सिरिज नै जित्ने हाम्रो लक्ष्य हो : सन्दीप लामिछाने

सिरिज नै जित्ने हाम्रो लक्ष्य हो : सन्दीप लामिछाने

काठमाडौं। नेपालले सन्दीप लामिछानेको कप्तानीमा घरेलु मैदानमा पहिलो क्रिकेट म्याच जितेको छ। एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजको दुबै खेल हारेको नेपालले टी–ट्वान्टी सिरिजको पहिलो खेलमा पीएनजीसँग त्यो हारको बदला लिएको छ।

सोमबार ट्राई नेसन्स सिरिज (त्रिकोणात्मक श्रृंखला) को पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गर्‍‍यो। १९ औ ओभरमा करण केसीले दुई विकेट लिएपछि १८४ रनको लक्ष्य पछ्याएको पीएनजीलाई१६८ रनमा अल आउट गर्न नेपाल सफल भयो।

“हाम्रो बलियो टिमको फर्म फर्किएकोमा धेरै खसी छु,” जितपछि नेपालका कप्तान सन्दीप लामिछानेले भने, “यो ट्राई नेसन्स सिरिजका उपाधि नै जित्ने हाम्रो लक्ष्य हो।”

नेपालले पीएनजीलाई टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा हराएको यो पहिलो पटक हो। यसअघि सन् २०१५ मा भएको एक मात्र खेलमा पीएनजी ९ विकेटले विजयी भएको थियो।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुरुआत राम्रो गर्‍‍यो। ओपनर कुशल भुर्तेलले पहिलो बलमा नै छक्का प्रहार गर्दै विस्फोटक सुरुआत गराएका थिए। तर ११ बलमा २० रन जोडेका उनी तेस्रो ओभरमा नै रन आउट भए।

कुशल यो खेलबाट टी–ट्वान्टी अन्तर्राष्ट्रियमा ५०० रन पूरा गर्ने नेपालको चौथो खेलाडी बनेका छन्। उनले मात्र १२ इनिङमा ५०० रन पुरा गरेका हुन्।

यसपछि अर्का ओपनर आशिफ शेखले रोहित कुमार पौडेलसँग मिलेर आक्रमक ब्याटिङ कायमै राखे। ६ ओभरको पावर प्लेमा नेपालले एक विकेटको नोक्सानीमा ५७ रन बनाएको थियो। यी दुईले दोस्रो विकेटका लागि ८० रनको साझेदारी गरे।

शुुरुआत राम्रो गरेको नेपालको मध्यक्रमको ब्याटिङ भने लड्खडायो। ११ ओभरसम्म ९८ रन जोड्दा एक विकेट मात्र गुमाएको नेपालको १६ औँ ओभरमा १३४ रन बनाउँदासम्म ६ विकेट गयो। १२ औँदेखि १६ औं ओभरसम्म लगातार पाँच ओभरमा नेपालले पाँच विकेट गुमायो।

१२ औ ओभरमा आशिफ ३५ बलमा पाँच चौका र एक छक्काको मद्दतले सर्वाधिक ४३ रन जोड्दै क्याच आउट भए। लगत्तै  रोहित पनि आउट भए। उनले ओभरमा २६ बलमा ३४ रन जोडे।

पीएनजीसँगको ओडीआई सिरिजमा राम्रो प्रदर्शन गरेका र शतक प्रहार गरेका रोहितलाई खेलको दिन अन्तिम समयमा मात्र नेपाली टी–ट्वान्टी टिममा भित्र्याइएको थियो।

यसपछि दीपेन्द्र सिंह ऐरी पनि अर्को ओभरमा रिभर्स स्विप हान्न खोज्दा मात्र चार रनमा क्याच आउट भएका थिए। त्यस्तै, कुशल मल्ल ११ रनमा बोल्ड हुँदा लाकेश बम पाँच रन जोड्दै पेभोलिएन फर्किए।

त्यस्तै करण केसीले सात बलमा दई छक्का सहित १४ रन जोडे। आशिफ शेखको थप ३४ रनको मद्दतले नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १८३ जोडेको थियो।

शुुरूआतको ब्याटिङको हिसाबले ठुलो स्कोर बनाउने संकेत गरेको नेपालले मिडिल अर्डरमा लगातार खसेको विकेटको कारण २०० माथिको योगफल छुन सकेन।

जवाफमा १८४ रनको योगफल पछ्याएको पीएनजीविरुद्ध नेपालले बलिङमा राम्रो शुरूआत गर्‍‍यो। ६ ओभरको पावर प्लेमा नै नेपालले पीएनजीको तीन विकेट झार्न सफल भएको थियो।

दोस्रो ओभरमा नै करण केसीले ओपनर टोनी उरालाई ५ रनमा क्याच आउट गराए। आक्रमक ब्याटिङ गरिरहेका अर्का ओपनर लेगा सियाका पनि तेस्रो ओभरमा सोमपाल कामीको बलमा २१ रनमा क्याच आउट भए।

दुई ओपनर आउट हुँदा पीएनजीको तीन ओभरमा २८ रन थियो। पावर प्लेको अन्तिम ओभरमा पीएनजीका अर्का विष्फोटक ब्याटर चाल्र्स आमिनीलाई अभिनाष बोहोराले बोल्ड गरे। आमिनी १० बलमा २२ रन जोड्दा आउट भए। ६ ओभरमा ५५ रन जोड्दा तीन विकेट गुमाएको पीएनजीको इनिङ दबाबमा आउनु स्वभाविक थियो।

त्यही दबाबमा नवौं ओभरमा नेपालका कप्तान सन्दीप लामिछानले पीएनजीका कप्तान आसाद भालालाई मात्र सात रनमा क्याच आउट गराए। नेपालको जस्तै पीएनजीले पनि मिडिल ओभरमा लगातार तीन ओभरमा तीन विकेट गुमायो।

सन्दीपले नै आफ्नो अर्को ओभरमा टिकेर खेलिरहेका सेसे बाउलाई एलबीडब्लू धरापमा पारे। बाउले २४ बलमा ३० रन जोडेका थिए। १२ औ ओभरमा अभिनाष बोहोराले हेकुरेको विकेट लिए। अर्को ओभरमा फेरी सन्दीपको स्पिन खेल्न नसक्दा जासन किला शून्य रनमा एलबीडब्लू आउट भए।

१३ ओभरमा १०० रन जोड्दा ७ विकेट गुमाएको पाहुना टोली पीएनजीको हातबाट खेल फुस्कदै थियो। नेपालले खेल सजिलै जित्ने अनमान थियो। तर नोर्मन भानुवाले आक्रमक ब्याटिङ गरेर गतिलो चुनौती दिऐ। उनले चाद सोपरसँग मिलेर आठौ विकेटको लागि ६७ रनको साझेदारी गरेका थिए।

जितका लागि अन्तिम दुई ओभरमा पीएनजीलाई २५ रनको आवश्यकता थियो। यसपछि १९ औ ओभर करण केसीले लगातार दुई विकेट लिदैँ पीएनजीको हातबाट खेल खोसे। उनले खतरनाक साबित हुनसक्ने भानुवालाई ५२ रनमा एलबीडब्लू धरापमा पारे।

भानुवाले २९ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ५२ रन जोडेका थिए। यसपछि अन्तिम ओभरमा पीएनजीका अन्तिम ब्याटर रनआउट भएपछि पीएनजी ४ बल खेल्नु अगाडी अल अलआउट भयो।

प्लेएर अफ दी म्याच बनेका सन्दीपले बलिङ चार ओभरमा मात्र २२ रन खर्चेर तीन विकेट लिए। त्यस्तै करणले तीन र अभिनाषले दुई विकेट लिए।

अब नेपालले सिरिजको दोस्रो खेलमा बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। सिरिजमा सहभागी तीन टिमले एकअर्कासँग दुई–दुई खेल खेल्नेछन् भने शीर्ष दुई टिमले फाइनलमा उपाधिका लागि भिडन्त गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved