गृहमन्त्री खाँण र घनश्याम भूसालको गृहनगरमा चुनावी सरगर्मी, यस्ता छन् मेयरका आकांक्षी

चुनाव नजिकिँदै जाँदा विभिन्न नेताहरू मेयरका आकांक्षी देखिएका छन्। एमालेबाट अहिलेसम्म मेयरमा तीन नेताले आकांक्षा देखाएकोमा गठबन्धनबाट गृहमन्त्रीका भाइ रामकृष्णसहित तीन कांग्रेस नेताको चर्चा छ।

गृहमन्त्री खाँण र घनश्याम भूसालको गृहनगरमा चुनावी सरगर्मी, यस्ता छन् मेयरका आकांक्षी

बुटवल। स्थानीय निकायको निर्वाचन नजिकिँदै जाँदा गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र बौद्धिक छवि बनाएका‍ नेकपा एमालेका नेता घनश्याम भूसालको गृहनगर तिलोत्तमामा चुनावी सरगर्मी बढेको छ।

तिलोत्तमाका ६ ओटा वडा रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा पर्छन्। रूपन्देही क्षेत्र नम्बर २ एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको क्षेत्र हो। बाँकी क्षेत्र नम्बर ३ मा पर्छन्, जुन एमाले नेता भूसाल र गृहमन्त्री बालकृष्ण खाँणको क्षेत्र हो। २०७४ मा यहीँ क्षेत्रमा एमाले नेता भूसाल विजयी भएका थिए। गृहमन्त्री खाँण भने समानुपातिकबाट सांसद बनेका थिए।

राष्ट्रिय स्तरमा स्थापित नेताहरूको गृहनगर भएकाले यहाँ चुनावी माहोल शुरु भएको छ। विशेषगरी कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने तिलोत्तमामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा वाशुदेव घिमिरे र उपप्रमुखमा जागेश्वरी चौधरी निर्वाचित भएका थिए। घिमिरेका निकटतम प्रतिस्पर्धी गृहमन्त्री खाँणका सहोदर भाइ रामकृष्ण थिए, जो अहिले कांग्रेस रूपन्देहीको सभापति छन्। कांग्रेसले उक्त चुनावमा राष्ट्रिय जनमुक्ति पार्टीसँग चुनावी तालमेल गरेर जित सुनिश्चित ठानेको उक्त क्षेत्रमा एमालेबाट घिमिरेले २ हजार ३०० मतान्तरले खाँणलाई पराजित गरेका थिए।

एमालेले सहज जित निकालेको उक्त क्षेत्र अहिले कांग्रेसले आफ्नो लागि अनुकूल भएको दाबी गरिरहेको छ। जसकारण पनि अहिलेको चुनावी रौनक थप रोचक देखिँदै गएको छ। नगरप्रमुख घिमिरे नेतृत्वको टिमले उत्कृष्ट काम गरेको भन्दै तिलोत्तमाले पुरस्कारसमेत प्राप्त गरेको थियो। जसकारण एमालेले जनमत आफ्नो पक्षमा भएको दाबी गरिरहेको छ। तर आसन्न चुनावमा हालसम्म सत्ता साझेदार पाँच दलीय गठबन्धनले तालमेल गर्ने बताइरहेका छन्, जसकारण पनि एमालेका लागि निर्वाचन पहिले जस्तो सहज छैन।

चुनाव नजिकिँदै जाँदा विभिन्न नेताहरू मेयरका आकांक्षी देखिएका छन्। एमालेबाट अहिलेसम्म मेयरमा तीन नेताले आकांक्षा देखाएकोमा गठबन्धनबाट गृहमन्त्रीका भाइ रामकृष्णसहित तीन कांग्रेस नेताको चर्चा छ।

यी हुन् मेयरका आकांक्षी

एमालेबाट नगरप्रमुख घिमिरेले एक कार्यकाल दोहोरिने आकांक्षा देखाएका छन्। त्यस्तै मोहन चापागाईं र यज्ञ गैरेले पनि मेयरको टिकटका लागि सक्रियता बढाएका छन्। त्यस्तै उपप्रमुख जागेश्वरी चौधरीले पनि मेयरको दाबी गरिरहेकी छन्। चौधरी एमालेको जिल्ला उपाध्यक्ष, गैरे सचिव र चापागाईं पूर्व जिल्ला सचिवालय सदस्य हुन्।

चापागाईंले तिलोत्तमाको नेतृत्वका लागि पार्टीले आफुलाई अगाडि बढाउनुपर्ने प्रतिक्रिया दिएका छन्। उनले विगतका वर्षहरूमा धेरै स्थानमा त्याग गरेको बताउँदै अहिले अवसर पाउनुपर्ने बताए। उनले तिलोत्तमाको विकासको लागि आफूसँग भिजन रहेको दाबी गरे।

अर्का आकांक्षी चापागाईं पञ्चायतकालदेखि राजनीतिमा सक्रिय छन्। विद्यार्थी राजनीति, अकोराब, पत्रकार महासंघ, प्रेस चौतारीलगायत संगठनमा काम गरेको अनुभव भएका उनी आफू नगरमा लोकप्रिय रहेकाले मेयरको जिम्मेवारी दिनुपर्ने बताउँछन्। यसैगरी अर्का आकांक्षी यज्ञ गैरेले जनताको बीचमा गएर काम गरेकाले यसपटक आफूलाई अवसर दिनुपर्ने बताएका छन्।

यसैगरी पाँचदलीय गठबन्धनबाट गृहमन्त्री खाँणका भाइ रामकृष्ण तथा नेताहरू रोमणिप्रसाद पाठक र नारायण न्यौपानेको मुख्य चर्चा छ। पाठक सामाजिक क्षेत्रमा सक्रिय छन्। अर्का आकांक्षी वडा नम्बर ९ का अध्यक्ष न्यौपानेले नेतृत्वका लागि आफू सबल रहेको दाबी गर्दै अवसर पाउनुपर्ने अडान लिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved