मोबाइल नेटवर्कका लागि अग्लो ठाउँ खोज्न बाध्य छन् पर्शुराम नगरबासी

मोबाइल नेटवर्कको सुविधा दिनेलाई आगामी चुनावमा भोट

नेपालभ्युज

मोबाइल नेटवर्कका लागि अग्लो ठाउँ खोज्न बाध्य छन् पर्शुराम नगरबासी

डडेल्धुरा। पर्शुराम नगरपालिकाको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन्। मोबाइलमा कुरा गर्न उनीहरू अग्लो स्थान खोज्दै धाउनुपर्ने बाध्यता छ।

पटकपटक सरोकारवालालाई समस्या भन्दा पनि सामाधान नभएको स्थानीयबासीले गुनासो गरिरहेका छन्। वर्षौंदेखि नेटवर्क समस्या उस्तै छ। डडेल्धुराको पर्शुराम नगरपालिका र आलिताल गाउँपालिकाका ग्रामीण क्षेत्रमा हालसम्म पनि टावरका कारण नेटवर्कमा समस्या आइरहन्छ। दिउँसो पनि नेटवर्कले काम नगर्दा टावर खोज्न अग्लो स्थान वा रूखमा चढ्नुपर्ने बाध्यता रहेको पर्शुराम-२ का स्थानीयवासी राज बोहराले जानकारी दिए।

स्थानीयवासीहरू मोबाइलमा कुरा गर्नका लागि अग्लो स्थान र रूख चढ्ने गरेका छन्। महत्वपूर्ण सूचना आदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै रूखमा चढ्ने गरेको उनको भनाइ छ।

सडक यातायात, केन्द्रीय प्रसारण लाइनको विद्युतको सुविधा नपुगेको दुर्गम क्षेत्रमा टेलिकमले जडान गरेको भिस्याट प्रविधिको टेलिफोन प्रयोगविहीन छ। एक मिनेट फोनमा कुरा गरे हुनेमा घण्टौं हिँडेर सम्बन्धित व्यक्तिसँग भेट्नुपर्ने बाध्यता कायमै छ। सुगम स्थानमा दिनहुँजसो आफन्तसँग कुराकानी भइरहने भए पनि भित्री मधेशका ग्रामीण क्षेत्रका मानिस भने आफन्तसँग कुरा गर्न टावरको पर्खाइमा छन्।

पर्शुरामका तोली, अन्तोली वसुन, बजाडी, जमरा, गोगन, सुर्खाल, पोख्ना सर्गै आलिताल गाउँपालिकाका दुर्गम बस्तीमा समेत नेटवर्क समस्या रहेको छ। भने जिल्लाका अन्य पालिकाका लेकाली बस्ती र टाढाका गाउँमा नेटवर्क समस्या वर्षौंदेखि यथावत् छ। हातहातमा मोबाइल छन् तर टावर नहुँदा समस्या छ। नेपाल टेलिभिजनको नेटवर्क त नजिककै गाउँमा पनि टिप्न मुस्किल हुने पर्शुराम कृष्णाका खगेन्द्र कामीले जानकारी दिए।

जिल्लाका विभिन्न स्थानमा नेपाल टेलिकमको नेटवर्क टावरको संख्या कम हुनु र विस्तारमा ढिलासुस्तीका कारण दुर्गम गाउँका मानिसले प्रविधिको प्रयोगबाट वञ्चित हुनुपरेको स्थानीयवासीको दाबी छ। महँगो खालका मोबाइल सेट गाउँमा पुगेका भए पनि नेटवर्क र टावर नहुँदा आफूहरूले कर मात्रै तिर्नुपरेको भित्री मधेश मलास क्षेत्रका युवा प्रमोद बोहराले बताए।

नेटवर्कले मात्रै काम नगर्दा धेरै युवा रोजगारमूलक सूचना प्राप्त गर्नबाट वञ्चित छन् भने कतिपय किसान राहतका साथै सरकारी अनुदानका सूचना नपाउँदा समस्या भोगिरहेका स्थानीयवासी चूडामणि पनेरुले बताए। दुर्गम गाउँको बसाई त्यसमा पनि प्रविधिको पहुँचमा नपुग्नाले धेरै सरकारी सेवासुविधाबाट पनि टाढा हुनपरेको र समयमा सूचना पनि प्राप्त नहुने उनको भनाइ छ।

स्थानीय निर्वाचनमा पनि दुर्गम बस्तीमा टावर र वाइफाइको सुविधा पुर्‍याउने जनप्रतिनिधिलाई सहयोग गर्ने स्थानीयवासीको भनाइ छ। यसपालि स्थानीय तहको निर्वाचनमा मोबाइल नेटवर्कको सुविधा दिनेलाई भोट दिइने यहाँका युवाहरूले बताएका छन्।

पर्शुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले सबै क्षेत्रका लागि टावरको माग भएको र चाँडै विस्तार गरी सुविधा सम्पन्न नेटवर्कसहित वाइफाइ विस्तार गरिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved