स्थानिय निर्वाचन ०७९

मेचीदेखि महाकालीसम्म लोसपाको चुनावी अभियान, गठबन्धनबारे अन्योल कायमै

अहिले लोसपाले पूर्वदेखि पश्चिमका सबै तराई- मधेशका जिल्लाहरुमा आफ्नो उम्मेदवारी दिने तयारी गरिरहेको नेता जितेन्द्र सोनालले बताए। १४ गतेको पार्टी प्रशिक्षण कार्यक्रमपछि उम्मेदवार सम्बन्धी मापदण्ड तय गरिने उनले बताए।

मेचीदेखि महाकालीसम्म लोसपाको चुनावी अभियान, गठबन्धनबारे अन्योल कायमै

काठमाडौं । संघीय संसदको पाँचौ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागी मंगलबारदेखि प्रशिक्षण कार्यक्रम शुरू गरेको छ। जनकपुरमा आयोजना भएको कार्यक्रममा मधेश प्रदेशका स्थानीय तहका प्रतिनिधि, कार्यकर्ता सहभागी छन्।

त्यस्तै, आगामी १० गते वीरगञ्ज, १२ गते भैरहवा र १४ गते नेपालगञ्जमा प्रशिक्षण कार्यक्रम तय भएको छ।

स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा लोसपा पनि चुनाव केन्द्रित हुन थालेको हो। ०७४ को स्थानीय तह निर्वाचनमा हालको लोसपामा रहेका अधिकांश नेताहरूले (तत्कालीन पार्टी राजपा नेपाल) दुई चरणको निर्वाचन बहिष्कार गरेका थिए। तत्कालीन राजपाले मधेश प्रदेशको स्थानीय तह निर्वाचनमा मात्रै सहभागिता जनाएको थियो।

अहिले लोसपाले पूर्वदेखि पश्चिमका सबै तराई- मधेशका जिल्लाहरूमा आफ्नो उम्मेदवारी दिने तयारी गरिरहेको नेता जितेन्द्र सोनालले बताए।  १४ गतेको पार्टी प्रशिक्षण कार्यक्रमपछि उम्मेदवार सम्बन्धी मापदण्ड तय गरिने उनले बताए ।

गत भदौमा मात्रै जसपा नेपालवाट फुटेर लोसपा गठन भएको हो। ‘पार्टीको तल्लो तहहरूमा हामीले वडा तह सम्मैको पार्टी कमिटी गठन देखि स्थानीय तह निर्वाचन केन्द्रित प्रचारप्रसार एक साथ अघि बढाएका छौं’, लोसपा नेता केशव झाले भने, ”प्रचार प्रसारका लागी हरेक स्थानीय तहमा छुट्टा छुट्टै समितिहरू निर्माण भइसकेको छ।”

गत मंसिरदेखि पार्टीको स्थानीय कमिटीहरू निर्माण गर्न थालेको लोसपाले पछिल्लो समयमा स्थानीय तहकेन्द्रित समितिहरू गठनमा पुर्ननिर्माणको कामलाई तिव्रता दिइरहको छ।

अहिले मधेश प्रदेशमा १८ ओटा स्थानीय तहमा लोसपामा आबद्ध प्रमुखहरू छन् भने २६ ओटा उप-प्रमुख छन्।

जुट र फुटको राजनीति

०७४ को निर्वाचनमा तात्कलीन राजपा नेपालका उम्मेदवारहरूले २५ वटामा प्रमुख र ३१ वटा उपप्रमुख जितेका थिए। त्यसयता सत्ताको खेल, एकता र फूटमै राजपाले धेरै समय बितायो।

११ वैशाख ०७७ मा राजपाले उपेन्द्र यादव नेतृत्व संघीय समाजवादी पार्टीसँग एकिकरण गर्‍यो, तर यो एकिकरण १५ महीनामात्रै टिक्यो। ०७८ साउनमा जसपाबाट फुटेर लोसपा बन्यो, यतिबेला स्थानीय तहका १८ जना प्रमुख र २६ जना उपप्रमुखमात्रै लोसपामा आए।

सशक्त उपस्थिति जनाउने लक्ष्य

लोसपाले मधेश प्रदेशमा आफनो अघिल्लो पटकको संख्या बढाउने लक्ष्य राखेको छ। लुम्बिनी, सुदुरपश्चिमदेखि प्रदेश एकसम्म आफ्नो पार्टीको उपस्थिति शशक्त देखाउनेगरी पार्टीले तयारी गरेको छ।

तर, प्रतिस्पर्धी पार्टीहरूमा सम्भावित तालमेलको नाफा-घाटाबारे बहस चलिरहँदा गठबन्धन निर्माणमा लोसपाको उतिसारो ध्यान पुगेको देखिदैंन।

जसपा मधेश प्रदेशका पार्टी अध्यक्ष समेत रहेका नेता सोनलले पनि गठबन्धनका विषयमा अहिलेसम्म पार्टीमा कुनै सर-सल्लाह नभएको बताए । ”१४ गते पछिको पार्टी प्रशिक्षण पश्चात पार्टीको कार्यकारणी समिति बैठक बसेर हामी यसवारेमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं”, सोनलले भने, ”त्यस पछि मात्रै हामी चुनावी तालमेल गठबन्धनको वारेमा केही ठोस रुपमा भन्न सक्छौ ।”

जबकी, मधेशमा लोसपाको प्रमुख प्रतिस्पर्धी जसपाले अन्य सत्ताघटक कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीसँग गठबन्धनका लागि पहल गरिरहेको छ।

लोसपाले संसद् विघटनमा ओलीलाई साथ दिएकाले चुनावमा पनि एमालेसँग गठबन्धन गर्नसक्ने अड्कल एकथरीले लगाएपनि कसैसँग चुनावी तालमेल नगर्ने दाबी एमाले नेताहरूले बारम्बार गर्दै आएका छन्।

लोसपालाई सरकारमा लैजाने लक्ष्यका साथ प्रधानमन्त्री शेरबहादुर देउवाले पनि कसरत थालेका छन्,लोसपाले उठाउँदै आएका मुद्दाहरू सम्बोधन गर्नका लागि उनले लोसपा नेताहरूसँग बैठक गरेका थिए। बैठकले मुद्दा सम्बोधनका लागि एउटा अनौपचारिक कार्यदल नै गठन गरेको छ।

तर चुनावी कार्यदलका सम्बन्धमा भने अहिले कुनै छलफल नभएको नेता सोनलले बताए। मधेशी क्षेत्रीय शक्तिहरू लोसपा, जसपा र जनमत पार्टी मिलेर चुनावमा जानुपर्छ भन्‍ने आवाज पनि मधेशमा उठेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved