एसईई परीक्षाको जिम्मा प्रदेश सरकारलाई, यस्तो छ तयारी

एसईई परीक्षा सञ्चालन गर्ने जिम्मेवारी पाएसँगै प्रदेश सरकारहरु तयारीमा जुटिसकेका छन्।

एसईई परीक्षाको जिम्मा प्रदेश सरकारलाई, यस्तो छ तयारी

काठमाडौं। संघीय संरचनामा देश गएको ६ वर्ष पुगिसक्दा बल्ल माध्यमिक तहको अन्तिम परीक्षा मानिने विद्यालय शिक्षा परीक्षा (एसईई)को जिम्मा प्रदेश सरकारले पाएको छ।

नेपालको संविधानको अनुसुचि नौ अनुसार एसईई व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलार्ई दिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।

प्रदेश सरकारले आफू अन्तर्गतका जिल्लासँग समन्वय गरेर परीक्षा सञ्चालन व्यवस्थापन गर्नुपर्ने उनी बताउँछन्। भन्छन्, “प्रदेशले परीक्षा लिने, उत्तरपुस्तिका परिक्षण गरेर नतिजा प्रकाशनको लागी बोर्डमा पठाउनु पर्नेछ।”

फागुन दोस्रो साता ‘राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६’ संशोधन भएसँगै एसईई परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेशले पाएको हो।

परीक्षा सञ्चालनका लागि हरेक प्रदेशमा त्यहाँका सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति समेत गठन गरिएको शर्माले बताए।

“परीक्षा सञ्चालन गर्न प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा शिक्षा विकास निर्देशक सदस्य सचिव रहने गरि समिति गठन भएको छ,” उनले भने, “गठित समितिमा प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख, प्रदेशको माध्यमिक तहका विद्यालयहरुबाट मनोनित एक जना प्रधानाध्यापक र स्थानीय तहको शिक्षा शाखाका प्रमुखहरुबाट मनोनित एकजनालाई सदस्यको रुपमा राखिएको छ।”

उक्त समितिले एसईई परीक्षा र उत्तरपुस्तिका परिक्षणको व्यवस्थापन गरेर बोर्डमा पठाउन समन्वय गर्ने छ।

नतिजा प्रकाशन र सर्टिफिकेट दिने अधिकार शिक्षा नियमावलीले बोर्डलाई नै दिएकाले प्रदेश सरकारको समन्वयमा बोर्डले नै नतिजा प्रकाशन गर्ने शर्माले बताए।

संघीय शिक्षा ऐन नआएसम्म नतिजा प्रकाशन गर्ने  जिम्मेवारी प्रदेश सरकारलाई दिन नसकिने उनले बताए।

प्रश्नपत्र भने बोर्डले नै बनाउने र बोर्डले तोकेको मितिमा नै एसईई परीक्षा सञ्चालन गर्नुपर्ने हुन्छ।

चालु शैक्षिक सत्रको एसर्ईई परीक्षा तालिका ९ वैशाखदेखि २० वैशाखसम्म हुने बोर्डले सार्वजानिक गरेको छ।

परीक्षा पाँचै प्रदेशले एकै समयमा लिनुपर्ने तर नतिजा प्रकाशन भने फरक समयमा हुनसक्ने उनले जानकारी दिए। भने, “कुनै एक प्रदेशको नतिजा छिट्टो तयार भएमा प्रदेशगत रुपमा नतिजा प्रकाशन हुन्छ।  शिक्षा नियमावलीमा प्रदेशगत फरक मितीमा नतिजा प्रकाशन हुनसक्ने प्रावधान छ।”

यो पहिलो अभ्यास भएकाले प्रदेश सरकारलाई जनशक्तिको अभाव देखिन्छ। यो समस्यालाई केन्द्र वा बोर्डले सहजीकरण गर्ने उनले बताए।

एसईई परीक्षा सञ्चालन गर्ने जिम्मेवारी पाएसँगै प्रदेश सरकारहरु यसको तयारीमा जुटिसकेका छन्। तीनओटा प्रदेशको तयारी यस्तो छः

प्रदेश १ को तयारी

एसईई परीक्षा लिने तयारीमा जुटेको सामाजिक विकास मन्त्रालयका उप-सचिव एवं शिक्षा महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेलले बताए।

प्रदेश १ सरकार अहिले परीक्षाको उत्तरपुस्तिका परीक्षण, टेबुलेसन, कोडिङ र डिकोडिङ गरि लब्धाङ्कपत्र प्रमाणिकरण बोर्डलाई पठाउने जिम्मेवारी अनुसारको कार्यविधि निर्माणमा जुटेको शिक्षा विकास निर्देशनालय प्रदेश १ ले जनाएको छ।

कार्यविधि बनेपछि प्रदेशले पाएको अधिकार सम्बन्धमा थप स्पष्ट हुने निर्देशनालयका निमित्त निर्देशक राजेन्द्र बुढाथोकीले बताए। जिल्लाहरुमा केन्द्र तोकेर परीक्षा सञ्चालन गर्न कुल चार करोड ४६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

“हामी परीक्षा सञ्चालनको पूर्वतयारीमा जुटिसकेका छौं। जिल्लाहरुबाट केन्द्र निर्धारण भई हामीकहाँ रिपोर्टिङ आइसकेको छ,” उनले भने, “चैत्रभरि पठनपाठन जारी राख्ने र वैशाखमा तोकिएको समयमा परीक्षा लिने तयारी भइरहेको छ। अहिले उत्तरपुस्तिका छपाई भइरहेको छ, चैतमा नै जिल्ला–जिल्लामा पठाउँछौं।”

निर्देशनालयका अनुसार प्रदेश नं. १ मा एसईई परीक्षामा ८४ हजार ४ सय परीक्षार्थीहरु सहभागि हुने भएका छन्।

बागमती प्रदेशको तयारी

बोर्डले तोकेको समय तालिकामा एसईई परीक्षा सञ्चालन गर्ने तयारी तीव्र बनाएको शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले जनाएको छ।

एसईईका लागि उत्तर पुस्तिका छपाई भइरहेको र चैत पहिलो हप्ताभित्र प्रदेशका १३ ओटै जिल्लाका सदरमुकाममा उक्त उत्तर पुस्तिका पुगिसक्ने शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका निमित्त निर्देशक पूर्णबहादुर दर्जीले बताए।

बागमती प्रदेशका १३ जिल्लाबाट एक लाख सात हजार भन्दा भन्दा बढी परीक्षार्थी एसईईमा सहभागी हुने निर्देशनालयले जनाएको छ। एसईईको लागि चार सय २७ वटा परीक्षा केन्द्र निर्धारण गरेको दर्जीले बताए।

परीक्षा बोर्डले प्रदेश सरकारलाई जिम्मेवारी दिएपनि कर्मचारी र पूर्वाधारको भने चरम अभाव रहेको निर्देशक दर्जीले बताए।

“भएकै जनशक्तिलाई पनि तालिम अभाव छ,” उनले भने, “यस विषयमा हामीले परीक्षा बोर्डका अध्यक्षसँग कुराकानी गरिसकेका छौँ, बोर्डले सकारात्मक जवाफ दिएको छ।”

उनका अनुसार एसईई परीक्षा सञ्चालन गर्न बागमती प्रदेशलाई पाँच करोड ३९ लाख रुपैयाँ बजेट लाग्ने प्रक्षेपण गरिएको  छ  तर अहिलेसम्म बजेट आइसकेको छैन।

लुम्बिनी प्रदेश

एसईई परीक्षा लिनु अघिको सम्पुर्ण कार्य पुरा गरेको लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक मनोज गैरेले जानकारी दिए।

“परीक्षामा आवश्यक पर्ने उत्तरपुस्तिका लगायत सुरक्षा तथा खर्चको व्यवस्थापनको तयारी पूरा गरिसकेका छौं”, गैरले बताए।

प्रदेशबाट चालु शैक्षिक सत्रमा ८६ हजारभन्दा बढी विद्यार्थीहरुले एसइई परीक्षा सहभागि हुने निर्देशनालयले जनाएकोछ।  निर्देशनालयको अनुसार प्रदेशले तीन सय ३१ परीक्षा केन्द्र तोकेको छ।

-साथमा विराटनगरबाट राकेश कर्ण, हेटौंडाबाट सम्झना रिजाल र बुटवलबाट पूजा पन्थी।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved