काठमाडौं । नेपाल एनआरएनए संघका प्रमुख संरक्षाक शेष घलेले आफ्नो अधिकार प्रयोग गर्दै संघको दशौं महाधिवेशन तथा निर्वाचनको घोषणा गरेका छन्। घलेले दसौं अधिवेशन मार्च २२ देखि २५ सम्म काठमाडौंमा आयोजना हुने गरी मिति तोकेका छन्।
केही दिनअघि सम्पन्न संघका राष्ट्रिय समन्वय समितिहरूको बैठकले घलेलाई संघको विधानअनुसार अधिवेशन सम्पन्न गर्न अनुरोध गरेको थियो। सोहीअनुसार घलेले दशौं महाधिवेशन तयारीका लागि संघकै उपाध्यक्ष सोनाम लामा संयोजक र अर्का उपाध्यक्ष मन केसी सहसंयोजक रहेको महाधिवेशन तयारी समिति गठन गरेका छन्।
संघको विधान २००३ (२०२१ संशोधनसहित) को धारा १६.१.४ अनुसार प्रमुख संरक्षक घलेले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै अधिवेशन तयारी समिति गठन गरेका हुन् । जसअनुसार निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल(अमेरिका)लाई मनोनयन गरिएको छ ।
संघको विधानअनुसार गत अक्टोबर २३–२५ तारिखमा अधिवेशनको तयारी गरिए पनि प्रतिनिधि छनोटको प्रक्रियागत विवादका कारण अधिवेशन स्थगित भएको थियो।
त्यसपछि गत डिसेम्बर १५ मा पुनः अर्को निर्वाचनको मिति तय गरियो। तर प्रतिनिधि विवाद समाधान नभएका कारण उक्त अधिवेशन पनि संभव भएन।