमा पारस खड्काको ८६ रनको मद्दतले नेपालले ७ विकेटको जित निकालेको थियो। दोस्रो खेल भने नेपालले ६ रनले जितेको थियो।

सोही वर्ष भएको टी–ट्वान्टी विश्वकपको एसियाली छनोटमा पनि नेपालले मलेसियालाई सात विकेटले हराएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved