पारलैगिंक अधिकारकर्मी भूमिका श्रेष्ठलाई अमेरिकी सरकारले पुरस्कृत गरेको छ। ‘अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड’ बाट सम्मानित भएकी श्रेष्ठको सफलताका पृष्ठभूमिमा अपमान, अपहेलना र तिरस्कारका पीडादायी कथा छन्। समाजले तिरस्कार गरे पनि परिवारको साथ र सहयोगमा आफूलाई लैंगिक अल्पसंख्यक समुदायमा स्थापित गरेकी भूमिकाले अहिले अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाएकी छन्। उनै भूमिका श्रेष्ठसँग नेपालभ्यूजकर्मी समृद्धा केसी र भागिरथी पण्डितले गरेको कुराकानीः
अमेरिकी सरकारले ‘अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड’ बाट सम्मानित हुन पाउँदा कस्तो लागिरहेछ?
सदियौंदेखि हाम्रो समाजमा लैंगिक समानता अर्थात् महिला र पुरुषको हक अधिकारका विषयमा मात्रै छलफल हुनेगर्छ। अहिले महिला-पुरुषका मात्रै कुरा नभएर यौनिक तथा लैंगिक अल्पसंख्यकका समुदायको पनि आवाज उठ्छ। म त्यही समुदायसँग सम्बन्धित छु।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकारलाई नेपाली समाजमा स्थापित गर्न खेलेको भूमिका र योगदानको कदरस्वरूप अमेरिकी सरकारद्वारा ‘अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड २०२२’ बाट सम्मानित हुने मौका पाउदा खुशी छु।
तपाईंको यो सफलताको यात्राबारे केही बताइदिनुस् न, के कस्ता अप्ठ्यारा झेल्नुभयो?
यहाँसम्म आउँदा मैले धेरै चुनौती सामाना गरे। हाम्रो समाजमा महिला र पुरुष गर्ने काम,कर्तव्य र भूमिका निर्धारण गरिएको छ। म छोरा भएर त जन्मिएँ। तर मेरो दिल, दिमाग छोरीको थियो। चाहना र मस्तिष्कचाहिँ महिला प्रकृतिको थियो।
सानो हुँदा खासै समस्या भएन। जब म बुझ्ने भए त्यसपछि विभेद हुन थाल्यो। नकारात्मक शब्दहरू सुन्न थालें। मन र दिमाग महिलाको अनि शरीर पुरुषको किन दियौ भनेर भगवानलाई प्रश्न गर्थे।
लैंगिक अल्पसंख्यकका रूपमा मैले धेरै संघर्ष गरे। परिवारबाट मलाई साथ र सहयोग मिल्यो। त्यसैले म यहाँसम्म आइपुग्न सकेँजस्तो लाग्छ।
तर हाम्रो समाजले लैंगिक अल्पसंख्यक समुदायलाई एकदमै विभेद गर्छ। लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण नकारात्मक छ। हामीलाई देख्नेबित्तिकै छिःछि र दुरदुर गरिन्छ। त्यो विभेद मैले पनि भोगे। यही विभेद अन्त्यका लागि नै साहस गरेर म बढें। विगतमा भोगेका विभेदले नै मलाई अगाडि बढ्न प्रेरित गर्यो।
कैलाश र भूमिका भएर जिउँदा के भिन्नता महसुस हुन्छ?
नामसँग मैले कहिल्यै विभेद भोगिनँ। तर, समाजले निर्धारण गरेको छोरा र छोरीले गर्नुपर्ने कामको माध्यमबाट चाहिँ विभेद सहेको छु। म छोरा भएर छोरीले गर्ने काम गर्दा समाजलाई पाच्य भएन।
स्कुल जाँदा होस् वा बाटो हिँड्दा कति छिःछि दुरदुर गरिन्थ्यो भने, त्यसबेला मलाई उज्यालो नै नहोस् भन्ने लाग्थ्यो। उज्यालो भए हिँड्नुपर्छ,मान्छे भेटिन्छन्। तिनीहरूले फेरि हाँसोको पात्र बनाउँछन् भनेर उज्यालो नै नहोस् भन्ने लाग्थ्यो।
कैयौं पटक भगवानलाई पनि दोष दिन्थें। तर, अहिले मलाई भूमिका भनेर चिनिँदा गर्व लाग्छ। समाजमा पहिचान र हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु निकै ठूलो उपलब्धि हो। मेरो परिवारले दिएको नाम म लिन चाहन्नँ। अहिलेको नाम र पहिचानले ममाथि हुने विभेद कम भएको छ।
अहिले सार्वजनिक स्थानमा नचिनेको व्यक्ति भेटिँदा अघि सरेर परिचय दिन थालेको छु। धेरैजसोले मलाई महिला नै सोच्नुहुन्छ। हुन त म महिला नै हुँ। तर ‘ट्रान्सजेन्ड’ महिला हुँ भनेर बुझाउँछु। शुरुमा हेर्दा कत्ति राम्री सोच्नेहरू जब म बोल्छु त्यसपछि अचम्मित हुन्छन्। कतिले महिलाको ठूलो आवाज पनि हुन्छ भन्ने सोच्दा रहेछन्। कति ठाउँमा मेरो स्वर सुनेर अफ्ठ्यारो मान्ने मान्छेहरू पनि भेटिन्छन्।
अहिले लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ नि, होइन?
म २००४ मा ‘व्लु डाइमन्ड सोसाइटी’मा संलग्न भएँ। त्यसअघि मलाई मेरो समुदायको हक हितका लागि संस्थाहरू छन् भन्ने नै थाहा थिएन। सोसाइटीमा संलग्न भएपछि आफूजस्तै अन्य व्यक्ति देखें। सबैको समस्या उस्तै। त्यसबेला म १७ वर्षको थिएँ। मलाई परिवारले साथ दिएकाले आफ्नो पहिचानमा खुलेर आउन सहज भयो। तर, कति साथीहरूलाई परिवारले नै स्वीकार नगरेको अवस्था छ। त्यस हिसाबले म भाग्यमानी साबित भए।
तर, मलाई आफ्नो समुदायका लागि केही गर्नुपर्छ भन्ने लाग्थ्यो। अरू साथीहरूको समस्या सुनेपछि हामीलाई हर्ने सामाजिक अवस्थामा परिवर्तन ल्याउनुपर्छ भन्ने ठान्थे। अहिले समाजमा केही हदसम्म हामीलाई स्विकार गर्नुमा मेरो मात्र प्रयास नभई मेरा अग्रज, हाम्रो संस्थाले खेलेको भूमिका महत्वपूर्ण छ। केही वर्ष अघिसम्म हाम्रो समुदायका व्यक्तिहरूमा आफ्नो पहिचान खुलाउन सक्ने अवस्था थिएन।
२०७२ को संविधानको धारा १२, १८ र ४२ ले यौनिक तथा अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गरेको छ। भलै यसको कार्यान्वयन फितलो छ। त्यस्तै सर्वोच्च अदालतले हाम्रो पहिचान खुलाएको नागरिक प्रदान गर्न आदेशसमेत दिएको छ।
अहिले सम्पूर्ण विभेदकारी कानून खारेज गरी समान कानूनको संरचना गर्नु र वैवाहिक समानतालाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नु हाम्रो लागि ठूलो उपलब्धि हो।
लैंगिक अल्पसंख्यकका लागि अब नेपाली समाजमा चुनौती बाँकी छैन ? मैत्रीपूर्ण हुँदै गएको हो ?
पीडा र संघर्षका बाबजुद हामी डटेर अघि बढ्यौं। युएस इन्टरनेशनल वुमन अफ करेज अर्वाड २०२२ बाट म सम्मानित हुनुको पृष्ठभूमि विगतको त्यही पीडा र संघर्ष हो। समाजमा महिला र पुरुषका मात्रै कुरा हुन्थेँ। अहिले लैंगिक तथा अल्पसंख्यक समुदाय पनि हुन्छ भन्ने यर्थाथलाई स्विकार्नु परिर्वतन हो।
लैंगिक तथा अल्पसंख्यक समुदायको हक अधिकार संविधानमा उल्लेख भएको नेपाल तेस्रो मुलुक हो। भारत र पाकिस्तानले पनि हाम्रो अभ्यासलाई पछ्याएको छ। पाकिस्तानमा ट्रान्सजेन्डरको लागी छुट्टै नीति नै पारित भएको छ।
ब्लु डाइमन सोसाइटीले हाम्रो पहिचानसहित स्विकार गर्ने वातावरण सिर्जना गर्न सेसाइटीले काम गर्दे आएको छ। अहिले ४० जिल्लामा हाम्रो संस्थाको शाखा कार्यलय बिस्तार भएको छ। नेपालभर यसलाई बिस्तार गर्ने योजना छ।
यौनिक तथा अल्पसंख्यक समुदायलाई सशक्त बनाई स्वास्थ्य, आर्थिक सामाजिक राजनैतिक अधिकार दिलाउने हाम्रो प्रयास जारी छ।
तीनै तहमा सरकारसँग सहकार्य गरेर हामिले जनचेतनाका कार्यक्रम गर्दैछौं। कार्यक्रम गर्नु उपलब्धि होइन तर यसमार्फत जनताको सोचमा परिवर्तन आउनु चाहि महत्वपुर्ण हो। त्यसका लागि समय लाग्नसक्छ।
हाम्रो संस्था स्थापनाको २२ औं वर्षमा छौं। २२ वर्ष अघि र अहिलेमा धेरै परिर्वतन आएको छ। अझै धेरै काम हुन चाँहि बाँकी नै छ। हाम्रो अनुहार देख्दा नै साइत पर्दैन भन्ने समाजमा अहिले म स्वतन्त्र रूपमा बोल्नुसमाज उदार हुँदै गएको बलियो दृष्टान्त हो। यद्यपि समुदायको हक अधिकार स्थापित गर्न आवाज उठाउन चाहि छोड्न हुन्न।
कोभिड महामारी कालमा यो समुदायको अवस्था कस्तो थियो ?
प्राकृतिक विपत्तिको समयमा हाम्रा समुदायका व्यक्तिले निकै सकस सहनु पर्यो। २०७२ को भुकम्प, कोभिड १९, बाढि पहिरोले निकै असर पारेको छ। यी समस्यासँग सबै जुधे। तर विभेद हामिले धेरै सहनुपर्यो। कोभिडको समयमा २० जना भन्दा बढी यौनिक तथा अल्पसंख्यकले आत्महत्या गरे। परिवारले त्यागेकाहरूले लकडाउनको समयमा बिहान बेलुका हातमुख जोर्न नसकेर आत्महत्याको बाटो रोजे। पहिचान अनुसारको नागरिक नहुँदा राहतबाट पनि बञ्चित भए।
हाम्रो पहिचान अनुसारको नागरिकता उपलब्ध गराइदैँन। समस्या आउँदा गलत नागरिकता ल्याइस् भनेर हामीलाई आरोप लगाइन्छ।
भूकम्पको समयमा डेरामा बसेकालाई विभिन्न बाहना देखाएर निकालियो। उनीहरू बासको खोजीमा टुँडिखेल पुगे। त्यहाँ यो स्थान महिला र पुरुषको लागी मात्र हो भनेर निकालिएको थियो।
तपाईसँग नागरिकता छ ? नागरिकता लिदाँ कस्ता समस्या झेल्नुभयो?
पहिला मेरो पुरुषको नागरिकता थियो। २०६२ सालमा मैले पहिलो पटक नागरिकता लिएको थिए। त्यतिखेर नागरिकता बनाउँदा यौनिक तथा अल्पसंख्यकलाई नागरिकता दिँइदैनथ्यो। ड्राइभिङ लाइसेन्स बनाउँदादेखि हरेक स्थानमा नागरिकता देखाउँदा कसैले पत्याउँदैन थिए।
त्यसपछि नागरिकताको लागि रिट दायर गर्यौ। गृह मन्त्रालयले महिला र पुरुषबाहेक अन्य व्यक्तिलाई पनि नागरिकता उपलब्ध गराउन परिपत्र पठायो। त्यसपछि मैले अन्यको नागरिकता लिए। अन्य केही साथीले पनि लिए।
कुनै जिल्ला प्रशासन कार्यलयले नागरिकता दिन जाँदा लैगिंक अल्पसंख्यक भएको मेडिकल पुफ्र माग्ने गरेकाले झन्झट सिर्जना भएको छ। यो मेरो स्वघोषित पहिचान हो। कुनै पनि महिला वा पुरुषलाई नागरिकता लिनुअघि मेडिकल रिर्पोट देखाउनु पर्दैन भने हामीलाई चाँहि बाध्यकारी नियम किन? यो समस्या मैले भोग्नु परेन किनकी मेरो पहिला कैलाश श्रेष्ठको ढाकाको टोपी लगाएको नागरिकता थियो।
संविधानको धारा १२ मा स्पष्ट रूपमा लैंगिक तथा अल्पसंख्यक व्यक्तिलाई आफ्नो पहिचान अनुसार नागरिकता प्रदान गर्न भनिएको छ। तर हामीलाई मेडिकल पुफ्र ल्याउ भन्छन्। त्यो भनेको के हो स्पष्ट छैन। अझै नेपालमा परीक्षण गर्ने विशेष अस्पताल नै छैनन्।
हाम्रो समाज उदार भएपनि कतिपय अवस्थामा संकुचित नै देखिन्छ। अहिले नागरिकताका लागी बहस गरिरहेका छौं। मेडिकल पुफ्र ल्याउनुपर्ने बाध्यकारी नियम हटाउन हामी प्रयासरत छौं। अहिलेको मुख्य समस्या यही हो।
त्यस्तै मतदान गर्ने अधिकार सबैलाई छ। तर भोट हाल्न जाँदा हामीलाई समस्या हुन्छ। नागरिकता पुरुषको हुन्छ मतदान स्थलमा महिला जाँदा हामी भोट हाल्न कुन लाइनमा बस्ने भन्ने समस्या हुन्छ। त्यसैले छुट्टै लाईन बनाउन वा विभेद नहुने गरि व्यवस्थापन गर्न माग गरेका छौं।
लैंगिक अल्पसंख्यक समुदायका अरु व्यक्तिले जिवनयापन कसरी गरिरहेका छन्?
सरकारले लैंगिक तथा अल्पसंख्यकका लागि रोजगारको व्यवस्था गरेको छैन। पहिचान नखुलाएका व्यक्ति रोजगार भए त्यो छुट्टै विषय हो।
केही समय पहिला मात्र लैंगिक तथा अल्पसंख्यक एक सय भन्दा बढीले लोकसेवाको फारम भर्दा अस्विकार गरियो।
केही व्यक्तिहरू मेकअप आर्टटिस्ट, मोडलिङ क्षेत्रमा लागेका छन्। केहीले व्यवसाय सुरु गरेका छन्। उनीहरूले आफ्नै दम्भमा गरिरहेका छन्। न हामीलाई सरकारले रोजगारी दिएको छ न र निजी क्षेत्रले नै।
यौन व्यवसायमा लाग्ने कारण पनि त्यही त हो। बेला-बेलामा ठमेलमा यौन व्यवसाय भएको घटना बाहिरिन्छन्। धेरैजसो व्यक्तिले यो समुदायले विकृति फैलायो भन्छन् तर त्यहाँ पुग्नुको कारण चाहि सोधिँदैन, बुझिँदैन।
हामीलाई रोजगारी देउ, समान अवसर देउ, हाम्रो लागि कोटा छुट्याइदेउ भन्दा केही व्यवस्था गरिएको छैन। यसमा सरकारको ध्यान जाओस्।
वैवाहिक समानताका लागी के गरिरहनु भएको छ ?
हाम्रो समाजले पुरुष र महिलाबीच सम्बन्धलाई मात्र स्विकार गर्छ। हामीले वैवाहिक समानता कुरा किन उठाइरहेका छौं भने उमेर पुगेपछि आफूले मनले खाएको साथी रोज्न पाउने अधिकार सबैलाई हुन्छ।
त्यो केटा-केटा होस् या केटी-केटी।
२०१३ मा पूर्व प्रधानन्यायधिस सुशिला कार्कीको इजालसले उमेर पुगेको व्यक्तिले आफ्नो इच्छाएको व्यक्तिसँग घर बसाउन पाउँछन् भनेर बोलिदिनुभएको छ।
तर, वैवाहिक समानताको कानून चाँहि बनेको छैन। विवाह मात्र गरेर हुँदैन। बच्चा ग्रहण गर्ने व्यवस्था हुनुपर्छ। त्यसका साथै सम्बन्ध बिच्छेद गर्न चाहेमा खण्डमा कसरी छुट्टिने त्यसको व्यवस्था पनि गर्नुपर्छ। सम्बन्ध बिच्छेद भएपछि बच्चा कसले पाल्ने भन्ने विषयमा सरकारको ध्यान जान ढिलाइ भइसकेको छ।
Facebook Comment
Comment