अबिच्युअरी

चूपचाप गए एक हक्की प्राज्ञ

राजनीतिक नियुक्तिका लागि नेपालका नामचिन प्राज्ञहरू पनि नेताको चोटाकोठा चहार्ने दौडमै हुन्छन्। ध्रुव सर यी प्रवृत्तिबाट कोशौं टाढा थिए। उनी निरन्तर प्राज्ञिक कर्ममै लिन भए। राजनीतिसँग दूर-दूरको साइनो राखेनन्।

चूपचाप गए एक हक्की प्राज्ञ

त्यसो त मौन रहनु प्राध्यापक ध्रुवकुमार (ध्रुव सर)को स्वभाव थिएन। जीवनभर उनी बोलिरहे। कहिले सस्वर त कहिले लेखनले। उनको परिचय भने लेख्य संवादमै छ। उनी प्राज्ञिक लेखनमा मात्र सीमित रहेनन्। समकालीन राजनीतिबारे आमसञ्चारबाट सधैँ संवाद गरिरहे।

३ चैतको एकाबिहानै उनी चुपचाप संवादबाट पर गइदिए, कहिल्यै नफर्कने गरी। थाहा पाउँदा मन बेचैन भयो।

श्रवण शक्ति कमजोर भएकाले ध्रुव सर मोबाइल, टेलिफोन भन्दा बढी इमेलको सहारा लिन्थे। प्रत्यक्ष भेटघाट र कुराकानी उनको अति कम प्राथामिकतामा पर्थे। त्यसैले उनीसँग इमेल-संवाद भइरहन्थ्यो। केही महिनाअघिको इमेल संवादमा घरमै भेट्न आउने कुरा गरेको थिएँ तर जान सकिरहेको थिइनँ।

कुनै बखत ध्रुव सरसँग प्रायजसो भेट हुन्थ्यो। कान्तिपुर पब्लिकेसनबाट प्रकाशित हुने ‘नेपाल साप्ताहिक’मा संवाददाता हुँदा म नियमित जस्तै त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ‘नेपाल तथा दक्षिण एसियाली अध्ययन केन्द्र’ (सिनास) पुग्थेँ। र, सँगै हुन्थे सहकर्मी ध्रुव सिम्खडा।

प्रा.लोकराज बराल, प्रा. कृष्ण खनाल, ध्रुव सर, कृण्ण हाछेथु लगायतका प्राज्ञिक व्यक्तित्वका कुरा सुन्न लालायित भएर हामी सिनास पुथ्यौं। त्यही दौरान ध्रुव सरसँगको परिचय प्रगाढ भएको थियो। ध्रुव सर सिधा र रुखो शैलीमा बोल्थे। पहिलोचोटी भेट हुँदा ‘कस्तो सन्की प्रोफेसर’ भनेझै लाग्थ्यो। धेरैले उनलाई ‘छुच्चो’ को संज्ञा पनि दिन्थे।

तर सँगत गर्दै जाँदा उनको त्यो रुखो शैलीमा तीतो सत्य छिपेको महसूस हुन्थ्यो। प्रा. विश्वम्भर प्याकुरेलका शब्दमा, प्रशंसा मात्रै खोज्ने मान्छेका लागि ध्रुवकमुार छुच्चो देखिन्थे तर उनी तीतो सत्य बोल्न सक्ने थोरै मान्छेमध्येका थिए । समाज, राजनीति, विभिन्न पेशा व्यवसायमाथि उनी आलोचनात्मक दृष्टिकोण राख्थे।

कतिसम्म भने, आफैमाथि पनि उनी निर्मम आलोचना गर्न पछि पर्दैनथे।

एउटा प्रसँग कहिल्यै बिर्सिन्न। एकदिन उनले सोधे, “तँ सधै किन सिनास धाइरहन्छस्?”

ध्रुव सर मलाई माया गरेर ‘तँ’ भन्थे। कहिलेकाहीँ हप्काउँथे, हकार्थे तर हाँसेरै सुनिरहन्थे। ती सबैमा आत्मीय भाव पाउँथे।
“तपाईंहरू जस्ता प्राज्ञका कुरा सुन्यो भने ज्ञानगुण बढ्छ, लेख्ने नयाँ विषय र ज्ञान पाइन्छ भनेर आएको नि सर”, म जवाफ फर्काउँथे।

उनी हाँस्दै भन्थे, “लाटा कुरै बुझ्दैनस्। तँ जस्तै पत्रकारले लेखेको पत्रिकाको कटिङ सारेर पिचएडी गर्ने र प्राध्यापक हुनेहरूसँग के नयाँ कुरा सिक्छस्? तैले रोल्पा गएर ल्याएको रिपार्ट पढेर मैले माओवादीमाथिको धारणा बनाउने हो, अनि तैले मसँग के सिक्ने?”

ध्रुव सरको तिखो टिप्पणी गर्ने शैली थियो, त्यो। तर उनीसँग सिक्न सकिने धेरै कुरा थिए। उनी आफ्नो विषयमा पोख्त प्राध्यापक थिए। अन्तराष्ट्रिय सुरक्षा सम्बन्ध, भूराजनीति, घरेलु राजनीति आदि विषयका सुक्ष्म अध्येता थिए। सिनाससँग आबद्ध भएर उनले यिनै विषयमा अध्ययन अनुसन्धान गरे।

प्राध्यापक लोकराज बराल सिनासको नेतृत्वमा रहँदा ध्रुव सर त्यहीँ अध्ययन अनुसन्धानमा संलग्न थिए। प्रा. बराल ध्रुवकुमारलाई आफ्नो विधामा दक्षता भएको प्राज्ञका रूपमा सम्झिन्छन्।

“ध्रुवकुमार मेरो विद्यार्थी नै त होइन। तर, मसँग सामिप्यमा रहेर उनले काम गरेका थिए। उनलाई लेखन,पठनमा मात्रै चासो थियो”, उनी भन्छन्, “अरू ह्यांकीप्यांकी केही नजान्ने। आफ्नै काममा लागिरहने क्षमतावान मान्छे थियो।”

प्रा.बरालका विद्यार्थी प्रा. कृष्ण खनाल पनि ध्रुवकुमारलाई आफ्नो विधामा पकड भएको प्राज्ञका रूपमा स्मरण गर्छन्।

“नेपालको प्राज्ञिक क्षेत्रमा सुरक्षा विषयलाई लिएर अध्ययन/अनुसन्धान गर्ने ट्रेन्ड उनैले शुरु गरेको भन्दा हुन्छ”, खनाल भन्छन्, “विश्वविद्यालयमा सुरक्षा मामिला, चीन लगायतका विषयमा प्राज्ञिक अनुसन्धान उनैले थालेका थिए भन्नु अत्योक्ति हुँदैन। चीनकै विषयमा पनि राजनीतिक आस्थाका आधारमा अरूले पनि अध्ययन अनुसन्धान गरे होलान् तर प्राज्ञिक अध्ययन गर्ने उनै हुन्।”

अर्का प्राध्यापक विश्वम्भर प्याकुरेल त झन् उनलाई स्कुले जीवनबाटै चिन्छन्। शान्ति विद्यागृह स्कुलका सहपाठी समेत रहेका प्याकुरेलका अनुसार, सुरक्षा वा चीनका विषयमा मात्रै होइन, ध्रुवकुमारको विद्धतामा विविधता थियो।

“सुरक्षा मात्रै होइन, त्योसँग अन्तरसम्बन्धित विषयका राम्रो जानकार थिए। उनमा उच्चस्तरीय प्राज्ञिक डेलीभरी थियो”, उनी भन्छन्,”अरूले बुझ्दा सुरक्षा मामिला विज्ञ भने पनि मैले बुझेको ध्रुवकुमारको अध्ययनको दायरा फराकिलो थियो ।इतिहास,अर्थशास्त्र आदि विषयमा पनि उनी उत्तिकै ज्ञान राख्थे।”

ध्रुव सरका यी ज्ञानहरू विभिन्न पुस्तक, जर्नल लेख मार्फत पोखिएका छन्। सिनास लगायतका जर्नलहरूमा उनका दर्जनौं लेख प्रकाशित छन्। त्यस्तै उनले लेखन तथा सम्पादन गरेका केही पुस्तकहरू पनि प्रकाशित छन्। जसमा ‘माओ एण्ड चाइनाज फरेनी पोलिसी पर्स्पेक्टिभ’, ‘इन्डियाज नेपाल पोलिसी’, ‘इलेक्टोरल भ्वाइलेन्स एण्ड भोलाटिलिटी इन नेपाल’, ‘नेपाल स्टेट, सोसाइटी एन्ड ह्यूमन सेक्युरिटी’, सोसियल इन्कुलजन’, ‘ह्यूमन डेभलोपमेन्ट एण्ड नेसन बिल्डिङ इन नेपाल’, ‘माइन्डस एट वार एण्ड माइन्डस एट पिस इन साउथ एशिया’, ‘डोमेस्टिक कन्फ्लिक्ट एण्ड क्राइसिस अफ गभर्नाविलिटी इन नेपाल’ आदि छन्।

सिनासबाट सेवा निवृत्त भएपछि उनले कान्तिपुर दैनिकमा नियमित स्तम्भकारका रूपमा राष्ट्रिय राजनीति, सुरक्षा मामिला लगायतका विषयमा लेख्दै आएका थिए। र आफ्नो प्राज्ञिक क्षेत्रमा निरन्तर अध्ययन अनुसन्धानमा संलग्न थिए। प्रा. खनाल भन्छन्, “तीन महिनाजति अघि मेरो इमेल-संवाद भएको थियो। उनले एउटा जर्नल लेख तयार पारेका रहेछन्। पढेर सुझाव देउ भन्दै पठाएका थिए। मैले पढेर फिडब्याक दिएको थिएँ।”

प्रा. प्याकुरेल पनि ध्रुवसरसँग नियमित इमेल संवादमा थिए।

“विभिन्न विषयमा फिडब्याक लिन इमेलमा कुरा भइरहन्थ्यो। कोभिडले भेटघाट बन्द भएपछि इमेलमै हो संवाद हुने”, उनी भन्छन्, “मसँग अर्थशास्त्रसँग जोडिएका विषयमा विभिन्न कुरा सोधिरहन्थे। र हाम्रो इमेलमै धेरै कुरा हुन्थ्यो।”

केही वर्षयता ध्रुवसर बसुन्धरास्थित घरमै सीमित भएका थिए, नियमित लेखन, पठनमै व्यस्त। राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय मामिलाका जानकार ध्रुव सर राजनीतिक नेता र सरकारको नजरमा कहिल्यै परेनन्। राजनीतिक नियुक्तिका लागि नेपालका नामचिन प्राज्ञहरू पनि नेताको चोटाकोठा चहार्ने दौडमै हुन्छन्। ध्रुव सर यी प्रवृत्तिबाट कोशौं टाढा थिए। उनी निरन्तर प्राज्ञिक कर्ममै लिन भए। राजनीतिसँग दूर-दूरको साइनो राखेनन्। तथापि उनकै समकक्षीहरू पनि ‘कतै यो कम्युनिष्ट त होइन?’ भनी शंका गर्थे। त्यसको अरू केही कारण थिएन, सिनासमा उनको कार्यकक्षमा चिनिया कम्युनिष्ट पार्टीसँग सम्बन्धित यति धेरै लिटरेचर हुन्थे, मानिसहरूलाई लाग्थ्यो, यी कम्युनिष्ट हुन्। प्रा. खनाल ती अध्ययन सामग्री एउटा प्राज्ञका संकलन भएको बताउछन्।

“चीनका कम्युनिष्टका लिटरेचर राख्दैमा कोही कसरी कम्युनिष्ट हुन्छ?”, उनी भन्छन्, “तर उनका कोठामा जाँदा एकथरि संशय चाहिँ गर्थे जुन सत्य होइन।”

अन्तिम सत्य मृत्यू हो र ध्रुव सर ब्रह्मलीन भइसकेका छन्। राजनीतिक नेता वा सरकारको नजरमा नपरे पनि ध्रुव सरको प्राज्ञिक कर्मको स्मरण भावी पुस्ताले गरिरहनेछ। हार्दिक श्रद्धाञ्जलि ध्रुव सर!


Comment

2 thoughts on “चूपचाप गए एक हक्की प्राज्ञ

  1. Thank you for writing. He was an amazing human being and fascinating academic who never compromised his professional integrity.
    I always respected and loved him.

  2. हार्दिक धन्यवाद राजारामजी ! ध्रुव सरका बारेमा अत्यन्त सटिक विश्लेषण गर्नुभएकोमा। यस लेखमार्फत उहाँका बारेमा विविध जानकारी प्राप्त भयो। ध्रुव सरको देहमुक्त आत्माको शिवसायुज्य प्राप्तिका साथै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved