स्थानविशेष कविता

विराटनगर : दुई कविता

आयातित भतुवा संस्कृतिको पैतालामा थिचिँदै
नेपाली नागरिकताको प्रमाणपत्र खोजिरहेछ आजकल विराटनगर।

नेपालभ्युज

विराटनगर : दुई कविता

विराटनगर

–कृष्णभूषण बल

उत्तरतिरबाट यता दक्षिणतिर हिमालले पनि बस्न बिर्सेको
कोशी बागमती पनि नेपालबाट बग्दै गएर–
मित्रराष्ट्रको बिहारबाट फेरि यतै फर्केको
दैलो उदाङ्गै राखेर घरको सबै सामान चोराएर यो लठेब्रो विराटनगर
आयातित भतुवा संस्कृतिको पैतालामा थिचिँदै
नेपाली नागरिकताको प्रमाणपत्र खोजिरहेछ आजकल विराटनगर।

000

मलाई त विराटनगर यस्तै लाग्छ

–ऋषिराज बराल

तिमीहरू भर्खरै यो शहरभित्र छिरेका छौ
उहिल्यै दन्त्यकथामा सुनेजस्तो छैन यो शहर
किताबका पन्नामा लेखजस्तो पनि छैन यो शहर
बेला–बेलामा फेरिन्छन् यसका भूगोल र इतिहासहरू
बेला–बेलामा फेरिन्छन् यसका रुप र रङ्गहरू
तिमीहरूलाई यो शहरका मान्छेले ‘देहाती’ भन्नेछन्
तिमीहरूलाई यो शहरका मान्छेले ‘पहाडे’ भन्नेछन्
साँच्चै अचम्मको छ यो शहर–
कहिले मध्य दिनमै अन्धकार बन्छ यो शहर
कहिले एका बिहानै बहुलाहा कुकुरले झैं झम्टन्छ यो शहर
कहिले आफ्नै सन्तानलाई पनि नचिने झैँ गर्छ यो शहर

नजिकैबाट हेर ती घरहरूलाई
पोहोर पनि तिमीलाई यसै भनिएको थियो–
–यो घर गोल्छाको हो
–यो घर दुगडको हो
–यो धनावतको हो
–यो राठी र अग्रवालको हो

यसपालि पनि म त्यसैगरी परिचय दिँदैछु–
–यो घर कालुरामको हो
–यो घर साधुरामको हो
–यो घर सानुबाबुको हो
–यो घर नुनुबाबुको हो

तर खोइ तिम्रो घर ? तिम्रो आफ्नै देशको घर
त्यसैले त भनेको हुँ
कहिले गोल्छाको गोदामभित्र हराउँछ यो शहर
कहिले मुग्लानको ठाउँ झैँ लाग्छ यो शहर
साँचो भन्दा
कहिले फारबिसगञ्ज र पटनातिर पनि निर्वासित हुन्छ यो शहर
नेपालको नक्सा हेरेर नहाँसे पनि हुन्छ

यस्तै हो,
चुनावताका त सरुवा र बढुवा भैरहन्छ यो शहर
तर आजभोलि म सुन्दैछु,
कहिले मध्यरातमै ब्युँझन्छ रे यो शहर
कहिले नारा र जुलुसभित्र गुञ्जन्छ रे यो शहर
कहिले गुराँसे अनुहारमा विश्वासभरि फुल्छ रे यो शहर।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved