वाह ! आयो ऋतुराज वसन्त

प्राचीनकालीन स्रष्टा कालिदास हुन् वा वर्डसवर्थ, रवीन्द्रनाथ टैगोर र हाम्रै लेखनाथ पौड्याल, माधवप्रसाद घिमिरे, भूपी शेरचन नै किन नहुन्, सबैले वसन्तलाई उत्तिकै स्नेह गरे, माया पोखे। अथाह महिमागान गाउँदै वसन्तलाई काव्यको रसिलो बागमा फुलाए, समृद्ध धरातलमा उभ्याए।

वाह ! आयो ऋतुराज वसन्त

‘हिमालमा गयो जाडो लोक सानन्द देखियो
उदायो रसिलो राम्रो ऋतु-राज वसन्त यो
नाम-शेष भयो सारा परान शिशिर-स्थिति
लियो वसन्तले अर्कै नयाँ गौरव-पद्धति’
(कविशिरोमणि लेखनाथ पौडेल/‘ऋतुविचार’)

कुनै नवागन्तुक शिशुले झैं, जब धर्तीको आँगनीमा उषाले सुकोमल पाइला टेक्ने तर्खर गर्छ, त्यतिबेला पक्षीहरूको कलरव स्वरलहरी फिजिँदा सहजै बटुल्न सकिन्छन्- स्वर्गीय आनन्दानुभूति। उषःकालको घना निद्रामा डुबेकाहरू आलस्य त्यागेर जाग्छन् र अनुभूत गर्छन्, ताजा स्फुर्तिको। नवपालुवाले भरिपूर्ण वृक्षका सुकुमार हाँगामा उल्लसित हुँदै पक्षीहरूका सामुहिक गान पोखिन थालेदेखि नै आगमनको संकेत मिल्दछ- ऋतुराज वसन्तको। एक नूतन मौसमको। एक पृथक उमंगको। हिउँदका चिसा, कठ्याङ्ग्रिदा र निरस दिनहरूमा सुस्ताएका पंक्षीहरूले सम्पूर्ण उत्साह, उमंग र प्रेमिल भावमा बदल्छन्, आफूलाई। त्यही त, हरिवंशराय बच्चन ‘मधुबाला’ मा लेख्छन्, ‘पृथ्वी आफ्नो आँगनमा वसन्तलाई मनाउँछन्। तरु-तरुमा नव पल्लव लगाउँछन्, लता-लतालाई कुसुमित तुल्याउँछन्।’

वसन्तागमनको सूचना प्रसार गर्न कोइली उभिन्छ- अग्र लहरमै। उत्साहित हुँदै सन्देश दिन्छ, सर्वत्र। ऋतुराजमै त हो सुनिने, उसको स्वर र सान। भख्खर पलाएका पालुवाभित्र आफ्ना अवयव लुकाएर मीठा र तरंगित स्वर फैलाउँदै गुन्जिन्छ, कोकिल-कण्ठ। आहा ! वसन्तको सौन्दर्यमा थप निखार ल्याउन र वसन्तको मौलिकतालाई अझै परिस्कृत र सौन्दर्यीकृत गर्न मद्दत पुर्‍याउँछ, कोकिल स्वरले।
‘कुनै काँकाँ, कुनै कुर्र, कुनै चिर चिरीरिरी
शब्द-सौन्दर्य-भण्डार खोली बोल्छन् थरी-थरी’
(लेखनाथ पौड्याल)

वसन्तको हाँगा-हाँगामा डुल्दै रुपी, चाँचर, धोवी चरा, भद्राइ, सुनचरी, रानी चरी, जीवल फिस्टो, मारुनी चरी, स्वर्गचरीले उषाकालमा आफ्नो स्वरलहरी सर्वत्र फिँजाउन थाल्दा भन्न मनै लाग्छ- वाह ! वसन्त।

नृत्यमग्न प्रकृति

कुनै निर्मल, निश्छल पहाडी झरनामा स्नान गरेपछि प्रफुल्ल मुद्रामा देखिएकी÷खुलेकी नवयुवतीझैँ देखिन्छन्, प्रकृति पनि। वसन्त मौसममा। पूरै स्निग्ध र सुकोमल। वन-उपवन, उद्यान, तरी र झाडीहरू तिनै युवतीका केशराशीबाट तपतप झरिरहेका जलथोपाहरूझैँ नूतन लाग्छन्।

शिशिरका घुर्मैला दिनहरूमा तुवाँलो र तुसारोको सघन हस्तक्षेपले शिथिल र निन्याउरो बनेका धर्तीका अवयवहरू सम्पूर्ण दुःख, पीडा भुलेर खुल्न पुग्छन्, रमाउन पुग्छन्। मात्र वसन्त ऋतुमा। वसन्तको मझेरीभरि। वसन्तको क्षितिजभरि।

स्वतःस्फूर्त उघ्रिन पुग्छन्, हिमचुलीहरू। जसमा दृष्टि बिछ्याउँदा सखारै सूर्यको नरम किरणले नुहाइदिएको आभास हुन्छ, सहजै। पाखा-पर्वतहरू पनि खुल्छन्, खुल्छन् मधेसका रमणीय फाँट। मेची खुल्छ, काली खुल्छ। हिमाल खुल्छ, मधेस खुल्छ। खुल्छन्- लेक, आदमारा, बेंसी, दून, तरी, चुरे सबै सबै नै। सर्जकहरूले त्यतिकै वसन्त-प्रशंसा गरेका होइनन्-
‘वसन्तको पालुवा पाखा हरियो
कलेजीमा देशको माया भरियो
ए, चाँदीझैँ टल्केको हिमाल
पुर्खाले अर्जेको प्यारो नेपाल।’
(शब्द- प्रदीप लम्साल)

फूलैफूलको मौसम

‘फूलैफूलको मौसम तिमीलाई
तारा-जूनको रमझम तिमीलाई
मेरो माया हरदम तिमीलाई…।’
कोकिल-कण्ठ गायिका तारादेवीको स्वरमा फक्रिएको यो गीत रत्नशमशेर थापाले लेख्दा सायद वसन्त ऋतुलाई नै सम्झेर लेखेको हुनुपर्छ। फुल्न त अरू ऋतुहरूमा पनि फुल्छन् फूल। तर, फूलैफूलको मौसमले केवल वसन्तलाई नै प्रतिनिधित्व गर्दछ, सम्बोधन गर्दछ। शिशिरका उदास दिनहरूमा फुलुँ कि नफुँलुको दोधारमा अल्झिएका फूलहरूलाई पनि वसन्तले फुलाउन बाध्य तुल्याउँछ। वसन्तागमनको मोहक गन्ध पाउने बित्तिकै कोपिला हाल्न थालिहाल्छन, फूलहरूले। अर्थात, जब शिशिरभरि कक्रिएका अनेक रंगहरूमा विभक्त पुष्पहरूले बिस्तारै कोपिला हाल्न थाल्छन्, आफ्नो सानदार परिचय पस्किन थाल्छन्, तब वसन्तले हस्तक्षेप गरेको मिल्छ सहजै आभास।

हुन पनि, वसन्तागमनको पूर्वसन्ध्याको याद दिलाउँछ- रक्तरंगीन लालीगुराँसले। वसन्तले धर्तीको सँघारमा पाइला टेक्नटेक्ने बेला उच्च पर्वत-शृंखलाहरू लालीगुरासँको सौन्दर्यमा बेरिन पुग्छन्, मुग्ध बन्छन्। पूर्वको तीनजुरे, मिल्के, जलजलाका सुन्दर वन-उपवन हुन् वा पश्चिमका अन्नपूर्ण वेसक्याम्प, ढोरपाटनलगायतका भूधरा हुन् वा काठमाडौं उपत्यका वरिपरिका शिवपुरी, फुल्चोकी, दहचोकका डाँडाहरू नै किन नहुन्, लालीगुरासँका सौन्दर्यबीच अल्मलिन्छन्, यो मौसम। अर्थात्, पुष्प सौन्दर्य र परागहरूले आफ्नो सौन्दर्य प्रदर्शन गर्ने हो यो मौसम।

रैथाने होस् वा आयातित- दुवै पहिचानका फूलले आफूलाई सौन्दर्यीकृत गर्न वसन्त ऋतुलाई नै रोज्छन्।

फूलको सौन्दर्यमा रङ्मगिएपछि त मुग्ध हुन्छ- धर्ती पनि। जब फूलको सुगन्ध वासन्ती हावामा लहरिँदै-लहरिँदै चारै दिशातिर फैलिन थाल्छन्, तब सिंगो धर्ती र मानव समुदायले निःशुल्क ‘परफ्युम’ को सुविधा बटुल्न थाल्छन्।

वसन्तलाई सिंगार्छन्, फूलहरूले। केवल फूलहरूले।

आदिकालमै कालिदासले लेखेका थिए- ‘मेघदूत’। त्यो कालजयी कृतिमा उनले आफ्ना नायक-नायिकालाई केवल फूलहरूले सिँगारपटार गरेका थिए। ‘मेघदूत’ मा अलकानगरीका स्त्रीको हातमा हुन्छ, कमलको फूल, कानमा हुन्छ शिरीषको फूल र कपालमा हुन्छ, कदम्व। अहाँ ! कति महत्व छ फूलको। फूलको सौन्दर्यको। फूलको बासनाको।

धार्मिक, सांस्कृतिक, सामाजिकलगायत कार्यमा त फूलको महत्व परापूर्वकालदेखि नै रहँदै आयो। अब त राजनीतिमा पनि फूलको महत्व बढ्दो छ। संस्कृति भनौं वा विकृति। कुनै राष्ट्रिय तहका नेतालाई स्वागत गर्ने क्रममा बीस, चालीस, साठी, सय केजीको माला लगाउने होडबाजी नै चल्न थालेका छन्, केही दशकयता।

जेहोस्, फूलको सौन्दर्यप्रति परापूर्वदेखि आजपर्यन्त मोहित छन्, मानव जाति। कवि, लेखक, राजनीतिज्ञ, समाजसेवी, संगीतसाधक। आदिकवि भानुभक्त आचार्यले शताब्दीयौंपूर्व त्यत्तिकै फूलको बयान गरेका होइनन्-
‘चपला अवलाहरू एक सुरमा
गुनकेशरीको फूल लि सीरमा
हिंडन्या सखी लिकन वरिपरी
अलकापुरी कान्तिपुरी नगरी।’

साहित्यमा वसन्त

प्राचीनकालीन स्रष्टा कालिदास हुन् वा वर्डसवर्थ, रवीन्द्रनाथ टैगोर र हाम्रै लेखनाथ पौड्याल, माधवप्रसाद घिमिरे, भूपी शेरचन नै किन नहुन्, सबैले वसन्तलाई उत्तिकै स्नेह गरे, माया पोखे। अथाह महिमागान गाउँदै वसन्तलाई काव्यको रसिलो बागमा फुलाए, समृद्ध धरातलमा उभ्याए।

कालिदासले आम्रमञ्जरीलाई वसन्तको प्रतीक ठाने। वर्डसवर्थले गाए- सुललित वसन्तगान। टैगोरले त चेतावनी नै दिए, ‘फूलको डाली तोडेर तिम्ले उसको सौन्दर्य ग्रहण गर्न सक्दैनौं।’

राष्ट्रकवि माधवप्रसाद घिमिरेको वसन्त-मोह यसरी पोखियो-
‘आई कैल्यै पनि नसकिने चैत वैशाख मेरो
लाइ कैल्यै पनि नसकिने प्रीति नौलाख मेरो।’

हुन पनि वसन्त ऋतु आगमनको सँघारमा उभिन आइपुग्नै हुँदैन, उष्ण भूभागमा आँप, लिची, महुवाका वृक्षहरू फुल्न थाल्छन्, लटरम्म। त्यसका फूलको मादकतामा नझुम्ने को होलान् र ? प्रकृतिका सम्पूर्ण जीव लठ्ठिन्छन्, त्यसको मादक गन्धमा, हराउँछन् त्यसको सम्पूर्णतामा।

शायद वसन्तप्रति नतमस्तक हुन र वसन्तलाई अपार र अप्रमेय प्रेमपासमा बाँध्न सर्जकहरू त झनै उत्साहित हुन्छन्। कविवर उमानाथ शास्त्री ‘सिन्धुलीय’ को उद्गार यस्तो छ-
‘पोल्दछ लाली पल्लवको
रम्य वासन्ती बागछवि
खोल्दछ काली कोकिलले
कान भने ब्यूँझन्छ कवि।’
(‘मकवानीवाला’ बाट)

गीत-संगीतमा वसन्त

वसन्त ऋतुलाई झकिझकाउ तुल्याउन केवल शब्दले मात्र अग्रसरता देखाएका छैनन्, संगीत र सुमधुर स्वरलहरीले पनि उत्तिकै भूमिका निर्वाह गरेका छन्। नभए, गायक अरूण थापाले कुनै प्रेयसीको प्रशंसामा मुग्ध पार्नेगरी यसरी गाउने थिएनन्,
‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ
नदीहरूमा तिमी पवित्र गंगा हौ…।’

केही चलचित्रका गीतले पनि वसन्तलाई सम्झेका छन्। चलचित्र ‘भरोसा’ को एउटा गीतमा नायक दिलीप रायमाझी र नायिका अरूणिमा लम्सालबीच प्रेम अंकुराउँछ, केवल वासन्ती मौसममा। नेपालकै मनोरम भूदृश्यमा छायाँकन गरिएको यो गीतले वसन्तको राम्रो चित्रण गरेको छ-
‘यो वासन्ती बेला राम्रो
मगमगाउने फूल राम्रो
यो प्रकृतिभन्दा पनि
हाम्रो चोखो प्रीति राम्रो…।’

वसन्त र फूलबीच कति प्रगाढ सम्बन्ध छ ? यो यथार्थ झल्काउन चलचित्र ‘माया नमार’ मा उदितनारायण झा र स्नेहा पन्तले गाएका यो गीत नै पर्याप्त देखिन्छ-
‘सुसेलीले वसन्तलाई डाँकु डाँकु जस्तो
फूलसँगै अटुट नाता गाँसु गाँसु जस्तो
नछोइने यो आकाश पनि
छोइ दिउँ छोइ दिउँजस्तो
यो दोष हो कि मेरो जवानीको…।’

अझ, पुराना नेपाली चलचित्रतिर फर्किने हो भने बीसको दशकमै निर्मित ‘माइतीघर’ मा आशा भोसलेको स्वर, किरण खरेलको शब्द र जयदेवको संगीतमा सजिएको यो गीतले वसन्तको बखानसँगै राष्ट्रप्रेमको सुगन्धसमेत छरेका छन्। जुन गीत आजपर्यन्त सदाबहार छन्-
‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर…।’

भारतका प्रसिद्ध गायिका श्रेया घोषालको स्वरमा सजिएको यो गीत पनि वसन्तलाई साजसज्जा तुल्याउन कम्ती पछि परेको छैन-
‘छाएछ वसन्त मेरो तनमनभरि
त्यसै त्यसै भुमरीझैं बेर्छ मलाई
तिम्रो प्रेमले…।’

उता, कुशल लिम्बु पनि के कम ? वसन्त-महिमा उतार्न। उनले गाएका छन्-
‘ऋतु राम्रो वसन्तले हरियाली छाउँदा
तिमी राम्री माया आँखैमा कालो गाजल लाउँदा…।’

वसन्त ऋतु र राजनीति परिवर्तन

विगतमा तीन दशकसम्म नेपाली समाज र जनतालाई निरंकुश पञ्चायती व्यवस्थाले कुँज्याएर राख्यो। उकुसमुुकुसबीच बाँचे जनता। दबाइयो स्वर। परिवर्तनको चाहना राख्नेहरूमाथि दमनको चक्र चलाइयो। तर, निरंकुश व्यवस्थाको चंगुलबाट उम्किन जनपंक्तिले संघर्षको दिशातिर आफूलाई उन्मुख तुल्याए, सदैव।

त्यही कालरात्रिमा नाट्यसर्जक अशेष मल्लले लेखे- ‘हामी वसन्त खोजिरहेछौं।’ उनले खोजेको वसन्त निरंकुशतन्त्रबाट उन्मुक्ति थियो, बहुदलीय व्यवस्था स्थापनाको अपूर्व चाहना थियो। परिवर्तनको, नयाँ र नौलो समाज निर्माणको स्वर टाँसिएको मल्लको त्यो नाटकले देशमा सल्बलाइरहेका परिवर्तनप्रेमीहरूलाई ऊर्जा र उत्साह प्रदान गरेको थियो।

वसन्त अर्थात् परिवर्तनको विम्ब। वसन्त अर्थात् नवोन्मेषको विम्ब। वसन्त अर्थात् सुख, समृद्धि र सम्पन्नताको विम्ब। वसन्त केवल ऋतुमात्र होइन्, विम्बको रुपमा पनि उभिएका छन्, हामीमाझ।

नेपाली समाजलाई नौलो गोरेटो दिने २००७ सालको राजनीतिक परिवर्तन वसन्तागमनको ठीक पूर्वसन्ध्यामा टुंगिएको थियो। २०३६ सालको राजनीतिक उभार चलेको थियो, वसन्त याममा नै। वसन्तका दिनहरूमा चम्किएको विद्यार्थी आन्दोलनपश्चात् तत्कालीन व्यवस्था जनमत संग्रहको घोषणा गर्न बाध्य भएको थियो।

२०४६ र २०६२/०६३ का जनउभार वसन्तकै छहारीमा सल्बलाएका थिए। मध्य वसन्त अर्थात चैत २६ गते तीस वर्षे पञ्चायती व्यवस्थाको अवसान भई देशमा बहुदलीय व्यवस्था पुनस्र्थापना भएको थियो, २०४६ सालमा। २०६२/०६३ को जनआन्दोलन सफल भएको थियो- वैशाख ११ गते। नेपाली सन्दर्भमा वसन्त याम प्रकृतिले चोला फेर्ने ऋतुका रुपमा मात्र स्थापित छैन, ठूला-ठूला राजनीतिक परिवर्तन भित्र्याउने यामको रुपमा पनि परिचित छ। वसन्त र राजनीतिक परिवर्तनलाई सम्झने उपक्रमसँगै भारतीय कवि वरवर रावका यी काव्यपंक्ति स्मरणीय रहन्छन्, सदैव-

‘वसन्त कहिल्यै अलग भएर आउँदैन
ग्रीष्मसित मिलेर आउँछ।
झरेका फूलहरूको सम्झना
बाँकी रहन्छ कोपिलाहरूसँग
नयाँ कोपिलाहरू फुट्छन्
आजका पातहरूको ओटमा
अदृश्य भविष्य सरह…।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved