प्रिय पात्र

युलेसिसको घुमन्ते प्रवृत्तिबाट प्रभावित छु

यस्तो होइन कि नेपाली उपन्यास सम्झना गर्न लायक पात्रहरूले शून्य छ। केही छन् जस्तो- बसाइँ उपन्यासका पात्रहरू, विजय मल्लको मात्तेको गाईको पात्र।

युलेसिसको घुमन्ते प्रवृत्तिबाट प्रभावित छु

मेरो मन मस्तिष्कमा स्थायी छाप छोडेका आख्यानका पात्रहरू धेरै र थरीथरीका छन्। तिनीहरू पुराण, महाभारत, रामायणका पात्रदेखि युनानी र रोमन महाग्रन्थका पात्रहरूसम्म फैलिएका छन्।

युनानी महाग्रन्थको पात्र युलेसिसले मेरो मनमा अमिट छाप छोडेको छ। युलेसिसको घुमन्ते प्रवृत्तिबाट म अत्यन्तै प्रभावित छु।

घर छोडेको धेरै वर्षपश्चात युद्ध जितेर घर फर्किएपछि उसकी श्रीमतीले प्रश्न सोध्छे, ‘त्यत्रा देवीहरू जस्ता सुन्दरीहरूलाई भेटेर, संसार जितेर म केही न केहीकी गृहिणी कहाँ किन र केका निम्ति फर्किएर आयौ ?’

युलेसिस भन्छ, ‘एक पुरुषको लागि आफूले बनाएको संसार जति सुन्दर हुन्छ त्यति सुन्दर अर्को संसार हुन सक्दैन।’

यो भनाइ ममा पनि लागू हुन्छ।

कसरी भन्दा मैले विश्व घुमेर अनेकौं परदेशीलाई प्रभावित पार्न सफल भए पनि र स्वर्ग झैं झकीझकाउ विदेशको सुविधामा ऐस गरे पनि मलाई आफूले नेपालमा निर्माण गरेको परिवार र साहित्यिक संसार, यहाँका मानिसहरू, असनको गल्ली, अन्नपूर्ण हिमालकी शेर्पिनी आमा आफ्नो लाग्छ। यी मेरा मुटुका धड्कन हुन् र यसैमा म आफूलाई ज्युँदो पाउँदछु।

युरोपेली र अंग्रेजी आख्यानका पात्रहरूमा मलाई शेक्सपियरको पात्र राजा लियर, टमस हार्डीको पात्र टेस, गोर्कीकी आमा, इभान तुर्गनेभको बाबु र छोरा तथा गोगोलको मृत आत्माहरूको नायक खुबै मन पर्छन्। हार्डीको टेस मैले दसौं पटक पढिसकेको हुँला। किनकि, टेसको चरित्र मलाई हाम्रो पृथ्वीको जस्तै लाग्छ, जसलाई सामन्तहरूले बारम्बार बलात्कार गरिरहेका छन्। हार्डीले टेसलाई पृथ्वीसँग र फसल काटिएको जमिन दाँजेको खुब मन पर्छ।

उता अमेरिकी उपन्यासका पात्रको कुरा गर्दा हम्बोल्ड गिफ्टका पात्रहरू मन पर्छन्। उपन्यासको नायक एउटा कवि हुन् र त्यसको कथा बाचक चार्ली हम्बोल्डलाई भेट्न जान्छ। तर कुरा के भइदिन्छ भने उसको त्यो आदर्श कवि आफ्नो उच्च स्थानबाट तल खसिसकेको हुन्छ।

जहाँसम्म नेपाली पात्रहरूको कुरा छ, दुःखको कुरा के छ भने नेपाली आख्यानमा प्रभावशाली पात्र फेला पार्न त्यति सजिलो छैन। नेपाली उपन्यास हदै सम्मको मेलोड्रामाले भरिएको र चरम भावुक छन्। अर्को कुरा यो यथार्थ नेपाली जीवनबाट विपरीत दिशामा उभिएको तथा रुसी फर्मालिज्मको छायामुनि हुर्किएको देखिन्छ। त्यसमाथि ८५ वर्ष पार गरिसक्दा पनि यो अझै अपरिपक्व छ।

सबैभन्दा पछिल्लो पटक चर्चामा आएका उपन्यास समेत यसै रोगबाट ग्रसित छन्, जसको उद्देश्य पाठकलाई रुवाउनेमा मात्रै सीमित छ। नेपाली उपन्यासकारहरूमा अध्ययनको कमी देखिन्छ। उनीहरूले लेखेका उपन्यासमा कथानक मात्रै नभएर पात्रहरू समेत व्यापक रुपमा विकसित नभएको देखिन्छ।

नेपाली आख्यानमा आम गाउँले श्रमिक वर्गमा समेत परिचित मुना मदन झैं परिचित पात्र अझै जन्मन बाँकी छ। हुन त मुना मदन पनि रुन्चे र अति भावुकताले ग्रस्त छ। यसको माने यस्तो होइन कि नेपाली उपन्यास सम्झना गर्न लायक पात्रहरूले शून्य छ। केही छन् जस्तो- बसाइँ उपन्यासका पात्रहरू, विजय मल्लको मात्तेको गाईको पात्र।

हालै मैले पढेको पुस्तकहरूको पात्रहरूको कुरा गर्दा भने मैले अनुवाद गरेको चिनियाँ उपन्यासकार लाओ माको उपन्यास एक असाधारण अन्तर्वार्ताका पात्रहरू तथा हालसालै मैले पढेको भारतीय लेखिका नमिता गोख्लेको उपन्यास थिङ्ग्स टू लिभ बिहाइन्डकी पात्र तिलोत्तमा पनि उल्लेखनीय छन्। गोख्लेले एक पहाडी महिलाको मनभित्रको उकुसमुकुसलाई सार्थक रुपमा देखाएकी छिन्।

त्यसैगरी, मैले अहिले पढिरहेको युवा नेपाली कवि अमर आकाशको उपन्यास कर्खाको पाण्डुलिपीको पात्रले गहिरो छाप छोडेको छ। अहिले पनि मेरो मन मस्तिष्कमा त्यस पात्रको सम्झना ताजा छ। त्यसको नायक एकल आमासँग काठमाडौंमा हुर्किएर श्रमिक जीवन बिताइरहेको तर अचानक कोभिडको प्रकोपमा परेर सडकमा जीवन व्यतीत गर्न बाध्य छ।

अमर एउटा नव स्रस्टा हुन्। उनले आफ्नो वीभत्स श्रमिक जीवनका अनुभवहरूले यस उपन्यासको कथा बुनेका छन्। अधिकांश नेपाली उपन्यासकारहरू मध्यम वर्गका शिक्षक, पत्रकार लगायत समूहबाट आएका छन्। तर अमर तल्लो तहको नारकीय श्रमिक जीवनमा फसिरहेका लेखक हुन्।

उनले नौलो तरिकामार्फत यथार्थ जीवनको त्रासदीलाई कवितात्मक भाषामा सजाएर देखाउने कोसिस गरेका छन्। यो एउटा सुखद् सम्भावनाको शुरुआत हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved