स्मृति–लेख

नबिर्सिइने नवीन्द्र

बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेडलाई पुनर्जीवन दिएपछि स्वदेशमै जीवनजल र सिटामोल उत्पादन हुन थालेका थिए। उद्योगमन्त्री जोशीको उक्त कार्यबाट आम जनता धेरै खुशी भएका थिए। उदयपुर सिमेन्ट कारखानाबाट पहिले जत्तिकै सिमेन्ट उत्पादन हुने चाँजोपाँजो मिलाएका थिए।

नबिर्सिइने नवीन्द्र

नवीन्द्रराज जोशी। जनताका नेता। कालो भादगाउँले टोपी, सर्ट, पाइन्ट र कोट उनको चिनारी थियो। पातला काँठी, औसत उचाइका जोशीको निधारको चन्दनले सेतो उज्यालो फैलाइरहेको हुन्थ्यो। जनताका समस्या सुल्झाउने काममा निरन्तर लाग्ने पातला काँठका यी नेतालाई पहिरनमा खासै सोख थिएन। तर, विवाहको उन्नाइसौं वार्षिक उत्सवको तयारीमा उनले आफैंलाई नयाँ सुट र श्रीमतीलाई गहना किनिदिएका थिए। तर नवीन्द्रले फागुन १९ गतेको उमंग साट्न पाएनन्। चार पुस्ता अघि काठमाडौं आएर बसेको जग्गामा आफैंले बनाएको नयाँ घरमा फागुन १७ गते सर्ने योजना थियो। तर, त्यो पनि अधुरै रह्यो किनभने फागुन १३ गतेको त्यो रात नवीन्द्रको जीवनमा भयानक मोड लिएर आयो।

१३ फागुन २०७७, एउटा साथीले सपरिवार रात्रिभोज (डिनर) का लागि निम्ता गरेका थिए। नवीन्द्र बेलुकी ७ः१९ बजे श्रीमती र छोरीलाई लिएर हितैषी ओम राजभण्डारीको सीतापाइलास्थित निवास पुगेका थिए। राति घर फर्कंदा ११ः१८ बजेको थियो। परिवारका तीनै जना सदस्य सँगै घर फर्के र सुते। करिब १२ बजेर ३५ मिनेट जाँदा उनलाई अप्ठेरो भएको महसुस भयो र निद्राबाट ब्युँझे। सँगै सुतेकी श्रीमती सपनालाई झक्झकाउँदै उनले आफ्नो बायाँ हात नचलेको र आफूलाई तुरुन्तै अस्पताल लगिहाल्नु भने। श्रीमती सपनाले हतार–हतार पहिले नजिकको वीर अस्पताल पुर्‍याइन्। अस्पतालमा पुगेपछि उनको होश कम हुँदै गयो। करीब ४५ मिनेट त्यहीं घुरेर निदाए। तुरुन्तै साथीभाइ अलिअलि जम्मा भए। सबैले नर्भिक अस्पताल लैजाने सुझाव दिएपछि तुरुन्तै थापाथलीेस्थित नर्भिक अस्पतालमा पुर्‍याइयो।

उनको स्वास्थ्यको जटिलता हेरी अस्पताल भर्ना गरिने निर्णय भयो। अस्पतालमा बस्दाबस्दै एकपल्ट स्वास्थ्यमा केही सुधार पनि देखियो। उनलाई आईसीयूबाट क्याबिनमा पनि सारियो। यत्तिकैमा १२ चैतमा नेपाली कांग्रेसका उदीयमान नेता नवीन्द्रराज जोशीको मृत्यु भएको हल्ला चल्यो। धेरैले सामाजिक सञ्जाल लगायत फोनै गरेर समवेदना दिए। यस्तो हल्ला चलेको कारणले मृत्युलाई जित्छन् भन्ने केही आशावादी मनहरू पनि थिए। तर, उनको अवस्था विस्तारै बिग्रिएर गयो। चिकित्सकहरूले पुनः भेन्टिलेटरमा राखेर श्वास जोगाउने प्रयत्न गरे। सर्वत्र उनको स्वास्थ्यलाभको कामना गरियो। लाखौं समर्थक र हजारौं मित्रगणले उनको नाममा धेरै पूजा–आजा र कामना गरे। तर, राम्रो मान्छे लामो उमेर बाँच्दैन भन्ने उक्तिलाई चरितार्थ गर्दै एक अत्यन्त असल व्यक्ति, जनताले पत्याएको नेता, नेपाली कांग्रेसका युवापुस्ताका सशक्त आवाज र काठमाडौंका जनप्रतिनिधि नवीन्द्रराज जोशीले १३ चैत शुक्रबार, साँझ ८ः२४ मा पृथ्वीबाट सधैंका लागि बिदा लिए।

उनको निधनमा आहत नहुने कोही भएन। नाम मात्र सुनेको व्यक्तिले पनि नवीन्द्र राम्रो मान्छे हो भन्थे। त्यसको प्रतिबिम्व चैत १४ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जली चढाउन आउने भीडले पनि देखाएको थियो। पशुपतिसम्म पुग्दा त्यो भीडले विगतमा देहावसान भएका ठूला राजनीतिक नेताको सम्झना गराएको थियो। जो कोहीले सहजै अनुमान गर्न सक्थे, त्यो भीडले देशको एक लोकप्रिय नेता, एक राष्ट्रप्रेमी युवा, एक सच्चा समाजसेवी गुमेर देशलाई ठूलै घाटा भएको संकेत गर्दै थियो।

घरदैलोका नेता

‘म्यान इज बर्न फ्री बट एभ्रिह्वेयर ही इज इन चेन’ प्रसिद्ध दार्शनिक जाँ जाँक रूसोको यो भनाइ नवीन्द्रराज जोशीको जीवनमा पनि लागू हुन्छ। उनी जन्मेको साल राजा महेन्द्रले निर्दलीय पञ्चायती संविधान घोषणा गरेका थिए। उनी जन्मनु दुई वर्षअघि अर्थात् १ पुस२०१७ मा लोकतन्त्र अपहरण गरेर लागू गरिएको निर्दलीय पञ्चायती व्यवस्थालाई मलजल गरेर उकेरा लगाउन त्यो संविधान घोषणा गरिएको थियो। नवीन्द्र जन्मेको समयमा बोल्न पनि डराउनुपर्ने भय र उकुसमुकुसको वातावरण थियो।

पुसको बिहानीपखको ठण्डी। कुहिरोको सिरकले काठमाडौंलाई मध्यदिनसम्म पनि डम्म ढाकिरहेको थियो। यस्तै कठ्याङ्ग्रिंदो चिसो वातावरणमा मल्लकालीन बसन्तपुर दरबारको उत्तरतिरको यट्खामा नवीन्द्र जन्मिएका थिए। २२ पुस २०१९ मा शुक्लद्वादशीका दिन बिहान ५ बजे आमा गीता जोशी र बुबा गजेन्द्रराजको कान्छो छोराको रूपमा उनको जन्म भएको थियो। उनको न्वारानको नाउँ वसन्तराज थियो। जन्मपछि उनको स्याहार–सुसार पारिवारिक धाईआमा बुबुले गरेकी थिइन्।

उनका जिजुबाजे रामचन्द्र जोशी जङ्गबहादुर राणाको पालामा डडेलधुराको तिलाडीस्थित जोशी टोलबाट काठमाडौं आएका थिए। तिलाडीमा अहिले पनि जोशी टोलै छ। हो, नवीन्द्रका बाजे रामचन्द्र त्यहींबाट बनारसतिर लागे। संस्कृत अध्ययन गरेर काठमाडौं फर्किएपछि दरबारमा पुराण भन्ने हैसियतमा पुगे। रामचन्द्र, शिवराज, गजेन्द्रराज र नवीन्द्रराज गरी चार पुस्ता काठमाडौंमा बस्दै आएका छन्।

सुदूरपश्चिमबाट चार पुस्ताअघि काठमाडौं आएर बसोबास गरेका गर्ग गोत्रीय विशुद्ध ब्राह्मण परिवारमा जन्मिएका नवीन्द्रले ब्राह्मण परम्परा र न्यासध्यानप्रतिको अभिरुचि कहिल्यै कमी हुन दिएनन्।

आफ्ना दाजुभाइमध्ये कान्छा उनका बुबा गजेन्द्र व्यापारिक पृष्ठभूमिका थिए। थुप्रै जग्गा–जमीन भएकाले उनको बुवाको बढी समय त्यसको व्यवस्थापनमा बित्ने गथ्र्यो भने त्यस अतिरिक्त उनी चुरोटको व्यापार गर्थे। नवीन्द्रको परिवारको राजनीतिसँग कुनै साइनो थिएन। व्यापारिक पृष्ठभूमिको परिवारमा जन्मिएका थिए उनी। व्यापार लगायत सामाजिक क्षेत्रमा सक्रिय उनको बुबा गजेन्द्रराजको २०७४ माघ ५ गते ८२ वर्षको उमेरमा निधन भएको थियो।

पुष्पराज र चन्द्रराज क्रमशः उनका ठूला र माहिला बुबा थिए। उनका दिदी–बहिनी छैनन्। एकजना दाजु मात्रै छन्। उनी भन्दा दुई वर्ष मात्र अघि जन्मिएका उनका दाजु राजुराज पनि नेपाली कांग्रेसकै राजनीतिमा सक्रिय छन्। आमा दाजुसित बस्छिन् भने श्रीमती सपना राजभण्डारी र छोरी निऋति अलग्गै बस्छन्। यद्यपि, उनीहरूको घर नजिकै यट्खामा छ। बसन्तपुरबाट उत्तरतिर लाग्दा नरदेवी मन्दिर नपुग्दै यट्खामा उनीहरूको घर छ। जिजुबाजे डडेलधुराबाट काठमाडौं आएर पहिलोपटक जहाँ बसेका थिए नवीन्द्रको परिवार अहिले पनि त्यही स्थानमा बस्छन्। आफ्नो जीवनको उत्तराद्र्धमा सोही स्थानमा नवीन्द्रले नेवारी शैली झल्कने घर बनाएर भर्खरै सरेका थिए।

आमा गीताका अनुसार नवीन्द्रले ५/६ वर्षकै उमेरमा खरर्र अखबार पढेर सबैलाई दङ्ग पारिदिन्थे। जबकि उनलाई स्कूलमा भर्ना नै गरिएको थिएन। सानैदेखि मिलनसार थिए उनी। स्कूलमा टिफिन पठाइदिए पनि साथीहरूले टिफिन नल्याउँदा नखाने उनको स्वभाव थियो।

उनी २८/२९ जनाको संयुक्त परिवारमा जन्मिएका थिए। घरमा तीनथरी खाना पाक्थे। बुबा टोलीलाई मार्सी र मसिनोको भुजा, छोराछोरी, बुहारीलाई पोखरेली र काम गर्नेहरूलाई ताइचिन (थापाचिन) धानको भात पाक्ने गरेको नवीन्द्रकी आमा गीता सुनाउँछिन्।

करीब एक दशक सगोलमा बस्दै आएकी भाउजु शोभा जोशी भन्छिन्, “म विवाह गरेर आउँदा उहाँ काठमाडौं महानगरपालिकाको उपप्रमुख हुनुहुन्थ्यो। त्यो बेला उहाँ एकदम जवान, उत्साही, ऊर्जावान र हेर्दै राम्रो हुनुहुन्थ्यो। निकै मीठो बोल्नुहुन्थ्यो। देवर–भाउजूको हाम्रो सम्बन्ध भए पनि साथीको जस्तै व्यवहार गर्नुहुन्थ्यो।”

जे दिए पनि मीठो मानेर खाने उनको बानी थियो। खसीको मासुचाहिं अलि बढी नै मनपराउने गरेको सम्झँदै भाउजूले भनिन्, “खसीको मासु पकाएको दिन अलि बढी नै खुशी हुनुहुन्थ्यो। तर, पकाउने सन्दर्भमा त उहाँलाई चिया पनि पकाउन आउँदैनथ्यो। संयुक्त परिवारमा हुर्के, बढेको मान्छे उहाँलाई खाना पकाउनै परेन। पानी उमाल्न पनि जान्नु भएन। यसमा पछि उहाँले महसूस पनि गर्नुभएको थियो।” कम बोल्ने तर अरूका कुरा धेरै सुन्ने नवीन्द्रको विशेष गुण थियो। उनी राजनीतिमा सर्वोच्च नेता गणेशमान सिंहलाई आफ्नो गुरु मान्थे।

भाइको आनीबानीबारे दाजु राजुराज एउटा घटना स्मरण गर्छन्, “एकचोटि उसलाई जुत्ता चाहिएको रहेछ। तर पनि बुबालाई भन्न सकेन। केही कुरा पनि स्पष्ट नभन्ने, घुमाएर भन्ने भाइको बानी थियो। त्यसबेला प्रायः नेपालीको घरमा माघ महीनामा स्वस्थानी भन्ने चलन थियो। हामीकहाँ पनि त्यो चलन नहुने कुरै भएन। राति स्वस्थानी भनिसकेपछि फूल लगाउन र प्रसाद खान हामी कुरेरै बस्थ्यौं। प्रष्ट वाचक भएकाले प्रायः स्वस्थानी नवीन्द्रले नै भन्थ्यो। त्यत्तिकैमा एक रात उसले स्वस्थानी वाचन गरेर प्रसाद खाइसकेपछि एउटा कविता सुनायो। कविता जुत्ता चाहियो भन्नेबारे थियो। उसलाई बेलिबटन पाइन्टसित लगाउने जुत्ता चाहिएको रहेछ। उसले भनेको जुत्तालाई त्यसबेला ६०/७० रुपैयाँ पर्थ्यो। त्यो कविता सुनिसकेपछि बुबाले उसलाई जुत्ता किनिदिनुभएको थियो। ऊ सानैदेखि निर्णय गर्न, माग्न निकै डराउने स्वभावको थियो।”

नवीन्द्र परोपकारी स्वभाव र भावना भएका व्यक्ति थिए। दानधर्म र परोपकारमा पूरापूर विश्वास राख्थे। राजनीतिक हतारोले मन्दिर जान नभ्याउँदा पनि साँझ–बिहान बसन्तपुर आसपास माग्न बसेका गरीब–गुरुवाहरूलाई केही दिएर मात्र खाने उनको बानी थियो।

शिक्षा र राजनीति

नवीन्द्रका बुवाआमाले उनलाई सानो छउञ्जेल विद्यालय पठाएनन्। बरु, घरैमा मास्टर राखेर पढाए। त्यसबेला घरमै मास्टर राखेर बच्चाहरूलाई पढाउने चलन थियो। नवीन्द्रलाई पनि घरमै पढाएर एकैचोटि मरुस्थित शान्ति निकुञ्ज स्कूलमा सात कक्षामा भर्ना गरिएको थियो। सात कक्षा शान्ति निकुञ्जमा पढेर आठ कक्षामा बालाजुस्थित सिद्धार्थ वनस्थलीमा भर्ना भएका थिए।

सानो छँदा पढाइमा मध्यमस्तरका थिए। वनस्थली पढ्दा उनका असाध्यै मिल्ने चार जना साथी थिए। पल्लव मानन्धर, अजम्बरलाल श्रेष्ठ, उत्तमजंग पाँडे र देवमान गुरुङ बस नचढी शोभा भगवतीतिरबाट हिंडेरै स्कूल जान्थे।

वनस्थलीबाट उनले १४ वर्षको उमेरमा प्रवेशिका (एसएलसी) परीक्षा दिएका थिए। दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि त्रिचन्द्र कलेजमा जीव विज्ञान (बायोलोजी) मूल विषय लिएर प्रवीणता प्रमाणपत्र (आईएस्सी) भर्ना भए। यो २०३४ सालको कुरा हो।

त्रिचन्द्र कलेजबाट आईएस्सी सकेपछि परोपकार शाखा यट्खाको प्रधानसेवक बनेका थिए। त्यसैबेला वीर अस्पतालको दान विभाग शाखामा रहेर सेवा कार्यमा पनि जुटेका थिए। अर्थात् उनले विद्यार्थी राजनीति सँगसँगै स्वयंसेवीको रूपमा पनि समाजसेवा गरेका थिए।

आईएस्सी सकेर त्रिचन्द्र कलेजमै बीएस्सी पढ्दै गर्दा चिकित्साशास्त्र पढ्न नयाँदिल्ली र बङ्गलादेशका लागि तयारी पनि गरेका थिए। चिकित्सक बन्ने उनको चाहना थियो। परिवारले पनि त्यसमा सक्दो सहयोग गरिरहेको थियो। तर उतैको गडबडीका कारण उनको चिकित्साशास्त्र पढ्ने धोको पूरा हुन पाएन। भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई आफ्नै सुरक्षाकर्मीले गोलीहानी हत्या गरेपछि त्यता पढ्न जाने प्रक्रिया बिथोलियो। बङ्गलादेशमा पनि उतैको गडबडीले गर्दा जान नपाएपछि उनी विद्यार्थी राजनीतिमा बढी नै सक्रिय हुन थाले। त्यसपछि उनले पढाइभन्दा राजनीतिमा बढी समय दिन थाले।

२०३५ सालमा १६ वर्षमा नेविसंघको सदस्यता लिएपछि उनी काठमाडौं जिल्ला समिति सदस्य बने। २०३६ सालमा पहिले नेविसंघ काठमाडौंको उपसभापति त्यसपछि कार्यवाहक सभापति र र बीपी कोइरालाद्वारा उद्घाटन गरिएको नेविसंघको जनकपुर अधिवेशनबाट केन्द्रीय सदस्य चुनिएपछि बहुदलको प्रचारमा निकै खटेका थिए।

यता, त्रिचन्द्र कलेजमा विद्यार्थीमाझ पनि उनी लोकप्रिय बन्दै गएका थिए। त्यसैले २०३९ सालमा त्रिचन्द्र कलेज स्वतन्त्र विद्यार्थी युनियनको सचिव जिते। २३ वर्षदेखि कम्युनिष्ट समर्थक विद्यार्थीको अखडाको रूपमा रहेको स्ववियूमा नेविसंघबाट पहिलो पटक उनले नै विजयको खाता खोलेका थिए। त्यसयता त्रिचन्द्र कलेजमा सधैं नेविसंघ विजयी हुँदै आएको छ। त्रिचन्द्र कलेजमा नेविसंघको जग बसाल्ने विद्यार्थी नेता बने नवीन्द्र। त्यसपछि तरुण, विद्यार्थीमाझ उनको लोकप्रियता झनै बढ्यो। २०४० सालमा उनी नेविसंघको केन्द्रीय सह–महामन्त्री बने।

छात्रवृत्ति बिथोलिएर पूरै राजनीतिमा होमिएका थिए। विदेश गएर चिकित्साशास्त्र अध्ययन गर्ने धोको पूरा नहुने भएपछि उनी त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन केन्द्रीय विभाग, कीर्तिपुरमा एमबीएमा भर्ना भए। २०४३ देखि २०४५ सालसम्म उनले कीर्तिपुरमा व्यवस्थापन विषय अध्ययन गरेका थिए। त्यसबेलासम्म उनी राजनीतिमा निकै डुबिसकेका थिए। त्रिविमा विद्यार्थी छँदा उनले प्राज्ञिक कार्य गर्ने भन्दै ‘एसोसिएसन अफ् बिजनेस स्टडिज’ को स्थापना गरेका थिए। सत्याग्रहका बेला नेविसंघका सह–महामन्त्री रहेका उनी जेल भने परेनन्। त्यसपछि २०४४ साल पुसमा उनी नेविसंघको महामन्त्री बन्न सफल भए।

काठमाडौंको लैनचौरस्थित अमृत साइन्स कलेज (अस्कल) मा ६, ७ र ८ पुस २०४४  मा आयोजना गरिएको नेविसंघको पाँचौं अधिवेशनमा बलबहादुर केसी र प्रकाशशरण महत सभापति पदका सशक्त दाबेदार थिए। उद्घाटनका बेला प्रशासनले धरपकड गरेकाले केही ‘डिस्टर्ब’ भए पनि तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईले केसी र महत दुवैलाई बाहिर राख्दै बालकृष्ण खाँणलाई सभापति र नवीन्द्रलाई संघको महामन्त्रीमा मनोनीत गरेका थिए। यद्यपि, गणेशमान सिंह नवीन्द्रलाई सभापति नै बनाउन चाहन्थे। उनी महामन्त्री भएकै बेला २०४५ सालमा नुवाकोट जिल्ला अधिवेशन उद्घाटनका क्रममा पक्राउ परेपछि पाँच महीनासम्म केन्द्रीय कारागारमा थुनिएका थिए।

५, ६ र ७ माघ २०४६  मा प्रनेकाले सर्वोच्च नेता गणेशमान सिंहको निवास, चाक्सीबारी, क्षेत्रपाटीमा पार्टीको राष्ट्रिय सम्मेलन आह्वान गरेकोे थियो। जसमा संयुक्त वाममोर्चाकी अध्यक्ष सहाना प्रधान, कम्युनिष्ट नेता मनमोहन अधिकारी र भारतीय समाजवादी नेता चन्द्रशेखर, राजा वीरेन्द्रका अक्सफोर्ड विश्वविद्यालय पढ्दाका गुरु सुब्रमण्यम स्वामी लगायतका नेताहरूले सम्बोधन गरेका थिए। त्यसै कार्यक्रमबाट सर्वोच्च नेता गणेशमान सिंहले पञ्चायती व्यवस्थाको खारेजी र बहुदलीय व्यवस्था पुनस्र्थापनाको लागि जनआन्दोलनको शंखघोष गरेका थिए। फागुन ७ बाट शुरू गरिएको जनआन्दोलनमा नेविसंघ महामन्त्री नवीन्द्रराजले तरुण विद्यार्थीको अग्रमोर्चामा रहेर आन्दोलनको अगुवाइ गरेका थिए।

२६ चैत २०४६ राति राजा वीरेन्द्रले ३० वर्षदेखि चलिआएको पञ्चायती व्यवस्थाको खारेजी र राजनीतिक दलहरूमाथि लागेको प्रतिबन्ध फुकुवा गरिदिएका थिए। जनआन्दोलनको सफलताकै कारण नेपालीहरू निर्दलीय शासनबाट दलीय पद्धतिमा प्रवेश गरेका हुन्। नवीन्द्र २०४६ को जनआन्दोलनका कमाण्डर सर्वोच्च नेता गणेशमान सिंहका प्रिय विद्यार्थी नेता थिए।

खुला परिवेशका नवीन्द्र

तरुण विद्यार्थीमाझ निकै लोकप्रिय नवीन्द्र राजनीतिमा समर्पित हुँदै गए। कृष्णप्रसाद भट्टराई नेतृत्वको संयुक्त सरकारले समयमै संविधान लेखेर संसदको लागि २०४८ सालमा निर्वाचन गर्‍यो। तर उनले संसदको लागि टिकट पाएनन्। २०५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ११० स्थानमा जित हासिल गरी साधारण बहुमत प्राप्त गर्‍यो। दुःखद पक्षचाहिं, प्रधानमन्त्री तथा पार्टी सभापति कृष्णप्रसाद भट्टराई नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीसित काठमाडौं–१ बाट चुनावमा पराजित भए। पार्टीका महामन्त्री गिरिजाप्रसाद कोइरालाले मोरङ र सुनसरी गरी दुई क्षेत्रबाट निर्वाचन जिते। अनि महामन्त्री कोइराला प्रधानमन्त्री बने।

२०४८ जेठमा कांग्रेसको सरकार बन्यो। त्यसको चार महीनापछि असोज १६–१९ सम्म नेविसंघको छैटौं अधिवेशन बुटवलमा आयोजना भयो। बालकृष्ण खाँण नेविसंघका अध्यक्ष र नवीन्द्र महामन्त्री थिए। उक्त अधिवेशनमा नवीन्द्र गणेशमान सिंह समूहका सभापति पदका प्रत्यासी थिए भने प्रधानमन्त्री कोइरालाको समूहबाट एनपी साउद उठेका थिए। निर्वाचनमा साउद ३६३ मत ल्याएर विजयी भए भने नवीन्द्रले २६२ मत पाए। यसरी उनी १०० मतान्तरले साउदसित सभापतिमा पराजित हुन पुगे। (प्रजातान्त्रिक आन्दोलनमा नेपाल विद्यार्थी संघः नेपाली तरुणहरूको संघर्ष गाथा, गोवर्धन राना, प्रकाशक, नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल समन्वय समिति, २०५० वैशाख ६, पृष्ठ ६८२)

कोइराला सरकारले २०४९ जेठमा गराएको स्थानीय निर्वाचनमा काठमाडौं नगरपालिकाको उपप्रमुखको उम्मेदवार बन्ने सुअवसर नवीन्द्रले पाए। प्रमुखमा प्रेमलाल (पीएल) सिंह र उपप्रमुखमा नवीन्द्र विजयी भए। त्यसअघि करीब एक वर्ष उनी सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष समेत बनेका थिए। त्यस पदबाट राजीनामा दिएर उनी कांग्रेसबाट काठमाडौं नगरपालिकाको उपप्रमुखको उम्मेदवार बनेका थिए। त्यसबेला ३० वर्षीय नवीन्द्रले ६२ हजार ८८० (खसेको मतको ४८.३९ प्रतिशत) मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ३३ वर्षीय केशव स्थापितले ६१ हजार ९६९ (खसेको मतको ४७.६९ प्रतिशत) मत ल्याएर पराजित बनेका थिए। त्यसबखत काठमाडौं नगरपालिकाको जम्मा मतदाता ३ लाख २ हजार ४०१ जना थिए भने १ लाख ४७ हजार ४९९ मत खसेको थियो। निर्वाचनमा नगरप्रमुखका लागि कांग्रेसका पीएल सिंह र एमालेका राजेन्द्रप्रसाद श्रेष्ठ उठेका थिए। पीएल ६६ हजार ८७४ मत ल्याएर विजयी भएका थिए भने श्रेष्ठले ५६ हजार ८१० मत प्राप्त गरेका थिए। (स्थानीय निर्वाचन पुस्तिका, २०४९, निर्वाचन आयोग, बहादुर भवन, कान्तिपथ, काठमाडौं)

प्रत्यक्ष निर्वाचित भएर उपप्रमुखका रूपमा कार्यारम्भ गर्दा उनमा निकै जोश, जाँगर र सक्रियता थियो। पीएल सिंह प्रमुख भए पनि ३० वर्षीय मृदुभाषी, शालीन र सक्रिय नवीन्द्र नै सबैका प्रिय बनेका थिए। उनी राजधानीको फोहोर, पानी, सडक, ढल लगायत समस्या समाधान गर्न हरबखत जनताको घरदैलोमा पुग्थे। पहिलो पटक ३५ सै वडालाई विकास निर्माणमा सहभागी हुनसक्ने गरी बजेट पठाउने चाँजोपाँजो मिलाएका थिए। प्रमुख सिंह विदेशी तथा नगरको भगिनी सम्बन्ध रहेका विश्वका नगरहरूसँगको सम्पर्कमा बढी व्यस्त रहन्थे भने उपप्रमुख जोशी प्राप्त बजेटलाई जनजनको घरदैलोमा पुर्‍याउन प्रतिबद्ध।

सिंह र जोशी निकै मिलेका दाजुभाइ जस्ता प्रमुख र उपप्रमुख थिए। राजधानी शहरको साँचो लिएका यी दुई दाजुभाइले मिलेर शहरको विकास र रखबारी गरे। ‘स्वच्छ, हराभरा काठमाडौं’ को नारा सहित २९ मंसीर २०५२ मा काठमाडौं नगरलाई महानगरपालिका घोषणा उनकै पालामा गरिएको थियो। ३ असोज २०७२ मा नेपालको संविधान घोषणा गर्नु अघिसम्म काठमाडौं महानगरपालिकामा ३५ वटा वडाहरू रहेका थिए भने त्यसपछि ३२ वडा कायम गरिएको छ।

महानगरपालिका घोषणासँगै उनले काठमाडौंलाई महानगरको रूपमा विकास गर्न विभिन्न कार्यक्रम ल्याए। शहरलाई अस्तव्यस्त बनाइरहेको खुलामञ्चका साना व्यापारीहरूलाई त्यहाँबाट हटाएर खुलामञ्चलाई सार्वजनिक स्थानको रूपमा कायम गराउन सफल भए। उक्त ठाउँ धेरै वर्षदेखि साना व्यापारीहरूले कब्जा गरेर व्यापार गर्दै आएका थिए।

गणेशमानसँगको साइनो

गणेशमान सिंहसँग नवीन्द्रको सानैदेखि निकटता रह्यो। उनी सानैछँदा सर्वोच्च नेता सिंह उनको घरमा आउजाउ गर्थे किनभने उनका माहिला बुबा चन्द्रराज र गणेशमान सिंहबीच घनिष्टता थियो। त्यसबेलादेखि नै लौहपुरुष सिंहले उनलाई नियालिसकेका थिए। कालान्तरमा तिनै बालकले सर्वोच्च नेताबाट राजनीतिक शिक्षा–दीक्षा पाए। र, लोकतन्त्रप्रति निष्ठावान युवाको रूपमा संघर्षरत रहे। जब उनी काठमाडौं महानगरपालिकाका उपप्रमुख बने तब उनलाई गणेशमान सिंहका बारेमा केही गर्नुपर्छ भन्ने सोच पलायो। उनले २०५२ सालमा उपप्रमुखको जिम्मेवारीमै रहेका बेला गणेशमान सिंह अध्ययन प्रतिष्ठान स्थापना गरेर त्यसको संस्थापक अध्यक्षको जिम्मेवारी लिए।

काठमाडौंको भृकुटीमण्डपमा प्रतिष्ठानको कार्यालय स्थापना गरेर समाजका लब्ध–प्रतिष्ठित, बुद्धिजीवीहरूलाई भेला गराएर समसामयिक विषयमा बहस र छलफल चलाउन आरम्भ गरे। त्यसबेला थुप्रै समसामयिक विषयमा छलफल र बहस गरिएको स्मरण गर्दै प्रतिष्ठानमा अध्यक्ष जोशीको साथमा रहेर काम गरेका ‘वीर गणेशमान’ सिनेमाका निर्माण नियन्त्रक पुष्करराज पाण्डे भन्छन्, ‘प्रतिष्ठानले समसामयिक विषयमा छलफल चलाउँथ्यो। त्यसबाहेक २६ चैत २०५२ मा जनआन्दोलन दिवस पारेर प्रतिष्ठानले सर्वोच्च नेता सिंहको अभिनन्दन पनि गर्‍यो। र, विश्व शान्तिमा योगदान दिएको भन्दै ८ साउन २०५६  मा रंगभेद विरोधी नोबल शान्ति पुरस्कार विजेता दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलालाई गणेशमान सिंह अन्तर्राष्ट्रिय पुरस्कारद्वारा सम्मानित गर्ने निर्णय समेत प्रतिष्ठानले गरेको थियो।’ प्रतिष्ठानकै व्यानरमा ‘वीर गणेशमान’ सिनेमा निर्माण गरिएको थियो। (विभिन्न समयमा प्रतिष्ठानद्वारा प्रकाशित सूचनाहरूबाट)

कांग्रेसभित्रकै आन्तरिक किचलोका कारण २६ असार २०५१  मा आफ्नै सरकारको धन्यवाद प्रस्तावमा ३६ जना सांसद प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएपछि सरकारको नीति तथा कार्यक्रम असफल हुनपुग्यो। त्यसलगत्तै संसदमा बहुमतप्राप्त प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कात्तिकमा मध्यावधि निर्वाचन घोषणा गरे। त्यसपछि कांग्रेसभित्रको कलह निकै चुलियो। नवीन्द्र भने त्यसबेला काठमाडौं महानगरपालिकाको उपप्रमुख भएकाले सांसदको टिकटको दाबेदार नै बनेनन्। तर, २०५४ सालमा उपप्रमुखको पदावधि सकिएपछि भने कुनै पनि सरकारी ओहोदामा रहेनन्। जसका कारण उनले धेरै समय प्रतिष्ठानमै दिन थाले।

नीलाम्बर आचार्य, केदारभक्त माथेमा, विश्वम्भर प्याकुर्‍याल, कपिल श्रेष्ठ, पुष्कर बज्राचार्य लगायतका बुद्धिजीवीहरूसित घनीभूत छलफल गरेर उनले धेरै कार्यक्रमको आयोजना गरे। प्रतिष्ठानमा त्यसबखत सञ्चालन हुने गतिविधिका कारण निकै लोकप्रिय हुँदाहुँदै पनि उनलाई २०५६ सालको संसदीय निर्वाचनमा पार्टीले टिकट दिएन। काठमाडौं कांग्रेसको आन्तरिक राजनीतिक खिचातानीका कारण त्यसपटक पनि चुनावी राजनीतिक माहोलबाट बाहिर रहनु परेको तीतो यथार्थ नवीन्द्रको जीवनमा आइपरेको थियो। तैपनि उनी हतास भएनन्। राजनीतिक मैदानबाट पलायन बन्नुको सट्टा झन् सक्रिय हुनथाले।

राजनीति सँगसँगै उनी सामाजिक र शैक्षिक उन्नयनका काममा पनि सक्रिय हुनथाले। फलस्वरुप २०५७ सालमा उनले काठमाडौंको सानो गौचरनमा कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीको स्थापना गरे र शिक्षातिर पनि हात हाले। पछि त्यसलाई उनले मध्यबानेश्वरमा सारे र अहिले यो कलेज मध्यबानेश्वरमै सञ्चालन भइरहेको छ। उनी राजनीतिबाट आफूलाई अलि फुर्सद भयो कि खाली बस्नै चाहँदैनथे। केही न केही गरिहाल्थे।

२०५२ सालदेखि शुरु भएको माओवादीको हिंसाले नेपाली समाज आहत हुने क्रम बढ्दो थियो। २०५६ को आम निर्वाचनको मतादेश अनुसार कृष्णप्रसाद भट्टराईले नेपाली कांग्रेसको बहुमतको सरकार चलाइरहेका थिए। प्रधानमन्त्री भट्टराईले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा माओवादीसित वार्ता गर्न भनी उच्चस्तरीय वार्ता समिति गठन गरेर वार्ता प्रक्रिया अघि बढाएका थिए। त्यत्तिकैमा गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई हटाएर आफैं प्रधानमन्त्री बन्ने चालबाजी गरेको थाहा पाएपछि भट्टराईले ७ चैत २०५७ मा संसद्मा मार्मिक भाषण गर्दै राजीनामा दिए।

त्यसपछि माओवादी हिंसा झनै उत्कर्षतिर लाग्न थाल्योे। आम सर्वसाधारण र सुरक्षाकर्मीहरू निशानामा पर्ने क्रम झनै बढ्यो। यसैबीच कांग्रेसभित्र कलह बढ्दै गयो। र, बहुचर्चित होलेरी काण्डपछि गिरिजाप्रसाद कोइरालाले राजीनामा दिए र त्यसलगत्तै २०५८ साउनमा शेरबहादुर देउवा प्रधानमन्त्री बने। अनि कांग्रेस स्पष्टतः कोइराला र देउवा गुटमा विभाजित हुनपुग्यो। र, २०५९ असारमा पार्टी विभाजित भयो। त्यस्तो विषम् परिस्थितिमा पनि उनी भने मुलुकमा कसरी शान्ति बहाली गर्ने भनेर प्रतिष्ठानमा छलफल चलाइरहन्थे।

उपत्यका संयोजक

विवाद यति चर्कियो कि २०५९ जेठमा प्रधानमन्त्री देउवालाई महामन्त्री सुशील कोइरालाले चिठी लेख्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाइदिए। त्यही झोंकमा देउवाले पनि राजा ज्ञानेन्द्रको इशारामा संसद् विघटन गरेर चुनावको मिति तोके। र, ३ असार मा नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भेला आयोजना गरेर पार्टी सभापतिबाट गिरिजाप्रसाद कोइरालालाई हटाएर आफै सभापति भएको घोषणा गरे। त्यसपछि कुन समूह आधिकारिक नेपाली कांग्रेस हो भन्ने विवाद सिर्जना भयो र त्यो विवाद निर्वाचन आयोगसम्म पुग्यो। आयोगले गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको पार्टी नै आधिकारिक नेपाली कांग्रेस भएको निर्णय गरेपछि देउवा र उनको समूहले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे। त्यसबेला नवीन्द्र देउवातिर लागेर काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाको संयोजक बन्न पुगे।

माओवादी हिंसाका कारण देउवाले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन गराउन नसक्ने भनी मिति सार्न राजा ज्ञानेन्द्रसमक्ष जाहेर गरेपछि त्यसैलाई बहाना बनाएर राजाले उनलाई ‘अक्षम’ करार गर्दै १८ असोजमा प्रधानमन्त्रीबाट बर्खास्त गरिदिए। र, मुलुकको कार्यकारी शक्ति आफैं सम्हाले। त्यसको एक सातापछि अर्थात् २५ असोजमा लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा मन्त्रिपरिषद गठन गरेको घोषणा गरे। अनि राजा ज्ञानेन्द्रले आफूखुशी प्रधानमन्त्री फेर्न थाले। लोकेन्द्रलाई हटाएर सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए। थापालाई पनि मिल्काएर फेरि देउवालाई नै प्रधानमन्त्री बनाए २०६१ जेठमा। सोही वर्ष १९ माघमा ज्ञानेन्द्रले शाही घोषणा मार्फत कार्यकारी अधिकार लिएको घोषणा गरेपछि संसद्वादी दल र माओवादी एकठाउँमा आउने वातावरण बन्यो। अनि संसद्वादी र माओवादीबीच भएको १२ बुँदे सम्झौताको जगमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा जनआन्दोलनको घोषणा भयो। यस आन्दोलनमा पनि नवीन्द्र निकै सक्रिय रहे। सँगै उनले गणेशमान सिंह अध्ययन प्रतिष्ठानमार्फत समसामयिक विषयमा बहस र छलफललाई पनि बढाउँदै लगे।

२०६२ सालमा सात राजनीतिक दल राजा ज्ञानेन्द्रको प्रतिगमन विरुद्धको सडक आन्दोलनमा होमिएकै बेला उनले सपना राजभण्डारीसित विवाह गरेका थिए। अर्को वर्ष उनकी छोरी निऋति जन्मिइन्।

चार पुस्तादेखि राजधानी काठमाडौंमा बसोबास गर्दै आएको भए तापनि नवीन्द्रको परिवारमा अन्तरजातीय विवाह त्यसअघि कसैले पनि गरेका थिएनन्। किनभने, जोशी परिवार एकदमै रितिथितिमा अडेको धार्मिक भावना बढी भएको परिवार हो। यस्तो परिवारमा जन्मेर पनि नवीन्द्रले काठमाडौं, जयवागेश्वरी–८ का गोविन्द राजभण्डारी र चन्द्रमायाकी छोरी सपना राजभण्डारीसित अन्तरजातीय विवाह गरे। यसलाई उनको परिवारले सहज मान्न सकेन। तैपनि उनले आफ्नो प्रेमलाई ‘अरेन्ज म्यारिज’ मा परिणत गरे। विवाहअघि आमा र दाजु–भाउजूसँगै यट्खामा बस्दै आएका उनी विवाहपछि परिवारसित अलग भएर केही वर्ष बाँसबारीमा नयाँघर बनाएर पनि बसे। पछि फेरि यट्खाकै पैतृक घरमा सरे। त्यहीँ नयाँघर पनि बनाए। अहिले उनका छोरी र श्रीमती त्यही घरमा बस्छन्। आमा भने दाजुसित बस्दै आएकी छन्।

दोस्रो जनआन्दोलनको सफलतासँगै २०६३ सालमा गिरिजाप्रसाद कोइराला फेरि प्रधानमन्त्री बने। माओवादी शान्तिवार्ता मार्फत विस्तृत् शान्ति सम्झौतापछि खुल्ला राजनीतिमा प्रवेश गरे। अन्तरिम संसद र मन्त्रिपरिषद्मा सहभागी भए।

८ असोज २०६४ मा इन्द्रजात्राको दिन नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच ६० र ४० को सहभागिता रहने गरी एकता सम्पन्न भयो। यसरी विभाजनको पाँच वर्षपछि प्रजातान्त्रिक कांग्रेसमा रहेका सबै नेता/कार्यकर्ता माउ पार्टी नेपाली कांग्रेसमा फर्किए। त्यसपछि उपत्यका संयोजक रहेका जोशी पार्टीमा झनै सक्रिय हुन थाले। फलस्वरुप उनले पहिलो संविधानसभामा पहिलो हुनेले जित्ने निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाए।

संविधानसभाका सक्रिय सभासद

२०६४ चैतमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा नवीन्द्र नेपाली कांग्रेसबाट काठमाडौं–८ मा उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी ११ हजार ५ मतसहित विजयी भएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी अष्टलक्ष्मी शाक्यले ६ हजार ८७८ मत ल्याएकी थिइन्। (संविधानसभा सदस्य निर्वाचन, २०६४ निर्वाचन परिणाम पुस्तिका, निर्वाचन आयोग काठमाडौं, नेपाल, जेठ, २०६५)

संविधानसभाले व्यवस्थापिका–संसदको समेत भूमिका निर्वाह गर्नुपर्ने संवैधानिक व्यवस्था थियो त्यसबेला। नवीन्द्र २०६४ देखि २०६७ सालसम्म नेपाली कांग्रेस संसदीय समितिको प्रवक्ता समेत रहे। कहिल्यै नरिसाउने, कम बोल्ने, मृदुभाषी नवीन्द्रको पत्रकारहरूसित पनि राम्रो सम्बन्ध थियो। प्रायः चिरेको भादगाउँले टोपी र कोट पहिरिने, कालो जुँगा, पातलो जीउडालका हँसिला नवीन्द्र २५/३० वर्षदेखि उस्तै देखिन्थे। उनी उच्च रक्तचाप र मधुमेह (डायविटिज) का रोगी थिए। निकै फूर्तिला देखिन्थे उनी। संविधानसभामा राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँट समिति सदस्य भएर उनले राज्यको पुनर्संरचना कसरी गर्ने भन्नेबारे निकै गहन विचार समितिमा राख्ने गर्दथे।

राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँट समितिले १ पुस २०६५ देखि ६ माघ २०६६ सम्म १२७ ओटा बैठक सम्पन्न गरी संविधानसभासमक्ष प्रतिवेदन पेश गरेको थियो। त्यसै समितिका सदस्यका हैसियतले नवीन्द्र समितिमा ५७ दिन उपस्थित भएका थिए। जसमा नेपाली कांग्रेसका अर्का सदस्य नरहरि आचार्य भने १०४ दिन उपस्थित भएका थिए। उक्त समितिमा कांग्रेसका ५ जना सदस्य थिए। प्रदेशहरूको निर्माण सामर्थ्य र पहिचानको आधारमा प्रस्ताव गर्ने सर्वसम्मत सहमतिसाथ १२६ दिनसम्मका बैठकमा सहमति खोजिए पनि अन्तिम दिनको बैठकमा समितिका सभापति नेकपा माओवादीका लोकेन्द्र विष्टले प्रस्तावलाई बहुमतका आधारमा अनुमोदन गराउने निर्णय गरेपछि एमाले र मधेशवादी दलका सदस्यहरूले सभापति विष्टलाई साथ दिएका थिए भने नरहरि, नवीन्द्र लगायत कांग्रेसका पाँच जना सभासदले चाहिँ ‘नोट अफ डिसेन्ट’ लेखेका थिए।

१–३ असोज २०६७ मा काठमाडौंमा नेपाली कांग्रेसको १२ औँ महाधिवेशन आयोजना भएको थियो। महाधिवेशनमा बागमती अञ्चलबाट केन्द्रीय सदस्यमा उठेका उनी १ हजार ३६३ मत ल्याएर विजयी भए। (गोरखापत्र दैनिक, २०६७ असोज १२ गते, मंगलबार, पृष्ठ ५)

उता संविधानसभाको तोकिएको पाँचवर्षे कार्यकाल पनि सकियो। तर संविधानसभाले संविधान लेख्न भने सकेको थिएन। समयावधि सकिएको भन्दै तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान नै नलेखी पहिलो संविधानसभालाई २०६९ सालमा विघटन गरिदिए। यसको केही महीनापछि भट्टराई सरकार पनि भंग हुनपुग्यो।

त्यसपछि राजनीतिक संक्रमण र अन्योलबीच प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेर दोस्रो पटक संविधानसभा निर्वाचन गर्न प्रमुख राजनीतिक दलका नेताहरू सहमत भए। र, खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन भयो। त्यही सरकारले ४ मंसीर २०७० मा संविधानसभाको निर्वाचन सम्पन्न गर्‍यो। पहिलो संविधानसभामा ठूलो दल बनेर सिंह जस्तो भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चुरीफुरी दोस्रो संविधानसभा निर्वाचनमा तेस्रोमा खुम्चिन पुगेपछि मुसा जस्तो भएको थियो। पहिलो संविधानसभामा निकै खुम्चिएको कांग्रेस दोस्रो संविधानसभा/व्यवस्थापिका–संसदको पहिलो ठूलो दल बन्यो भने एमाले दोस्रो भएको थियो।

यो निर्वाचनमा काठमाडौं–८ बाट पुनः नवीन्द्र उम्मेदवार बनेका थिए। उनी १३ हजार ७७४ मत ल्याई विजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी एमालेका जीवनराम श्रेष्ठले ६ हजार ३६७ मत ल्याएका थिए। (संविधानसभा सदस्य निर्वाचन, २०७०, पहिलो हुने निर्वाचित हुने निर्वाचनको परिणाम पुस्तिका, निर्वाचन आयोग, काठमाडौं, नेपाल, माघ, २०७०)

२९ माघ २०७० मा नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री नियुक्त भए। १२ वैशाख २०७२ शनिबार मध्याह्न गएको महाभूकम्पपछि नवीन्द्र उद्धार र त्यसपछि पुनर्निर्माणमा पूरै खटेका थिए। आफ्नो क्षेत्रका जनताको घरदैलोमा पुगेर उनले भूकम्पबाट त्रसित र पीडित जनतालाई ढाडस दिने काम गरेका थिए। एकातिर महाभूकम्पले निम्त्याएको विपत्ति अर्कोतिर भारतले विना कारण लगाएको आर्थिक नाकाबन्दीबीच प्रधानमन्त्री कोइरालाको अगुवाइमा ३ असोज २०७२ मा संविधानसभाले संविधान घोषणा गरेको थियो।

त्यसपछि पुष्पकमल दाहालको सहयोगमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भए भने कांग्रेस सभापति सुशील कोइराला पराजित हुनपुगे। सरकार गठनको थोरै समय बित्दा ओली–दाहालबीच खटपट शुरू भयो र सम्बन्धको दरार बढ्दै जाँदा ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने अवस्थामा माओवादी अध्यक्ष दाहाल पुगे।

सोही वर्ष माघ २५ गते कांग्रेस सभापति कोइरालाको निधन भएपछि फागुन (२०–२३) मा काठमाडौंमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भए। उक्त महाधिवेशनमा नवीन्द्र त्यसबखतको प्रदेश–३ अर्थात् अहिलेको बागमती प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। उनले १२२५ मत पाएका थिए। (गोरखापत्र दैनिक, २०७२ चैत २ गते, पृष्ठ ५)

कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालले बाँकी समय बराबरी सत्ता चलाउने सहमति गरे। अनि दाहाल ओलीलाई फालेर कांग्रेससित मिलेर २० साउन २०७३ मा आफैं प्रधानमन्त्री निर्वाचित हुन पुगे। दाहाल नेतृत्वको यही सरकारमा १० भदौ २०७३ मा नवीन्द्रराज उद्योगमन्त्री नियुक्त भए।

चर्चाको चुलीमा नवीन्द्र

धेरै नेता सत्तामा उक्लेपछि बदनाम भएको इतिहास हाम्रै मुलुकको मात्र होइन। तर नवीन्द्र भने त्यसको अपवादमध्येमा पर्छन्। बरु मन्त्री भएपछि उनले सबैको वाहवाही पाए। किनभने, उनले मन्त्री भएपछि बन्द रहेका उद्योगहरूलाई धमाधम सञ्चालनको वातावरण मिलाउन थालेका थिए।

बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेडलाई पुनर्जीवन दिएपछि स्वदेशमै जीवनजल र सिटामोल उत्पादन हुन थालेका थिए। उद्योगमन्त्री जोशीको उक्त कार्यबाट आम जनता धेरै खुशी भएका थिए। उदयपुर सिमेन्ट कारखानाबाट पहिले जत्तिकै सिमेन्ट उत्पादन हुने चाँजोपाँजो मिलाएका थिए। बन्द अवस्थामा रहेका अरू पनि उद्योगहरू क्रमशः सञ्चालन गर्दै लैजाने र नयाँ उद्योगहरू पनि खोल्ने उनको योजना थियो। दाहालको त्यो मन्त्रिपरिषद्का तीन जना ‘रोल मोडल’ मन्त्रीहरूमध्ये नवीन्द्र पनि एक थिए। बाँकी दुई जनामा कांग्रेसकै गगन थापा र माओवादीका जनार्दन शर्मा थिए। थापा स्वास्थ्य मन्त्री थिए भने शर्मा ऊर्जा मन्त्री।

उद्योगधन्दा खोल्न पनि रकमको आवश्यकता पर्ने नै भयो। त्यसको जोहो गर्न नवीन्द्रले १९–२० फागुन २०७३ मा काठमाडौंमा दोस्रो लगानी सम्मेलनको आयोजना गरेका थिए। उक्त सम्मेलनमा २४ देशका २५० भन्दा बढी संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले भाग लिएका थिए। तिनले १३.५२ अर्ब डलर बराबरको लगानी प्रतिबद्धता समेत गरेका थिए। आफू मन्त्री भएका बेला गरेको उक्त सम्मेलनपछि मन्त्रीबाट हटे पनि नवीन्द्र त्यसलाई वास्तविकतामा परिणत र फलोअप गर्न लागिरहन्थे। देशको विकास गर्न उद्योगधन्दा खोल्नु आवश्यक छ र त्यसको लागि स्वदेशी तथा विदेशी दुवै लगानीकर्ताहरूलाई आकर्षित गर्नुपर्छ भन्ने कुरामा नवीन्द्र विश्वस्त थिए।

उद्योगधन्दा नखोली रोजगारी वृद्धि गर्न नसकिने र रोजगारी वृद्धि नगरी गरीबी घटाउन नसकिने अनि गरीबी नघटाई समृद्धि हासिल गर्न नसकिने निचोडमा पुगेका उनले ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं ९ महीनामै राम्रा कामको थालनी गरिसकेका थिए। कांग्रेससित भएको सहमतिअनुसार सरकार गठन भएको ९ महीनामा दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि उनको मन्त्रिपरिषद्मा रहेका नवीन्द्र लगायत सबै मन्त्री पदमुक्त हुनपुगेका थिए। यसरी १० भदौ २०७३ शुक्रबार मन्त्री नियुक्त भएका उनी १७ जेठ २०७४ बुधबार पदमुक्त भएका थिए। त्यसपछि कांग्रेस सभापति देउवाद्वारा आफ्नो नेतृत्वमा गठित मन्त्रिपरिषद्मा भने उनलाई निरन्तरता दिएनन्।

अन्तिम निर्वाचन

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनेपछि २०७४ सालमा पहिलोपटक तीनै तहका चुनाव सम्पन्न भए। वर्षको शुरूमै तीन चरणमा स्थानीय निर्वाचन सम्पन्न भएका थिए। ३१ वैशाख २०७४ आइतबार, १४ असार बुधबार र २ असोज सोमबार क्रमशः पहिलो, दोस्रो र तेस्रो चरणमा स्थानीय निर्वाचन भएका थिए।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन १० मंसीर २०७४ आइतबार र २१ गते बिहीबार दुई चरणमा गरी सम्पन्न भएका थिए। पहाडी र हिमाली क्षेत्रका ३२ जिल्लामा पहिलो चरण अन्तर्गत निर्वाचन सम्पन्न भएको थियो भने राजधानी काठमाडौंलगायत तराईका गरी ४५ जिल्लामा दोस्रो चरणअन्तर्गत निर्वाचन भएका थिए।

२१ मंसीर २०७४ बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नवीन्द्रराज आफ्नै पुरानो निर्वाचन क्षेत्र काठमाडौं–८ बाट उम्मेदवार बनी झिनो मतान्तरले पराजित हुनपुगे। एमालेका जीवनराम श्रेष्ठ १३ हजार ३९७ मत ल्याएर विजयी भए भने नवीन्द्र १२ हजार ९५३ मत ल्याई पराजित हुनपुगे। संयोगवश, यो नै उनको जीवनको अन्तिम चुनाव ठहरियो। (प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७४, निर्वाचन परिणाम पुस्तक, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली, निर्वाचन आयोग, कान्तिपथ, काठमाडौं, २०७४, फागुन)

चुनाव हारे पनि उनको सक्रियतामा कुनै कमी देखिएन। उनी राजनीतिमा हरेश खाने खालका नेता थिएनन्। लागिरहन्थे, डटिरहन्थे, निरन्तर राजनीतिको मैदानमा उत्रिरहन्थे। पार्टीको आसन्न १४ औँ महाधिवेशनमा पदाधिकारी बन्न उनी भित्रभित्रै तयारी थाल्दै थिए। यत्तिकैमा चीनको उहान शहरबाट फैलिएको कोरोनाभाइरस (कोभिड–१९) ले विश्वलाई नै संक्रमित तुल्याउँदै लैजान थाल्यो। कोभिड संक्रमणबाट मर्नेहरूको संख्या दिनहुँ बढ्दै जान थाल्यो। विश्वका लगभग प्रायः सबै कुनामा कोभिडको कहरले सतायो। व्यक्ति–व्यक्तिको सम्पर्कबाट सर्ने भएकाले कोभिड–१९ नियन्त्रणका लागि सामाजिक दूरी कायम गर्न र भीडभाड भएको ठाउँमा नजान विश्व स्वास्थ्य संगठनले विश्वभरिका मानिसलाई आग्रह गरिरहेको थियो। धेरै देशले आफ्ना नागरिक घरबाहिर ननिस्किउन् भनेर बन्दाबन्दी (लकडाउन) को उपाय अपनाए। यो विश्वव्यापी मारबाट नेपाल मात्रै अछुतो रहनसक्ने कुरै थिएन। नेपालमा पनि कोरोनाभाइरसको महामारी फैलियो। धेरै संक्रमित भए। हजारौंले ज्यान गुमाए।

आपत्–विपद् पर्‍यो कि जनताको घरदैलोमा टुप्लुक्कै पुगिहाल्ने नवीन्द्र यसपालिको महामारीमा भने घरबाट बाहिर निस्कन पाएनन्। किनभने बाहिर निस्कँदा आफ्नै जीउज्यानको खतरा हुनसक्थ्यो। कोभिड–१९ महामारी फैलिएको झण्डै डेढ वर्षपछि मात्र संंक्रमण दर कम हुनथालेको र मृत्यु हुनेको संख्या पनि घट्न थालेको थियो। उनले आफ्नो निर्वाचन क्षेत्रमा मास्क बाँड्नेदेखि फोनबाटै विज्ञ चिकित्सकीय सेवा उपलब्ध गराउनेसम्म चाँजोपाँजो मिलाएका थिए। गणेशमान सिंह अध्ययन प्रतिष्ठानको आयोजनामा कोभिड के हो र त्यसबाट कसरी बच्न सकिन्छ भन्नेबारे जुम मिटिङ सञ्चालन गरेर भए पनि जनसेवामा आफूलाई समर्पित गरेका थिए।

बन्दाबन्दी हटेर जनजीवन अलि खुकुलो हुन थालेपछि १३ फागुन २०७७ बेलुकी ७ः१९ बजे नवीन्द्र श्रीमती सपना र छोरी निऋतिलाई लिएर घनिष्ट मित्र ओम राजभण्डारीको सीतापाइलास्थित निवासमा डिनरका लागि गएका थिए। ओम, श्रीमती र छोरा सहित त्यो रात उनीहरू त्यहीँ खानपिन गरेर ११ः१८ बजे घर फर्केका थिए।

(यो लेख चैत १३ गते विमोचन भएको नविन्द्रराज जोसी : व्यक्तित्व र योगदान स्मृतिग्रन्थबाट साभार गरिएको हो।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved