घोषणापत्र बनाउन लागिपर्‍यो कांग्रेसः प्रतिपक्षको भण्डाफोर गर्ने

निर्वाचन लक्षित पार्टीको एकमहीने अभियान चलाइरहेको कांग्रेसले आउँदो शुक्रबार केन्द्रीय कमिटीमार्फत घोषणापत्र बनाउने औपचारिक कमिटी नै बनाउन लागेको छ भने उम्मेदवार चयनका लागि संसदीय समिति पनि निर्माण गर्न लागेको छ।

घोषणापत्र बनाउन लागिपर्‍यो कांग्रेसः प्रतिपक्षको भण्डाफोर गर्ने

काठमाडौं । सतारुढ प्रमुख घटक नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र बनाउने काम शुरु गरेको छ।

निर्वाचन लक्षित पार्टीको एकमहीने अभियान चलाइरहेको कांग्रेसले आउँदो शुक्रबार केन्द्रीय कमिटीमार्फत घोषणापत्र बनाउने औपचारिक कमिटी नै बनाउन लागेको छ भने उम्मेदवार चयनका लागि संसदीय समिति पनि निर्माण गर्न लागेको छ।

औपचारिक रूपमा शुक्रबार घोषणापत्र बनाउने समिति बन्ने भए पनि कांग्रेसले त्यसको गृहकार्य अनौपचारिक रूपमा शुरु गरिसकेको छ। पार्टीसम्बद्ध केही विज्ञहरू त्यसमा खटेको बताइएको छ।
हुन त गत २९ फागुनदेखि यही २९ चैतसम्म एकमहीने अभियानको कार्यतालिका बनाउँदा नै कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा केन्द्रले एउटा पार्टीको आम धारणासहित घोषणापत्र बनाउने तर हरेक स्थानीय तहलाई छुट्टाछुट्टै घोषणापत्र बनाउन भनेको छ।

अभियानकै क्रममा हरेक स्थानीय तहमा पार्टीले विस्तारित बैठक गरेर घोषणापत्र बनाउने समिति र प्रचारप्रसार समिति स्थानीय तहस्तरमा बनाउन भनेको छ।

जारी एकमहीने अभियानमा ७७ ओटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको कांग्रेसले आउँदो शुक्रबार केन्द्रीय समिति बैठकमा प्रारम्भिक समीक्षा गर्दै छ। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले घोषणापत्र बनाउने समितिदेखि घोषणापत्र कहिले सार्वजनिक गर्ने भन्ने कुरा केन्द्रीय समिति बैठकपछि मात्रै निर्क्योल हुने बताए। कांग्रेसले प्रवक्ता महतको संयोजनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सहकार्यमा स्थानीय तहको घोषण पत्र निर्माणको काम अनौपचारिक रूपमा शुरु गरेको छ।

प्रमुख प्रतिपक्षी एमालेले सोमबार मात्रै ९ वैशाखमा आउँदो स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ।

०७४ को स्थानीय तह निर्वाचनमा एमालेभन्दा कांग्रेस कमजोर देखिएको थियो। एमालेले २ सय ९४ प्रमुख जितेको थियो भने कांग्रेसले २ सय ६६ प्रमुख जितेको थियो। एमालेभन्दा २८ ओटा कम प्रमुख जितेको कांग्रेस यो पटक एमालेलाई उछिन्ने दाउमा छन्।

जसका लागि उनले चुनावी तालमेलदेखि प्रतिपक्षीको भण्डाफोर सम्मको कार्यक्रम ल्याउन खोजेका छन्। साथै नयाँ संविधानअनुसार पहिलो कार्यकालको स्थानीय तहमा यो पटक व्यापक रूपमा उठेको कुराहरूमा पर्छन्, अधिकारहरूको बाँडफाँटको समस्या र कानूनी अस्पष्टता। कांग्रेसले आफनो घोषणामार्फत त्यो कुरा पनि सम्बोधन गर्न चाहेका छन्। कांग्रेस प्रवक्ता महतले आफूहरू स्थानीय तह अधिकारसम्पन्न र कानूनी रूपमा बलियो होस् भन्ने चाहेको र त्यो घोषणापत्रमार्फत पनि उठाउने बताए।

घोषणापत्रमा दुई रणनीति

कांग्रेसले केन्द्रीय रूपमा एउटा घोषणापत्र सार्वजनिक गर्ने छ भने हरेक स्थानीय तहमा छुट्टाछुट्टै घोषणापत्र सार्वजनिक गर्नेछ। केन्द्रीय घोषणापत्रले प्रतिपक्षी एमालेसहित अन्य दलहरूभन्दा कांग्रेस स्थानीय तहको अधिकारको सवालमा उदार रहेको र गत पाच वर्षमा तत्कालीन नेकपा सरकारका कारण भोगेको कानूनीसहित अन्य समस्याहरूलाई मुख्य रूपमा उठान गर्नेछ।

त्यसै गरी ७ सय ५३ ओटै स्थानीय तहमा कांग्रेसले दुुई ओटा रणनीति अख्तियार गरेर अगाडि बढ्दै छ। एमालेसहित अन्य पार्टीले जितेको स्थानीय तहमा आक्रमण रूपमा विरोध गर्नेदेखि नयाँ स्थानीय आयोजनाहरू सहित प्रस्तुत हुने योजनामा कांग्रेस छ। त्यसैगरी आफैंले नेतृत्व गरेको २ सय ६६ ओटा स्थानीय तहमा कांग्रेसले पाच वर्षमा गरेका कामहरूको प्रचारप्रसारसहित थप नयाँ योजनाहरूसहित घोषणापत्र बनाउँदै छ।

कांग्रेसले अहिले शुरु गरेको एकमहीने पार्टी अभियानका क्रममा खटाएका केन्द्रीय प्रतिनिधिहरूलाई पनि स्थानीय नेताहरूबारे राम्रोसँग बुझाउन निर्देशन दिएको छ। घोषणापत्र बनाउँदा स्थानीय तह पार्टी कमिटीहरूलाई कांग्रेसले स्थानीय बुद्धिजीवीदेखि अगुवा नागरिकहरूलाई विश्वासमा लिने पनि रणनीति बनाइएको छ।

शुक्रबार बस्न लागेको केन्द्रीय समिति बैठकले गठन गर्ने घोषणापत्र निर्माण समितिले पनि केन्द्रीयस्तरमा स्थानीय तहसँग सम्बन्धित विज्ञहरू राखेर छलफल गर्ने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved