शिक्षा र स्वास्थ्य लगायत सबै क्षेत्रमा परिवर्तन ल्याउने कोशिश गरेको छु : निमा ग्याल्जेन शेर्पा, हेलम्बु गाउँपालिका

”हेलम्बु हिमालयन ग्रेट ट्रेल अहिले निर्माणाधीन छ। विश्वमा चीनपछिको ६० किलोमिटर लामो ग्रेट ट्रेल हेलम्बुमा बन्दै छ। यो हेलम्बुको मात्र नभई देशकै गौरवको विषय हो।”

शिक्षा र स्वास्थ्य लगायत सबै क्षेत्रमा परिवर्तन ल्याउने कोशिश गरेको छु : निमा ग्याल्जेन शेर्पा, हेलम्बु गाउँपालिका

हिमाली गाउँपालिका हो, हेलम्बु। सिमित स्रोतसाधनका साथ काम गरिरहेको हेलम्बुको पहिलो स्थानीय सरकार अभ्यासबारे गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासँग भागिरथी पण्डितले गरेको कुराकानी।

स्थानीय तहको यो पहिलो अभ्यास थियो। आफ्नो कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

अलि चुनौतिपुर्ण रह्यो। स्थानीय तह प्रमुखमा चुनिएको कति दिनसम्म अन्योलमा नै थियौं। ऐन कानुन केहि पनि थिएन। स्थानीय तह मात्र नभई तीनै तहको सरकार सञ्चालनमा अलिकति चुनौती थियो। हामी आउँदा अन्धाधुन्ध थियो। खाली हात थियौं। ऐन आफैले बनाउनुपर्ने थियो। संविधानले दिएको अधिकारलाई स्थानीय तहले उपयोग गरेर ऐन बनाउनु परेको थियो।

हामीले शुरुमा ऐन, नियम, कार्यविधि बनाएर अघि बढ्यौं। सबैले यो अवसर पाउँदैनन्। अब चुनिएर आउने जनप्रतिनिधिले नै त्यो अवसर पाउँदैनन्। ऐन अनुसार आवश्यक कार्यविधि बनायौं। यो कार्यकालमा हामीले चुनौती र अवसर दुवैको सामना गर्‍यौँ। तर हामीले यो कार्यकालको पाँच वर्ष नै फ्रिक्वेन्ट्ली काम गर्न पाएनौं।

शुरुका दुई वर्ष मात्र राम्रोसँग काम भयो। त्यसपछिको दुईवर्ष कोभिडको लकडाउनले र तेस्रो वर्ष बाढीले तहसनहस बनायो। दुई वर्ष मात्र काम गर्दा पनि चुनावताका गरेको प्रतिबद्धता मात्र नभई नबोलेको विषयमा पनि काम गरेको छु।

तपाईंको मुख्य उद्देश्य के थियो ?

अघि नै भने नि, चुनावअघि गरेका प्रतिबद्धतासँगै नबोलेका काम पनि गरेको छु। चुनावअघि मैले सडक बिस्तार गर्ने प्रतिबद्धता गरेको थिएँ। त्यसबेला हेलम्बु क्षेत्रका गाउँमा हिउँदमा मात्र बस जान्थ्यो।

अहिले सडक बिस्तार गरेर ग्राभेल गरिएको छ। प्रायः गाउँमा बर्खा र हिउँद दुवै समयमा नै बस चल्छ। पहिलाको सडक एकदमै सानो थियो। अहिले सडकको लेन बढाएका छौं।

मैले चुनावमा नबोलेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ अहिले निर्माणाधीन छ। विश्वमा चीनपछिको ६० किलोमिटर लामो ग्रेट ट्रेल हेलम्बुमा बन्दै छ। यो हेलम्बुको मात्र नभई देशकै गौरवको बिषय हो। चीनको तुलनामा यो कति गुणा सुन्दर छ। हिमाल हेर्दै पाँच हजार फिट उचाईमा पुग्न सकिन्छ। ग्रेट ट्रेल ड्रिम प्रोजेक्ट नै हो।

यो कार्यकालमा शिक्षा र स्वास्थ्य लगायत सबै क्षेत्रमा परिवर्तन ल्याउने कोशिश गरेको छु। शिक्षामा सुधार ल्याउन हेलम्बु मोरल विद्यालय बनाएका छौं। किसानलाई कृषि सामग्रीमा सहुलियत दिएका छौं। स्थानीय तहले ढुवानी खर्च बेहोरेर कम्पनीमा पाइने मूल्यमा नै कृषि सामग्री दिने व्यवस्था मिलाएका छौं।

दीर्घरोगीलाई निःशुल्क औषधी वितरण गरेका छौं। शिक्षकको स्वास्थ्य कोष स्थापना गरेका छौं। अस्थायी शिक्षकलाई अवकास कोषको व्यवस्था गरेका छौं। कर्मचारीलाई पनि स्वास्थ्य बिमाको व्यवस्था गरेका छौं।

सरकारको दिवा खाजाअन्तर्गत पाँच कक्षासम्म विद्यार्थीलाई खाजा खुवाइन्छ भने ६ देखि १२ कक्षासम्मका विद्यार्थीलाई स्थानीय तहले खाजा खुवाउन लागेका छौं।

त्यस्तै वडा नम्बर एकको ङिमादावा पाङ्गाङमा बञ्जी जम्पका लागि एक सय ७३ मिटर उचाइ र तीन सय ७० मिटर लम्बाइको झोलुङ्गे पुल बनाउन लागिरहेका छौं।

अस्पतालमा नै बच्चा जन्माउन सरकारले दिने तीन हजारमा स्थानीय तहले तीन हजार थप गरेर निःशुल्क एम्बुलेन्स सेवा दिएका छौं। हेलम्बुको स्वास्थ्य संस्थामा सुत्केरी हुन नसके काठमाडौं आवतजावत गर्न निःशुल्क एम्बुलेन्सको व्यवस्था छ। आकस्मिक अवस्थामा हेलिकप्टरमा काठमाडौं पर्‍याएका छौं।

पहिला वर्षेनी स्वास्थ्य चौकीमा पाँच जना कम सुत्केरी हुन्थे भने अहिले दुई सयको हाराहारीमा पुगेको छ। बर्थिङ सेन्टरमा सुत्केरी आमा तीन दिन र सात दिनमा फलोअपका लागि आउनुपर्ने रहेछ। हेलम्बुको सबै क्षेत्रमा यातायातको सुविधा छैन।

कुटुङसाङ, सुर्सिङ र पातिङबाट सुत्केरीलाई हिँडेर स्वास्थ्य चौकी आउन झण्डै एकदिन लाग्छ। सुत्केरीलाई सहज सेवा दिन घर–घरमा नै स्वास्थ्यकर्मी खटाएका छौं। त्यसबापत स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिन्छौं।

हेलम्बु गाउँपालिकालाई भ्रष्टाचारशून्य स्थानीय तहको रुपमा विकास गर्ने मेरो प्रतिबद्धता थियो। यो गाउँपालिकाले जनतालाई सेवा दिँदा कुनै रकम मागेको छैन, त्यसको ग्यारेन्टी म दिन्छु।

नेपालमा जेठ र असारमा सरकारी कार्यलयमा खुट्टा राख्ने ठाउँ हुँदैन। सरकारी कार्यालयले भए भरको खर्च जेठ र असारमा नै गर्छन्। हेलम्बुमा जेठ असारमा काम नै हुदैँन।

मैले तपाईंले गर्नुभएका मुख्य काम सोधेको। तपाईंको कार्यकालले के परिवर्तन ल्यायो ?

स्थानीय तह आएपछि हेलम्बुको पर्यटन क्षेत्रमा पनि परिवर्तन आएको छ। विकास निर्माणको काम हेलम्बुमा धेरै भए। यहाँको जनताको प्रतिव्यक्ति आय उच्च बनाउने, शिक्षित बनाउने र निःशुल्क स्वास्थ्य सेवा दिने भन्ने मुख्य उद्देश्य छ।

हेलम्बु काठमाडौंबाट धेरै नजिक छ। सडक पिच गरे डेढ घण्टामा आइपुगिन्छ। काठमाडौंबाट एक दिन बसेर घुम्न जान चाहने व्यक्तिका लागि उपयुक्त स्थान नै छैन। परिवारिक ट्रिपको गन्तव्य हेलम्बुलाई बनाउने प्रयास स्वरुप हिमालयन ग्रेट ट्रेल निर्माण गरिएको हो।

काठमाडौं उपत्यकामा ५० देखि ५५ लाख जनसंख्या बस्छन्। हेलम्बुमा अहिलेको जनसंख्या १७ हजार छ। काठमाडौंको ५० प्रतिशत मान्छे मात्र हेलम्बुमा घुम्न आए हेलम्बुको एक जनाको भागमा एक लाख पर्यटक हुनेछन्।

म व्यक्ति बनाउने भन्दा पनि ठाउँ बनाउनेमा केन्द्रित छु जसकारण हेलम्बुबासी सबै धनी हुनेछन्, त्यसमा म पनि एक जना पर्छु। ग्रेट ट्रेलमा यसरी पर्यटक ल्याउन सके सबै समृद्ध हुन्थे। हेलम्बुमा वर्षमा तीनपटक हिउँ पर्छ। हिमाल हेर्दै घुम्ने, बञ्जी जम्प गर्ने र मेलम्ची खानेपानीको मुहान हेर्न आउने पर्यटक तान्ने मेरो उद्देश्य छ। हामीले प्याराग्लाइडिङ पनि परिक्षण गरिसकेका छौं।

यहाँ विभिन्न धार्मिकस्थलहरु छन्। बौद्ध धर्मावलम्बीको लागि गुम्बा नै गुम्बा छ। हिन्दू धर्मावलम्बीको पाल्चोकी माई र निन्देश्वरी मन्दिर छ। यी क्षेत्रलाई व्यवस्थित गराउन सके नेपालको सबैभन्दा धनी कहाँ बस्छन् भन्दा हेलम्बुमा भन्ने बनाउन सकिन्छ।

यति भन्दा काठमाडौंका मान्छे धनी नभई कसरी हेलम्बुका हुन्छन् भन्ने प्रश्न उठ्न सक्छ। यहाँका जनताका कम्तिमा पनि ४० आना भन्दा कम जग्गा कमैको मात्र छ। काठमाडौंमा धेरैजसो घर तीन आनामा बनेका छन्। यदि हेलम्बुमा पर्यटक भित्र्याएर काठमाडौंकै रेटमा यहाँको जग्गा बिक्रि भए काठमाडौंबासी भन्दा हेलम्बुबासी अवश्य धनी हुन्छन्।

हामीले अहिलेसम्म केही गर्न सकेका छैनौं। जनतालाई मेरो सरकार छ भन्ने महसूस हुन दिनुपर्छ। त्यसपछि मात्र केही हुन्छ। त्यो बिगार्ने हामी हौं। सबै एउटा पार्टीमा लागेको हुन्छ। नेता बिग्रनुमा नेताको मात्र दोष छैन। आम कार्यकर्ताको पनि दोष छ।

हेलम्बुको स्याउ काठमाडौंमा निकै प्रख्यात छ व्यावसायिक स्याउ खेती कत्तिको सम्भव देख्नुभएको छ ?

हेलम्बुमा पहिला रोपेको स्याउको बोट सबै मर्यो। पछिल्लो समय स्याउको बिरुवा रोप्यौं तर फल राम्रो दिएन। अहिले एक वर्षमा नै फल्ने स्याउ परीक्षण भइरहेको छ।

हामीले विज्ञहरु ल्याएर परिक्षण गर्दा हेलम्बुमा व्यावसायिक स्याउ खेती नहुने प्रमाणित भएको छ। यहाँ साउन, भदौ र असोजमा बादलले माथिल्लो क्षेत्र छेक्ने भएकाले स्याउ उत्पादनको गुणस्तर खस्काउने विज्ञहरुले बताएका छन्।

स्याउ खेतीको विकल्पमा के गर्ने भन्नेमा हाम्रो ध्यान केन्द्रित भएको छ। व्यवसायिक तरकारी खेती गर्ने बिषयमा सोचिरहेका छौं। हेलम्बुको ट्राउट माछा व्यवसायको नमूनाको रुपमा परिचित भइसकेको थियो। गत १ असारमा आएको बाढीले तहसनहस बनायो। अहिले अन्य स्थानमा ट्राउट माछा व्यवसाय गर्ने योजना बनाइरहेका छन्।

यो अवधिमा केन्द्रीय र प्रदेश सरकारसँग कस्तो सम्बन्ध रह्यो?

केन्द्र र प्रदेश सरकारसँग कुरा त हुन्छ तर बृहतरुपमा छलफल भएको छैन। स्थानीय सरकारको समस्या के हो, प्रदेश सरकारको समस्या के हो ? संघीय सरकारले त्यसको समन्वय गरेर कसरीे गर्ने पाँच वर्षको अवधीमा कहीँ भएन। त्यो समन्वय गाउँपालिका महासंघले पनि गर्न सकेन।

संघीयता आएसँगै गाउँ–गाउँमा सिहंदरबार पुग्यो भनिएको थियो। गाउँपालिका प्रमुख भएर काम गर्दा कत्तिको स्वायत्त भएको अनुभूती गर्नुभयो ?

संघीयता अभ्यास शुरु भएपछिको दुई वर्ष कोभिडले अप्ठ्यारो बनायो। हामीले औषधि ल्याएर पुर्‍याउने काम गर्‍यौँ। यहाँका संक्रमितलाई व्यवस्थित गरेर राख्ने, कोहि व्यक्ति बिरामी परे हेलिकप्टरबाट काठमाडौं पुर्याउने काम स्थानीय तहले नै गर्‍यो। स्थानीय सरकार नभइदिएको भए सबै लथालिंग हुने जनताले पनि महसूस गरेका छन्।

यो अवधिमा प्रदेश र केन्द्र सरकार ढुक्क बसे। जनता त्यहाँसम्म पुग्न सक्दैनन्। जनतालाई प्रदेश सरकार त कहाँ हो कहाँ, थाहा नै छैन। संघीयतामा स्थानीय सरकारको भूमिका प्रभावकारी देखियो तर बजेट एकदमै न्युन पठाएको छ। १२ प्रतिशत बजेट स्थानीय तहलाई पठाउँछ। सबै बजेटमाथि राख्छ। उनीहरुले कार्यान्वयन गर्न पनि सक्दैनन्। प्रदेशले काम नगर्दा संघीयताप्रति नराम्रो सन्देश गएको छ।

सिस्टम आफैँ राम्रो हुँदैन। सिस्टमलाई राम्रो बनाउने काम व्यक्तिको हो। जतिसुकै राम्रो भए पनि व्यक्ति खराब भएपछि सिस्टमले केहि गर्न सक्दैन।

गाउँमा सिहंदरबार पुगेसँगै भष्ट्राचार पनि पुगे भन्ने व्याप्त टिप्पणी छ यसमा हजुरको धारणा के छ ?

हेलम्बुमा भ्रष्टाचार छैन। अरु ठाउँमा पुग्यो होला। हेलम्बुलाई भ्रष्टाचारशून्य गाउँपालिका बनाउनेमा म लागिपरिरहेको छु।

हिजो सिंहदरबारमा बस्ने व्यक्ति नै अहिले प्रदेश र स्थानीय तहमा आइपुगेका छन्। व्यक्तिको नियतमा परिर्वतन नभए सुधार हुँदैन।
नेपालमा भ्रष्टाचार व्याप्त छ। नेतालाई सबैले चोर फटाहा भन्छन्। सरकारी कर्मचारीलाई पनि त्यहि भन्छन्। त्यसमा परिर्वतन ल्याउन जरुरी छ।

नेपालमा संघीयताबारे मतभेद छ। संघीयता कसरी अघि बढ्ला ?

संघीयता त अघि बढ्छ नै। यसलाई फर्केर तल झार्ने ठाउँ छैन। अहिलेको हिसाबले संघीयता चल्यो भने छ भन्ने मात्र हुन्छ। संघीयताबाट जनताले सेवा पाउनुपर्छ। अहिले नाम मात्रको संघीयता छ।

सरकारले जनतालाई सेवा दिने बिषयमा सोचनुपर्छ। दीर्घकालीन विकासमा जोड दिनुपर्छ। अहिले १० लाख अनुदान दिए २० लाख अनुदान दिए भन्ने गरेका छन्। यसरी देश विकास हुदैँन र जनताले सेवा पनि पाउँदैनन्।

२०४६ मा जनआन्दोलन हुदाँ म विद्यार्थी थिए। त्यो बेला पशुपति शमशेरले २५ वर्ष शासन गर्दा राणाको छोरा भएर हाम्रो ठाउँमा विकास गरेन भनेर ढुङगा हानेका थियौं। हाम्रो चुनाव क्षेत्रमा राणाको छोरा हटाएर हाम्रो जनताका छोरालाई चुनाव जितेको १५ वर्ष भयो तर विकास जस्ताको त्यस्तै छ। अब हामीले आफूलाई प्रश्न गर्ने कि नगर्ने ?

जनताको छोरा चुनिएको आएको १५ वर्षमा कुन सडक पिच भयो ? मेलम्चीसम्मको बाटो खानेपानी प्रोजक्टको कारण बनेको हो। यहाँ काठमाडौंको जस्तै अस्पताल किन बन्न सकेन ? यहाँको युवालाई रोजगार सिर्जना गर्न के गरेका छौं ? अनि हिजो हामीले किन ढुङगा हान्यौं ? हामीले अरुलाई भन्ने मात्र होइन आफुले के गर्‍यौँ भनेर हेर्नुपर्छ।

स्थानीय स्रोत पहिचान र परिचालनमा कस्तो उपलब्धि भयो ?

हामीसँग आन्तरिक स्रोतको कमी छ। जति छ त्यसलाई काहिँ कतै चुहिन नदिई व्यवस्थापन गरिरहेका छौं। अरुले भन्छन्– हेलम्बुले कहाँ बाट पैसा ल्याएर काम गरिरहेको छ। मैले म्यानेज गरिरहेको छु।

आगामी निर्वाचनमा तपाईंको उम्मेदवारी हुन्छ, हुँदैन ?

त्यो अहिले नै नभनौं। पार्टीका साथीहरुसँग छलफल भइरहेको छ। म जेका लागि पनि तयार छु। चुनाव लड्नुपर्छ भने पनि तयार, संघीय संसद्मा लड्नुपर्छ भने त्यो पनि तयार। मन्त्री हुनुपर्छ भने पनि तयार। सबै विकल्प खुल्ला छ। पार्टीले जुन जिम्मेवारी दिन्छ त्यो पुरा गर्नेमा म तयार छु।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved