सम्बन्ध

‘नारी–त्रिवेणी’को कसिँदो सम्बन्ध

नारीस्रष्टाहरूको एउटा साहित्यिक संस्था हुनुपर्‍यो। यही सोच पलायो- पद्मावतीमा। र, २०५५ सालमा ‘गुञ्जन’ स्थापना भयो। सबै नारीस्रष्टाहरूको साझा चौतारीको रुपमा। हुन पनि अहिलेसम्म सयभन्दा नारीस्रष्टा आवद्ध भइसकेका छन्, ‘गुञ्जन’ को छहारीमुनि।

‘नारी–त्रिवेणी’को कसिँदो सम्बन्ध

५ चैत २०७८। पछिल्लो समय त्यही दिन प्रातःस्मरणीय निबन्ध-सर्जक शंकर लामिछानेको स्मृतिमा स्थापित सम्मान अर्पण समारोहमा भेट भए- तीनै जना। तीनै जना अर्थात् पद्मावती सिंह, माया ठकुरी र भागीरथी श्रेष्ठ। सत्तरी पार गरिसकेका नेपाली साहित्याकाशका यी तीन नारी हस्ताक्षरको सम्बन्ध पछिल्लो चरण झन् प्रगाढ र कसिलो बन्दै छ।

नेपाली आख्यान जगत्का ‘नारी-त्रिवेणी’ले आफूबीच कसिँदै गएको सम्बन्धलाई अझ सार्थक र परिणाममुखी मोड दिन चाहे, केही समयअघि। केही महीनापूर्व चपलीस्थित भागीरथीको आवासमा एउटा सार्थक घोषणा गरे, तीनै जनाले। अर्थात् नेपाली आख्यान (कथा/उपन्यास) मा जमेका युवा पुस्ताको लागि पुरस्कार स्थापना गर्ने। वर्षौं पहिलेको परिकल्पना हो यो उनीहरूका। भागीरथी भन्छिन्, “हामीले धेरै पहिलादेखि नै आख्यान विधामा एउटा पुरस्कार राखौं भनेर सोचिरहेका थियौं। उमेर पनि बित्दै छ र कुन दिन के हुन्छ, अब चाहिँ एउटा पुरस्कारको घोषणा गरौं भन्ने सहमति बन्यो र अहिले घोषणा गर्‍यौं।”

पुरस्कार स्थापनामा बढी जोड चाहिँ माया ठकुरीको रह्यो। उनी भन्छिन्, “मैले नै प्रस्ताव गरेकी हुँ। हामीले थुप्रै पुरस्कार र सम्मान पायौं। तर हामीले के गर्‍यौं त ? अब आउँदो पुस्तालाई मार्गनिर्देश गर्ने काम गरौं भनेर मैले पुरस्कारको लागि प्रस्ताव राखेँ र हामीबीच सहमति बन्यो।”

नाम राखियो- ‘त्रिवेणी आख्यान पुरस्कार’। पद्मावती भन्छिन्, “हामीले कथालेखनलाई लेखनको मुख्य विधाको रुपमा स्वीकार्दै आयौँ। त्यसैले कथालेखनमा सक्रिय युवा पुस्ताका प्रतिभालाई पुरस्कृत गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरेका हौं।’ तीनै जनाले निकाले- एक/एक लाख रुपियाँ र राखियो बैंकमा खाता खोलेर। पद्मावती भन्छिन्, ‘बैंकमा तीन लाख राख्दा व्याजस्वरुप बर्सेनि ३९ हजार आउँदो रहेछ। त्यसमध्ये ३० हजारको पुरस्कार राख्यौं र अरू पैसा कार्यक्रममा खर्च गर्ने भएका छौं।”

ठीकै हो, ३० हजार। ठूलो धनरासीको पुरस्कारको सामु लिलिपुट नै सही। तर सही रुपमा चयन गरियो भने आख्यान लेखनमा सक्रिय प्रतिभालाई अवश्य नै प्रोत्साहन मिल्नेछ। अझ, कथा र उपन्यास विधामा दिइने भएको हुँदा यी विधाको उन्नयनमा पनि टेवा पुग्नेछ। भागीरथी भन्छिन्, “पुरस्कार दिँदा लैंगिक भेद नगर्ने हाम्रो सोच छ। एक वर्ष पुरुषलाई दिइयो भने अर्को वर्ष नारीलाई पालैपालो दिने भन्ने सहमति भएको छ हामीबीच। अर्कोतिर हामीलाई कैयौं साहित्यिक संस्थाहरूले पुरस्कृत गरिसके। हामी पनि कसैलाई पुरस्कृत गरौं अब भन्ने सोचले यो पुरस्कारको स्थापना गरेका हौं।”

२०७९ देखि पुरस्कार दिने तयारीमा छन्- तीनै स्रष्टा।

कथा नै मूल लेखन

भागीरथी जन्मिइन्- गुल्मीको रिडीमा। पद्मावती काठमाडौंमा। माया चाहिँ भारतको लखनउमा। तीनै समकालीन भेटिए, काठमाडौंमा। भेटिनुअघि तीनै जना कथा लेखनमा जमिसकेका थिए। पारिजात, प्रेमा शाह, देवकुमारी थापाले जेनतेन रुपमा हुर्काउँदै आएको नेपाली कथा विधालाई उकेरा हाल्ने हातहरूको अभाव देखिइरहेको बेला बीसको दशकदेखि यी त्रिवेणीले कथालाई नै प्रधान विधा छानेर कलम चलाउन थालिसकेका थिए। आजपर्यन्त यी त्रिवेणीले कथा-मोहलाई त्याग्न सकेका छैनन्।

यदाकदा उपन्यासमा पनि हात हालिन्, पद्मावतीले। उनको ‘समानान्तर आकाश’ चर्चित औपन्यासिक कृतिमा दरिन्छ। तर तीनै जनाको मूल लेखनविधा रह्यो- कथा।

यी तीन नारी हस्ताक्षरमा उमेरले केही वर्ष मात्रै जेठी हुन्- ठकुरी। लेखनमा पनि केही वर्ष मात्रै पाकी। २००३ साल ठकुरीको जन्म वर्ष हो भने पद्मावती र भागीरथीको एउटै वर्ष पर्‍यो- २००५ साल। अर्थात्, तीनै समकालीन। त्यही भएर लेखनमा पनि ठकुरीले बीसको दशकदेखि नै सक्रियता देखाउन पाइन्। २०३० सालमा त उनको पहिलो कथाकृति नै आइसकेको थियो- ‘नजुरेको जोडी।’ त्यसयता उनको ‘गमलाको फूल’, ‘साँघु तरेपछि’, ‘चौतारो साक्षी छ’, ‘माया ठकुरीका कथाहरू’, ‘आमा जानुहोस्’, ‘प्रियम्वदा’ आदि कथाकृति आइसकेका छन्।

पद्मावतीको कथालेखनको प्रारम्भ पनि बीसको दशकदेखि नै भएको हो। उनका ‘कथादी’, ‘कथायाम’, ‘कथाकार’, ‘पद्मावतीका कथाहरू’, ‘मौन स्वीकृति’, ‘समयदंश’ लगायत कथाकृति आइसकेका छन्। कथाबाहेक उनको ‘समानान्तर आकाश’ लगायत उपन्यास पनि प्रकाशित छन्। समालोचक डा. दयाराम श्रेष्ठले उनको कथाकारिताबारे यसरी मूल्यांकन गरेका छन्, ‘समकालीन कथाकारहरूले झैँ पद्मावती सिंहले पनि जीवनका विसंगतिहरूलाई विभिन्न पक्षबाट प्रस्तुत गरेकी छिन्। उनले मानिसको बाँच्न बाध्य विडम्बना, एक्लोपनको तीतो अनुभव, कुण्ठाग्रस्त क्षणहरूसँगको निरन्तर संघर्ष, बाँच्नुको तिक्तता, विषादपूर्ण अनुभव, व्यस्त जीवनले गुमाउँदै गएको आकर्षण, भग्न मनस्थितिका कारणले हुने मृत्युबोध, सन्त्रास र निस्सारताको बोधलाई आफ्ना कथाहरूमा सान्दर्भिक बनाएकी छिन्।’

बीसको दशकदेखि नै कथालेखनमा हात हाले पनि भागीरथीको कथाकृति भने ठकुरी र सिंहका भन्दा धेरै वर्षपछि मात्र प्रकाशनमा आयो। अर्थात् २०४३ सालमा उनको पहिलो कथाकृति निस्कियो- ‘क्रमशः’। त्यसयता उनको ‘मोहदंश’, ‘विभ्रम’, ‘रंगीन पोखरी’, ‘भूमिगत’, ‘रातो गुलाफ’ र पछिल्लो समय निस्कियो- ‘समयको अर्को छाल’।

यी त्रिवेणी कथासर्जकले नेपाली साहित्यलाई आधा दर्जनभन्दा बढी नै कथाकृति दिइसकेका छन्। अब भने दिँदैछन्- पत्र साहित्य।

अबको लेखन-पत्र साहित्य

पत्र साहित्य। विश्व साहित्यिक लेखनमा यो नौलो विधा वा प्रयोग होइन। नौलो नभएर के भो र ? उनीहरूले चाँडै नै पत्र साहित्यमार्फत् ‘त्रिवेणी’ बीचको सम्बन्ध खुलासा गर्दैछन्। बाल्यकालीन समयदेखि आफूले भोगेका उतारचढावलाई अनुभवमा ढालेर तीनै जनाले पत्र साहित्य लेखिरहेका छन्। भागीरथी भन्छिन्, “तत्कालीन समयमा हाम्रो समाज र चालचलनबारे हामीले पत्र साहित्यमा उल्लेख गरेका छौं र विभिन्न पत्रपत्रिकामा पनि छापिएका छन्। त्यसरी पत्र साहित्य लेख्दा हामीले एकअर्कालाई सम्बोधन गरेर लेख्ने गरेका छौं।”

कोरोना महामारीका कारण तीनै जनाबीच भेटघाटमा बाधा पुर्‍यायो। पत्र साहित्य लेखनमा पनि केही हदसम्म व्यवधान थोपर्‍यो। “कोरोना हुनुअघि नै हामीले लेख्न थालेका हौं। तर कोरोनाले गर्दा हामीबीच निरन्तर भेटघाट हुन सकेन र पत्र साहित्य लेखन पनि अड्कियो। अब हामी फेरि त्यसलाई निरन्तरता दिन लागिरहेका छौं,” भागीरथी भन्छिन्।

पद्मावती पनि भन्छिन्, “पत्र साहित्य हामी तीनै जना मिलेर लेखिरहेका छौं। यो हाम्रो संयुक्त पुस्तकको रुपमा आउनेछ।”

पत्र साहित्य लेखन भनिए पनि त्यो तीनै जनाको जीवन भोगाइहरू समेटिने दस्तावेज बन्नेछ। पत्र लेखनमा बाल्यकालका कुराहरू सकिनै लागेका छन्। युवावस्थाका दिनहरूले अब स्थान पाउने तर्खर गर्दैछ। त्यसमा कलेज जीवनदेखि युवावस्थाका आरोह-अवरोहहरू समेटिने छन्।

सम्बन्धको नालीबेली

भागीरथी र पद्मावतीबीच लेखन सम्बन्ध त थियो नै, पहिलादेखि। तर, प्रत्यक्ष भेट भने २०४३/०४४ सालतिर मात्रै भयो, दुवैबीच। २०३७ सालमा पाल्पाबाट काठमाडौं आएकी भागीरथी र पद्मावतीबीच सम्बन्ध झाँगिएको साढे तीन दशकभन्दा बढी नै भयो। भागीरथी भन्छिन्, “हामीबीच सम्बन्ध अझ फराकिलो भएको त गुञ्जन (साहित्यिक संस्था) मा आबद्ध भएपछि मात्र हो।”

माया, पद्मावती र भागीरथीबीच भेट भएको चाहिँ २२/२३ वर्ष मात्र भयो। दुवैलाई भेट गराउने थलो बन्यो- ‘गुञ्जन’। पद्मावती भन्छिन्, “माया भारतको सिलोङमा बस्थिन्। उनी काठमाडौं आएपछि मात्र हामीबीच भेट र सम्बन्ध विस्तार भएको हो।”

त्यसो त, पद्मावती र मायाबीचको सम्बन्ध भने मायाले ‘मैनाली कथा पुरस्कार’ पाउँदादेखि नै झाँगिन थालेको हो। सो पुरस्कार पाउँदा मायालाई माला लगाइदिने पद्मावती नै थिइन्। माया भन्छिन्, “उहाँहरूले गुञ्जन नामक संस्था खोल्नुभएको रहेछ। त्यो संस्थामा आबद्ध हुन मलाई आग्रह गर्नुभयो र त्यो संस्थामा आबद्ध भएपछि हामी तीनै जनाबीचको सम्बन्ध झनै गाढा बन्न पुग्यो।”

पद्मावती भन्छिन्, “हामीबीचको मित्रता यति गहन भयो कि, अब त एकअर्काबीच छुट्टिनै सक्दैनौं।” हुन पनि प्रत्येक महीनामा एक पटक यी त्रिवेणीबीच संगम भएकै हुन्छ। कहिले मायाको घरमा, कहिले पद्मावतीको घरमा, कहिले भागीरथीको घरमा। उनीहरूबीचको भेटघाट विशुद्ध भेटघाट मात्र हुँदैन, सिर्जनाका विषयमा पनि गहन छलफल चल्छन्। एकले अर्कालाई आफ्ना सिर्जना सुनाउने र त्यसमा छलफल गर्ने पनि गर्छन्। यसले रचना लेखनमा निखार ल्याउन मद्दत पुर्‍याइरहेको उनीहरूको बुझाइ छ। यसबाहेक भेटमा गुञ्जन, पत्र साहित्य लेखन र पछिल्लो समय स्थापित पुरस्कारको विषय पनि कहाँ पो छुट्छ र ?

गुञ्जनको शुरुआत

हामीकहाँ जति पनि साहित्यिक संस्था खोलिए, साहित्यिक÷सांस्कृतिक आन्दोलनहरू भए, ती सबैमा पुरुष मात्र हावी रहँदै आयो। बुटपालिस भनौं, सडक कविता आन्दोलन भनौं वा अरू साहित्यिक आन्दोलन। वा, साहित्यिक संस्थाहरू नै भनौं। सबैमा पुरुषकै वर्चस्व।

पीपलबोटमा साँझपख भेटिएर साहित्य संवाद गर्नेहरूमा पुरुषहरू नै।

कार्की किचेनमा जम्नेहरूमा पनि पुरुषहरू नै।

पूर्ववर्ती समयमा कुमुद देवकोटाको संयोजनमा हुने भेटघाट वा पछिल्लो चरणको ‘अभिव्यक्ति-भेटघाट’ होस्, सबैमा पुरुषहरूकै जमघट, खानपिन र साहित्य/गैरसाहित्य संवाद।

नारी त जता पनि शून्य।

भएन अब त। नारीस्रष्टाहरूको एउटा साहित्यिक संस्था हुनुपर्‍यो। यही सोच पलायो- पद्मावतीमा। र, २०५५ सालमा ‘गुञ्जन’ स्थापना भयो। सबै नारीस्रष्टाहरूको साझा चौतारीको रुपमा। हुन पनि अहिलेसम्म सयभन्दा नारीस्रष्टा आवद्ध भइसकेका छन्, ‘गुञ्जन’ को छहारीमुनि। विगतलाई सम्झिँदै पद्मावती भन्छिन्, “गुञ्जन मेरै पहल, मेरै नेतृत्व र मेरै घरमा स्थापना भयो। अहिले त स्वदेश र विदेशका गरी सयभन्दा नारीस्रष्टा गुञ्जनमा आबद्ध भइसकेका छन्।”

एकदिन पद्मावतीले केही नारीस्रष्टालाई आफ्नै घरमा जमघट गराइन् र राखिन् त्यो प्रस्ताव थियो, ‘पुरुषहरू त जहाँ पनि भेट्छन्, जहाँ पनि उनीहरूको जमघट हुने थलो छन्, हामीको त केही पनि छैन। अब हामीले पनि नारीस्रष्टाहरूलाई समेट्ने एउटा संस्था गठन गर्नुपर्‍यो।’

पद्मावतीको प्रस्तावलाई ‘गोल्डेन प्रस्ताव’ मानेर उनको निवासमा उपस्थित सबैले सहमतिमा टाउको हल्लाए। हुन पनि, नारीस्रष्टाहरूबीच आफ्ना लेखन अनुभव बाँडचुँड गर्ने कुनै थलो नै थिएन, त्यसअघि। यही अभावलाई पूर्ति गर्ने हेतुस्वरुप नै ‘गुञ्जन’ को जग बसालियो। जग निर्माणमा होस्टेहैंसे गर्नेहरू थिए-पद्मावती, उषा शेरचन, गीताकेशरी, भागीरथी श्रेष्ठ, भुवन ढुंगाना, हिरण्यकुमारी पाठक, सुलोचना मानन्धर, ज्ञानु पाण्डे, प्रतिसरा सायमी, मृदुला शर्मा लगायत।

यद्यपि, पुरुष-वर्चस्व संस्थाहरूको विरुद्धमा भने उभिएको थिएन, ‘गुञ्जन’। पुरुष-वर्चस्व आन्दोलनको विपक्षमा पनि खोलिएको थिएन, ‘गुञ्जन’। न त पीपलबोटमा लेखन संवादमा जुट्ने सर्जकहरूप्रति इख पलाएर नै खोलिएको थियो- ‘गुञ्जन’। विशुद्ध नारीस्रष्टाहरूको मञ्चको रुपमा खोलिएको थियो- ‘गुञ्जन’। “लेखनमार्फत एकअर्कामा आत्मियता बढाउने, चिनजान गर्ने र गराउने थलोको रुपमा गुञ्जन खोलिएको थियो” भागीरथी भन्छिन्।

साहित्यमा पुरुष-वर्चस्व विरुद्ध खोलिएको संस्थाको आक्षेप नलागोस् भनेर त होइन। तर संयोग कस्तो पर्‍यो भने, ‘गुञ्जन’ स्थापनापछि पहिलो पटक गरिएको कार्यक्रम भने एक जना पुरुष लेखककै उपन्यासमाथिको अन्तक्र्रिया थियो। डा. ध्रुवचन्द्र गौतमद्वारा लिखित उपन्यास ‘अग्निदत्त, अग्निदत्त’ माथि अन्तरक्रिया गरेर ‘गुञ्जन’ ले आफ्नो सक्रियता प्रारम्भ गरेको थियो।

स्थापनापछि ‘गुञ्जन’ले साहित्यिक गतिविधिको प्रोत्साहनमा उल्लेख्य भूमिकासमेत खेल्यो। हरेक महीना नै हुन्थ्यो, कुनै न कुनै कार्यक्रम। चाहे त्यो कोठे गोष्ठीकै रुपमा किन नहोस्। कुनै न कुनै गतिविधि गरि नै रहने। २०-२५ जनालाई बोलाएर गरिने कोठे गोष्ठी सार्थक पनि हुँदै आएको छ।

भागीरथी भन्छिन्, “हामीले कुनै स्रष्टालाई निम्त्याएर उनीहरूका विचार सुन्ने र उनीहरूका पुस्तकमाथि अन्तक्र्रिया गर्ने काम गर्दै आयौं।”

‘गुञ्जन’ स्थापनायता पद्मावतीले १२ वर्षसम्म अध्यक्ष भएर साहित्यिक गतिविधिलाई निरन्तरता दिन भूमिका खेलिन्। भन्छिन्, “मैले लामो समय गुञ्जनको नेतृत्व सम्हालेँ। संस्थाले खुट्टा टेक्न थालेपछि मैले अरू साथीलाई नेतृत्व सुम्पिएँ।”

उनीपछि गीताकेशरी र हिरण्यकुमारी पाठकले ‘गुञ्जन’ को जगमाथि इँटा थप्न भूमिका खेलिन् भने पछिल्लो समय भने अर्का कथासर्जक जलेश्वरी श्रेष्ठले अध्यक्षीय भूमिका निर्वाह गरिरहेकी छिन्। माया र भागीरथीले भने अध्यक्षका निम्ति अनिच्छा देखाए। नभए यी दुवैमध्ये एउटाले त्यो जिम्मेवारी पाउने सम्भावना नरहेको भने थिएन।

लेखन सम्बन्धको कुरा गर्दा, नारायण ढकाल, राजव र विमल निभाको सम्बन्ध अझै अटुट छ। तीसको दशकदेखि नै यी स्रष्टाबीच जोडिएको सम्बन्ध आजपर्यन्त टुटेको छैन। पछिल्लो समय त, स्रष्टाहरूबीचको सम्बन्धका आयाम झनै फैलिँदै गएका छन्। चाहे त्यो स्रष्टा पदयात्राको नाममा होस्, चाहे कुनै विधाविशेषलाई अघि बढाउने सन्दर्भमा होस् वा चाहे कुनै संस्थाको छहारीमा होस्, स्रष्टाहरूबीचको सम्बन्धले नयाँ गति र आयाम पक्डिँदै छन्।

यस्तो बेला पद्मावती, माया र भागीरथीबीच पूर्ववर्ती समयमै जोडिएको सम्बन्धले सार्थक दिशा पक्डिनु स्वाभाविकै हो। माया भन्छिन्, “हामीबीचको मित्रता जीवनको अन्तिम समयसम्मै रहिरहन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved