प्रिय पात्र

‘रूपबजार’की ती बिमला

मैले भनेँ- ‘यो तिम्री छोरी हो।’
उसले भन्यो- ‘बदिनीबाट जन्मेकी छोरी बदिनी नै हुन्छे र बदिनीहरू जे गर्छन्, त्यही ऊ पनि गर्छे। ऊ बदिनी हो र म उसको मोल तिर्ने पुरुष।’

‘रूपबजार’की ती बिमला

म पनि एउटा कथाकार भएको नाताले कथा पढ्न रुचाउँछु। म नेपाली, हिन्दी तथा अङ्ग्रेजी आदि भाषामा लेखिएका कथाहरू पढ्ने गर्दछु र मैले पढेका कथाहरूमा प्रयुक्त भएको समाज, समाजमा बसोबास गरेका पात्र, पात्रहरूसँग घटेका घटना, संवाद आदिका माध्यमबाट सामाजिक यथार्थ बुझ्ने प्रयास गर्दछु। नेपाली आख्यान साहित्यमा कलम चलाउनु हुने आख्यानशिल्पीहरूमध्ये मलाई निकै मन परेका नाम हुन्- आख्यानपुरुष ध्रुवचन्द्र गौतम र बेजोड वरिष्ठ कथाकार सनत रेग्मी। मैले यी दुवै कथास्रष्टाहरूका लगभग सबै कथा पढेको छु। आज, यतिखेर म कथाकार सनत रेग्मीका ‘रूपबजार’ कथामा प्रयुक्त भएका मुख्य पात्रहरूबारे केही लेख्न गइरहेको छु।

‘रूपबजार’ सनत रेग्मीको उत्कृष्ट कथा हो। यस कथामा वादी समाजमा व्याप्त रहेको देहव्यापारसम्बन्धी अनेक प्रसङ्गोद्घाटन, बालकदेखि वृद्धासम्म देहव्यापार गर्नुपर्न बाध्यात्मक परिस्थिति, अछुत ठानिनेसँग पनि यौनसमागम गरिने, बाबुले छोरीसमेत भोग गर्ने कुप्रथा जस्ता दृष्वृत्तिको अन्त्यका लागि कानुन, शान्ति, नारा, आर्थिक विकल्प आदिले नभई पुरुषवर्ग र समाजको दृष्टिकोणमा परिवर्तन आउनु अनिवार्य भएको विचार व्यक्त रहेको पाइन्छ। यो कथा तराइली परिवेशमा र त्यसमा पनि नेपालगञ्जको परिवेशमा लेखिएको हो।

यस कथामा कथाकार रेग्मीले त्यो बेला नेपालगञ्जमा वादी समाजमा रहेको देहव्यापारसम्बन्धी वृत्तिबारे जीवन्त तरिकाले लेखेका छन्। प्रथम पुरुष शैलीमा लेखिएको प्रस्तुत कथामा कथाकार स्वयं प्रमुख नायकको रूपमा रहेका छन्। कथाकार कुनै सहरको एउटा टोल, जसलाई रूपबजार नाम दिइएको छ, जान्छ र त्यस रूपबजारमा भइरहेको देहव्यापार र त्यसमा संलग्न रहेका महिलाहरूको वास्तविक मनोविज्ञान आदिबारे जान्ने प्रयत्न गर्दछ। यस कथामा प्रयुुक्त भएका अन्य पात्र, ती पात्रहरूबिच भएको संवाद आदि त कथाका सहघटना एवम् पात्र हुन् तर कथाकार स्वयं र बिमला नामक पात्र चाहिँ यस कथाको मुख्य पात्र हुन्।

कथाकारले बिमलालाई एक यस्तो सशक्त नारी पात्रको रूपमा उभ्याएका छन्, जो सुरु सुरुमा देहव्यापारमा संलग्न भए पनि पछिल्ला दिनहरूमा त्यस कर्मबाट पूर्ण रूपमा अलग्ग भएर एक्लै जीवन व्यतित गरिरहेकी हुन्छिन् र रूपबजारमा देहव्यापारमा संलग्न रहेका अन्य महिलाहरूको आदर्शको रूपमा रहेकी हुन्छिन्। मलाई बिमला नामक यो महिला पात्र निकै मन परेकी हुन्। मलाई यो पात्र मन पर्ने कारणहरूमा सबैभन्दा प्रमुख कारण चाहिँ यिनको मातृत्व भावना र नारी हुनुको चेत नै हो। कथाकारले यस पात्रका माध्यमबाट आफ्नो विचार र सन्देश पनि व्यक्त गरेका छन्।

यस पात्रले बोलेको कुरा कति घतलाग्दो रहेछ, त्यो हेरौँ, ‘आमा मरेपछि मैले कमाउनुपर्ने भयो। टोलकै एक जना युवकसँग मेरो मायाप्रीति थियो। उनी लुकीछिपी मकहाँ आउँथे। उनीबाट मैले एउटी छोरी पाएँ। हाम्रो चलनअनुसार छोरी पाउनुभन्दा पूर्व मैले सुके वादीसँग बिहे गरेँ। मैले नाच सिकेँ, नाच्नुलाई पेशा बनाएँ, तर मैले कहिल्यै पनि पेशा गरिनँ। थुप्रै धनीका छोरालाई आफ्नो रूपबजारमा पारेर धन थुतेँ, तर यो व्यापार, शरीरको खरीद-बिक्री गर्न मनले मानेन। छोरीलाई स्कुलमा पठाएँ। तर उसलाई अप्ठेरो पर्‍यो। स्कुलका केटाहरू उसलाई हातपात गर्न चाहन्थे। मैले उसलाई यहाँबाट टाढा लखनउमा महिला होस्टलमा भर्ना गरिदिएँ। आज छोरी उतै नोकरी गर्दछे, कसैलाई थाहा छैन- ऊ बदिनीकी छोरी हो।’

यस पात्रको माध्यमबाट कथाकारले रूपबजारमा बसेका महिलाहरूको मनःस्थिति र आमा भएपछि आमाको दायित्वप्रति सजगताको जीवन्त चित्रण गरेका छन्। एउटी आमा, चाहे त्यो वेश्या नै किन नहोस्, कहिल्यै पनि आफ्नी छोरीलाई वेश्या बनाउन चाहँदिन। यस भावको जीवन्त वर्णन यसरी भएको छ। बिमला नामक यो साहसिक पात्र भन्छिन्, ‘तर तपाईँ बुझ्ने कोसिस गर्नुस्- छोरी एक पटक स्कुलबाट घर आएको बेलामा जुन बुबाले उसलाई जन्माएको थियो, उसले नै उसलाई पचास हजार तिरेर भए पनि भोग्न चाह्यो। मैले भनेँ- ‘यो तिम्री छोरी हो।’ उसले भन्यो- ‘बदिनीबाट जन्मेकी छोरी बदिनी नै हुन्छे र बदिनीहरू जे गर्छन्, त्यही ऊ पनि गर्छे। ऊ बदिनी हो र म उसको मोल तिर्ने पुरुष।’ उसको प्रस्ताव मैलै स्वीकार गर्ने कुरो त थिएन। मैले त्यसपछि छोरीलाई कहिल्यै पनि बोलाइनँ। त्यो पुरुष- जसलाई म लोग्ने नै ठान्थेँ र माया गर्थेँ, उसप्रति मलाई तीव्र घृणा भयो र उसको यहाँ आवतजावत प्रतिबन्धित भयो।’

बिमलाले आफ्नो यस प्रकारको विद्रोही स्वभावको कारणले गर्दा दुःख सहनु पर्‍यो, आफ्नै रूपबजारका मान्छेहरूबाट अपहेलित हुनु पर्‍यो, तिरस्कृत हुनु पर्‍यो। बिमला कथाकार रेग्मीको मात्र होइन, मेरो पनि प्रिय पात्र हुन्। किनभने यिनमा नारित्व, स्वत्व र प्रमुख कुरो देह व्यापार लाग्नुपर्ने बाध्यात्मक परिस्थितिप्रति सामाजिक÷वैज्ञानिक सोच रहेको छ। यिनी रूपबजारमा बसे पनि, एउटी बदिनीकी छोरी भए पनि देहव्यापारमा संलग्न हुनु राम्रो होइन भन्ने चेतले भरिएकी नारी पात्र हुन्। पुरुष सत्तावादी समाज र पुरुषको नारीलाई भोग्यवस्तुको रूपमा लिइने सोचविरुद्ध उभिने पात्र हुन्। कस्तो राम्रो सोच रहेको छ, यो पात्रको, ‘हेर्नुस्, जीवनमा सबै थोक पैसा होइन र पैसाले मात्र सबै थोक सुधार्न पनि सकिन्न। हाम्रो समस्या पैसा होइन। पैसा त हामीले कमाएकै छौँ र हामीले यदि धनको सदुपयोग गर्न जानेको भए समाजका मध्यम वर्गभन्दा राम्रै अवस्थामा हुन्थ्यौँ र मानवीयता बिर्सेर यातना सहने थिएनौँ। हाम्रो समस्या पनि मान्छेकै समस्या हो। हामी पनि एउटा मान्छेले चाहेको सम्पूर्ण कुरा चाहन्छौँ। मान, सम्मान, घर, परिवार, वात्सल्य सबै थोक चाहिन्छ हामीलाई।’

वास्तवमा सही कुरा पनि यही हो। अपवादबाहेक, कुनै पनि महिला देहव्यापारमा संलग्न हुन चाहँदैन। यति हुँदाहुँदै पनि हाम्रो समाजमा यस किसिमको कुरीति रहेको छ, घोषित वा अघोषित रूपमा। बिमलाको मुखबाट कथाकारले कति राम्रो र तथ्यसत्य कुरो व्यक्त गरेका छन्, ‘मलाई थाहा छ- समाजबाट माया, स्नेह र सम्मान पाउने हो भने कुनै विकल्प नभए पनि उनीहरू यस संस्कारदेखि मुक्त हुन सक्छन्। तर जसरी मेरी छोरीमाथि उसकै बाबुको कुदृष्टि थियो, त्यस्तै कुदृष्टिहरू हुने हो भने र शोषणकै सिकार हुने हो भने, यो व्यापारमा नै किन ग्लानि ?’

कथाकार सनत रेग्मीको कथा रूपबजारको महिला पात्र ‘बिमला’ मेरो प्रिय पात्र हुन्- आफ्नो नारी स्वत्व तथा मातृत्व चेतका साथै समाजमा देहव्यापारमा संलग्न रहेकाहरूप्रति पुरुष र समाजको सोचमा परिवर्तन ल्याउने भाव आदि वैशिष्ट्यका कारणले।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved